विषय प्रवेश
नेपाल र भारतको भूमिबाट प्रादुर्भाव भएको विश्वकै लोकप्रिय बौद्ध धर्म तथा दर्शनको सफलता र असफलता दुबै अवस्थाका साक्षी भएका छौ हामी सबै । सफलता– तत्कालीन सामाजिक अव्यवस्था विरुद्ध विरोध र सुधारको आवाज उठाउदै साना–साना संघहरु बनाएर प्रारम्भ भएको बौद्ध धर्म तथा दर्शन वर्तमान समयमा विश्वभरि विस्तार भएर प्रादुर्भाव भएको समयदेखि २५०० वर्षको यात्रा अवधिमा विश्वभरि प्रसिद्धि कमाएको विश्वकै अत्यन्तै लोकप्रिय चौथो ठूलो वैश्विक धर्म तथा आस्थाको केन्द्र बन्न सफल भएको छ । असफलता– बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको मुलभूमि नेपाल र भारतबाट विविध कारणहरुले अल्पमतमा पर्दैगयो र १२औं शताव्दी पछि अत्यन्तै न्यून संख्यामा सीमित हुनपुग्यो अर्थात पतन तथा लोप हुने अवस्थामा पुग्यो । इतिहासमा बदलाव तथा क्रान्ति संधै हल्ला गरेर मात्र आउदैन, कहिलेकाहीं मौनतामै ठूलो बदलाव, रुपान्तरण तथा क्रान्ति घटित भैदिन्छ र बौद्ध धर्म तथा दर्शनको सन्दर्भमा पनि यस्तै केही भयो, बिना कुनै हलचल मौनतामै विस्तारै आफ्नै मातृभूमि नेपाल र भारतबाट अल्पमत तथा पतनको अवस्थामा पुग्यो । वर्तमान समयमा विश्वव्यापि रुपमा बौद्ध धर्म तथा दर्शनलाई तत्कालीन वैदिक धर्म तथा समाजको अमानवीय गतिविधिहरु विरुद्ध ठूलो सामाजिक विरोध तथा हल्ला गरेर आएको क्रान्तिको परिणामबाट प्रादुर्भाव भएको अलग मूल्य–मान्यताहरु अघि सारेर फरक विचारधारा तथा अस्तित्व बनाएको स्थापित लोकप्रिय मत तथा दर्शनका रुपमा चिनिदै आइरहिएको छ । किनकी बौद्ध धर्म तथा दर्शन यसप्रकारको अस्तित्वमा स्थापित हुनुपूर्व यसले तत्कालीन वैदिक धर्मका अनुयायीहरुको समुह ब्राम्हणवादी समाजको चरम अमानवीयता, अन्याय, अत्याचार, अनैतिकता, शोषण, दमन, विभेद तथा सबै प्रकारका सामाजिक अव्यवस्था तथा असहिष्णुताको विरुद्ध दरिलो आवाज उठाएर आम जनसाधारणहरुको जीवन सहज बनाउन दरिलो कदम चालेको थियो र यसको परिणाम अत्यन्तै उपलव्धिमुलक र प्रभावकारी आएको कारण बौद्ध धर्म तथा दर्शनको लोकप्रियता बढेको थियो । यो कदम वैश्विक क्रान्ति थियो जसको प्रामाणिकता पछिल्ला युग, शताव्दी, दशक, वर्ष, दिनहरुमा करुणा, शान्ति र सदभावका दृष्किोणबाट अझ बढि सान्दर्भिक, व्यवहारिक र उपयोगी हुदै आइरहेको देखिन्छ ।
