Challenges of WOMEN's Empowerment ?
डा. सिर्जना भण्डारी*
    #आध्यात्मिक_नारीवाद #अध्यात्म_दर्शन #जीवन_दर्शन  
स्त्रीको सबलिकरणका चुनौतीहरु
"स्त्री र पुरुष प्रतिस्पर्धि होइनन् पूरक तथा साझेदार हुन् !"  - ओशो रजनीश
विषय प्रवेश
‘स्त्री, नारी, महिला’ तीनवटै समानार्थक अर्थात उस्तै अर्थ लाग्ने शव्दहरू हुन् र संस्कृत भाषाका क्रमशः ‘स्थ’, ‘नृ’ र ‘मह्’ धातुबाट निर्मित भएका हुन् । सबलिकरण र सशक्तिकरण पनि समानार्थक शव्दहरू हुन् तर यिनको भावार्थमा थोरै फरक रहेको छ, सबलिकरणको भावार्थ अव्वल तथा सक्षम बन्नु तथा बनाउनु हो र सशक्तिकरणको भावार्थ सशक्त तथा शक्तिशाली बन्नु तथा बनाउनु हो । स्त्रीहरुलाई सशक्त तथा शक्तिशाली बनाउनु भन्दा अव्बल तथा सक्षम बनाउनु भन्ने भाव बढि उपयुक्त भएको र अध्यात्म विज्ञानको मूलमर्मसंग निकट रहेकाले स्त्री सबलिकरण शव्दावली प्रयोग गर्नु अलि बढि विषय सान्दर्भिक हुन आउछ । संस्कृत भाषाको अध्यात्म शव्दको अर्थ तथा भाव मनुष्यलाई इन्द्रियहरुका माध्यामबाट वाहिरी जगतमा छरिएको आफ्नो चेतनालाई आफैंतिर फर्काएर अन्तरयात्राको माध्यमबाट आफ्नो स्वत्वको खोजि तथा पहिचान गर्दै आफूभिञत्र रहेका आफ्ना क्षमता, प्रतिभा तथा सिर्जनशीलताहरु जाग्रीत गरेर आफूलाई हरप्रकारले अव्वल तथा सक्षम बनाएर पूर्णतामा जीवन जिउन सिकाउने कलाको विज्ञान(दि आर्ट अफ लिभिंग) हो । अवको युगमा स्त्री सबलिकरणका कार्यहरुलाई सहज ढंगले अगाडि बढाउनलागि आध्यात्मिक आयाम महत्वपूर्ण विषयको रुपमा प्रयोगमा आइरहेको सन्दर्भमा नारीवादका विविध आयामहरुमा अव अर्को आयाम आध्यात्मिक नारीवादलाई आत्मसाथ गरेर अगाडि बढ्नु युगको माग हो । 
इतिहासको पानामा दर्ज भएका प्राचीनकालदेखि आधूनिक तथा उत्तरआधूनिक(पोष्ट मोर्डन) कालसम्म विश्व समाजमा स्त्रीमाथि गरिदै आइएका व्यवहारहरु असन्तुलित र अमानवीय रहेदै आएका पाइन्छन् । यसर्थ विभिन्न कालखण्डमा स्त्रीहरुमाथि गरिएका लैंगिक विभेद र हिंसाका दर्दनाक घटना, विषय तथा गतिविधिहरुलाई फर्केर हेर्दा मानवता अझैपनि लज्जाको विषादमा जकडिएकै अवस्थामा छ । वर्तमान समयमा चलिरहेको सूचना प्रविधिसहित चार लहरहरु पार गरिसकेको नारीवाद(फोर वेभ्स अफ फेमिनिजम)को प्रादुर्भावसंग समय सान्दर्भिक हुनेगरि स्त्रीहरुको सबलिकरणमा केही सकारात्मक परिवर्तनहरु मानव समाजमा देखिएका त छन् तर अझैपनि यी प्रयासहरु अपर्याप्त र असन्तुलित रहेका छन् । स्त्रीहरुको सबलिकरणका लागि सामाजिक, आर्थिक, राजनीतिक, औद्योगीक, शैक्षिक आयामहरुलाई व्यवहारमा ल्याइएको भएपनि अहिलेसम्म हासिल भएका विश्वव्यापि प्रतिफलहरुको लेखाजोखा गर्दा स्त्री सबलिकरणको पूर्णताकालागि अझै पनि केही नपुग भएको तथा कुनै महत्वपूर्ण आयाम छुटेको अनुभव हुनथालेको छ र त्यो महत्वपूर्ण आयाम अध्यात्म हो ।
अवको युग विगतमा स्त्रीहरुमाथि यसो गरियो, उसो गरियो भनेर पूराना खाटा बसिसकेका घाउहरु तथा अमानवीय, असन्तुलित, नकारात्मक अवस्थाहरुलाई कोट्याएर तथा याद मानसिक रुपमा बारबार त्यही अवस्थामा पुग्ने, दुःखी हुने र अनुत्पादक भएर समय बिताउने युग होइन । यसो गर्नु अध्यात्म विज्ञानको मुल मर्म विपरित हो । अध्यात्म विज्ञानले विगतमा जे भयो त्यसलाई स्वीकार गर र ती सबै गतिविधिहरुप्रति मन तथा भावनामा क्षमा भाव राखेर तथा इतिहासबाट सिकेर खराव परिपाटी तथा परम्पराहरुलाई त्यागेर राम्रा परिपाटी तथा