'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Thursday, 7 May 2026

पुर्वी एशिया चीनमा बौद्ध दर्शनको विस्तार

 डा. सिर्जना भण्डारी



ऐतिहासिक पृष्ठभूमि

वर्तमान समयमा विश्वभरिमा बौद्धमागीहरुको सबैभन्दा ठूलो संख्या चीनमा रहेका छ, ४७ करोड र यो संख्या चीनको कुल जनसंख्याको ३३.३ प्रतिशत हुन आउछ । चीनमा वर्तमान समयमा सत्तासीन रहेको कम्युनिष्ट शासन प्रारम्भ हुनुअघि तथा राज्यको कम्युविष्ट सरकारले बौद्ध मार्गीहरुलाई दमन तथा निस्तेज गर्ने दमनकारी अभियान प्रारम्भ गर्नुअघि बौद्धमार्गीहरुको संख्या चीनको कुल जनसंख्याको ९० प्रतिशत थियो । वर्तमान समयमा चीनमा दुई प्रकारका बौद्ध धर्म तथा दर्शनका शाखाहरु व्यवहारिक रुपमा अनुशरण गर्दै आइएका छन्– (१)जेन बौद्ध धर्म(लाफिंग बुद्ध), र (२)बौद्ध धर्म । चीनमा प्राचीनकालदेखि नै कन्फ्युसियस र तावोवाद जस्ता उच्च प्रभाव भएका अत्यन्तै लोकप्रिय प्राचीन दार्शनिक परम्पराहरु विद्यमान थिए र देशभरि विस्तार भएका थिए । यस्तो परिस्थितिमा दक्षिण एशियाको नेपाल र भारत क्षेत्रमा प्रादुर्भाव भएर नयाँ भूमि चीनमा प्रवेश गरेको नयाँ बौद्ध धर्म तथा दर्शनलाई त्यस क्षेत्रमा आफ्नो स्थान बनाउन कसरी सम्भव भयो होला भन्ने जिज्ञासा हामी सबैको मन, मस्तिष्कमा उठ्नु स्वाभाविक कुरा हो । 


पूर्वी एशियाइ देश चीनमा बौद्ध धर्म तथा दर्शन इशाको पहिलो शताव्दीको मध्यमा हान राजवंशको समयमा प्रवेश भएको मानिन्छ । एउटा कथाका अनुसार हान वंशका राजा मिंगदीले आफ्नो सपनामा सूर्य, चन्द्र सहित सुनौलो भगवान देखे । उनले आफ्ना मन्त्री र सन्त पुरुषहरुसंग आफ्नो सपनाबारे जिज्ञासा राखे र सन्त पुरुषहरुले भने, सपनामा देखिएका यी व्यक्ति छिमेकी देश भारतमा चर्चामा रहेका एक महान आत्मा गौतम बुद्धको हुनसक्छ, उनको बारेमा भनिएको छ, उनले ध्यान साधना गरेर ज्ञानको उपल्लो उचाईलाई प्राप्त गरेर भगवान बनेका छन् । यो जानकारी पश्चात राजा मिंगदीले तुरुन्तै दूतहरुको एक टोली बनाएर महान आत्मा गौतम बुद्धकोबारेमा गहिराइमा बुझेर थप जानकारी हासिल गर्न भारत तर्फ पठाए । दूतहरु भारत प्रस्थान गरे र महिनौ लगाएर गौतम बुद्ध, बौद्ध धर्म तथा दर्शनको बारेमा खोज तथा अध्ययन गरेर गौतम बुद्धका मूर्ति र बौद्ध धर्म तथा दर्शनसंग सम्वन्धित महत्वपूर्ण केही ग्रन्थ तथा सामग्रीहरु लिएर स्वदेश फर्किए । दूतहरुले भारतबाट ल्याएका गौतम बुद्धको मूर्ति, ग्रन्थ तथा सामग्रीहरुलाई राज्यको राजधानीको समिपमा रहेको एक विशेष मन्दिरमा स्थापना गर्न लगाए । यो मन्दिर पछि गएर ह्वाइट हर्ष टेम्पलको नामले प्रसिद्ध भयो किनकी भारतबाट ल्याइएका गौतम बुद्धका मूर्ति र बौद्ध धर्म तथा दर्शनका ग्रन्थ तथा महत्वपूर्ण अन्य सामग्रीहरु चीन भित्र्याउदा उक्त सामग्रीहरु बोकेको रथलाई सेता घोडाहरुले तानेका थिए । 