बौद्ध धर्म तथा दर्शन नेपाल र भारतको पुण्यभूमि, तपोभूमि, ध्यानभूमिमा प्रादुर्भाव भयो तर विडम्बना यो नेपाल र भारत वाहिरका देशहरु विशेषगरि दक्षिण पूर्वी एशिया र पूर्वी एशियाका देशहरुमा विस्तार भयो र प्रादुर्भाव भएको मूलभूमिमा अल्पमतमा पर्दैगयो, झण्डै पतन तथा लोप हुने अवस्थामा पुग्यो र पछिल्ला शताव्दीहरुमा पुनः स्थापित हुन प्रयास तथा संघर्ष गरिरहेको छ । वाहिरका देशहरुमा मानवीय, सम्यक तथा मध्यमार्गी र व्यवहारिक विचारधारा तथा दर्शनका रुपमा प्रसिद्ध र लोकप्रिय रहदै आएको भएपनि मूलभूमिमा गहिरो जान तथा विस्तार हुन त्यति सहज भएको छैन, अनेक प्रकारका समस्याहरुको सामना गर्दै संघर्षहरुको गरिरहेको छ । बौद्ध धर्म तथा दर्शनको मूलभूमि नेपालमा वर्तमान समयमा कुल जनसंख्याको ८.२१ प्रतिशत बौद्ध मार्गीहरु रहेका छन् र भारतमा कुल जनसंख्याको ०.७ प्रतिशत अत्यन्तै न्यून अवस्थामा बौद्ध मार्गीहरुको उपस्थिति रहेको छ । एक समयमा आफ्नो मूलभूमिको सांस्कृतिक, धार्मिक र सामाजिक व्यवस्थामा क्रान्तिकारी रुपान्तरण ल्याएको; वरपरका क्षेत्र र विदेशसम्म विस्तार भएको; विश्वका धेरै देशहरुमा विस्तार भएर विश्वको चौथो ठूलो धर्म तथा धार्मिक आस्था रहेको; विश्वको कुल जनसंख्यामा ४.१ प्रतिशत (कतै ६.६%, तथा ५००+ मिलियन उल्लेख) रहेको; र प्राचीन कालदेखि वर्तमानसम्म विश्वस्तरमै विस्तार भएको तथा वैश्विक धर्म तथा दर्शनका रुपमा प्रसिद्धि तथा लोकप्रियता कमाएको स्थापित बौद्ध धर्म तथा दर्शन किन र कसरी यस्तो उच्च विचार तथा दर्शन जसले तत्कालीन समयमा र वर्तमान समयमा आधा संसारलाई सकारात्मक किसिमले बदल्न सक्षम भयो र आफ्नै जन्मभूमिमा अल्पमतमा पर्दै गयो तथा पतनको अवस्थामा पुग्यो, यसो हुनुमा के कस्ता कारणहरु जिम्मेवार होलान । हरकोहीका लागि यो अत्यन्तै चासोको विषय हुनगएको छ । बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको मूलभूमि नेपाल भारतबाट अल्पमतमा पर्नु तथा पतन हुने अवस्थामा पुग्नुका धेरै प्रकारका प्रत्यक्ष तथा अप्रत्यक्ष कारणहरु रहेका थिए, ती मध्य केही प्रमुख कारणहरुमा– (१)वैदिक धर्ममा समय सान्दर्भिक सुधार तथा रुपान्तरण; (२)धेरै साखाहरुमा विभाजित विचारधाराहरु; (३)स्थानीय पालि भाषा तथा लिपि छोडेर संस्कृत भाषामा वापसी;(४)बौद्ध धर्मको मूल दर्शन राम्ररी अध्ययन नगर्नु; (५)राज्य सत्ता र ब्राम्हणवादसंग सम्भौता; (६)बौद्ध मठहरु समृद्ध र नगर केन्द्रित हुनु; (७)भिक्षुहरु सम्पन्न र सुखभोगी तथा बिलासी हुनु; (८)बौद्ध अध्यात्म दर्शन संस्कृतिमा सीमित हुनु; (९)बौद्ध मठहरुमा आर्थिक शंकट आउनु; (१०)बौद्ध धर्म विरोधी समाज तथा राज्य सत्ता; (११)बौद्ध मठहरुको प्रशासनिक व्यवस्था केन्द्रिकृत हुनु; (१२)वाहिरी हमलाकारीहरुको आक्रमणमा पर्नु; (१३)सभ्यता विकासका बहुमूल्य ज्ञान, विज्ञानको विलय हुनु आदि रहेकाछन् ।
