डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -१९ को निरन्तरता
जीवनमा पूर्णताकालागि अध्यात्म विज्ञानका त्रिरत्न- योगासन, प्राणायाम, धारणा
व्यायाम, योगासन, प्राणायाम, मुद्रा,
बन्द, क्रिया, धारणा
योगाभ्यासको पृष्ठभूमि
योगाभ्यास अन्तर्गत योग साधनाका प्रमुख तीन अंगहरु योगासन, प्राणायाम र धारणा तथा एकाग्रता पर्दछन् । योगासनका लागि अत्यन्तै महत्वपूर्ण तथा सूचनामूलक र वर्तमान समयमा विश्वव्यापि रुपमा सर्वाधिक प्रयोगात्मक अभ्यास का रुपमा अनुशरण गरिदै आइएको हठ योगमा मोटामोटी रुपमा ८४ प्रकारका योगका आसनहरु र नौ प्रकारका प्राणायामका विधिहरु उल्लेख रहेको पाइन्छ । यसकासाथै पछिल्लो समयमा खोजी प्रवृत्ति भएका केही सिर्जनशील नव योग गुरुहरुले वर्तमान समयमा मनुष्यको स्वास्थ्य अवस्थाको आवश्यकतालाई मध्यनजर गरेर योगका विभिन्न प्रकारहरुलाई एकआपसमा सम्योजन(फ्युजन) गराएर नयाँ प्रकारका योगका आसनहरु र प्राणायामका विधिहरु पनि प्रतिपादन गरेका छन् र नयाँ आसन तथा विधिहरु पनि अत्यन्तै प्रभावकारी रहेको तिनका अभ्यास र सकारात्मक प्रतिफलहरुले प्रमाणित गरिसकेका छन् । यी ८४ भन्दा बढि प्रकारका योगका आसनहरु र नौ भन्दा बढि प्रकारका प्राणायामका विधिहरुका साधना गर्ने प्रक्रिया अलग–अलग प्रकारका रहेका छन् । सामान्यतया योगका आसनहरुको साधना चार प्रकारका अवस्था तथा प्रक्रिया अन्तर्गत रहेर गर्ने गरिन्छ– (१)उभिएर गरिने योगका आसनहरु, (२)बसेर गरिने योगका आसनहरु, (३)घोप्टो परेर गरिने योगका आसनहरु, र (४)उत्तानो पल्टेर गरिने योगका आसनहरु । यसका अतिरिक्त अभ्यास गर्ने प्रक्रियाको दृष्टिकोणबाट योगका आसनहरु फरक–फरक भएसंगै समयको दृष्टिकोणले– विहान, दिउसो, साँझ गर्ने आसनहरु; खालि पेट तथा खाना खाएको पेटमा गर्न मिल्ने आसनहरु; त्यस्तै हतार भएको समयमा; यात्रामा रहेको अवस्थामा; साघुरो ठाउँमा रहेको अवस्थामा; भिडभाडमा रहेको अवस्थामा; समय कम भएको अवस्थामा; व्यस्त रहेको अवस्थामा; सामान्य प्रकारको अस्वस्थ भएको अवस्थामा; विशेष प्रकारको अस्वस्थता भएको अवस्था आदिमा गर्न सकिने तथा गर्न मिल्ने फरक–फरक प्रकारका लामा तथा छोटा प्रक्रिया तथा विधिहरु भएका योगका व्यायाम तथा आसनहरु विभिन्न प्रकारका रहेका छन् र यही अनुरुप प्राणायामका विधिहरु पनि विभिन्न प्रकारका रहेका छन् । योगका आसनहरु मध्य विहान खालि पेटमा उभिएर, बसेर, घोप्टो परेर र उत्तानो पल्टेर गरिने प्रकारका सबैभन्दा बढि अभ्यास गरिने योगका आसनहरु हुन् । यस बाहेक जुनसुकै समय, अवस्था तथा परिस्थितिहरुमा पनि आकस्मिक रुपमा