परम्पराहरुको शुरुआत गरेर अगाडि बढ्न प्रेरणा दिन्छ र आजको युगको टडकारो आवश्यकता पनि यही नै हो किनकी आजको युग प्रगतिउन्मुख युग हो, विगतमा रुमल्लिएर मनुष्यको प्रगति हुदैन । तसर्थ अव विगतका सबैप्रकारका जकडनहरुबाट वाहिर निस्केर प्रकृति तथा पृथ्वीमा सबै(हरेक मानिस, जीव, वनस्पति, पदार्थ)को समान अस्तित्व रहेको छ भन्ने ब्रम्हाण्डिय अकाट्य नियम तथा सिद्धान्त र अध्यात्म विज्ञानको वसुधैव कुटुम्वकम्को सर्वकल्याणकारी भावलाई आत्मसाथ गर्दै समाजमा चलिआएको लोकोक्ति स्त्री र पुरुष एकै रथका दुई पांग्रा हुन् अर्थात समान हैसियत भएका बराबर अधिकार राख्ने ब्रमहाण्डका आधा–आधा हिस्सा हुन् भन्ने भावले भरिएको यो अत्यन्तै सकारात्मक सोचलाई विस्तारै वास्तविक व्यवहारमा उतार्दै जानु आजको समयको माग र आवश्यकता हो । कल्याणकारी भावले ओतप्रोत यो अत्यन्तै महत्वपूर्ण उत्तरदायित्व तथा काम अवका दिनहरुमा केवल अध्यात्मिक आयामलाई समावेश गरिएको स्त्री सबलिकरण तथा आध्यात्मिक नारीवादले अगाडि बढाउन सक्छ स्त्री र पुरुष दुवैहरुलाई समान रुपले आध्यात्मिक अभियानको मूलधारमा प्रवाहिकरण गरेर किनकी अध्यात्म कुनै सम्प्रदाय, वाद भन्दा पर रहेको मानवतावादका सिद्धान्त र मूल्य–मान्यताहरु अनुसार प्रकृतिको समग्रतालाई समेटेर निरन्तर अगाडि बढिरहने सबै विज्ञानहरुको पनि विज्ञान(साइन्सेस आफ दि साइन्स) महाविज्ञान हो । 
स्त्री सबलिकरणका चुनौतीहरु 
केही दशक यता विश्वव्यापि रुपमा परिवार, समाज तथा राज्यमा लैंगिक सन्तुलन कायम गर्न विगत लामो समयदेखि पछाडि परेका तथा पछाडि पारिएका स्त्रीहरुको विभिन्न माध्यमबाट सबलिकरण गर्ने प्रयासहरु हुदै आइरहेका छन् । यसक्रममा वर्तमान समयको आधूनिक समाजमा स्त्री सबलिकरणका आधूनिक प्रक्रियाहरुलाई नै व्यवहारमा प्रयोग गरिदै आइएको छ । तर आधूनिकतावादले गरेको तथा गर्न खोजेको स्त्रीहरुको सबलिकरणमा आजसम्मका परिणाम तथा प्रतिफलहरुमा पूर्णता देखिएको पाइएन र यो केवल नयाँ भाँडोमा पूरानै अन्न जस्तो प्रतित भैरहेको छ । यहीकारण वर्तमान समयमा आधूनिकताको प्रवाहमा स्त्रीहरुको सबलिकरण हुनुको सट्टा फरक आवरणहरुमा उनीहरुमाथि झन नयाँ–नयाँ स्वरुपमा हिंसा, दमन, शोषण र अन्यायहरु थपिएका देखिदै आइएको छ । यसकारण वास्तविकतामा विश्व समाजमा स्त्री सबलिकरणका औषत आँकडाहरुलाई हेर्दा स्त्रीहरुको सबलिकरण भन्दा दुर्बलिकरण चाहिं बढि भैरहेको देखिदै आइएको छ । अति आधुनिकतावादका नकारात्मक प्रभावहरुका कारण वर्तमान समयमा स्त्रीहरुमा आन्तरिकरुपमा स्थित उनीहरुको प्राकृतिक मूलस्वभाव प्रेम, सेवा, दया, करुणा, शान्तपन पूर्णरुपमा हराउदै गएको छ र उनीहरु दिनप्रतिदिन कठोर, निर्दयी, स्वार्थि बन्दै गैरहेका छन् । स्त्रीहरुमा यस्तो अस्वाभाविक अवस्था देखिनुका विविध कारणहरु मध्य एउटा प्रमुख कारण आधूनिक स्त्री बन्ने तथा बनाउने होडमा उनीहरुले धान्नै नसक्नेगरि उनीहरुमाथि व्यक्तिगत, पारिवारीक, सामाजिक, सांस्कृतिक, धार्मिक, राज्य, प्रकृति सबैतिरको दोहोरो, तेहोरो, चौबरो कर्तव्य, उत्तरदायित्व तथा जिम्मेदारीहरुका बोझहरु बोकाइनु देखिदै आइएको छ । समाजको औषत अवस्था तथा चल्दै आएका बद्लिदा प्रचलनहरुलाई हेर्दा, आजकी स्त्री एक स्त्री मात्र नभएर एकैसाथ उनले संस्कारी छोरी; काँधमाकाँध मिलाएर समान जिम्मेदारी उठाउने श्रीमती; कर्तव्य परायण बुहारी; सृष्टिकी संवाहक माता जननी; प्रेम र भावनाकी प्रतिमूर्ति आमा; प्रतिभावान विद्यार्थी; उत्पादनशील पेशाकर्मी; साहसी उद्यमी; उत्तरदायि कर्मचारी, कर्मठ श्रमिक... सबै बन्नु परेको छ र यी भूमिकाहरुमा खरो उत्रिन उनलाई विभिन्न बहानामा बाध्य पारिएदै आइएको छ केवल पुरुषसंग हरप्रकारले समान अस्तित्व तथा बराबर हैसियत बनाएर आधूनिक स्त्री बन्नकालागि । 