(१)वैदिक धर्ममा समय सान्दर्भिक सुधार तथा रुपान्तरण
मूलभूमिबाट बौद्ध धर्म तथा दर्शन अल्पमतमा पर्नु र पतन हुनुमा वैदिक धर्ममा समय सान्दर्भिक सुधार गर्दै जानु प्रमुख कारण रहेको मानिन्छ । तत्कालीन वैदिक समाजमा रहेका अमानवीय र अनैतिक सामाजिक अव्यवस्थाहरु फैलाउने ब्राम्हणबवादका असामाजिक गतिविधि विरुद्ध लड्ने क्रममा बौद्ध धर्म तथा दर्शनको प्रादुर्भाव भएको थियो र बौद्ध धर्म तथा दर्शन पतनको कारण पनि वैदिक धर्मका अनुशरण कर्ता ब्राम्हणवादीहरुका गतिविधिहरुनै बने, उनीहरुले समाजमा समय सान्दर्भिक हुनेगरि गरेका सुधारका सामाजिक व्यवस्थाहरु । बुद्ध धर्म तथा दर्शनले अचानक खडा गरिदिएका चुनौतिहरु विरुद्ध लड्नकालागि ब्राम्हणवादी वैदिक धर्म तथा आस्था मान्ने सनातनीहरुले आफ्ना परम्परा, संस्कार, संस्कृति तथा यिनका गतिविधिहरुमा समय सान्दर्भिक हुनेगरि सुधार र आवश्यकता अनुसार परिमार्जन गर्दैलगे । उनीहरुले स्त्री, शुद्र र दाषहरुलाई पनि स्वर्ग तथा मोक्ष प्राप्त हुने धार्मिक तथा आध्यात्मिक गतिविधिहरु गर्न पाउने व्यवस्था गरे र यसकालागि छुट्टै नयाँ नियमहरु बनाए साथै तत्कालीन समयका मूल सम्पति मानिने वस्तुभाउहरुलाई संरक्षण गर्ने, बलिप्रथामा सुधार गर्ने र कृषि खेतीमा उब्जनी गर्ने तथा गराउने, लगान तथा कर उठाउने चालचलनहरुका विषयहरुमा पनि सबैलाई सहज हुनेगरि सुधारका नीतिनियमहरु ल्याए र लागू गर्दैगए । यी समयको माग अनुसार गरिएका सुधारका नियमहरु समाजमा कार्यान्वयनमा आउन प्रारम्भ भएपछि र तत्कालीन समयमा स्थानीय क्षेत्रका समाजमा वैदिक धर्मका अनुयायी तथा ब्राम्हणवादीहरुको सहजतापूर्ण बाक्लो उपस्थितिका कारण ब्राम्हणवादीहरुको असहज उपस्थितिका विषयहरुको विरोध गर्ने क्रममा विस्तार भएका बौद्ध भिक्षु, बौद्ध संघ तथा मठहरु ओझेलमा पर्दै तथा आम सर्वसाधारण, समाज तथा ग्रामीण क्षेत्रहरुबाट दुर हुदै गए तथा आम सर्व साधारणहरुले उनीहरुको आवश्यकताको महसुस क मगनैथाले ।
वैदिक धर्म तथा दर्शन स्थिर व्यवस्था थिएन, यो निरन्तर परिवर्तन भैरहने जीवन जिउने कला व्यवस्थापनको विज्ञान थियो । आफूमाथि आइपरेका शंकट तथा चुनौतिहरुबाट वाहिर निस्कन यो समयमा वैदिक धर्म तथा दर्शनले आफूलाई अत्यन्तै आक्रामक र आकर्षक ढंगले सकारात्मक रुपान्तरण गर्यो र विगतका सबै सामाजिक अव्यवस्थाहरु तथा विभेदहरुमा व्यापक सुधार गरेर नयाँ व्यवस्था र सबैलाई मान्य हुने मूल्य–मान्यताहरु समाजमा कायम गर्दै तथा व्यवहारमा उतार्दै