भाषाको समस्या र बौद्ध दर्शनको विस्तारमा सुस्तता

प्रामाणिक ऐतिहासिक तथ्यहरुलाई केलाउदा बौद्ध धर्म तथा दर्शन चीनमा पहिलो पटक इशाको पहिलो शताव्दीको मध्यतिर रेशम मार्ग(सिल्क रोड)हुदै व्यापारीहरुको माध्यमबाट भित्रिएको पाइएको छ । पहिलो शताव्दीमै भित्रिएको भएपनि त्यसको करिव १०० वर्षसम्म चीनमा बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तार अत्यन्तै सुस्त गतिमा रह्यो किनकी यसको प्रमुख कारण थियो, नेपाल र भारतमा प्रादुर्भाव भएको बौद्ध धर्म तथा दर्शन गौतम बुद्धको देहाबसान भएको ४०० वर्ष तथा निकै पछि व्यापारिक माध्यमबाट चीन प्रवेश गरेको थियो । दक्षिण पूर्वी एशियाका देशहरुमा जस्तो गौतम बुद्ध स्वयं पैदल यात्रा गरेर त्यहाँका विभिन्न क्षेत्रहरुमा गएर स्वयंले नै बौद्ध धर्म तथा दर्शनका देशना तथा उपदेशहरु दिदै प्रचार गरेको अवस्था थिएन । गौतम बुद्ध स्वयंले चीनको भूमि नटेकेको कारण चीनका आम मानिसहरुले बौद्ध धर्म तथा दर्शन र बुद्धका मुर्ति, ग्रन्थ तथा बौद्ध संस्कार, संस्कृति, परम्पराहरु आदिलाई विदेशी धर्म मान्दथे र मनदेखि स्वीकार गरेर मान्न, अपनाउन तथा अनुशरण गर्न तयार थिएनन् । अर्को कारण थियो, बौद्ध धर्म तथा दर्शनका सुत्र ग्रन्थहरु पालि भाषा तथा लिपि लेखिएका थिए र चीनको भाषासंग मेल खादैनथे, यसकारण बौद्ध धर्म तथा दर्शनका बुझ्न अत्यन्तै कठिन थियो । पालि भाषामा रहेका बौद्ध ग्रन्थहरुको चीनी भाषामा अनुवाद गरेर सुनाउने तथा कुरा बुझाउने व्यक्तिहरुको संख्या अत्यन्तै कम थियो र भएकाहरु पनि उति सक्षम थिएनन् । बौद्ध ग्रन्थमा भएका विषयहरुको सिधा अर्थ लगाउन समेत मुस्किल थियो र लाक्षणिक तथा आलंकारिक(मेटाफोर) विषयहरुको बारेमा त अनुवाद गरेर अर्थ लगाउनेहरु स्वयं नै राम्ररी बुझ्दैनथे । यसकारण बौद्ध धर्म तथा दर्शनप्रति चीनका आम जनसाधारणहरुको रुचि र आकर्षण बढ्न सकेन । यी कारणहरुका अलावा बौद्ध धर्म तथा दर्शन चीनमा राम्ररी विस्तार हुन नसक्नुको अर्को अझ महत्वपूर्ण कारण थियो चीनको समाजमा पहिलादेखि नै कन्फ्युसियस र तावोवाद जस्ता महान दर्शनहरुको लोकप्रियता र विस्तार हुनु । तत्कालीन समयमा अधिकांश चीनिया समाजका आम मानिसहरुमा यी दुई दर्शनहरुको गहिरो छाप रहेको थियो किनकी यी दर्शनहरु अत्यन्तै व्यवहारिक र प्रभावकारी थिए आम मानिसहरुको मार्गदर्शन र सहज जीवनशैलीका लागि । यी दुई दर्शन नै पर्याप्त भएका कारण चीनका आम सर्वसाधारणहरुले विदेशबाट आयातीत नयाँ विचारधारा बौद्ध धर्म तथा दर्शनबारे बुझ्न र त्यसलाई अनुशरण गर्न उति चासो राखेनन् र बुझ्ने प्रयास पनि गरेनन् । 


