डा. सिर्जना भण्डारी
भाग ३ को निरन्तरता
(१०)बौद्ध धर्म विरोधी समाज तथा राज्य सत्ता
प्रारम्भमा समुच्चा मानव समाज वैदिक धर्म तथा दर्शनको आस्था अनुसार चलिरहेको थियो । वैदिक समाजमा अनुशरण गर्दै आइएका वैज्ञानिकतामा आधारित कर्मकाण्ड, संस्कार, संस्कृतिहरुमा सनातन वेदका विषय तथा मूल्य–मान्यताहरु माथि अति ब्राम्हणवाद हावी भएका कारण समाजिक विकृति, अमानवीय तथा अत्याचारका अव्यवस्थाहरु देखा पर्न थाले र यिनै सामाजिक अव्यवस्था विरुद्ध सुधार, न्याय र सहि व्यवस्थाको माग राखेर सनातन वेदका विषय तथा मूल्य–मान्यताहरु अस्वीकार गरेर फरक पहिचान तथा अलग अस्तित्वमा आएको भिन्न मत तथा विचारधारा नै पछि गएर बौद्ध धर्म तथा दर्शनका रुपमा स्थापित भएर वैदिक धर्म तथा आस्थाको समानान्तर खडा भएको थियो । यसको परिणामस्वरुप धर्म व्यवस्था, समाज र आम मानिसहरु अनेक मतहरुमा तथा विचारधाराहरुमा विभाजित भए जसले मनमुटाव, प्रतिस्पर्धा तथा संघर्षहरु प्रारम्भ गरायो र यस्ता अवस्थाहरुमा वैदिक र बौद्ध धर्म तथा दर्शनविच मत बाझाबाझ हुनथाले एकले अर्कोको विरोध गर्ने, होच्याउने, दबाव दिने, दबाउने जस्ता असहज अवस्थाहरु देखापर्दै र बढ्दै गए । यही अवस्थाको निरन्तरता स्वरुप इशाको दोस्रो शदाव्दीमा तत्कालीन ब्राम्हण राजा पुष्यमित्र सुंगले आफ्नो राज्यमा बौद्ध धर्मीहरुलाई धार्मिक आस्थाका कारण गतिविधिहरु नगर्न दबाव तथा धम्की दिए र बौद्ध भिक्षुहरुलाई अमानवीय किसिमले दमन गरे अत्यन्तै निर्ममतापूर्वक । इशापूर्व छैठौं शदाव्दीमा अर्को राज्यका वैदिक धर्म तथा दर्शनका समर्थक राजा मिहिरकुलले बौद्ध धर्मका अनुयायी सयौं भिक्षुहरुलाई अमानवीय किसिमले आम नरसंहार गरिदिए । इशाको सातौं शदाव्दीमा शशांक गौडले बौद्ध धर्म तथा दर्शनलाई दबाउने तथा आफ्नो राज्यबाट पूर्णतः खारेज गर्ने उद्देश्यले बौद्ध धर्म तथा दर्शनलाई सनातन वेद विरोधी अनास्थिक तथा अराजक मतको रुपमा प्रस्तुत गर्दै बोधगयाको गौतम बुद्ध सम्बोधि(परमज्ञान, परमचेतना अर्थात इनलाइटेनमेन्ट) मा उपलव्ध भएको धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण बोधिवृक्ष नै काटिदिए र नष्ट गरिदिए ।
इशाको सातौं शताव्दीमा चीनिया यात्री तथा वरिष्ठ भिक्षु हुएनसांगको ऐतिहासिक प्रामाणिक नेपाल र भारतमा गरिएको यात्रा विवरणमा उल्लेख भए अनुसार त्यसताका सनातन वैदिक धर्म तथा दर्शनमा आस्था राख्ने राजा, महाराजा, ब्राम्हण, पंडित, पुरोहित, वैदिक धर्मका अनुयायी तथा समर्थकहरुले आस्थाका आधारमा १६०० बौद्ध मठ तथा स्तुपाहरुको बिध्वन्सक किसिमले बिनास गरिदिएका थिए र हजारौं बौद्ध मठाधिस, भिक्षु, बौद्ध अनुयायी तथा समर्थकहरुको निर्ममतापूर्वक हत्या गरिदिएका थिए । इशाको पाचौंदेखि एघारौं शताव्दीको विचमा दक्षिण भारतमा वैष्णववादी(श्रीहरि विष्णुका उपासक) र शैववादी(श्रीशिवका उपासक) तथा समर्थकहरुले एकै समय र एकै विषयको पृष्ठभूमिका प्रादुर्भाव भएका बौद्ध र जैन धर्म तथा दर्शन दुवैको घोर विरोध गरिरहे, बौद्ध र जैन धर्मका गतिविधिहरु चल्न नदिने, खलल गरिदिने, नोक्सान गरिदिने, विभिन्न प्रकारले