गयो, आफूलाई नयाँ बनाउदै तथा नयाँपनमा ढाल्दै लग्यो । इश्विको छैठौं शताव्दीदेखि बाह्रौं शताव्दीको विचमा वैदिक धर्म तथा दर्शनमा भक्ति आन्दोलनको उदय भयो किनकी वैदिक धर्मावलम्वीका सन्त, महात्माहरुले राम्ररी बुझिसकेका थिएकी अव आम सर्वसाधारणहरुलाई सहज र सुलभ हुने प्रकारले उनीहरुसंग सिधै जुडाव हुने प्रकारको आध्यात्मिकता तथा धार्मिक गतिविधिहरुको खाँचो छ । यसपश्चात आफूलाई इश्वरको भक्तिमा निमज्जीत गरेका सन्तहरुले पनि एकप्रकारले समाजको कैद तोडे(जेल ब्रेक गरे) र उनीहरुले वैदिक संस्कृतिका जटिल कर्मकाण्डहरुको बदला सिधै इश्वर र भक्तविचको भावनात्मक जुडावमाथि जोडदिए । उनीहरुले पनि संस्कृत भाषालाई छोडेर आम सर्वसाधारणहरुलाई सहजै विषयको चुरो बुझाउन क्षेत्रिय तथा स्थानीय भाषाहरु– तमिल, कर्णल, मराठी, बेंगोली आदिको प्रयोग गर्न प्रारम्भ गरे । यी भाषाहरुमा भक्ति, भजन, गीतहरु लेखिए आम मानिसहरुले बुझ्न, गाउन, नाच्न र रमाइलो गर्दै उत्सव मनाउन सक्नेगरि । भक्तिगान र रमाइलो महोत्सवका माध्यमबाट सर्वसाधारणहरु इश्वरसंग सिधै जोडिन थाले बिना कुनै ब्राम्हण तथा पुरोहित तथा बिचौलियाहरुको उपस्थिति । एकप्रकारले भन्नुपर्दा वैदिक धर्म तथा दर्शनले बौद्ध धर्म तथा दर्शनको आफैंभित्र फर्कने र आफ्नो जीवनशैली सुधार गर्ने विचारधारालाई भक्तिको नयाँ स्वरुप दिएर अंगिकार गरे र अझ आकर्षक बनाए । यस समयमा वैदिक तथा हिन्दु र बौद्ध धर्म तथा दर्शनका विचारहरुविच आस्थाहरुमा अत्यन्तै गहिरो आदान–प्रदान भयो । बौद्ध धर्म तथा दर्शनको अनुयायीहरुको दृष्टिकोणले सबैभन्दा ठूलो महायान शाखामा वैदिक धर्म तथा दर्शनका इश्वर, भगवान, देवी–देवता, मुर्ति पूजा, मन्दिर, तीर्थ, धार्मिक अनुष्ठानहरुको आयोजना जस्ता अवधारणाहरु प्रवेश गरे तथा गराइए, वैदिक ग्रन्थकारहरुले विभिन्न पुराणहरुमा भगवान बुद्धलाई विशेष चेतनाको तहमा उधृत गर्दै, उच्च सम्मान दिएर उनलाई श्रीहरि विष्णुको नवौं अवतारको मान्यता प्रदान गरे । त्यस्तै वैदिक धर्म तथा दर्शनका वेदान्त दर्शनहरु(खासगरि जगतगुरु शंकराचार्यको अद्वेत वेदान्त)मा बौद्ध धर्म तथा दर्शनको महायान शाखा अन्तर्गत रहेको महान भिक्षु नागार्जुनको शुन्यवादको प्रभाव परेको स्पष्ट देखियो । इशाको आठौं शताव्दीमा प्रतिपादित भएको जगतगुरु शंकराचार्यको अद्वेत वेदान्तमा बौद्ध धर्म तथा दर्शनको शुन्यवादको गहिरो प्रभाव तथा झलक देखिएको कारण कतिपय विश्लेषक तथा इतिहासकारहरुले जगतगुरु शंकराचार्यको अद्वेत वेदान्तको अध्ययन गरेपछि उनलाई प्रछन्न बौद्ध तथा लुकेको बौद्ध दार्शनिक समेत भनेका थिए ।
