'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Friday, 29 May 2026

गौतम बुद्धको महापरिनिर्वाण र बौद्ध दर्शन व्यवस्थापनका श्रृंखलाहरु, भाग -२

 डा. सिर्जना भण्डारी 


बौद्ध दर्शन र संघहरु व्यवस्थित गर्न डाकिएका परिषदहरु 


दोस्रो बौद्ध परिषद भेला

गौतम बुद्धको महापरिनिर्वाण अर्थात देहाबसानपछि इशापूर्व ४८३ मा गौतम बुद्धले आफ्नो जीवनकाल भरि प्रवाह गर्नुभएका शिक्षा, ज्ञान, विज्ञान, उपदेश तथा साधनाका विधिहरुको संरक्षण गर्न र बौद्ध धर्म र संघहरुको सहि ढंगले व्यवस्थापन गर्न डाकिएको पहिलो बौद्ध परिषद भेला सम्पन्न भएको १०० वर्षपछि इशापूर्व ३८३ मा राजा कालाशेकको समयमा भारतको बैशालीमा वरिष्ठ भिक्षु सवाकमीको नेतृत्वमा दोस्रो बौद्ध परिषद भेला डाकिएको थियो र परिषदमा ७०० बौद्ध भिक्षुहरु सामेल भएका थिए । दोस्रो परिषद भेलाको उद्देश्य पहिलो परिषदमा जस्तो गौतम बुद्धका शिक्षा, ज्ञान, विज्ञान, उपदेश तथा साधनाका विधिहरुको संरक्षणको साझा प्रयासका विषयहरु मात्र थिएनन् किनकी यसपटक बदलिदो समयसंग अन्य प्रकारका व्यवस्थापकीय चुनौतिहरु पनि सतहमा आएका थिए । बौद्ध संघभित्र अनुशासन तथा नैतिकताको सन्दर्भमा मतभेद र कानूनी असहजताकासाथै अन्य प्रकारका विषयगत टकरावहरु पनि देखा पर्दै आइरहेका थिए पारम्परिक भिक्षु र नयाँ पुस्ताका भिक्षुहरुका विचमा तर दुवै पक्षले दृढ दावी गरिरहेका थिए कि उनीहरु गौतम बुद्ध र बौद्ध धर्म तथा दर्शनको वास्तविक भावको प्रतिनिधित्व गर्दछन् । 


परम्परागत र नवीन विचारधारामा मतभेद         

बौद्ध धर्म तथा दर्शनमा र बौद्ध संघ तथा मठहरुमा १०० वर्षसम्म पहिलो बौद्ध परिषदले तय गरेका नियम तथा सीमाहरु कायम रहे र समग्र बौद्ध संघ तथा समुदाय धेरै हदसम्म एकजुट रह्यो । पहिलो बौद्ध परिषदले गरेका निर्णयहरु लागू गर्न भिक्षुहरु राज्यका सबै क्षेत्रहरुमा उपस्थित भए र एकैप्रकारको बौद्ध शिक्षा फैलाए सबैतिर, एकै नियम मान्दैरहे, एकै सुत्त पढिरहे समुहमा सबैले आ–आफ्ना स्मृतिमा रहेका बुद्धका शिक्षाहरु मुखाग्र दोहोर्याइरहे बिना कुनै संग्रहित दस्तावेज, बिना कुनै लिपिवद्ध ग्रन्थ र बिना कुनै रेकर्ड किनकी लिखित रुपमा लिपिबद्ध ग्रन्थहरु प्रतिपादन गर्न श्रोतको अभावका कारण कठिन थियो र यसअघिदेखि नै पुस्तौं–पुस्ता बौद्ध धर्म तथा दर्शनका मन्त्रहरु केवल स्मृति र स्मरणमा जिवीत राख्दै आइएको थियो । पहिलो परिषदको भेला सम्पन्न भएपछि समयक्रमसंगै नयाँ माहोलमा नयाँ प्रकारले विस्तारै बौद्ध धर्म तथा दर्शन प्रचार र विस्तार भैरहेको थियो । दक्षिण एशिया, दक्षिण पूर्वी एशिया र पूर्वी एशियाका नयाँ समाज र संस्कृतिहरुमा, नयाँ समुदायहरुमा, नयाँ अर्थव्यवस्थाहरुमा, नयाँ प्राकृतिक मौसम तथा पर्यावरणहरु आदिमा प्रवेश गरिरहेको थियो र निरन्तर फैलिरहेको थियो । पहिलो बौद्ध परिषदमा तय गरिएका नियम तथा निर्णयहरुमा सुत्त पिटक ले गौतम बुद्धका शिक्षाहरुलाई संरक्षित गरेको थियो र बिनय पिटकले भिक्षुहरुले पालन गर्नुपर्ने अनुशासन तथा आचरणका तौरतरिकाहरु तय गरेएको थियो । समय बित्दैजाने क्रममा युगसंगै विस्तारै भिक्षुहरुले पालन गर्नुपर्ने अनुशासन तथा आचरणका तौरतरिकाहरुमा पनि तत्कालीन अवस्था, परिस्थिति र आवश्यकता अनुसार बदलाव आइरहेको थियो । १०० वर्षअघि पशिलो परिषदमा बौद्ध भिक्षुहरुको अनुशासन र आचरण सन्तुलनमा राख्न बिनय पिटकको नियम एउटा खास अवस्थाको लागि निर्धारण गरिएको थियो तर १०० वर्षको अन्तरालमा आम भिक्षुहरुको अनुशासन तथा आचरणमा समय, अवस्था र परिस्थिति अनुसार विस्तारै क्रमिक रुपमा आएका बदलाब तथा परिवर्तनहरुमा कसैको नियन्त्रण थिएन । यसरी लामो समयको अन्तरालमा समयक्रमसंग आएका बदलाब तथा परिवर्तनका प्रभावहरु स्पष्ट रुपमा सतहमा देखिए पहिलो बौद्ध परिषद भेला सम्पन्न गरिएको १०० वर्षपछि इशापूर्व ३८३ मा डाकिएको दोस्रो बौद्ध परिषद भेलामा । 