तर विडम्वना यी सबै गतिविधिहरुमा स्त्रीको सबलिकरणका सैद्धान्तिक विषयहरुको उठान गरिरहदा र स्त्रीहरुमा यी सबै प्रक्रियाहरुको प्रयोग गरिरहदा अत्यन्तै ओझेलमा परेको, ओझेलमा पारिएको तथा मानवीयता गुमाएको पाटो हो स्त्रीले एकसाथ यतिका भूमिकाहरु निभाउने प्रयास गरिरहदा विश्व समाजको औषत आँकडालाई हेर्दा पुरुषले स्त्रीको वाहिय तथा आन्तरिक विकास तथा सबलिकरणमा उनीहरुलाई कुनै पनि भूमिकामा मानवीय भावले सघाइरहेको देखिएन किनकी स्त्रीहरुमा पनि पुरुषहरुमा जस्तै शरीर, मन, भावना, आत्मा अर्थात चेतना हुन्छ, उनीहरु पनि शारीरिक, मानसिक, भावनात्मक रुपले थाक्छन् तथा असन्तुलित हुन्छन्, उनीहरुलाई पनि पुरुषहरुको प्रेमपूर्ण साथ र सहयोगको आवश्यकता हुन्छ भनेर सिकाउदै सिकाइएन, केलव स्त्रीहरु हरहालमा सहनशिल, धैर्य, कर्तव्य परायण, उत्तरदायि, सहयोगी हुन्छन् र हुनुपर्छ भन्ने मात्र सिकाइयो । यसैकारण पुरुष आफू जस्तो भएपनि र आफूले जस्तो काम तथा व्यवहार गरिरहेको भएपनि उसले स्त्रीबाट यस्तै मात्र अपेक्षा गरिरहन बानी पर्यो र यस्तो अपेक्षा तथा बानीलाई उसले आफ्नो अधिकार सम्झिन थाल्यो चाहे स्त्रीहरु शारीरिक, मानसिक, भावनात्मक रुपले जस्तो सुकै नाजुक अवस्थामा हुन् उनीहरुले दोहोरो, तेहोरो उत्तरदायित्व निर्वाह गर्नुनै पर्छ ।
यही बाध्यताका कारण स्त्रीहरु समाजले पुरुषका कर्मक्षेत्रहरु तथा पुरुषको कर्तव्य भनेर तोकेका स्थानहरुमा पुग्न अनेकौं समस्या, चुनौती, दुःख कष्टहरु झेल्दै अगाडि बढे र पुग्न सफल पनि भए तर समाजले स्त्रीका कार्यक्षेत्र भनेर तोकेका कर्मका क्षेत्रहरु तथा स्त्रीको कर्तव्य भनेर तोकेको स्थानमा पुरुषहरु पुगेनन्, पुग्न सकेनन् तथा पुग्न चाहेनन् या भनौं स्त्रीहरुले पुरुषलाई त्यहाँसम्म पुर्याउनै सकेनन् । स्त्रीहरुले स्त्री हुनुदेखि जननी, छोरी, श्रीमती, बुहारी, आमा, विद्यार्थी, पेशाकर्मी, उद्यमी, कर्मचारी, श्रमिक सबै कामको दोहोरो, तेहोरो, चौबरो जिम्मेदारिको बोझ एक्लै उठाइरहन बाध्य भए तथा बाध्य गराइए । यसैकारण वर्तमानको आधूनिक भनिने समाजमा स्त्रीहरु आधूनिक त बने, पश्चिमा सिद्धान्त अनुसार सशक्त स्त्री(माच्चो विमेन) पनि बने तर अव्बल र सबल हुनुको साटो उनीहरु झन–झन निर्बल, दुर्बल तथा कमजोर हुदै गए आन्तरिक रुपमा र आफ्नो प्राकृतिक मूलस्वरुप प्रेम, सेवा, दया, करुणा, शान्तपन गुमाउदै गए धान्न नसक्ने अत्यधिक शारीरिक, मानसिक तथा भावनात्मक बोझका कारण ।
आधूनिकताले स्त्रीहरुमा पारेको नकारात्मक प्रभाव 