नियन्त्रणको प्रयास गर्ने र जसरी हुन्छ समाजमा दबाउने तथा निस्तेज गर्ने प्रयत्न गरिरहे । यसप्रकार पादुर्भाव भएको मूलभूमिमा निरन्तर ब्राम्हणवादी, समाज, र राज्यकै उपेक्षा, निरन्तरको क्लेस, वैमनस्य, दबाव, दमन आदि अवस्थाहरुको विरुद्धको संघर्ष झेल्न नसकेर बौद्ध र जैन धर्म तथा दर्शन दुवै कमजोर हुदै गए र विस्तारै अल्पमतमा पर्दै गए, कसैले धर्म तथा आस्था नै परिवर्तन गरेर पुनः वैदिक धर्ममै फर्किए, कयौं अनुयायी तथा समर्थकहरु देश छोडेर पलायन भए तथा बाध्य पारिए । यस्ता निरन्तरका दमनकारी परिस्थितिहरुका कारण बौद्ध धर्म तथा दर्शन आफ्नै मूलभूमि नेपाल र भारतमा अत्यन्तै कमजोर हुदै गयो र क्रमशः पतनको अवस्थामा पुग्यो ।
(११)बौद्ध मठहरुको प्रशासनिक व्यवस्था केन्द्रिकृत हुनु
प्रारम्भिक समयदेखिनै बौद्ध धर्म तथा दर्शनको व्यापक विस्तार र लोकप्रियता बढ्दै गएको कारण आम सर्वसाधारणहरु साथै राजा र राज्यले नै साजशाही धर्मको मान्यता, सम्मान, समर्थन र प्रसस्त आर्थिक सहयोग गरेका कारण बौद्ध मठ, मठाधिस र भिक्षुहरु आर्थिक रुपले निकै समृद्ध भएका थिए र बौद्ध धर्म तथा दर्शनको स्वर्णिम समय चलिरहेको थियो । आर्थिक समृद्धिका कारण बौद्ध भिक्षुहरुको जीवनशैली सुविधाभोगी तथा विलासी बन्दै गैरहेको थियो र बौद्ध मठ तथा भिक्षुहरु कम सुविधा भएका स्थानीय ग्रामीण क्षेत्रहरु छोडेर शहर तथा नगर क्षेत्रहरुमा केन्दिकृ्रत हुदै गैरहेका थिए । बौद्ध मठ तथा भिक्षुहरु शहर तथा नगर क्षेत्रहरुमा केन्द्रिकृत हुदै गएका कारण स्थानीय ग्रामीण क्षेत्रहरुमा भिक्षुहरुले गराउदै आएका बौद्ध धर्म तथा दर्शनको आस्थामा आधारित संस्कार तथा संस्कृतिहरुको संजाल खुम्चिदै तथा कम हुदैगयो । स्थानीय क्षेत्रहरुमा बौद्ध मठहरुको संजाल कम भएको तथा मठहरुको काम गर्ने तथा गराउने प्रशासनिक ढाँचा विकेन्द्रीकृत नभएकोले त्यहाँस्थित आम जनसाधारणहरुको पहुच सीमित हुदै गयो । बौद्ध मठहरुको काम गर्ने तथा गराउने प्रसासनिक ढाँचा विकेन्द्रीकृत नभएको कारणले नै बौद्ध धर्म तथा दर्शन आफ्नो स्वर्णिम कालखण्ठमै भित्रबाट कमजोर र खोक्रो हुन प्रारम्भ भैसकेको थियो । यसको विपरित वैदिक धर्म तथा दर्शनको ढाँचा विकेन्द्रीकृत थियो । वैदिक धर्म तथा दर्शन हरेक घरमा फैलिएको थियो तर बौद्ध धर्म तथा दर्शन पूर्ण रुपमा मठ केन्द्रित रहेको र मठहरु शहर तथा नगर केन्द्रित रहेका कारण बौद्ध मठहरु नष्ट भएपछि र भिक्षुहरुको नरसंहार गरिएपछि बौद्ध धर्म तथा दर्शनको अवस्था र ढाँचा स्वस्फुर्त रुपमा रातारात फेरीयो, झन–झन कमजोर भयो र विस्तारै पतन उन्मुख हुदैगयो । आम जनसाधारणहरुको संस्कार, संस्कृति, घर, परिवार, समाजमा बौद्ध धर्म तथा दर्शनको कुनै संग्रह तथा व्याकअपनै बाँकी रहेन र केही वर्ष, दशक ताथ शताव्दीपछि यो पूर्णतः लोप तथा पलायन भयो आम जनसाधारण र समाजबाट ।