दोस्रो बौद्ध परिषद भेलामा समय अनुसार भिक्षुहरुको बदलिएको र जीवनयापनको हिस्सा जस्तै सामान्य बनिसकेको फरक जीवनशैली तथा फरक अनुशासन र फरक आचरणको विषय उठ्यो जो पहिलो परिषदमा बिनय पिटकले निर्धारण गरेको भन्दा निकै फरक बनिसकेको थियो १०० वर्ष अर्थात एक युग लामो अन्तरालमा । बिनय पिटकले भिक्षुहरुले धन स्पर्श गर्ने छैनन् भनिएको थियो तर पछिल्लो समय भिक्षुहरु बौद्ध संघ तथा मठहरु संचालनका लागि समाजका धनाड्य व्यक्तिहरु र व्यापारीहरुबाट चन्दा, सहयोग, दान लिन थालेका थिए सुन, चाँदी, सिक्का जस्ता नगद र अन्य प्रकारका जिन्सी सामग्रीहरु सहयोग तथा दानका रुपमा । परम्परावादी बौद्ध भिक्षुहरु बिनय पिटकका नियमहरुलाई कडाइकासाथ पालना गर्नुपर्छ भन्ने पक्षमा थिए तर नयाँ पुस्ताका नवीन सोच भएका नवाचारवादी भिक्षुहरु बिनय पिटकमा युग सुहाउदो हुनेगरि आवश्यक सुधार र परिवर्तन गर्नुपर्छ, सबैलाई मान्य र सहज हुनेगरि समझदारीमा अगाडि बढ्नुपर्छ भन्ने पक्षमा थिए । नवाचारवादी बौद्ध भिक्षुहरु संघ तथा मठहरुको व्यवस्थापनका लागि सहयोग तथा दानका रुपमा धन स्वीकार गर्नु अत्यावश्यक रहेको तर्क पेश गरिरहेका थिए तर पूराना तथा परम्परावादी बुज्रुुक भिक्षुहरुले यसरी नयाँ पुस्ताका नवाचारवादी भिक्षुहरुले धनसम्पति छुने तथा लिने परिपाटीको विरोध गरिरहेका थिए बिनय पिटकको मूल्य–मान्यता विपरित रहेको र यस बिनय पिटक विपरित गतिविधिहरु गरिए संघमा भ्रष्टाचार बढ्नेछ र यसको नकारात्मक प्रभाव बौद्ध धर्ममा पर्नेछ, धर्म भ्रष्ट र बदनाम हुनेछ भन्ने तर्क पेश गरिरहेका थिए । यस सन्दर्भमा अधिकांश परम्परावादी भिक्षुहरुको मतैक्यता थियो र बिनय पिटक विपरित जानु हुदैन भन्ने पक्षमा ज्यादा जोड थियो । नयाँ पुस्ताका नवीनता रुचाउने भिक्षुहरुले यसरी धन छुनु, लिनु तथा स्वीकार गर्नुको तात्पर्य थियो बौद्ध धर्म तथा दर्शन अव १०० वर्ष अघिको मूल्य–मान्यता भन्दा अगाडि बढिसकेको छ, आम भिक्षुहरुको जीवनशैली, अनुशासन तथा आचरण पहिलो बौद्ध परिषदमा सुनाइएको तथा निर्णय गरिएको बिनय पिटक अनुसार रहेको छैन र उनीहरु अव बिनय पिटकका नियमहरुलाई निरन्तरता दिने पक्षमा छैनन् । किनकी पहिलो परिषद यताको बदलिदो समयमा नयाँ पुस्ताका बौद्ध भिक्षुहरुको आर्थिक अवस्था फेरिएको थियो, उनीहरु आर्थिक रुपले सम्पन्न र सम्पतिवाल भएका थिए किनकी बौद्ध धर्म तथा दर्शन नेपाल र भारतका विभिन्न क्षेत्रहरु लगायत दक्षिण पूर्वी र पूर्वी एशियाको फरक संस्कृति तथा समाज, फरक मौसम तथा पर्यावरण, फरक अर्थव्यवस्था तथा समृद्धि, फरक समुदाय तथा मूल्य–मान्यतामा प्रवेश गरिसकेको थियो र यसप्रकारको माहोल तथा व्यवस्थामा अभ्यस्त भएका अलग प्रकारका स्थानीय समुदायका बौद्ध भिक्षुहरुको जीवनशैली त्यस्तै प्रकारको हुनु स्वाभाविक थियो । त्यसमाथि नयाँ–नयाँ समुदायहरुका नयाँ पिढीहरु जोडिदै र थपिदै गैरहेका थिए जसलाई बुद्धको बारेमा, बौद्ध धर्म तथा दर्शनको प्रादुर्भावको बारेमा र बौद्ध धर्मका परम्परागत मूल्य–मान्यताहरुका बारेमा विस्तारमा जानकारी थिएन । साथै उनीहरुलाई भौगोलिक, क्षेत्रिय, सामुदायिक, सांस्कृतिक, सामाजिक, आर्थिक भिन्नताहरुबारे पनि उति जानकारी थिएन । पारम्परिक दृष्टिकोणबाट हेर्दा तत्कालीन समयमा त्यस्तै प्रकारको बिनय पिटक सहि, सान्दर्भिक र आवश्यक थियो किनकी गौतम बुद्धले बिनय पिटकमा यसकारण कडा नियमहरु समावेस गरेर बनाएका थिए ताकि भिक्षु, संघ तथा मठहरुले पालना गरिने अनुशासन, आचरण र नियमहरुमा एकरुपता बनिरहोस, सबैकालागि सहज र शुद्धता बनिरहोस् र बौद्ध अनुयायीहरुलाई संधै अनुशासनमा राख्न सकियोस्, मतभेद तथा विखण्डन नआओस । यसकारण पहिलो परिषदले प्राथमिकताका साथ बिनय पिटकका सबै विषय, पक्ष तथा मूल्य–मान्यताहरुमा मसिनोसंग बहस गरेर यसको आवश्यकता र प्रामाणिकता स्थापित गरेको थियो ।  