गृहयुद्ध प्रारम्भ र बौद्ध दर्शनको विस्तार

इशाको दोस्रो शताव्दीमा हान रावंशको समयमा चीनमा राजनीतिक द्वन्द र विभाजनको दौर प्रारम्भ भयो । निरन्तर ४०० वर्षदेखि सत्ता सम्हालि रहेको हान राजवंशको राम्राज्य टुट्न प्रारम्भ भयो । सन् २२० बाट नै गृहयुद्ध प्रारम्भ भएकोले क्षेत्रिय विभाजनहरु हुन प्रारम्भ भयो र चीन धेरै टुक्राहरुमा विभाजन भयो । सर्वप्रथम तीन राज्यमा विभाजित भएको थियो, पछि फेरी १६ राज्यहरुमा विभाजित भयो । गृहयुद्ध ४०० वर्षसम्म चलिरह्यो, सन् ७०० मा चीन फेरी एकिकृत नहुन्जेलसम्म यो समयावधिमा चीनमा बौद्ध धर्म तथा दर्शनले विभाजित समाजका मानिसहरुमा सहजै प्रचार र विस्तार हुने अवसर प्राप्त गर्यो । किनकी चीनमा गृहयुद्ध हुनुको कारण चीनको मूलभूमि भन्दा वाहिरी क्षेत्र मध्य एशियाका देशहरु– किर्गीस्तान, काजकस्तान, ताजिकस्था, तुर्किमिनस्तान आदिबाट चीन प्रवेश गरेर लामो समयदेखि चीनको भूमि अतिक्रमण गरेर चीनमा वसोवास गरिरहेका आप्रवासीहरुले आफ्नो अधिकार र सुनिश्चितता खोज्नु थियो । यी आप्रवासीहरु चीनको हान वंश, कन्फ्युसियस र तावोवाद दर्शन तथा धर्मसंग उति निकट तथा परिचित थिएनन् र उनीहरुकालागि चीनका सबै धर्म, दर्शन, संस्कार तथा संस्कृतिहरु नयाँ थिए । यसकारण उनीहरुले चीनको मूलभूमिका मानिसहरुले उति नअपनाएको तथा अनुशरण नगरेको व्यापारीक मार्गबाट आयातीत नयाँ विचारधारा तथा आस्था बौद्ध धर्म तथा दर्शनका संस्कार, संस्कृति तथा परम्पराहरु सहजै अपनाए र व्यवहारिक रुपमा अनुशरण गरे किनकी विभिन्न क्षेत्रहरुबाट आएका फरक–फरक प्रकारका विशेषताहरु भएका आप्रवासीहरु आफ्ना सबैप्रकारका पुराना पहिचानहरु छोडेर सबैले एकैप्रकारको नयाँ धर्म, संस्कार, संस्कृति तथा परम्परा अपनाउन चाहान्थे र सांस्कृतिक माध्यमबाट उनीहरुको आफ्नो समुदायलाई एकत्रित गर्न तथा एकसुत्रमा बाधेर राखेर आफूलाई सांगठनिक रुपले बलियो बनाउन उनीहरुलाई यसप्रकारको धर्म, संस्कार तथा परम्पराको आवश्यकता परेको थियो । चीनका पुराना तथा स्थाई वासिन्दाहरुलाई विदेशबाट आयातीत नयाँ विचारधारा बौद्ध धर्म तथा दर्शनका अनुवाद गरिएका ग्रन्थहरुका शिक्षा, ज्ञान तथा प्रवचनहरु सुन्न, अनुशरण गर्न र आफूलाई भिक्षु बनाउन उति रुचि थिएन तर आप्रवासीहरु हरप्रकारले बौद्ध धर्म तथा दर्शन अनुशरण गर्न रुचि देखाइरहेका थिए आफ्नो समुदायलाई छिट्टै एकसुत्रमा आवद्ध बनाएर आफ्नो छुट्टै अस्तित्व बनाएर उत्तर चीनमा बलियो रुपमा खडा हुनकालागि ताकि अर्को समुहले उनीहरुलाई फेरी हमला गर्न र पराजित गर्न नसकोस । यसरी उत्तरी चीनको स्थानीय क्षेत्रमा वसोवास गर्ने बहुसंख्यक आप्रवासी तर त्यहाँका पुराना वासिन्दाहरुको रुचि तथा लगाव बौद्ध धर्म तथा दर्शनतिर रहेकोले उत्तर चीनको राज्यसत्ता तथा सरकारले बहुसंख्यक आप्रवासीहरुले अनुशरण गरेको बौद्ध धर्म तथा दर्शनलाई साथ, समर्थन, महत्वका साथै मान्यता पनि प्रदान गर्यो र यसपश्चात विस्तारै बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तार चीनभरि हुन प्रारम्भ भयो । 