इशाको नवौं शताव्दीमा आएर अत्यन्तै ठूलो तथा रुपान्तरणकारी सांस्कृतिक विलय भयो बौद्ध र वैदिक धर्म तथा दर्शनको विचमा । यस अवधिमा धेरै पुराणहरुमा वैदिक ग्रन्थकारहरुले बुद्धलाई भगवान श्रीहरि विष्णुको नवौं अवतारका रुपमा मान्यता प्रदान गरेर एक किसिमले बौद्ध दर्शनको मूल्य–मान्यतालाई एकातिर अतिक्रमणकारी जस लिए (हाइज्याक गरे सरह) र अर्कोतिर आफूहरु अर्को धर्म तथा आस्थाप्रति उदार तथा सहिष्णु रहेको प्रमाण प्रस्तुत गरे । यहाँनेर अनौठो र पत्यार गर्ननै मुस्किल हुने प्रकारको अत्यन्तै ठूलो र महत्वपूर्ण रुपान्तरण आयो बौद्ध र वैदिक धर्म तथा दर्शन दुवैकालागि किनकी बौद्ध धर्म तथा दर्शन सनातन वेदका विषय तथा मूल्य–मान्यताहरुको विरोध गरेर आफ्नो अलग विचारधारा तथा अलग पहिचान स्थापित गरेर अस्तित्वमा आएको मत थियो र आफूलाई अलग रुपमा खडा गरेको पनि थियो सशक्त रुपमा तर ब्राम्हणवादीहरुको बठ्याईं र चतुर सम्भौताको चंगुल तथा खेलमा परेर आफैं सनातन वेदबाट निसृत भएका वैदिक धर्मका ग्रन्थहरु पुराणको हिस्सा बन्न पुग्यो अनपेक्षित किसिमले अर्थात बौद्ध धर्म तथा दर्शनका प्रणेत गौतम बुद्धलाईनै पुरै पौराणिक कथाहरुको हिस्सा बनाइयो भगवान श्रीहरि विष्णुको अवतारको मान्यता प्रदान गरेर ।
बौद्ध धर्म तथा दर्शन तत्कालीन समाजको एक अलग्ग र स्पष्ट पहिचान तथा अस्तित्व कायम गर्न सफल भएको अत्यन्तै परिवर्तनकारी र प्रभावकारी विचारधारा थियो तर विस्तारै यो बरफको टुक्रा सावित भयो किनकी एकातर्फ समयको सुविधा र लोभ, मेह, सुख भोगको प्रभावमा परेर यो बरफको टुक्रा विस्तारै पग्लिन लाग्यो र अर्कोतर्फ वैदिक तथा हिन्दु धर्म पानी जस्तो बन्यो, उसले अवस्था अनुसारको भाँडामा आफ्नो फरक आकार बनाउन सफल भयो र बरफ पग्लेर बनेको पानीलाई आफूभित्र अत्यन्तै सहजताकासाथ समाहित गर्यो, आफूमा मिलायो र आफूसरह तथा आफूजस्तै बनायो । यसप्रकारको रुपान्तरणको अवस्थामा बौद्ध र वैदिक धर्म तथा दर्शन फरक हुन् भनेर देखिने सिमानाहरु धुमिल तथा अस्पष्ट हुनथाले र विस्तारै नयाँ पुस्ताहरुले बौद्ध र वैदिक धर्म तथा दर्शन फरक होइनन् भन्ने ठान्यो र यी दुवै धर्म तथा आस्थालाई एकै मुल्य–मान्यता भएका दुई धार तथा एकै सिक्काका दुई पाटाका रुपमा बुझ्न र सहजढंगले अनुशरण गर्न थाल्यो । तर इतिहासलाई फर्के हेर्दा वास्तविकता यस्तो थिएन, यसको ठिक विपरित थियो किनकी यी दुई अत्यन्तै विपरित धारका विचार तथा आस्था थिए, वैदिक धर्म तथा दर्शनका सनातन वेदमा उल्लेख गरिएका