बैशालीका नवाचारवादी बौद्ध भिक्षुहरु जसलाई बजियन भिक्षुको रुपमा सम्वोधन गरिन्थ्यो, उनीहरुले आफ्नै किसिमले अलग्ग प्रकारका दश बजियन परम्पराहरु चलाएका थिए । दोस्रो बौद्ध परिषदको मुख्य विषय थियो परम्परावादी भिक्षुहरुले नयाँ पुस्ताका नवाचारवादी बजियन भिक्षुहरुको १० बजियन प्रथा स्वीकार गर्लान कि नगर्लान् । तत्कालीन परिस्थितिमा यो भन्दा पनि अझ गहन विषय थियो बौद्ध धर्मका पारम्परिक नियमहरुसंग युगसम्मत क्रमिक रुपमा बदलिदै आएका र व्यवहारिकता पार गर्दै आवश्यकता बनिसकेका अवस्था तथा परिस्थितिहरुको वास्तविकता एकआपसमा जुधेको यस्तो असहज अवस्थामा यसको फैसला सबै पक्षहरुको चित्त बुझाउने गरि कसले गर्छ र कसरी गर्छ । फैसलामा जित या हार हुन्छ र जित केवल एक पक्षको मात्र हुनसक्छ, यो अवस्थामा हार्ने पक्षले निर्णय स्वीकार गर्लाकि नगर्ला । यही मतभेदको माहोलमा दोस्रो बौद्ध परिषद भेला प्रारम्भ भयो र सबैभन्दा पहिला यही परम्परावदी र नवाचारवादी भिक्षुहरुविचको पेचिलो मतभेद र बहसको विषय उठान गरियो । समयको वहावको प्रवाहसंगै कुनैपनि विचारधारा, धर्म तथा दर्शनमा आउने बदलावले आगामी समयमा नयाँ र उपयोगी परिवर्तनहरुको बाटो खोल्छ र वर्तमान समयका सामान्य बदलाबहरु भविश्यका दिनहरुमा नयाँ व्यवस्थाको रुपमा देखिन सक्छन् र परम्परा बनेर स्थापित हुन सक्छन् । ठिक यस्तैनै भयो बौद्ध धर्म तथा दर्शनको मतभेद र विचारधारा विभाजनको सन्दर्भमा । परम्परावादी बौद्ध भिक्षुहरु दावी गर्ने गर्दथे कि परिषद भेलामा हामी सबैको जिम्मेदारी गौतम बुद्धका शव्द, वाणी, शिक्षा, ज्ञान, विज्ञान, उपदेश तथा साधनाका विधिहरु र समग्रमा बौद्ध धर्म तथा दर्शनको संरक्षण गर्नु हो नवाचारवादीहरुको पक्षपोषण गर्नु उनीहरुले भने अनुसार सबै मान्नु तथा गर्नु होइन । नयाँ पुस्ताका नवाचारवादी भिक्षुहरुका अनुसार हाम्रो जिम्मेदारी केवल गौतम बुद्धका शव्द, वाणी, शिक्षा, ज्ञान, विज्ञान, उपदेश तथा साधनाका विधिहरु र समग्रमा बौद्ध धर्म तथा दर्शनको संरक्षण गर्नु मात्र होइन त्यसलाई स्थायित्व प्रदान गर्न युग सान्दर्भिक विषयहरुलाई सर्वस्वीकार्य हुनेगरि तथा सबैलाई एक संघभित्र समेट्न सक्ने गरि आत्मसाथ गर्दैजानु र परम्परालाई आगामी दिनहरुमा निरन्तर अगाडि बढ्न मद्धत गरिरहनु हो किनकी कठोरपनमा परम्पराहरु हराउछ र लचिलोपनमा परम्पराहरु फस्टाउछन् । मनुष्यको क्षमता, प्रतिभा, सिर्जनशीलता सकारात्मकता पनि कठोर र लचिलोपनका अवस्थाहरुमा हराउने र फस्टाउने हुन्छन् । बौद्ध परिषदले परम्परावादी र नवाचारवादी सबै भिक्षुहरुलाई समेट्नु पर्दछ र उनीहरुको प्रकृति, प्रतिभा, क्षमता, सिर्जनशीलता अनुसार उनीहरुलाई आफ्नो स्वभावमा फस्टाउने अवसर प्रदान गर्नुपर्दछ तवमात्र बौद्ध परम्परा युगौंयुग निरन्तर अगाडि बढिरहन र फैलिरहन सक्छ । 