साना-ठूला, लामा-छोटा, सजिला-अप्ठ्यारा योगका केही शरीर तताउन गरिने कदमचाल व्यायामहरु, शरीर खुलाउन गरिने सुक्ष्म व्यायामहरु र शरीर तन्काउन गरिने योगका आसन, प्राणायाम, मुद्रा, बन्द र धारणाको प्रयोगात्मक अभ्यास गर्न सकिन्छ । आकस्मिक अवस्थामा गर्न सकिने योग केही व्यायाम, आसन, प्राणायाम, मुद्रा, बन्द, क्रिया र धारणाबारे संक्षिप्त रुपमा जानौं र आफूले नियमित अनुशरण गरेर तथा अरुलाई पनि नियमित अनुशरण गराएर आफू स्वस्थ बनौ र अरुलाई पनि स्वस्थ बन्न सहयोग गरौं ।
व्यायाम
शरीर तताउन गरिने कदमचाल व्यायाम
सादा र खुकुलो पहिरनमा हावा दोहोरो आवत–जावत गर्ने ठाउँमा सिधा उभिएर छिटोछिटो श्वास वाहिर छोड्दै दाहिने–देब्रे गोडा र हात सुस्त, मध्यम तथा तिब्र गतिमा चलाऔं । यसो गर्दा स्थुल शरीर तात्छ; शरीरमा रक्तसंचार बढ्छ; श्वास–प्रश्वासको गति बढ्छ; शरीरभरि उर्जा संचारित हुन्छ र यस्तो अवस्थाले शरीर तथा मनमा ताजगी, शक्ति, स्फुर्ति, जोश बढाएर शरीरलाई सुक्ष्म व्यायामका लागि तयार गर्दछ । कदमचाल व्यायाम अन्तर्गत सौम्य तथा सभ्य संगीतमा नृत्य गर्ने, शरीरलाई तरंगीत गर्ने तथा मर्काउने, दौडिने, भर्यागं तल–माथि गर्ने, पि.टी. खेल्ने, जोडले हाँस्ने, डोरी खेल्ने, ब्याट र कर्कसंग खेल्ने, हल्का सामानहरु उठाउने–राख्ने, तान्ने–ठेल्ने तथा ओसार–पसार गर्ने आदि क्रियाकलापहरु पनि समावेस गर्न सकिन्छ ।
शरीर खुलाउन गरिने सुक्ष्म व्यायाम
कदमचाल व्यायाम गरेर शरीर तातेर ताजा र फुर्तिलो भएपछि सुक्ष्म व्यायाम गर्न प्रारम्भ गर्नु पर्दछ । सुक्ष्म व्यायामका क्रियाकलापहरुले शरीर र मनलाई योगका आसनहरु गर्नकालागि तयार गर्दछन् । सुक्ष्म व्यायाममा शरीरका पैतालादेखि तालुसम्मका सबै अंगहरुलाई एकएक गरि परिचालित गर्ने गरिन्छ । यसकालागि सर्वप्रथम कम्मरमा हात राखेर दुवै गोडालाई एकएक गर्दै जमिनबाट थोरै माथि उचालेर सुल्टो–उल्टो गोलाईमा घुमाऔं र यसैगरि कम्मरमुनिको पुरै भागलाई घुमाऔं; एकएक गर्दै घुँडालाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; कम्मरलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; कुमलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; पाखुरालाई तनक्क तन्काएर हातमा मुठ्ठी बनाएर नारीलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; हात अगाडि पसारेर मुठ्डी बनाउदै खोल्दै गरौं; हात र हातका औंलालाई मालिस गरौं; हत्केलालाई बुढी औंलाले सबैतिर दबाऔं; हत्केलामा तरंग उत्पन्न हुनेगरि ताली बजाऔं; एक हातकाका औंलाले अर्को हातका औंलालाई अंकुुशे पारेर अड्काऔं र पूरा श्वास भित्र भरेर