स्त्री सबलिकरणका लागि व्यवहारमा अपनाइएका आधूनिक प्रयासहरुले स्त्रीहरुलाई आफूले धान्न नसक्ने उत्तरदायित्वको बोझहरुमा अझ जकड्दै लग्यो तर पुरुषहरुलाई आफूले लिदै आइरहेका उत्तरदायित्व तथा कर्तव्यहरुबाट समेत मुक्ति दिलायो । स्त्रीहरुले एक्लै उठाइरहेका यी धान्न नसकिने उत्तरदायित्वहरु तथा उनीहरुले भोगिरहेका कष्टप्रद प्रतिकुलताहरु आजको आधूनिक समाजले परिभाषा गर्दै आइरहेको स्त्रीका स्वतन्त्रा, समातना, समता, अधिकार, सम्पन्नता तथा सबलिकरणका विषयहरुको आवरणभित्र लुकेका तथा हराएका छन् । यो कुरा सुन्दा अपत्यारिलो जस्तो लाग्न सक्छ र विश्वास गर्न गाह्रो हुन्छ तर यी अदृश्य विकृतिहरु हुन् हाम्रो परिवार, समाज तथा राज्यका जसले स्त्रीहरुलाई विस्तारै अनाहकमा पुरुष, परिवार, समाज, राज्यप्रति नै प्रतिवादी तथा प्रतिक्रियावादी बनाउदै लगिरहेको छ । स्त्रीहरु आफ्नो शारीरिक, मानसिक, भावनात्मक वचावकालागि प्रतिवादी तथा प्रतिक्रियावादी हुन बाध्य भएका तथा बाध्य पारिएका छन् जसले उनीहरुलाई आफ्नो प्राकृतिक मूलस्वभाव प्रेम, सेवा, दया, करुणा, शान्तपनबाट झन–झन टाढा लगिरहेको छ । यसको नकारात्मक प्रभावका कारण स्त्रीहरु जडताउन्मुख तथा भौतिकवादी बन्दै गैरुहेका छन् जुन सन्तुलित परिवार, समाज, राज्य र प्रकृतिकालागि सबैभन्दा ठूलो बिपत्ति हो र यसका नकारात्मक परिणामहरु विश्व समाजमा विस्तारै देखिदै आएका छन् विभिन्न स्वरुपहरुमा । स्त्रीहरुले ढिलो विवाह गर्ने; विवाह नगरी एकल बस्न रुचाउने; सन्तान जन्माउन नचाहाने; परिवारसंग बस्न नरुचाउने; एकल परिवार बनाउन खोज्ने; समाजले नाजाएज मानेको सम्वन्ध(लिभिगं टुगेदर) मा बस्न रुचाउने; विवाहित विपरीत लिंगीसंग सम्वन्धमा गुपचुप बस्ने; विदेश जान रुचाउने तथा आफ्नो पूर्ण स्वतन्त्रता चाहने आदि हुन् स्त्रीहरुले धान्न नसक्ने गरि उनीहरुमाथि थोपरिएका अत्यधिक बोझका कारण समाजको दृश्यमा आएका नकारात्मक परिणाम तथा नजितजाहरु । मानवीयतामा आइपरेको यो अत्यन्तै जटिल अवस्था नारीवादीहरुको नजरमा पर्दै आएको छ तर यसतर्फ न व्यक्तिको, परिवारको, न समाजको, न राज्यको पर्याप्त ध्यान आकर्षण भएको छ न त जिम्मेदारी वोधनै भएको छ । समय रहदै यो अवस्थामा सन्तुलनता ल्याउन सकिएन भने भविश्यमा यसको नकारात्मक प्रभाव अझ भयावह रुपले देखिने निश्चित छ । यो अवस्थाले स्त्रीहरुलाई झनझन दुःख, असन्तुष्टि, बेखुशी, गुनासो, अशान्ति, कठोरता, बेचैनी, तनाव, चिन्ता, विषाद, अवषाद, विक्षिप्तता, पागलपन, आत्महत्या जस्ता शारीरिक, मानसिक, भावनात्मक र आत्मिक अर्थात चेतनात्मक अस्वस्थता तथा दुर्वलताको नकारात्मक अवस्थातिर धकेलिरहेको छ । यो स्त्रीहरुको एकल भोगाइ हो, समाजका कोहीपनि यो मान्न तयार छैनन् कि आधूनिकताले स्त्रीहरुको सबलिकरण गर्नुको बदला दुर्बलिकरण गरिरहेको छ भनेर किनकी यो पंक्तिकार(म सिर्जना भण्डारी) स्वयंको प्रत्यक्ष अनुभवमा आएको आफ्नै भोगाईका विषयहरु हुन् ।
स्त्री सबलिकरणको सन्दर्भमा स्वअनुभव
स्त्रीहरु घरायसी, परिवारिक तथा सामाजिक भूमिका(सोसियल रोल्स) सबै सम्हाल्दै आफ्नो जीवनमा सक्दो व्यवस्थित र कर्मठ भएर घरवाहिर निस्किए आफूलाई रुचि लागेका अध्ययनका विषयहरु तथा पेशा–व्यवसायहरुको माध्यमबाट आफ्नो वाहिय तथा आन्तरिक विकास गर्नकालागि । यसक्रममा रुपमा स्त्रीहरु आवश्यक लेखपढ, सीप, तालिम हासिल गरेर पुरुषहरुले गर्दैआएका वाहिरी संसारका अधिकांश कामहरु गर्न तथा सम्हाल्न उल्लेख्य रुपमा सक्षम पनि भए । तर विडम्वना आमरुपमा सुक्ष्म दृष्टिले आजको स्त्री र पुरुषको उत्तरदायित्वको सन्दर्भमा विश्व समाजको तथ्यगत आँकडालाई हेर्दा औषतमा अधिकांश पुरुषहरु घरभित्र छिर्नै सकेनन्, स्त्रीहरुले गर्ने कुनै कामहरु गर्न सक्षम भएनन् जति स्त्रीहरु घरवाहिर निस्कन र पुरुषले गर्ने अधिकांश कामहरु गर्न सक्षम भए । घरभित्र न पुरुषहरुले चुल्हो-चौको स्याहार्न सके तथा जाने; न