बुद्धको शिक्षामै नवीनता र लचकता विद्यमान थियो

परम्परामाथि आवश्यकता अनुसारको सुधार तथा परिवर्तन गर्ने सोच राखेर युग सान्दर्भिक हुने किसिमले नयाँ बदलावहरुलाई सर्वसम्मत निर्णयबाट स्वीकार गर्नुपर्छ भन्ने पक्षमा जोडदिदै आइरहेका नवाचारवादी बजियन भिक्षुहरुको तर्क र दृष्टिकोण अनुसार, गौतम बुद्धका शव्द, वाणी, शिक्षा, ज्ञान, विज्ञान, प्रवचन तथा साधना विधिहरुमै नवीनता र लचकता विद्यमान थियो । गौतम बुद्धले आफ्ना शिष्यहरुलाई उनीहरुको अवस्था, आवश्यकता, क्षमता, पात्रता तथा समझको गहिराइ अनुसार अलग–अलग प्रकारले शिक्षा तथा साधनाका विधिहरु प्रदान गर्ने परिपाटी बसाएका थिए । अलग–अलग प्रकारले शिक्षा तथा साधनाका विधिहरु प्रदान गर्नुका साथसाथ गौतम बुद्धले अलग–अलग शिष्यहरु तथा अनुयायीहरुलाई उनीहरुको स्वभाव र क्षमता अनुसार आफूले गर्ने सर्वकल्याणका कर्महरुमा समेत फरक प्रकारले अलग–अलग निर्देशनहरु दिने परिपाटी बसाएका थिए । सनातन अध्यात्म दर्शनका ज्ञान, विज्ञान तथा यसका साधनाका विधिहरु प्रदान गर्ने सन्दर्भमा त झन गौतम बुद्धको शिष्यहरु छनौटको प्रक्रिया अझ विशिष्ठ प्रकारको थियो । यसकारण परिषद जस्तो वृहद साक्षा भेलामा सबै बौद्ध भिक्षुहरुको मत, अनुभव, स्मृति, स्मरणलाई राम्ररी सुनेर, बुझेर तर्कसंगत, विवेकशील र न्यायद्रष्टा भएर युग सान्दर्भिक हुनेगरि सबैको समझदारीले बौद्ध धर्म तथा दर्शनका सन्दर्भमा गरिने निर्णयहरु सर्वसम्मती अनुसार लिएर आवश्यक नियमहरुको निर्माण गर्नु अत्यावश्यक हुन्छ नकि एकदम कडाइ गरेर यस्तै हो, यसरी नै गर्नुपर्छ, यस्तै प्रकारको हुनुपर्छ भनेर एकोहोरो किसिमले पालना गर्नु तथा गराउनु किनकी अलग–अलग बौद्ध भिक्षुहरुका अलग–अलग प्रकारका शिक्षा तथा सिकाइहरु गौतम बुद्ध स्वयंले अलग–अलग परिस्थितिका लागि निर्माण गरेका थिए । नवाचारवादी भिक्षुहरुले दोस्रो परिषद भेला समक्ष चेतावनीपूर्ण शैलीमा यसप्रकारको तर्क राखेका थिए र तर्क अनुसारको सुझाव पेश गरिरहेका थिए । उनीहरुको तर्क अनुसार यदि धर्म तथा परम्पराहरुले आफूलाई नयाँ परिस्थिति अनुसार युग सान्दर्भिक हुने किसिमले ढाल्न सकेनन् भने त्यो लोप हुदै जान्छ किनकी अनुयायीहरुले समय सान्दर्भिक नभएका परम्पराहरुको अनुशरण गर्न छोड्दै जान्छन्, यसकारण दोस्रो परिषदले लचिलो भएर विवेकपूर्ण ढंगले परम्परावादी र नवाचारवादी दुवै पक्षहरुको माग अनुसार दुवै पक्षलाई मान्य हुने निर्णय लिनुपर्दछ । 