रोकेर सकुन्जेल तानौं; एक हात कम्मरबाट ढाडमा लैजाऔं, अर्को हात कुमबाट ढाडमा लैजाऔं अंकुुशे पारेर अड्काऔं र पूरा श्वास भित्र भरेर रोकेर सकुन्जेल तानौं; गर्धनलाई सुल्टो–उल्टो, दायाँ–बायाँ र गोलाईमा घुमाऔं र चारै दिशाबाट शिरलाई हातले र हातलाई शिरले ठेलौं; हातका पाँचै औंलाका टुप्पा एकसाथ जोडेर शिरमा ठुगं हानौं; आँखालाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; केहीबेर कानलाई मालिस गरौं, तानौं र बटारौं; नाकका नासिकाबाट केहीबेर जोडजोडले श्वास वाहिर फालौं र केहीबेर लामो गहिरो श्वास भित्र लिदै लामो श्वास वाहिर फालौं; केहीबेर चेहराभरि औंलाले दबाऔं, मालिस गरौं र चेहरा थपथपाउँ; केहीबेर सकेसम्म ठूलो पारेर मुख खोल्दै र बन्द गर्दै गरौं; केहीबेर सकेसम्म तन्काएर जोडले श्वास वाहिर छोड्दै जिब्रो वाहिर निकालौं; अवस्था सहज छ भने केहीबेर चिच्याऔं; केहीबेर आँखा बन्द गरेर, स्थिर भएर भमरा जस्तो मंमंमंमं गर्दै आफ्नो आवाज आफैंले सुनौं ।
सुक्ष्म व्यायामका यस्ता क्रियाकलापहरु गरिसकेपछि शरीर विस्तारै खुल्दै जान्छ, शरीरमा रक्तसंचार बढ्छ, मांसपेसी, हड्डिका जोर्नी, नशा तथा नाडीहरु खुल्छन्, लचिलो तथा सहज हुन्छन् र पूरै शरीर र मन पूर्णरुपमा योगका आसनहरु लगाउनकालागि तयार हुन्छन् । यसरी क्रमवद्ध रुपमा सर्वप्रथम शरीर तताएर र शरीर खुलाएर गरिएका योगका आसनहरुबाट सहजै अधिकतम लाभ तथा उपलव्धिहरु हासिल गर्न सकिन्छ । योगासनका सकारात्मक लाभ तथा उपलव्धिका कारण मनुष्यको शरीर, मन, भावना, आत्मा अर्थात चेतना हरप्रकारले स्वस्थ, शुद्ध, सन्तुलित तथा सक्रिय हुन्छन् जसले उसको सांसारिक जीवनमा मुक्ति ल्याउनुका साथै पारमार्थिक जीवनमा मोक्षमा उपलव्ध हुन उभित्र आध्यात्मिक विकासको मार्ग खुल्न थाल्छ र विस्तारै उसको जीवन पूर्णताले भरिन थाल्छ ।
योगासन
शरीरका सबै आयामहरु– भौतिक शरीर, मानसिक शरीर, भावात्मक शरीर, आत्मिक अर्थात चेतनात्मक शरीरलाई सदा स्वस्थ राखिरहनका लागि खासगरि भौतिक शरीरको बसाइ तथा आसन(पोस्चर)मा विशेष ख्याल राख्नु पर्दछ । सामान्य अवस्थामा र काम गर्दा समेत सकेसम्म सम्झेर मिलेसम्म कम्मर, ढाड, गर्धन, शिर तथा पूरै मेरुदण्ड सिधा राखेर बस्नु तथा र काम गर्नु पर्दछ । छोटो समयका बसाई, आसन तथा काम गराइका अवस्थाहरुमा कम्मर, ढाड, गर्धन, शिर तथा पूरै मेरुदण्ड अवस्था अनुकुल झुकेर, निहुरिएर, टेढो परेर बस्दा त्यसको खासै नकारात्मक प्रभाव शरीरका आयामहरुमा पर्दैन तर लामो समयसम्म गरिने काम, बसाई तथा आसनका अवस्थाहरु जस्तै विद्यालयमा ड्स्क–बेन्चमा बस्दा, कार्यालयको कुर्शीमा