घर-व्यवहार व्यवस्थापन गर्न सके तथा जाने; न बालबच्चा स्याहार्न सके तथा जाने; न वृद्ध–वृद्धा स्याहार्न सके तथा जाने; न सामाजिक भूमिका निर्वाह सके तथा जाने... । पुरुषहरु जहाँको त्यहीं रहे या भनौं अझ पछाडि परे उत्तरदायित्व सम्हाल्ने सन्दर्भमा स्त्रीहरुको तुलनामा जुन उनीहरु स्वयंमकालागि निर्बलिकरण तथा दुर्बलिकरणको अवस्था हो तर यो कुरा उनीहरुले आजसम्म बुझेका छैनन् । पुरुषहरु आफ्नो उत्तरदायित्व समेत स्त्रीहरुले पूरा गरिदिएको र आफूले सुख पाएको, आफुले हासिल गर्न चाहेको समृद्धि र सफताकालागि पर्याप्त समय पाएको र यही फुर्सद, सुख, समृद्धि तथा सफलताका कारण प्राप्त भएको वाहिरी खुशी, शान्ति तथा आनन्दको मोहनिद्रामा मस्त निदाइरहेका छन्, जुन दिन मोहनिद्रा खुल्छ र यो सत्य कुरा उनीहरुको बुझाइमा आउछ तव ढिलो भैसकेको हुनेछ किनकी यही वाहिरी सुख, समृद्धि तथा सफलतानै उनीहरुको आन्तरिक खुशी, शान्ति, आनन्दको बाधक हुनेछ । 
पछिल्ला दशकहरुमा जीवनका विविध आयामहरुमा स्त्रीहरु छोटो समयमा आफू रहदै आएको पिछडिएको यथास्थितिबाट अगाडि बढ्न निकै सक्षम भए तर सिक्काका दुईवटा पाटा भए जस्तै स्त्रीहरुको जीवनमा एकातर्फ आधूनिक विश्व समाजले परिभाषा गर्दै आएको सुख, सम्पन्नता, समृद्धि, सफलता, मान–प्रतिष्ठा, जीवनको वाहिय विकास तथा सबलिकरणका सबै आयामहरु हासिल गर्न सक्षम भए तर अर्कोतर्फ यो अवस्थाले उनीहरुमाथि उत्तरदायित्वको दोहोरो, तेहोरो, चौबरो बोझले समस्या तथा चुनौतीहरु थप्दै लग्यो शारीरिक, मानसकि, भावानात्मक, आत्मिक अर्थात चेतनात्मक रुपमा । औषत पुरुषहरु स्त्रीको यो अवस्थाको केवल मुकदर्शक बने, अत्यधिक जिम्मेदारीको बोझका कारण स्त्रीहरुको व्यस्तता र ज्यादा व्यस्तताले अप्ठ्यारोमा परेको उनीहरुको जीवनको अस्त–व्यस्तता हेर्ने तमासे मात्र बने र केही निकृष्ट सोच भएका पुरुषहरुले त अझ उल्टै स्त्रीहरुलाई खिस्याउदै, ‘कामधन्द केही गर्नु छैन, केही कमाई गर्नु छैन, खालि गुमाउनु छ, यो अधिका र त्यो अधिकार चाहियो भनेर हुइयाँ मात्र मच्चाउनु छ, पुरुषसंग बराबर हुनु परेको होइन, भयौ बराबर, भोग अव आफैं आफू स्वयंमले निम्त्याएको स्त्री सबलिकरणको नतिजा’ भनेर गैर जिम्मेदारीको पराकाष्ठाको उपल्लो छेउमा पुगेर खडा भएका उदाहरणहरु पनि प्रसस्त देखिए । यो अवस्थाले पुरुषहरुलाई पनि नकारात्मक प्रभाव पारिरहेको छ अदृश्य रुपमा । आजको पुरुष भौतिक संसार तथा वाहिय रुपमा आधूनिकतावादले गरेको परिभाषा अनुसार सम्पन्न, समृद्ध र सफल बन्न सक्षम भएको छ तर आन्तरिक रुपमा भित्रबाट उ दरिद्र र नांगो हुदै गैरहेको छ । उभित्र हुर्किरहेको हिनतावोध र आत्मग्लानीको अज्ञात तथा अदृश्य स्वरुपले उ भित्रभित्रै खोक्रो भइरहेको छ, वास्तवमा दयाको पात्र बन्दै गैरहेको छ, कुन बेला जीवनबाट हार्छ र ढल्छ अस्थाइ तथा स्थाइ रुपमा उ स्वयंलाई पनि थाहा छैन । अनि यो बोझको भार फेरीपनि स्त्रीकै काँधमा आउने निश्चित नै छ । यो विषय केवल लेख लेख्नकालागि मात्र समावेस गरिएको होइन, वर्तमान विश्व समाजमा प्रत्यक्ष नजर आइरहेका अपुरणीय क्षतिका दर्दनाक अवस्थाहरु हुन् यी । 