परम्परावादी र नवाचारवादी दुवै पक्षहरु आ–आफ्नो विवेक र शास्त्र अनुसारको तर्कको हवाला पेश गरिरहेका थिए, दुवै पक्षहरु आफ्नो धर्मप्रति समर्पित रहेका थिए, दुवै चाहन्थे बौद्ध धर्म बचिरहोस्, युगयुगसम्म निरन्तरता पाइरहोस, सदा प्रचार र विस्तार भैरहोस् । दुवै पक्षले आफ्ना विभिन्न तर्क र दावीहरुको माध्यमबाट वास्तविक सवाल तथा समस्याको जवाफ र समाधान दिरहेका थिए । यसप्रकारको रस्साकसीको अवस्थामा परम्परावादी भिक्षुहरुलाई भ्रष्टाचारको डर थियो संघ बिग्रेलाकी भनेर र नवाचारवादी भिक्षुहरुलाई कडाइका साथ लागू गरिएने अनुसासनको नियमको डर थियो सबै नयाँ पुस्ताहरुलाई बौद्ध धर्ममा समेट्न नसकिने होकी भनेर र उनीहरु संघबाट अलग्गिएर वाहिरिने हुनकि र संघ कमजोर हुने हो कि भनेर । पूराना र नयाँ दुई पक्षका भिक्षुहरुविच मतभेद भएको तथा विवादमा परेको यस विषयमा हप्तौंसम्म बहस चल्यो तर मतभेदको विषय सर्वसम्मतीमा आउन सकेन र अन्त्यमा केही उपाय नलागेर दोस्रो बौद्ध परिषदले यस विषलाई अन्तिम टुंगो लगाउन चुनाव गर्यो र चुनावमा परम्पराबादी पक्षले जित्यो । परिषदले नवाचारवादीहरुको १० बजियन प्रथालाई बिनय पिटकको उलंघन भएको घोषणा गर्यो र बजियन भिक्षुहरुलाई तुरुन्त यो प्रथा बन्द गर्न आदेश दियो । तर बजियन भिक्षुहरुले परिषदको निर्णय र आदेश स्वीकार गरेनन् र उनीहरु कडाइकासाथ आफ्नो असन्तुष्टी प्रकट गर्दै परिषद सभा छोडेर वाहिररीए संधैकालागि । यहीं विन्दुबाट बौद्ध धर्म तथा संघमा मतभेद शुरुभयो र स्पष्ट रुपमा परम्परावादी र नवाचारवादी दुई विभाजित समुह देखिए । यो मतभेद झनझन गहिरिदै गयो र पछिगएर परम्परावादी समुह ‘थेरावाद’ र नवाचारवादी समुह ‘महायान’ शाखाका रुपमा अस्तित्वमा देखिए ।


मत विभाजन पछिको अवस्था  

परम्परावादी र नवाचारवादी भिक्षुहरुविचको मतभेद गहिरिदै गयो र यी अलग–अलग दुई शाखा तथा अलग–अलग दुई सम्प्रदायमा विभाजित भए एकै बौद्ध धर्म तथा दर्शनभित्र । दोस्रो बौद्ध परिषदको भेलामा गौतम बुद्धको शिक्षा र बौद्ध धर्म तथा दर्शनका दुई अलग–अलग धार देखिए र दुवैले आफ्नो मतलाई बुद्धको सहि