बैद्ध दर्शनको विस्तारमा भिक्षु कुमार जीभीको योगदान

चीनमा लामो समयदेखि वसोवास गर्दै आएका आप्रवासीहरुले सहजै नयाँ विचारधारा तथा आस्था बौद्ध धर्म तथा दर्शनको अनुशरण गरेका भएपनि सहि ढंगले यसको प्रचार र विस्तार गर्नमा अझैपनि सबैभन्दा ठूलो समस्या भाषा र बौद्ध धर्म तथा दर्शनका ग्रन्थहरुको अनुवादकै थियो । भाषाको समस्या परिरहेको यस्तो असहज अवस्थामा इशाको चौथो शताव्दीको मध्यतिर पश्चिम मरुभूमि चीनबाट एक बौद्ध भिक्षु कुमार जीभी उत्तर चीन प्रस्थान गरे । भिक्षु कुमार जीभीले चीनको भाषा, संस्कार, संस्कृति सबैसंग सामनजस्य र सहज हुनेगरि बौद्ध धर्म तथा दर्शनका ग्रन्थहरुको अनुवाद चीनिया भाषामा गरेर ग्रन्थमा रहेका ज्ञान तथा शिक्षाहरुबारे प्रवचन गरेर सबैलाई स्थानीय भाष तथा लवजमा बौद्ध धर्म तथा दर्शनका मूल मर्म, भाव, सिद्धान्तहरु बुझाएर भाषाको समस्या फुकाउन अत्यन्तै ठूलो मद्धत गरे र एकप्रकारले यस सन्दर्भमा क्रान्ति नै ल्याइदिए । यसपश्चात चीनमा सबैतिर गौतम बुद्ध र उनीद्वारा प्रतिपादित भएको बौद्ध धर्म तथा दर्शनको सिधा अर्थ लाग्ने तथा सिधा अर्थ नलाग्ने आलंकारिक तथा लाक्षणिक(मेटाफोर) विशेषताहरु सहित सबै प्रकारका अनुवादले बौद्ध धर्म तथा दर्शनको वास्तविक मर्म, भाव, ज्ञान तथा शिक्षा सहजै बुझ्न र आम मानिसहरुले आफ्नो जीवनमा व्यवहारिक रुपमा अनुशरण गर्न सहज भयो । यसप्रकारको सहजताका कारण स्थानीय समुदाय तथा क्षेत्रहरु हुदै क्रमशः चीनभरि नै विस्तार हुदै जानथाल्यो । यसप्रकार बौद्ध धर्म तथा दर्शन चीनको भूमिमा इशाको पहिलो शताव्दीमै प्रवेश गरेको भएपनि आम जनसाधारणहरु माझ यसको मूलमर्म, मूलभाव तथा सिद्धान्तहरु सबैले सहर्ज जान्न सक्ने गरि बुझाउन र विस्तार गर्न ४०० वर्ष लाग्यो । 


कन्फ्युसियस दर्शनको पतन

तत्कालीन समयमा चीनमा लामो समय लगातार चलेको गृहयुद्धले ल्याएको विखण्डन तथा विभाजनका श्रींखलाहरुले अस्थिरता जन्माएका कारण कन्फ्युसियस दर्शनको ज्ञान तथा शिक्षा खस्कदै गैरहेको थियो । कन्फ्युसियस दर्शनले एकिकृत साम्राज्य र सामुहिक सदभावको कुरा गर्दथ्यो तर तत्कालीन समयमा चीनको भौगोलिक क्षेत्र विभाजित भएर १६ वटा अलग–अलग राज्यहरु अस्तित्वमा आएका थिए । यस्तो विखण्डनकारी रानीतिक उथलपुथलको अवस्थामा कन्फ्युसियस दर्शनको भाव तथा शिक्षा सहज ढंगले व्यवहारिक रुपमा कार्यान्वयनमा आउन संभव हुन सकेन किनकी मानिसहरु स्वाभावले नै दयालु, करुणावान र राम्रा हुन्छन् भन्ने कन्फ्युसियस दर्शनको दावी असत्य र असफल सावित भएको थियो तत्काली परिस्थितिमा । निकै लामो समय चलेको लगातारको हिंसक गृहयुद्धको समयमा मानिसहरुले देखाएका हिंसक र क्रुर स्वभाव बानी व्यवहारहरुले मानिसहरुको स्वभाव दयालु तथा करुणावान हुदोरहेनछ भन्ने प्रमाणित गरिरहेको थियो तत्कालीन चरम अस्थिरता चलिरहेको समयमा । २०० वर्षसम्म चलेको यसप्रकारको कहाली लाग्दो चरम अस्थिरता, अनैतिकता तथा अमानवीय शंकटको त्रासदीपूर्ण समयमा आम मानिसहरु फरक प्रकारको नयाँ विश्वास र एकताको खोजिमा थिए । यस्तो नाजुक परिस्थितिले खालि बनाएको स्थानमा अहिंसा र शान्ति सहित मानवीयताको मूलभाव आत्मसाथ गरेको नयाँ विचारधारा तथा आस्था बौद्ध धर्म तथा दर्शनले यो खालि स्थान भर्ने अभूतपूर्व काम गरेको थियो र यी सबै कामहरु महान भिक्षु कुमार जीभीको अत्यन्तै सक्रिय सहकार्यता र निडर नेतृत्वका् कारण सम्भव भएको थियो । उनले प्रदान गरेको पालि भाषाबाट चीनिया भाषामा सरल अनुवाद; बौद्ध ग्रन्थका मूल मर्म, भाव तथा प्रमुख सिद्धान्तहरुको रुपान्तरण; सरल र प्रभावकारी प्रवचन; उपयोगी शिक्षा तथा ज्ञानका सिकाइहरु आदिले बौद्ध धर्म तथा दर्शनका मूलमर्म तथा मूलभाव तथा प्रमुख सिद्धान्तहरुलाई जस्ताको तस्तै पस्किने कला आदिले ल्याएको सकारात्मक नतिजा थियो । बौद्ध धर्म तथा दर्शनका अहिंसा र शान्ति प्रदान गर्ने गहन उपदेशहरु तत्कालीन समाजको विद्यमान परिस्थितिमा अत्यन्तै व्यवहारिक र उपयोगी ठहरिएकाले तत्कालीन गृहयुद्ध कालीन समयमा हिंसा, हत्या कम गर्न अत्यन्तै व्यवहारिक सावित भए । जव त्यहाँका आम मानिसहरुले राम्ररी बुझे बौद्ध धर्म तथा दर्शनले मनुष्यको जीवनमा रहेका सबैप्रकारका दुःख, पिडा, अस्थिरता र हानिको चक्रबाट वाहिर निस्कन मद्धत गर्न सक्दछ र मुक्तिको मार्गमा अग्रसर गराउन सक्छ भन्ने तव बौद्ध धर्म तथा दर्शनको मूल विचार, मर्म भाव तथा प्रमुख सिद्धान्तहरु तत्कालीन समाजका आम जनताहरुमा तिब्रगतिमा फैलिदै गयो र समाजमा आमूल परिवर्तन ल्याउने नयाँ विचारधारा र लोकप्रिय धर्म तथा दर्शनको रुपमा स्थपित हुदै गयो । 