मूल्य–मान्यताहरुको विरोध गरेर बौद्ध धर्म तथा दर्शन विद्रोही समुहको रुपमा फरक विचारधारा बोकेर अस्तित्वमा आएको थियो तर वैदिक भर्म तथा आस्थासंगको गहिरो साँठगाँठका कारण प्रारम्भमा कायम गरेको फरक अस्तित्व नामेट भएकोले मूलभूमिबाट बौद्ध धर्म तथा दर्शन पतन भयो अथवा रुपान्तरण भयो भन्न सकिन्छ किनकी वास्तविकतामा यो पतनको अवस्था थिएन स्पष्ट रुपमा रुपान्तरणको अवस्था थियो धर्म तथा दर्शनमा यी र यस्ता विषयहरुसंग सम्वन्धित इतिहासकारहरुका भनाई तथा दावीहरुका अनुसार ।
यसप्रकारको वास्तविक पहिचान नै हराउने गरि भएको रुपान्तरणका कारण आम मानिसहरुले अव विस्तारै बौद्ध धर्म तथा दर्शनलाई वैदिक धर्म तथा दर्शनबाट अलग मान्न छाडे, वैदिक विधि अनुसार निर्माण गरिएका हिन्दु मन्दिरहरुमा, घरका पूजा कक्षहरुमा बुद्धका मुर्तिहरु स्थपना गर्न प्रारम्भ गरियो र बुद्धको मुर्तिमा समेत हिन्दुहरुको रीतिरिवाज असनुसार पूजा–आराधना गर्न प्रारम्भ गरियो । पूजा गर्ने श्रद्धालुहरुलाई अव वास्तविक सत्य थाहा हुनै छाड्यो कि कुनै समय बौद्ध र वैदिक धर्म तथा दर्शन एकअर्काका कट्टर विरोधि थिए, विपरित धारमा उभिएका थिए र वैदिक धर्म तथा दर्शनको विरोध गरेर अगाडि बढेकै कारण बौद्ध धर्म तथा दर्शनको प्रादुर्भाव भएको थियो तथा यो अलग पहिचान र फरक अस्तित्वमा आएको थियो । यसरी बौद्ध धर्म तथा दर्शन आफ्नै जन्मभूमिमा बिना कुनै हतियार, युद्ध तथा क्रान्ति, बिना कुनै मतभेद पतन हुने अवस्थामा पुगेको थियो । यो तलबार, युद्ध तथा क्रान्तिको बलले नभएर मौन रुपमा सांस्कृतिक घुलमिल भएर सनातन वैदिक धर्ममा सिमाना नछुट्टिने गरि समाहित भएको कारण पानीमा नुन घोलिएझैं विलिन तथा पतन भएको स्पष्ट अवस्था थियो ।
(२)धेरै शाखाहरुमा विभाजित विचारधाराहरु
विश्वभरिमा वर्तमान समयमा बौद्ध धर्म तथा दर्शनका ६५ भन्दा बढि शाखाहरु रहेका छन्–हिनयान, महायान, बज्रयान, नवयान, स्वतन्त्रिका, भाषिका, योगाचार्य, शुन्यवाद, ज्ञानवाद आदि र सबैले आ–आफ्नो तरिकाले व्याख्या गर्दै आइरहेका छन् बौद्ध धर्म तथा दर्शन के हो, कस्तो हो, यसका मूल्य–मान्यता तथा सिद्धान्तहरु के-कस्ता रहेका छन् आदि सन्दर्भमा । यी सबै शाखाहरुमा बौद्ध धर्म तथा दर्शनका सन्दर्भमा धेरै विषयहरु फरक रहेकाछन् एकआपसमा र अत्यन्तै थोरै विषयहरु मात्र समान रहेकाछन् । बौद्ध धर्म तथा दर्शनका धेरै वटा शाखाहरु रहेका भएपनि मोटामोटी रुपमा चार प्रमुख शाखाहरु रहेकाछन्– (१)हिनयान, (२)महायान, (३)बज्रयान, (४)नवयान । सबैभन्दा पुरानो र गोतम बुद्धका वाणी