शिक्षा, ज्ञान, विज्ञान, उपदेश तथा साधना विधि बताइरहे र एकले अर्कोको मतलाई गलत ठहराइरहे, अस्वीकार गरिरहे र मूल मार्गबाट भड्कीएको दोषारोपण गरिरहे । सिंगो बौद्ध संघ दुई शाखामा विभाजन भयो र यो विभाजनका विषयहरु निकै गहिरा थिए । दुवै समुहले आ–आफ्नो मान्यता अनुसार अलग–अलग संघ, मठ तथा बौद्ध विहारहरु बनाए, अलग–अलग बौद्ध शिक्षा र दिक्षाको परम्परा विकसित गरे र राज्य तथा शाही समर्थनको लागि प्रतिस्पर्धा गरिरहे । नवाचारवादी बजियन बौद्ध भिक्षुहरुले आफ्नो अलग परिषद भेला डाके जसमा हजारौं समर्थकहरु थिए । नवाचारवादीको परिषद सभाले आफूलाई महासंघी तथा ठूलो अर्थात महायान घोषणा गर्यो । परम्परागत भिक्षुहरुले आफूहरुको मत तथा संघलाई परम्परावादी, बुज्रुक तथा अनुभवीहरुको मार्ग बताए तर महासंघी तथा महायानीहरुले उनीहरुलाई स्थिरवादी तथा हिनयान अर्थात थोरैलाई मात्र समेट्न सक्ने सानो तथा संकुचित बाहनको रुपमा नामाकरण गरे असन्तोष भाव प्रकट गर्दै । यसप्रकार बौद्ध धर्मको दोस्रो परिषद भेलाले एक संघमा एकिकृत रहेको बौद्ध धर्मलाई स्वष्ट रुपमा दुई धारमा बाड्यो– (१)परम्परावादी तथा थेरावाद, जसले गौतम बुद्धद्वारा प्रतिपादित बौद्ध धर्ममा बुद्धद्वारा पढिएका मन्त्र तथा विषयहरु संकलन गरिएका ग्रन्थहरुमा जोड दियो र सख्त सन्यास जीवनशैली, अरहन्त(मुक्ति, निर्वाण)को आदर्श, अनुशासन र ध्यान साधना विधिहरुको माध्यमबाट व्यक्तिगत मुक्तिलाई प्राथमिकतामा राख्यो, स्थिरताको पक्ष लियो; र (२)नवाचारवादी तथा महासंघी जसले ठूलो समुहसंगको जुडाउमा जोड दिएको थियो, यसले बौद्ध धर्मलाई परिस्थिति र समयानुकुल बनाउन मद्धत गर्यो र पछि गएर यही महासंघी तथा नवाचार(नवीनतालाई आत्मसाथ गर्नुपर्छ भन्ने मत) मत नै महायान बौद्ध संघको रुपमा विश्वविख्यात बन्यो जो ज्यादा लचिलो तथा खुल्लापनमा आधारित थियो र नयाँ शिक्षा, नयाँ व्यवस्था, नयाँ परिस्थिति, नयाँ नियम र नयाँ पुस्ताहरुको रुचि अनुसारको थियो । नयाँ विचारधरा अंगालेको समुह भएकोले महयानले एकोहोरो साधना भन्दा साधनाका विविध विधिहरु अपनाएर प्रयोगात्मक अभ्यासमा बढि जोड दिएको थियो ।  