जेन बौद्ध धर्म तथा नव तावोवादको प्रादुर्भाव

बौद्ध धर्म तथा दर्शन चीनमा क्रमशः विस्तार र स्थापित हुदै थियो र कन्फ्युसियस दर्शनको अगाडी व्यवहारिक र उपयोगी दर्शनको रुपमा प्रमाणित भैसकेको थियो तर अव तावो धर्म तथा दर्शनको सामना गर्नुपर्ने अवस्था आइपर्यो । तावोवाद चीनको पुरानो र लोकप्रिय धर्म तथा दर्शन थियो जसले अव्यवहारिक संघर्ष, हिंसा र अत्यन्तै अस्थिरताको अवस्थामा मानिसहरुलाई एक प्रकारको नयाँ दृष्टि प्रदान गरिरहेको थियो । तावोवादको मूल शिक्षा तावो शक्ति थियो जसलाई ब्रम्हाण्डका रहस्मय घटनाहरुको आधार मानिन्थ्यो । तावो धर्म तथा दर्शन अनुसार ब्रम्हाण्डको शक्ति यिन र यान उर्जा सन्तुलनले प्रभावित हुन्छ भन्ने मान्यता थियो । तावोवाद मनुष्यको जीवन यिन(अध्यारो) र यान(उज्यालो), राम्रो र नराम्रो, सकारात्मक र नकारात्मक तथा अन्धकार र उज्यालोको विचको सन्तुलन हो भन्ने मान्यतामा विश्वास राख्दथ्यो जो एकअर्को बिना अस्तित्वमा आउन सक्दैनन् । तावो धर्म तथा दर्शनका अनुसार शरीरको मुत्युपछि व्यक्ति तावो अर्थात ब्रम्हाण्डको महाशक्तिमा विलिन हुन्छ र उ असिम, अनन्त र शक्तिशाली बन्छ भन्ने आस्था, विश्वास तथा मान्यता थियो । दक्षिण चीनमा तावो धर्म तथा दर्शनले नव तावो धर्मको रुप लिएको थियो जो अत्यन्तै रहस्यमय र गुढ अध्ययनहरुमा केन्द्रित थियो । उत्तरी चीनमा यसै समय तावो धर्मको अर्को स्वरुप देखापर्यो जसले बौद्ध धर्म तथा दर्शनका संस्कार, संस्कृति परम्पराहरुलाई सहजै अपनायो र व्यवहारिक रुपमा अनुशरण गर्यो । तावो धर्म तथा दर्शनको अर्को नयाँ स्वरुपमा बौद्ध धर्म तथा दर्शनको मूल भाव कर्मचक्र र पुनरजन्मका विषयहरु सामेल थिए । तत्कालीन समयमा कुँदिएका चित्रकला, मुर्तिकला, शिल्पकलाहरु समेत बौद्ध धर्म तथा दर्शनका कलाका शैलीहरुबाट प्रभावित भए । यसपश्चात आप्रवासीहरुको बाहुल्य रहेको उत्तर चीनमा नयाँ स्वरुपको तावोवादलाई सर्वश्रेष्ठ धर्म तथा दर्शनका रुपमा मान्न प्रारम्भ गरियो । ताववादको सन्दर्भमा यस्तो मान्यता स्थपित हुदै गयोकि तावोवादको प्रादुर्भाव गर्ने महान सिद्ध चेतना अर्थात आत्मा लाओत्से भारत गएका थिए, भारत मै उनको मुत्यु भयो र त्यहाीं बुद्धको रुपमा उनले पुनरजन्म लिए र उनीनै आफूले प्रतिपादन गरेको बौद्ध धर्म तथा आस्था लिएर पुनः चीन फर्किए, यसकारण बुद्ध नै तावो हुन्, तावो नै बुद्ध हुन् भन्ने मान्यता आम मानिसहरुमा बढ्दै जानथाल्यो । यसप्रकार चीनिया बौद्ध धर्मको रुपमा फरक प्रकारले बौद्ध धर्म तथा दर्शन विस्तार हुदैगयो जसलाई जेन बौद्ध धर्म तथा दर्शन अर्थात जेन बुद्धिजमको नामले सम्वोधन गर्न प्रारम्भ गरियो । 