आफ्नै वरिपरि स्वयंले आधूनिकताको परिभाषा अनुसार सम्पन्न, समृद्ध र सफल मानिएका चिकित्सक, शिक्षक, कर्मचारी, उद्यमी, पेशाकर्मी पुरुषहरुले जीवनबाट थाकेर फेरी कहिल्यै नफर्कने गरि सदाकालागि भौतिक संसारबाट विदा लिएका थुप्रै दृष्टान्तहरु देखेको छु । सरकारी प्रमाणिक आंकडाहरुले नै देखाएका छन्कि यसप्रकारले जीवनबाट विदा लिने क्रम स्त्रीहरुमा भन्दा पुरुषहरुमा बढि देखिएको छ र यसो हुनुको पछाडिको प्रमुख कारण पुरुषहरुमा अदृश्य रुपमा मौलाउदै गएको हिनतावोध, उद्देश्य तथा लक्ष्य बिहिन जीवन, गुमेको मनुष्यताको अस्तित्व, गुमेको आत्म सम्म्मान तथा आत्म विश्वास नै हो र यसो हुनुको प्रमुख कारण व्यक्ति तथा समाजमा हाबी हुदै गैरहेको अति आधूनिकतावाद नै हो । यस सन्दर्भमा युग ऋषि श्रद्धेय ओशो रजनीशले बडो सान्दर्भिक कथन भन्नु भएको छ, “ज्यादा सुख, खासगरि भौतिक सुख नै मनुष्यको दुःखको प्रमुख कारण हो र भौतिक संसार तथा वाहिरी सफलता नै उसको जीवनको सबैभन्दा ठूलो असफलता हो ।” वहाँको यो कथन वर्तमान परिप्रेक्षमा अत्यन्तै सान्दर्भिक हुदै आएको देखिएको छ किनकी भौतिक संसारबाट हासिल भएका वाहिरी सुख, समृद्धि र सफलताले मनुष्यलाई आफूबाट दुर गर्दै लगिरहेको छ, उ वाहिरी संसारलाई नै सबैथोक मानिरहेको छ जानेर या नजानेर र यही अवस्था नै उसको जीवनको सबैभन्दा ठूलो दुःख, असफलता र जीवनको हार तथा पराजय बन्दै गैरहेको छ आध्यात्मिक दृष्टिकोण्बाट हेर्दा ।
@प्रकृति तथा संसार विविधताले युक्त छ, यहाँ हरेक जाति–प्रजातिहरुका प्रकार तथा वर्गहरु अलग–अलग रहेका छन् । ठिक त्यसैगरि यहाँ स्त्रीहरुका प्रकार तथा वर्गहरु पनि अलग–अलग रहेका छन् र यही विविधता अनुसारकै सबलिकरणका चुनौतीहरु र तिनको समाधानका उपायहरु पनि अलग–अलगनै रहेका छन् । विगतदेखि वतएमानसम्म स्त्री सबलिकरणका चुनौतीका कारणहरु अनेक गन्न तथा गनाउन सकिन्छ– सांस्कृतिक, धार्मिक, सामाजिक, आर्र्थिक, शैक्षिक, राजनीतिक, प्राकृतिक, भौगोलिक आदि करणले स्त्रीहरु सबल तथा अव्बल, सशक्त तथा शक्तिशाली हुन सकेका छैनन् । यी कारणहरु संगसंगै वर्तमान परिप्रेक्षमा पंक्तिकार स्वयंको अनुभवमा स्त्री सबलिकरणको सबैभन्दा ठूलो र प्रमुख चुनौती स्त्रीहरुले धान्न सक्ने क्षमता(क्यारीगं क्यापासिटी) भन्दा बढि उत्तरदायित्व तथा जिम्मेदारीका बोझहरु उनको काँधमा थमाइनु हो । सबै स्त्रीहरुले उही प्रकारले यस्ता अन्त्यहिन बोझहरु धान्न सक्छननै भन्ने छैन किनकी सानैदेखि सबै स्त्रीहरुको वाहिय तथा आन्तरिक विकास समान किसिमले भएको हुदैन । कोही स्त्री अत्यन्तै प्रेरणादायी, प्रेमपूर्ण, सहयोगी तथा हरप्रकारले अनुकुल पारिवारीक माहोल तथा सामाजिक वातावरणमा हुकेर्की हुन्छिन् र जीवनमा सहजतापूर्वक अगाडि बढेकी हुन्छिन् भने कोही स्त्री अत्यन्तै नकारात्मक पारिवारीक माहोल तथा सामाजिक वातावरणमा हुर्केकी तथा जीवन जिएकी हुन्छिन् । आ–आफ्नो हुर्काइ अनुसार नै फरक–फरक स्त्रीले जीवनका सहजता र चुनौतीहरुलाई फरक–फरक प्रकारले बुझेका हुन्छन् र यसैको आधारमा आफ्नो सामुन्नेमा आएका चुनौतीहरुको सामना गर्दै संघर्षशील भएर जीवनमा अगाडि बढ्ने या हिम्मत हारेर जीवनमा पछाडि हट्ने उनीहरुको आन्तरिक क्षमतामा निर्भर गर्दछ । हरेक स्त्रीहरुको आन्तरिक क्षमता धेरै हदसम्म हुर्काइ तथा पारिवारिक, सामाजिक माहोल, जीवनका सिकाई, भोगाई तथा अनुभवहरुमा निर्भर गर्दछ । प्राकृतिक र सामाजिक दृष्टिकोणले अधिकांश स्त्रीहरुको अवस्था तथा वास्तविकता एकै प्रकारको हुने गरेको देखिन्छ प्राय । उत्पानदशील उमेर तथा समय जुन बेलामा उनीहरुले अध्ययन, सीप, तालिम गरेर, नयाँ–नयाँ कुराहरु सिकेर, जानेर, बुझेर आफ्नो वाहिय तथा आन्तरिक विकास गर्नुपर्ने हो त्यही समयमा उनीहरुमाथि पारिवारिक, सामाजिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक आदि सबैप्रकारका उत्तरदायित्वहरु बहन गर्नु परिरहेको हुन्छ एकैसाथ चाहेर या नचाहेर । 