तथा उपदेशहरु जस्ताको तस्तै पालना गर्ने परम्परागत शाखा हिनयान(थेरावाद/थेराभाटा)ले मनुष्यले आफ्नो दैनिक जीवनमा निष्ठापूर्वक अष्टांगीक मार्गहरुको अनुशरण गरेर सम्यक तथा मध्यमार्गी भएर आफ्नो जीवनशैलीमा सकारात्मक परिवर्तन तथा सुधार ल्याएपछि शुन्यता तथा निर्वाणमा उपलव्ध हुन सक्षम भइन्छ र निर्वाणमा उपलव्ध भएपछि तथा महापरिनिर्वाण अर्थात मृत्यु भएपछि केही बाँकी रहन्न, सम्पूर्ण अस्तित्व नै सकिन्छ, अस्तित्व ब्रम्हाण्डको शुन्यमा विलय हुन्छ । किनकी बौद्ध धर्म तथा दर्शनको हिनयान शाखाले सनातन धर्मका महान ग्रन्थहरु वेद, उपनिषद, ब्रम्हसुत्र, भगवद् गीताको विपरित तर्क गर्दछ र ब्रम्हाण्डमा आत्मा, परमात्मा, इश्वर, भगवान तथा देवीदेवता भन्ने कुनै शक्ति तथा विषय नै छैन, सबै शुन्य छ भन्ने मत राख्दछ ।
तर संख्यात्मक रुपले अधिक अनुयायीहरु भएको बौद्ध धर्म तथा दर्शनको अर्को शाखा महायानले वैदिक धर्मका सनातन वेदबाट निसृत भएका ग्रन्थहरुकै अनुसारको तर्क गर्दछ । निर्वाण, मोक्ष तथा कैवल्यमा उपलव्ध भएपछि पनि मनुष्यको अस्तित्व रहन्छ, हामी आत्मा अर्थात चेतनाको रुपमा अस्तित्वमा रहिरहन्छौं र पुनरजन्म लिएर अरुलाई मद्धत गर्न तथा करुणावस अरुको कल्याण गर्न अवतार लिएर, गुरु बनेर यस धर्तीमा पुनः आउँछौं र भगवान गौतम बुद्धले जस्तैगरि अरुको सेवा हुने सर्वजन हिताय, सर्वजन सुखायका सर्वकल्याणका कार्यहरु गर्दछौं । किनकी महायानको शाव्दिक अर्थ धेरै अट्ने ठूलो यान, बाहन अर्थात सवारी हो । महायान शखाले धर्म तथा संस्कृतिमा सहज मार्ग अपनाएर धेरै मनुष्यहरुलाई एकैपटक सहजै निर्वाण तथा मुक्ति दिलाउन प्रयास गर्नुपर्दछ भन्ने विचारधारा राख्दछ । महायानले सम्बोधि अर्थात सर्बशक्तिमान परमात्मा अर्थात इश्वरको अस्तित्वलाई मान्दछ र भगवान गौतम बुद्धलाई सामान्य मानव नभएर विशेष चेतना तथा इश्वर अर्थात सम्बोधि (परमचेतना/सुपरकन्सस)को अवतारको रुपमा मान्दछ तथा स्वीकार गर्दछ । महायानका अनुसार मनुष्यको कर्म नराम्रो छ भने सम्बोधि तथा परमचेतनालाई प्रार्थना गरेर उसको नराम्रो कर्म राम्रो कर्ममा रुपान्तरण गर्न सकिन्छ, सम्बोधि तथा परमचेतना करुणामयि हुन्छ उसले नराम्रो कर्मलाई राम्रो कर्ममा रुपान्तरण गरिदिन्छ र राम्रो कर्मले मनुष्यको समस्याको समाधान गरिदिन्छ । सम्बोधि तथा परमचेतनाले मनुष्यलाई किन समस्याबाट वाहिर निकालिदन्छ भने ऊ सदा करुणामयी र सबैको रक्षक हुन्छ, सम्बोधिले सबैको भलाइ चाहन्छ, सबैको मुक्ति, निर्वाण, मोक्ष, कैवल्य एकैसाथ होस भन्ने चाहान्छ । यसकारण