बस्दा, लामो यात्रामा सिटमा बस्दा, राति ओछ्यानमा सुत्दा शरीरको अवस्था, तरिका तथा प्रक्रियाहरु सहि प्रकारका तथा सन्तुलित हुनुपर्दछ किनकी सही प्रकारले गरिने यस्ता गतिविधिहरु पनि थोरबहुत व्यायाम तथा योगासनहरु सरहनै हुन्छन् शरीर, मन, भाव, आत्मा अर्थात चेतनाको स्वस्थ अवस्था, शुद्धता, सक्रियता र सन्तुलनताका लागि । जति हाम्रा दैनिक गतिविधिहरु सहि प्रकारले गरिन्छन् उतिनै हाम्रो शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक रुपमा स्वस्थ, शुद्ध, सक्रिय र सन्तुलित हुन्छ । लामोबेरको बसाई, आसन तथा सुताइको तरिका मिलेन तथा सन्तुलित भएन भने यसले शरीरका आयामहरु तथा भौतिक शरीरका वाहिरी र आन्तरीक अंगहरुका साथसाथ मन तथा भावनामा पनि विभिन्न प्रकारका अस्वस्था तथा समस्याहरु ल्याउन सक्दछ । यस्तो अवस्था आउन नदिनकालागि आफूले लामो समय बिताउनु पर्ने स्थान तथा कक्षहरु आफ्नो अनुकुल हुनेगरि व्यवस्थित गर्नुपर्दछ र त्यसै अनुसारका सामग्रीहरुको प्रयोग गर्नुपर्दछ । शारीरिक स्वास्थ्यका लागि सहज प्रकारका कुर्शी, सोफा, र्याक, टेवल, डेस्क, बेन्च, काउचहरुको व्यवस्था गर्नुपर्दछ । भौतिक शरीरको स्वस्थता र सक्रियताका लागि आवश्यक पर्ने शरीरका अंगहरुलाई चलायमान गराउने गतिविधिहरु गर्न माथि उल्लेखित कदमचाल व्यायाम, सुक्ष्म व्यायाम र योगासनका सरल तथा सहज विधिहरु गर्न सकिन्छ । योगासनका सरल तथा सहज विधिहरु गर्नका लागि आफूले प्रयोग गरिरहेका टेवल, कुर्शी, काउच, र्याकहरुलाई नै प्रयोग गरेर योगका व्यायाम, अभ्यास तथा आसनहरु गर्न सकिन्छ पयटेर, पल्टेर, हात–गोडा तन्काएर, झुकेर, उठेर आदि किसिमले शारीरिक स्वास्थ्यमा सन्तुलन कायम गर्न सकिन्छ ।
शरीर स्वस्थ, शुद्ध, सक्रिय तथा सन्तुलित छ भने यसको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रवाभका कारण सोच, विचार, मन तथा भावनामा पनि यसको सकारात्मक प्रभाव पर्दछ र सञख, खुशी, शान्ति, आनन्छको अनुभूति हुन्छ । यी प्रक्रियाहरुसंगै मानसिक तथा भावनात्मक स्वास्थ्यका लागि कोठाको भित्ताका रंग; झ्याल–ढोकाका पर्दाका रंग तथा बुट्टा; कार्पेटको रंग तथा बुट्टा; सुन्दरताका लागि भित्तामा टाँगिने तस्वीरहरु तथा अन्य सजावटका सामग्रीहरुका रंग तथा किसिमहरु; सुमधूर श्रवणका लागि निरन्तर बजाइने संगीतका मधूर धूनहरु; सुगन्धका लागि प्रयोग गरिने सामग्रीका किसिमहरु तथा सुगन्धका प्रकारहरु; कक्ष वरपरको सुन्दरताका लागि सजावटका अन्य प्रकारका सामग्रीहरु आदि आफ्नो रुचि अनुकुल हुनेगरि सौम्य प्रकारका राख्नु पर्दछ । हरेक मानिस सुन्दरता र सुगन्धलाई मनपराउछ र त्यतातिर आकर्षित हुन्छ, सुन्दरता र सुगन्धको अनुभव हुदा खुशी तथा शान्तिको महसुस गर्छ । आफ्नो कक्षमा राखिएका तथा आफ्नो रुचि अनुसार व्यवस्था गरिएका सौम्य प्रकारका सामग्रीहरु हेरेर, सुगन्ध लिएर, अनुभव तथा अनुभूति गरेर मानसिक तथा भावनात्मक स्वास्थ्यमा सन्तुलन कायम गर्न सकिन्छ ।