यिनै उत्तरदायित्वका बोझहरु उठाउदा उठाउदै बित्छ अधिकांश स्त्रीहरुको जीवनको उर्वर समय र यहीकारण उनीहरु जीवनमा न अव्बल, न सबल, न सशक्त, न शक्तिशाली केहीपनि हुन सक्दैनन् र चाँढैनै उनीहरुमा चालिसे रोग(मिड लाइफ क्राइसिस्) अर्थात आफ्नो अस्तित्व बिहिनता बो वोधको बिमारी देखिन थाल्छ जसकोकारण उनीहरुमा थाहै नपाई हिनतावोध, अस्तित्व बिहिनता, तनाव, चिन्ता, बेचैनी, विषाद, अवषाद, बिक्षिप्तताको अवस्थामा पुग्छन् । यो अवस्था केवल स्त्रीहरुको मात्र समस्या नभएर परिवार, समाज, राज्य र प्रकृतिकैलागि अपुरणीय क्षति हो जहाँ परिवार, समाज, राज्य तथा प्रकृतिको आधा हिस्सा सक्रिय जीवनबाट अचानक निश्क्रिय बनिदिन्छ र कहिलेकाहीं त अनुत्पादक दायित्व पनि बनिदिन्छ यिनै धान्न नसक्ने उत्तरदायित्वका बोझहरु पंसाएर जीवनमा वाहिय तथा आन्तरिक विकास गर्न नसकेको कारण । यी भोगाइहरु पंक्तिकार(म सिर्जना भण्डारी) स्वयंका पनि हुन्, म आफू व्यक्तिगत, पारिवारीक, सामाजिक, आर्थिक, अध्ययन, पेशागत, प्राकृतिक रुपमा धेरै प्रकारका यस्ता अप्ठ्यारा परिवेशहरु छिचोल्दै, चुनौतीहरुसंग संघर्ष गर्दै, आवश्यक परेको ठाउँमा परिवार, समाज र राज्यसंग पनि पौंठेजोरी खेल्दै र अनेक तनाव, चिन्ता, विषादहरुलाई पंसाउदै आज जीवनको यो कदमसम्म आइपुगेको ज्वलन्त उदाहरण हुँ । सबै स्त्रीहरुले यस्ता अप्ठ्यारा परिस्थिति, समस्या तथा चुनौतीहरुको सामाना गरेर अगाडि बढ्न सक्छन् भन्ने छैन किनकी सबैले मैले जस्तै सहयोगी जन्मघर र कर्मघर प्राप्त गर्छन भन्ने छैन हाम्रो जस्तो शंकीर्ण सोच भएको पुरुषसत्ता केन्द्रित समाजमा । कतिपय अवस्थामा परिवार सहयोगी हुदाहुदै पनि स्त्रीहरुले अनगीन्ति चुनौतीहरु स्वयं एक्लैले बेहोर्नु तथा झेल्नु पर्नेरहेछ जुन पुरुषहरुले कहिल्यै पनि बेहोर्नु तथा झेल्नु पर्दैन । किनकी जीवनको सबैभन्दा उर्बर समयमा पुरुषहरुले पर्याप्त समय पाउछन् किनकि कमसेकम उनीहरुले जन्मघर र आफ्ना मजबुत सम्बन्धहरुलाई चटक्कै कर्मघर जानु पर्दैन, रजश्वलाका रूपमा हरेक महिना अमूल्य उर्जा वाहिर बहाउनु पर्दैन, शारीरिक परिवर्तन आउनेगरि गर्भवती हुनु र प्रसव सहेर आमा बन्नु पर्दैन, नावालकलाई स्तनपान गराउनु पर्दैन, सन्तानको मायाँमा शारीरिक, मानसिक र भावनात्मक रुपले प्राकृतिक दायित्वका कारण हृदय दुखाउनु र समर्पित हुनु पर्दैन, स्त्रीकालागि मात्र बनाइएका सामाजिक कुरितिहरुबाट गुज्रिनु पर्दैन । स्त्रीका यसप्रकारका प्राकृतिक तथा नैसर्गिक महाशक्तिमान उत्तरदायित्वहरु निभाउने मेसोमा स्त्रीहरुले पुरुषहरुको पारिवारिक उत्तरदायित्व समेत चाहेर, नचाहेर आफ्नो काँधमा उठाउनु पर्नेरहेछ आफूले पढ्ने, लेख्ने, सीप सिक्ने, पेशा तथा उद्यम गर्ने क्रममा र पुरुषको उत्तरदायित्व मानिने खाना–नाना–छानाको जिम्मेदारीको हिस्सा समेत स्त्रीहरुको काँधमा सर्ने रहेछ तर स्त्रीहरुको कुनै पनि उत्तरदायित्व पुरुषको काँधमा सर्ने रहेनछ । अझ आश्चर्यको कुरा त, औषत स्त्रीहरू यतिविधि दोहोरो, तेहोरो उत्तरदायित्वको बोझको कारण व्यस्त र अस्त-व्यस्त रहिरहेका अवस्थामा त्यसमाथि औषत पुरुषहरु भन्ने गर्छन, 'स्त्रीहरु घरमा