महान भिक्षु हुएनसांगको उदय र योगदान

इशाको सातौं शताव्दीमा चीनमा तांग राजवंशको उदय भयो र यसैको साथमा चीनमा नयाँ राज्य व्यवस्थाको प्रारम्भ भयो र यसले चीनमा पुनः एकता स्थापना गर्यो । एकता कायम भएपछि राज्यमा स्थिरता कायम भयो र बौद्ध धर्म तथा दर्शनलाई आफ्नो जड मजबुत बनाउन सहज अवसर मिल्यो । बौद्ध धर्म तथा दर्शन आयातीत विचारधारा, धर्म, आस्था, दर्शन, संस्कार तथा संस्कृति भएकोले अझैपनि पूर्ण रुपमा चीनका आम जनताहरुको समाजमा भिजिसकेको थिएन । यसकालागि चीनको भाषा, संस्कार, संस्कृतिमा समावेश गर्न आवश्यक प्रयास गर्नुपर्ने थियो तवमात्र आम सर्वसाधारणहरुले भित्रबाट अपनाउन सक्थे र यो काम गर्न बाँकी नै थियो । यस महान कामलाई चीनका महान भिक्षु हुयनसांगले पूरागरे । सन् ६२९ मा २७ वर्षको उमेरमा भिक्षु हुयनसांगले बौद्ध धर्म तथा दर्शनको बारेमा थप जान्न र सबैलाई अझ सहज किसिमले बुझाउन चीनबाट महिनौंको कठिन यात्रा गरेर बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको मुलभूमि भारततर्फ यात्रा गरे तांग राज्यसत्ताले विदेश भ्रमण गर्न बन्देज लगाएको भएपनि लुकिछिपि मध्य एशियाको बाटो हुदै । भारतमा बौद्ध धर्म तथा दर्शनको विश्व प्रसिद्ध शिक्षण केन्द्र नालन्दा विश्वविद्यालय र अन्य शैक्षिक प्रतिष्ठानहरुमा गहन अध्ययन गरेर बौद्ध धर्म तथा दर्शनको सन्दर्भमा अझ गहिराइमा ज्ञान आर्जन गरे । निरन्तर १६ वर्षसम्म भारतमै बसेर बौद्ध धर्म तथा दर्शनको गहन अध्ययन गरेर सन् ६५७ मा बौद्ध धर्म तथा दर्शनसंग सम्वन्धित पवित्र सामग्रीहरु र बौद्ध धर्म तथा दर्शनका गहन ज्ञान तथा सिद्धान्तहरु समेटिएका संस्कृत भाषामा लेखिएका ग्रन्थहरु आफ्नो साथमा लिएर स्वदेश फर्किए । यी ग्रन्थहरु यसअघि चीनिया भाषामा अनुवाद नगरिएका थिए । स्वदेशमा पुगेपछि भिक्षु हुयनसांगले बौद्ध धर्म तथा दर्शनका मुल मर्म तथम भाव समेटिएका ज्ञान, विज्ञान तथा प्रमुख सिद्धान्तहरु सबै अत्यन्तै प्रभावकारी ढंगले चिनीया भाषामा अनुवाद गर्ने महान अभियानको थालनी गरे । उनको यो महान कार्यले बौद्ध धर्म तथा दर्शनलाई एक नयाँ दिशा र उचाई प्रदान गर्यो । यसअघि गरिएका अनुवादहरुमा कयौं अस्पष्टता, भ्रम तथा दोहोरो अर्थ लाग्ने थिए र स्पष्टसंग नबुझिने प्रकारका थिए । तर महान भिक्षु हुयनसांगको ग्रन्थ अनुवादको यो महान अभियानपछि ती सबै समस्याहरुको एकमुष्ट समाधान भयो र बौद्ध धर्म तथा दर्शनका मूलमर्म, मुलभावहरु, प्रमुख ज्ञान, विज्ञान तथा सिद्धान्तहरुका व्याख्या तथा विश्लेषणहरु स्पष्टसंग भए र सबैले स्पष्टसंग बुझ्नेगरि नयाँ प्रकारले आम मानिसहरु समक्ष पेश गरियो । उनको अनुवादले खासगरि कर्मभक्र, पुनरजन्म, मुक्ति तथा निर्वाण जस्ता अलि जटिल मानिएका सिद्धान्तका विषयहरुलाई चीनिया समाजमा सबैले सहज ढंगले स्पष्टसंग बुझ्न सकिने बनायो ।                   