प्राणायाम
आफू रहेको स्थान र आफू स्वयंको अवस्था हेरेर सौम्य र तिब्रगतिमा गरिने दुवै प्रकारका प्राणायामका विधिहरु अनुशरण गर्न सकिन्छ । विहान तथा साँझको समयमा पेट तथा शरीर हलुका हुनेहुनाले सौम्य र तिब्रगतिमा गरिने दुवै प्रकारका प्राणायामका विधिहरुको प्रयोगात्मक अभ्यास गर्न सकिन्छ तर दिउसो र रातिको समयमा खाना खाइएको अवस्थामा पेट र शरीर भारी हुनेहुनाले सौम्य गतिका प्राणायामका विधिहरु मात्र गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । श्वास–प्रश्वासको गतिलाई छिटो–छिटो चलाउने तथा विषेश प्रकारले चलाउने विधिहरु– भस्त्रिका, कपालभाति, अग्निसार, उज्जाई, हुकार प्राणायाम आदि तिब्र गतिका प्राणायाम अन्तर्गत पर्दछन् र श्वास–प्रश्वासको गतिलाई सामान्य, सुस्त तथा लामो–गहिरो गरि चलाउने विधिहरु– अनुलोम–विलोम तथा नाडी सोधन, उदगीत, भ्रामरी, शिलती, वीज प्राणायाम, हास्य प्राणायाम आदि सौम्य गतिका प्राणायाम अन्तर्गत पर्दछन् । तिब्र गति र सौम्य गतिका प्राणायामका आ–आफ्नै प्रकारका लाभ तथा सकारात्मक प्रभावहरु रहेका छन् तसर्थ आफ्नो अवस्था र आवश्यकता अनुसार जुनसुनै प्राणायाम गर्न सकिन्छ । समान्यतया पेट तथा शरीर भारी भएको अवस्थामा तित्र्रगतिका प्राणायामहरु गरिदैन, यस्तो अवस्थामा सौम्य गतिका प्राणायामहरु गर्नुपर्दछ । हलुका खाना खाएको १५–२० मिनेटमा सौम्य प्राणायाम गर्न सकिन्छ र १, २ घण्टापछि आफ्नो अवस्था हेरेर तिब्र र सौम्य दुवै प्रकारका प्राणायामका विधिहरुको प्रयोगात्मक अभ्यास गर्न सकिन्छ ।
तर प्राणायामका विधिहरुको प्रयोगात्मक अभ्यास निश्चित समयअवधिका लागि मात्र गरिने हुनाले र बाँकी समय श्वास–प्रश्वास सामान्य अवस्थामा रहन्छ । सामान्य अवस्थामा भित्र–वाहिर आउने–जाने गरिरहेको श्वास–प्रश्वासलाई याद गर्नु तथा हेरिरहनु पनि एकप्रकारको प्राणायामको अभ्यास हो जसले शरीरका नशनाडीहरुमा प्राणको आयामको सन्तुलित संचार प्रक्रियामा मद्धत गर्दछ । श्वास–प्रश्वास आफैं चिकित्सक र औषधी दुवै भएकोले सम्झेर हरसमय श्वास–प्रश्वासलाई लामो–गहिरो बनाउनु पर्दछ ताकी शवास फोक्सोको तल्लो भागसम्म पुगेर फर्कियोस अर्थात डायफ्रामिक ब्रिथिगं होस् । आधूनिक चिकित्सा तथा मनोचिकित्साका अनुसार डायफ्रामिक ब्रिथिगंले