बस्छन्, केही काम गर्दैनन्' । आफू अन्वेषक भएकोले निकै अगाडिदेखि मैले आफू र आफू वरिपरिका स्त्रीहरुका यी र यस्ता अवस्था तथा बेदनाहरुलाई निकै सुक्ष्म तवरले नियाल्दै आइरहेको छु । यस्तो परिस्थितिमा परिवार जतिसुकै सहयोगी होस्, जतिसुकै सम्पन्न होस् न परिवारले, न समाजले, न राज्यले कसैले पनि स्त्रीहरुलाई अन्तरभावले सहयोग गर्दा रहेछन् किनकी सबैलाई आ–आफ्नै संघर्ष ठूलो लाग्ने रहेछ, सबैको मौन भाषा हुने रहेछ, चुनौतीहरुको सामना गर्दै आफ्ना प्राकृतिक, सांस्कृतिक, धार्मिक, सामाजिक, आर्थिक उत्तरदायित्वहरु सम्हालेर जीवन व्यवस्थित गर्दै अगाडि बढ्न सक्छेउ भने बढ नभए जहाँ छौ त्यहीं बस आफ्नो अवस्थालाई स्वीकार गरेर र सन्तोष मानेर... । यी विषयहरुभित्र छिर्ने हो भने नारीवादी अन्वेषकको कलम निकै गहिरो जान सक्छ... ।
अन्त्यमा
यसअर्थ स्त्री सबलिकरणको मूल चुनौती स्त्री र पुरुषविचको उत्तरदायित्व असन्तुलन हुनुनै रहेछ । आधूनिकतावादले स्त्रीहरुमाथि पुरुषको समेत उत्तरदायित्वको दोहोरो, तेहोरो, चौबरो बोझ थपिदियो र विडम्बना स्त्रीहरुमाथि अचानक आइपरेका यी विवसताका अवस्थालाई पुरुषले आफ्नो अधिकार र शक्तिको रुपमा बुझ्यो र विस्तारै यो अवस्था कतिपय परिवारमा स्त्री र पुरुषविचको शक्ति संघर्षको रुपमा रुपान्तरण हुदै गयो र व्यक्ति, परिवार, समाज, राज्य नै विविध प्रकारका विखण्डनहरुको चपेटामा चेपिदै गयो तथा गैरहेको छ । यो शक्ति तथा अधिकार जानेर, नजानेर स्त्रीहरुबाट खोसेर पुरुषले आफ्नो कब्जामा राखेको छ, उ विभिन्न बहानामा स्त्रीलाई स्त्रीको यो नैसर्गिक शक्ति तथा अधिकार फर्काउन चाहादैन र आफ्नो उत्तरदायित्व तथा कर्तव्यको भार पनि स्त्रीकै काँधमा बोकाइरहन चाहान्छ विभिन्न बहानामा । तर अव युग फेरिएको छ, स्त्रीहरुले जसरी पनि आफ्नो नैसर्गीक शक्ति तथा अधिकार फिर्ता लिने संकल्प लिएका छन् चाहे आफ्नो जीवनमा जतिसुकै बोझहरु थपिउन, बोक्नु परोस् तथा बोकाइयोस् उनीहरु अव आफ्नो नैसर्गिक शक्ति तथा आधिकार फिर्ता नलिकन रोकिनेवाला छैनन् र अवका दिनमा स्त्रीहरुले आफ्नो संकल्प पूरा गर्ने पथ तथा माध्यम आध्यात्मिक नारीवादलाई बनाइरहेका छन् । यी सबै चुनौतीहरुको समाधान अव केवल व्यक्ति, परिवार, समाज, राज्यलाई अध्यात्म विज्ञानको मूलप्रवाहमा समाहित गरेर मात्र सहज र सम्भव गर्न सकिन्छ भन्ने कुरा आजका स्त्रीहरुले बुझिसकेका छन् । मनुष्यका जीवनका विविध आयामहरुमा अव आध्यात्मिक आयाम पनि जोड्नुपर्छ भन्ने सन्दर्भमा कसैको दुईमत छैन किनकी अध्यात्मिक जागरण आजको युगको टड्कारो आवश्यकता बनिसकेको छ । सबै विज्ञानहरुका कसौटीमा स्त्री र मनुष्यताका सबैप्रकारका मुद्दा तथा विषयहरु घोटिइसकेका छन् र कुनैपनि कसौटीले स्त्री र मनुष्यताका यी मुद्दा तथा विषयका चुनौतीहरुलाई सहज ढंगले पार लगाउन नसकोका तथ्यांकगत प्रमाणहरु सबै समक्ष जगजाहेर रहेका छन्, तसर्थ आगामी समयमा स्त्री र मनुष्यता लगायत पुरुषहरुको सबलिकरणका लागि आध्यात्मिक क्रान्तिको आवश्यकता अपरिहार्य बनिसकेको छ ।
छिट्टै,
स्त्रीहरुको सबलिकरणमा आध्यात्मिक क्रान्तिको आवश्यकता
++++++++++++++++++++++++++
*लैंगिकता र विकासको विद्यार्थी, अध्यात्म साधक तथा वाचक, योगध्यान प्रशिक्षक ।
ग्रामीण विकासमा स्नाकोत्तर(Master's Degree), महिला विकासमा स्नाकोत्तर, महिला सशक्तिकरणमा विद्यावारिधी(PhD) ।
No comments:
Post a Comment