तेस्रो बौद्ध परिषद भेला

सम्राट अशोकको समयमा पाटलीपुत्रमा इशापूर्व २५० मा वरिष्ठ भिक्षु मोगलीपोतको नेतृत्वमा तेस्रो बौद्ध परिषद भेलाको आयोजना गरिएको थियो । दोस्रो परिषदबाट नै बौद्ध धर्म तथा दर्शन दुई स्पष्ट धार– (१)थेरावाद र (२)महायानमा विभाजित भएर आआफ्नो किसिमले दुवै शाखा अगाडि बढिरहेको थियो । सम्राट अशोकको झुकाव तथा समर्थन परम्परावादी थेरवाद बौद्ध शाखातिर थियो । तेस्रो परिषदमा पनि विनय पिटकको मूल्य–मान्यता विपरित गएर नवाचारको नाममा विभाजन खोज्ने भिक्षुहरुलाई सम्राट अशोक स्वयंले नै संघबाट निकाला गरिदिएका थिए । तेस्रो परिषद सम्पन्न भएपश्चात सम्राट अशोकले बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तारमा राज्यको अधिकांश शक्ति, समय, धन, श्रम खर्च गरे र बौद्ध धर्म तथा दर्शनको थेरवाद साखालाई श्रीलंका हुदै दक्षिण पूर्वी एशियाका देशहरुमा प्रचार र विस्तारमा जोड दिए ।   


चौथो बौद्ध परिषद भेला

राजा कनिस्ककोे समयमा कुण्डलवन कस्मिरमा सन् ००७२ मा वरिष्ठ भिक्षु वासुमित्रको नेतृत्वमा चौथो बौद्ध परिषद भेला आयोजना गरिएको थियो । चौथो बौद्ध परिषद सबैभन्दा महत्वपूर्ण रह्यो बौद्ध धर्म तथा दर्शनको ऐतिहासिक परिवर्तनका लागि किनकी यही परिषदपछि बौद्ध धर्म तथा दर्शनलाई विधिवत रुपमा दुई शाखा– (१)थेरावाद तथा हिनयान, र (२)महासंघ तथा महायानमा विभाजित भएको मान्यता प्रदान गरियो र दुवै शाखाले विधिवद रुपमा आ–आफ्ना परम्परा र ग्रन्थहरुको विकास गर्न प्रारम्भ गरे । वर्तमान समयसम्म आइपुग्दा बौद्ध धर्म तथा दर्शन सयौं शाखामा विभाजित भएको छ र सबैले फरक–फरक किसिमले अर्थ तथा परिभाषा लगाउछन् र आफूहरु वास्तविक अनुयायी भएको दावी गर्दछन् बौद्ध धर्म तथा दर्शनको शिक्षा, ज्ञान, मूल्य–मान्यता तथा साधनाका विधिहरुको सन्दर्भमा । 

 छिट्टै,

@बौद्ध धर्म विभाजित भएपछिका परिदृश्यहरु

@बौद्ध धर्मका चार प्रमुख शाखाहरु: थेरवाद, महायान, बज्रयान, नवयान


No comments:

Post a Comment