हाम्रो शरीरका प्रमुख तीन नर्भसहरु– सिम्पथेटिक, प्यारा सिम्पथेटिक र भेगस नर्भका प्रणालीहरुलाई स्वस्थ, सक्रिय र सन्तुलित राख्न मद्धत गर्दछ । नर्भस प्रणालीहरु स्वस्थ, सक्रिय र सन्तुलित भएको अवस्थामा मानिसको मस्तिस्कका स्नायु प्रणलीहरु प्नि स्वस्थ, सक्रिय र सन्तुलित हुन्छन् र यो अवस्थामा शरीरमा सकारात्कम तथा खुशीका रसायनहरु(ह्याप्पि हर्मोन्स) उत्पन्न हुन्छन् जसले मानिसलाई शारीरिक, मानसिक तथा भावनात्मक रुपले समग्रतामा हरप्रकारले स्वस्थ, सक्रिय र सन्तुलित रहन मद्धत गर्दछन् । हरसमय श्वास–प्रश्वासलाई लामो–गहिरो बनाउनका लागि आफू बसेको कक्षमा मिठो सुगन्ध आउने प्राकृतिक वस्तुहरु जस्तै ताजा फूल, अगरबत्ती, धूप, सुगन्धित वनस्पति, जडिबुटी, तेल तथा अत्तर आदिको उपयोग गर्न सकिन्छ । यसो गर्दा आफूले थाहा नपाइकनै श्वास–प्रश्वास सुगन्ध लिने लोभमा तथा धूनमा आफैं लामो–गहिरो हुने गर्दछ (पछिल्ला पाठहरुमा प्राणायामका किसिम, विधि तथा लाभहरु विस्तारमा आउनेछन्) ।
मुद्रा
योग साधनामा शरीरका विभिन्न अंगहरुमा लगाइने मुद्राहरु सामान्य र विशेष गरि धेरै प्रकारका रहेका छन्, । सामान्यतया योग साधनाका प्रयोगात्मक अभ्यासहरुमा स्वास्थ्यका दृष्टिकोणले हातका औंलामा लगाइने र सबैले लगाउन मिल्ने सहज र सरल निम्न प्रकारका मुद्राहरुको प्रयोग बढि गर्दै आइएको पाइन्छ– (१)इन्द्र मुद्रा, (२)वरुण मुद्रा, (३)पृथ्वी मुद्रा, (४)सूर्य मुद्रा, (५)आकाश मुद्रा, (६)शुन्य मुद्रा, (७)ज्ञान मुद्रा, (८)वायू मुद्रा, (९)ब्यान मुद्रा, (१०)उदान मुद्रा, (११)प्राण मुद्रा, र (१२)अपान मुद्रा । खाना खाएको आधा घण्टापछि कम्मर, ढाड, गर्धन सिधा गरेर कुनै पनि सहज आसनमा बसेर आफ्नो समयको उपलव्धता तथा सहजता हेरेर हातका औंलामा यी मुद्राहरु लगाएर बस्न सकिन्छ ५ देखि १५ मिनेटसम्म । मुद्राका प्रयोगात्मक अभ्यासहरुले मुख्यरुपमा शरीरमा पंचतत्व(पृथ्वी, जल, अग्नि, वायू, आकाश) संतुलनमा राख्न र शरीरका नस–नाडीहरुमा प्राणको संचार सन्तुलित रुपमा गर्न तथा गराउन मद्धत गर्दछन् र यस अतिरिक्त पनि शरीर, शरीरका अंगहरुका काम तथा शरीरका सबै प्रकारका प्राणालीहरुलाई स्वस्थ, सक्रिय र सन्तुलित राख्न मुद्राका प्रयोगात्मक अभ्यासहरुले धेरै हदसम्म मद्धत गर्दछन्।
(१)इन्द्र मुद्रा– त्वचा तथा छालालाई स्वस्थ, सक्रिय र सन्तुलित राख्न मद्धत गर्दछ ।
(२)वरुण मुद्रा– शरीरमा जलतत्व र पाचन क्रियालाई स्वस्थ, सक्रिय र सन्तुलित राख्न मद्धत गर्दछ ।
(३)पृथ्वी मुद्रा– हाड तथा जा्र्नीहरुलाई स्वस्थ, सक्रिय र सन्तुलित राख्न मद्धत गर्दछ ।