तांग राजवंशको राज्यसत्ताले भिक्षु हुयनसांगको ग्रन्थ अनुवादको यस महान कार्यलाई समर्थन मात्र गरेन भरपूर प्रोत्साहन र आवश्यक सहयोग समेत गर्यो । तांगको राजधानी चांगान बौद्ध धर्म तथा दर्शनका ग्रन्थहरुको अनुवाद गर्ने वैश्विक केन्द्रको रुपमा विकसित भयो । यी अनुवाद गरिएका नयाँ बौद्ध ग्रन्थहरुले बौद्ध धर्म तथा दर्शनलाई चीनका प्राचीन धर्म तथा दर्शनहरु कन्फ्युसियस र तावोवादको विचारधारासंग जोड्न पनि भरपूर मद्धत गर्यो । तांग राजवंशको समयमा बौद्ध धर्म तथा दर्शनको प्रभाव अव सिर्फ विचारमा मात्र सीमित रहेन कलाको क्षेत्रमा पनि यसको व्यापक प्रचार र विस्तार भयो खासगरि सन् ६९४ मा तांग राज्यकी महारानीले शाही घोषणा जारी गर्दै चीनभरि गौतम बुद्धका विशाल प्रतिमाहरु स्थापना गर्न आदेश दिएपछि । महारानीको यसप्रकारको घोषणा र आदेशले बौद्ध धर्म तथा दर्शनको कलाकारीताको पाटोलाई विश्वमै नयाँ प्रकारको एक अलग आयाम प्रदान गर्यो । यो आदेशको पालना सर्वप्रथम प्रारम्भदेखि नै ध्यान र प्रार्थना गर्दै आइरहिएका स्थानहरुमा कार्यान्वयन गरिएको थियो प्रभावकारी ढंगले जसमा मोगावो गुफाहरु, लंगमेन ग्रोटोस, युगांग ग्रोटोस आदि पवित्र स्थानहरु प्रमुख थिए । यी गुफाहरुमा गौतम बुद्धका मूर्तिहरु स्थापना गरिए र भित्ताहरुमा चित्रहरु कुदिए अत्यन्तै आकर्षक किसिमले । पहाडी क्षेत्रमा पहाडको सिंगै चट्टानमा कुंदेर बनाइएको २३३ फिट अग्लो लेसान बुद्धको विशाल मूर्ति हालसम्मनै विश्वविख्यात छ र यही मूर्तिलाई नै विश्वको सबैभन्दा अग्लो गौतम बुद्धको प्रतिमा मानिन्छ । 