बौद्ध धर्म तथा दर्शनको दोस्रो शाखाको नामाकरण महायान गरिएको हो, सबैलाई एकैसाथ लिएर अगाडि बढ्ने र सबैलाई निर्वाणको मार्गमा सहयोग गर्ने, मुक्ति दिलाउने महा अर्थात विशाल यान तथा सवारी । प्रारम्भमा गौतम बुद्धको विचारधारा तथा बौद्ध धर्म तथा दर्शन सनातन वेद तथा वेदबाट निसृत भएका ग्रन्थहरु उपनिषद, भगवद् गीता, ब्रम्हसुत्र आदि महान वैदिक ग्रन्थहरुको विपरित थियो तर गौतम बुद्धको महापरिनिर्वाणपछि विभाजित भएको महायान शाखा सनातन वेदकै कित्तामा उभियो, यसकारण वेद, उपनिषद, ब्रम्हसुत्र र भगवद् गीताको मूलसार जगतगुरु शंकराचार्यको अद्वेत वेदान्त र महायान बौद्ध दर्शन अन्तर्गत नागार्जुनको शुन्यवाद ग्रन्थका मूल विषयहरु धेरै हदसम्म मिल्दाजुल्ला रहेकाछन् ।
सनातन वेद तथा वेदबाट निसृत भएका ग्रन्थहरुका मूल्य-मान्यताहरुसंग नजिक रहेको बौद्ध धर्म तथा दर्शनको अर्को शाखा बज्रयानले तन्त्र विज्ञानलाई बढि प्राथमिकतामा राखेको छ । र अर्को सबैभन्दा कान्छो शाखा नवयानले नयाँ विचारधाराहरु अगाडि सार्दै अष्टांगीक मार्गको साधना तथा अनुशरणबाट निर्वाणमा उपलव्ध हुने अवस्था समेतलाई अस्वीकार गरेर फरक प्रकारले आफ्ना मतहरु अगाडि सारेको छ । यी विभिन्न शाखाहरुको विभिन्न मत, व्याख्या तथा परिभाषाहरुका कारण बौद्ध धर्म तथा दर्शन अनुशरण गर्न चाहने अनुयायीहरु अलमलमा परेको अवस्था टडकारो रुपमा देखियो जसले गर्दा विस्तारै उनीहरु वैदिक धर्म तथा दर्शनतिरै फर्किए र मूलभूमि नेपाल र भारतमा बौद्ध धर्म तथा दर्शनप्रतिको आकर्षण तथा निष्ठा घट्दै गयो र यो अल्पमतमा पर्दै पतनको अवस्थासम्म पुग्यो र लगभग इशाको पन्ध्रौं शताव्दीसम्म आइपुग्दा बौद्ध धर्म तथा दर्शनका अनुयायीहरुको संख्या अत्यन्तै न्यून अवस्थामा पुग्यो ।
छिट्टै,
बौद्ध धर्म तथा दर्शन मूलभूमि नेपाल र भारतबाट पतन हुनुका थप कारणहरु, क्रमशः
(३)स्थानीय पालि भाषा तथा लिपि छोडेर संस्कृत भाषामा वापसी;
(४)बौद्ध धर्मको मूल दर्शन राम्ररी अध्ययन नगर्नु;
(५)राज्य सत्ता र ब्राम्हणवादसंग सम्भौता;
(६)बौद्ध मठहरु समृद्ध र नगर केन्द्रित हुनु;
(७)भिक्षुहरु सम्पन्न र सुखभोगी तथा बिलासी हुनु;
(८)बौद्ध अध्यात्म दर्शन संस्कृतिमा सीमित हुनु;
(९)बौद्ध मठहरुमा आर्थिक शंकट आउनु;
(१०)बौद्ध धर्म विरोधी समाज तथा राज्य सत्ता;
(११)बौद्ध मठहरुको प्रशासनिक व्यवस्था केन्द्रिकृत हुनु;
(१२)वाहिरी हमलाकारीहरुको आक्रमणमा पर्नु;
(१३)सभ्यता विकासका बहुमूल्य ज्ञान, विज्ञानको विलय हुनु आदि रहेकाछन् ।
No comments:
Post a Comment