(४)सूर्य मुद्रा– शरीरमा अग्नि तत्व, पाचन प्रणाली तथा शरीरको वजन सहि गरेर स्वस्थ, सक्रिय र सन्तुलित राख्न मद्धत गर्दछ ।
(५)आकाश मुद्रा– मस्तिष्क र स्नायु प्रणालीलाई स्वस्थ, सक्रिय र सन्तुलित राख्न मद्धत गर्दछ ।
(६)शुन्य मुद्रा– कानको सुन्न सक्ने क्षमतालाई स्वस्थ, सक्रिय र सन्तुलित राख्न मद्धत गर्दछ ।
(७)ज्ञान मुद्रा– मानसिक तनाव, चिन्ता, अनियन्त्रित अति विचारलाई सन्तुलित तथा व्यवस्थित राख्न मद्धत गर्दछ ।
(८)वायू मुद्रा– श्वास–प्रश्वासको आयामलाई स्वस्थ, सक्रिय र सन्तुलित राख्न मद्धत गर्दछ ।
(९)ब्यान मुद्रा– रक्तचाप, ग्रन्थी रसायनहरु तथा हमोन्स, नश–नाडी प्रणालीलाई स्वस्थ, सक्रिय र सन्तुलित राख्न मद्धत गर्दछ ।
(१०)उदान मुद्रा– थाइराइड र घाँटीसंग सम्वन्धित अस्वस्थताहरुलाई स्वस्थ, सक्रिय र सन्तुलित राख्न मद्धत गर्दछ ।
(११)प्राण मुद्रा– शरीरमा सबैतिर समान रुपले उर्जाको संचार सन्तुलित किसिमले गरेर शरीरलाई स्वस्थ, सक्रिय र सन्तुलित राख्न मद्धत गर्दछ । आलस्य, थकान, कमजोरी, निद्रा, प्रमाद आदि तामसिक अवस्थालाई व्यवस्थित तथा सन्तुलित राख्न मद्धत गर्दछ ।
(१२)अपान मुद्रा– पेट, पाचन क्रिया तथा पाचन प्रणालीलाई स्वस्थ, सक्रिय र सन्तुलित राख्न मद्धत गर्दछ ।
बन्द
योग साधनामा प्रमुख तीन प्रकारका बन्दहरु रहेका छन्– (१)मूल बन्द(मलद्वार संकुचन), (२)उड्यान बन्द(नाभि क्षेत्र संकुचन), र(३)जालन्धर बन्द (गलाक्षेत्र संकुचन)लाई नियमित तवरले प्रयोगात्मक अभ्यास गरेर सहज प्रकारले शारीरिक, मानसिक तथा भावनात्मक रुपमा समग्र स्वास्थ्य हासिल गर्न सकिन्छ । (पछिल्ला पाठहरुमा बन्दका किसिम विधि तथा प्रक्रियाहरु विस्तारमा आउनेछन्) ।
क्रिया
योग साधनाका षटक्रिया– नेति, धोति, नौलि, वस्ति कपालभाति, त्राटक क्रिया; अश्विनी क्रिया, बज्रोली क्रियाहरुलाई नियमित तवरले प्रयोगात्मक अभ्यास गरेर सहज प्रकारले शारीरिक, मानसिक तथा भावनात्मक रुपमा समग्र स्वास्थ्य हासिल गर्न सकिन्छ । (पछिल्ला पाठहरुमा क्रियाका किसिम, विधि र प्रक्रियाहरु विस्तारमा आउनेछन्) ।
नेति- श्वास–प्रश्वासमा सन्तुलनका लागि नासिकाहरुको सफाई ।
धोति- पाचन प्रणाली सन्तुलनका लागि पेटको सफाई ।
नौलि- पेटका मांसपेशीहरु मालिस गरेर पाचन क्रियालाई बल प्रदान ।
वस्ति- पेटको सन्तुलनका लागि मलद्वारको सफाई ।
कपालभाति- फोक्सोको सन्तुलनका लागि फोक्सो र श्वासनलीको सफाई ।
त्राटक- मस्तिष्कको एकाग्रता बढाउनका लागि एकै स्थानमा हेर्ने क्रिया ।
अश्विनी क्रिया- मलद्वार संकुचन ।
बज्रोली क्रिया- जनेन्द्रिय संकुचन ।
No comments:
Post a Comment