माओसेतुंगको कम्युविष्ट क्रान्ति र बौद्ध मार्गीहरुको दमन

यो स्वर्णिम अवधिपश्चात चीनको भूमिमा कहिले सजिला, कहिले अप्ठ्यारा अवस्थाहरु पारगर्दै बौद्ध धर्म तथा दर्शन अगाडि बढिरह्यो । इशाको विशौं शताव्दीको शुरुआतसम्म तथा सिन्ध राजवंशको अन्त्यसम्म बौद्ध धर्म तथा दर्शनले पूरै देशभरिनै आफ्नो प्रभाव जमाइसकेको थियो र अत्यन्तै लोकप्रिय भएको थियो । तर सन् १९१२ पछि जव चीनमा गणतान्त्रिक चीनको शुरुआत भयो तव बौद्ध धर्म तथा दर्शनलाई सुधार्ने र नया–ँनयाँ सोच तथा तर्कसंग जोड्ने धेरै प्रयासहरु गरिए । बौद्ध धर्म तथा दर्शनलाई पूरानो तथा परम्परागत तरिकाको नभएर नयाँ प्रकारको मानवीय र व्यवहारिक बौद्ध धर्म तथा दर्शन बनाउने प्रयासहरु गरिए । सन् १९४९ मा गणतान्त्रिक चीन अभियानको अन्त्य भयो किनकी चीनमा कम्युविष्ट क्रान्तिको शुरुआत भैसकेको थियो । जसको नकारात्मक प्रभावका कारण धेरै तावोवाद र बौद्ध भिक्षुहरु ताइवान पलायन भएका थिए किनकी कम्युविष्ट क्रान्तिको समयमा बौद्ध धर्म तथा आस्थाका अनुयायीहरु विरुद्ध हिंसा र हत्याका श्रींखलाहरु बढ्दै गए र बौद्ध मठ र भिक्षुहरुले व्यापक मात्रामा धनसम्पत्तिको विनास र मानवीय क्षति बेहोर्नु पर्यो । मावोसेतुंगको सरकारले बौद्ध धर्म तथा दर्शनलाई चार पुरानो चिजको हिस्सा मान्यो र यसलाई अन्धविश्वासको रुपमा प्रचार गर्न प्रारम्भ गर्यो । बौद्ध मठहरुमा हमला गरियो, बौद्ध भिक्षुहरुलाई धरपकड गरियो, गीरफ्तार गरेर सिविरमा राखियो र हदैसम्मका अमानवीय व्यवहारहरु गरियो । बौद्ध मठ र ग्रन्थहरु पूर्ण रुपमा नष्ट गरिए, खोजीखोजी बौद्ध ग्रन्थहरु जलाइए । यस्तो अवस्थामा सरकारको धरपकड र पलायनको आदेशका कारण बौद्ध अनुयायीहरुले सार्वजनिक रुपमा बौद्ध धर्म तथा आस्थाका संस्कार तथा परम्पराका गतिविधिहरु गर्न बन्द गरे । तत्कालीन समयमा बौद्ध धर्म तथा दर्शनमाथि गरिएको यो चरम दमनको अत्यन्तै त्रासदीपूर्ण परिस्थितिलाई कालो युग(डार्क इरा)को रुपमा मान्ने गरिन्छ । 


बौद्ध धर्म तथा दर्शनप्रति तत्कादीन कम्युनिष्ट राज्यसत्ताले गरेको यतिविधि धरपकड र ठूलो संख्यमा बौद्ध भिक्षुहरुको हत्या र आप्रवास पलायनका वावजुद चीनमा बौद्ध धर्म तथा दर्शन पतन भएन, केही दशकपछि चीनमा बौद्ध धर्म तथा दर्शनले पुनः आफ्नो स्थान र हैसियत बनाउदै तथा उठाउदै लग्यो । तत्कालीन समउको तथ्यांक अनुसार कमयुनिष्ट क्रान्ति पारम्भ हुनुपूर्व चीनको कुल जनसंख्याको ९० प्रतिशत जनसंख्या बौद्ध मार्गी थिए, क्रान्ति प्रारम्भ भएपछि र नयाँ कम्युनिष्ट सरकार आएपछि बौद्ध धर्म, आस्था तथा दर्शन र बौद्ध मार्गीहरुमाथि गरिएको चरम दमनका कारण चीन छोडेर पलायन हुने क्रम बढ्यो र पछि फेरी समाजमा शान्ति फर्किएपछि बौद्ध धर्म तथा दर्शनको विस्तार हुन प्रारम्भ भयो र वर्तमान समयमा चीनको कुल जनसंख्याको ३३.३ प्रतिशत जनसंख्या बौद्ध मार्गी रहेकाछन् नास्तिक कम्युविष्ट राज्यसत्ताका बावजुद र यो संख्या विश्वको दुई तिहाइ हुन आउछ अर्थात विश्वका ६८ प्रतिशत (४७ करोड)बौद्ध मार्गीहरु चीनमा रहेका छन् ।


छिट्टै, 

पश्चिमी विश्वमा बौद्ध दर्शनको विस्तार


No comments:

Post a Comment