वैदिक धर्म तथा दर्शन आम जनसाधारणहरु माझ फैलिएको विकेन्द्रीकृत धार्मिक व्यवस्था भएकोले बौद्धविचारधाराको व्यापक त्रान्किारी गतिविधि र ठूलो क्षतिको वावजुद पनि यो फेरी समाजमा विस्तारै स्थापित हुदैगयो । जसरी वैदिक धर्म तथा दर्शनका अनुयायी तथा आम जनसाधारणहरुले घर–घरमा वैदिक धर्म तथा दर्शनका विहान र साँजका नित्य पूजापाठदेखि जन्म र मृत्युसम्मका सबै संस्कार, संस्कृति र अन्य प्रकारका धार्मिक तथा आध्यात्मिक कर्मकाण्डका गतिविधिहरु गर्ने तथा गराउने गर्दथे त्यसरी बौद्ध धर्म तथा दर्शनका अनुयायी तथा आम जनसाधारणहरुले घर–घरमा बौद्ध धर्म तथा दर्शनका संस्कार, संस्कृति, धार्मिक तथा आध्यात्मिक कुनैप्रकारका गतिविधिहरु गर्दैनथे किनकी बौद्ध धर्म तथा दर्शनमा यस किसिमको परिपाटी बसालिएकै थिएन । सबै बौद्ध अनुयायीहरु आ–आफ्नो आवश्यकता अनुसार बौद्ध मठमा गएर मठाधिस तथा भिक्षुहरुद्वारा संस्कार तथा संस्कृतिका गतिविधिहरु गराउने परिपाटी बसालिएको थियो । तर संधै यस किसमले गर्नु स्थानीय आम सर्वसाधारणहरुका लागि सम्भव हुनसक्ने अवस्था थिएन किनकी एकातिर उनीहरुलाई आफ्नो जिवीकोपार्जनबाट फुर्सदको समय कम हुनेगथ्र्यो र अर्कोतिर स्थनीय क्षेत्र तथा गाउँघरका सबै आम सर्वसाधारणहरुलाई सहज पहुच हुनेगरि स्थानीय क्षेत्र तथा वरिपरिका क्षेत्रहरुमा बौद्ध मठका शाखाहरु स्थापना गरिएका थिएनन्, आम जनसाधारणहरुको उपस्थिति धेरै भएका केही विशेष क्षेत्र र नगर क्षेत्रहरुमा बौद्ध मठहरु स्थापना गरिएका थिए । यसप्रकार बौद्ध मठ तथा भिक्षुहरु आम सर्वसाधारणहरुको सहज पहुच पुग्नेगरि स्थानीय स्तरसम्म विकेन्द्रीकृत नभएर ज्यादातर शहर तथा नगर केन्द्रित भएकाले बौद्ध धर्म तथा दर्शन र आम सर्वसाधारणहरुको सम्पर्क तथा सानिध्यता घट्दै गयो । त्यसमाथि आन्तरिक तथा वाहिरी युद्ध हमलाकारीहरुले निशाना गरिगरिकन नगर क्षेत्रमा केन्द्रित रहेका आर्थिक रुपले समृद्ध ठूला–ठूला मठहरुमा लुटपाट, विध्वन्स र आगजनी जस्ता गतिविधिहरु गरेर ठूलो संख्यामा मठाधिस तथा भिक्षुहरुको हत्या गरिदिएपछि बौद्ध मठ तथा भिक्षुहरुको संख्या र उपस्थिति अझ कम हुदैगयो । बौद्ध मठ तथा भिक्षुहरुको संख्या र उपस्थिति पर्याप्त नभएको अवस्थामा बौद्ध धर्म तथा दर्शनसंग आम सर्वसाधारणहरुको सम्पर्क तथा सामिप्यता झन–झन कम हुदैगयो र अन्ततः बौद्ध धर्म तथा दर्शनका धार्मिक तथा आध्यात्मिक गतिविधिहरु विस्तारै हराउदै गए । जसको परिणामस्वरुप बौद्ध धर्म तथा दर्शन सर्वप्रथम आम जनसाधारणहरु र समाजबाट दुर हुदैगयो र विस्तारै प्रादुर्भाव भएकै क्षेत्रबाट पतन उन्मुख हुदैगयो ।
(१२)वाहिरी हमलाकारीहरुको आक्रमणमा पर्नु
तत्कालीन समयमा वैदिक धर्म तथा दर्शन अत्यन्तै कमजोर तथा निर्वल अवस्थामा पुगेको थियो र बौद्ध धर्म तथा दर्शनको स्वर्णिम युग चलिरहेको थियो । बौद्ध मठ, मठाधिस तथा भिक्षुहरु धनाड्य, व्यापारी, सामन्त, कुलीन वर्ग राजा, महाराजा, राज्यहरुबाट आर्थिक सहयोग प्राप्त गरेर आर्थिक रुपले अत्यन्तै सम्पन्न तथा सवल भएका कारण विदेशीहरु खासगरि टर्कीस र अरवी हमलाकारीहरुको लुट, डकैती, विध्वन्स, आगजनी, हिंसा, हत्याको निसानामा बारबार परेका थिए । हमलाकारीहरुले धन लुट्ने र भौगोलिक क्षेत्र आफ्नो नियन्त्रणमा लिनकालागि बौद्ध मठ, मठाधिस, भिक्षु तथा अनुयायीहरुको विनासलाई नै पहिलो निशाना बनाए । उनीहरुले विभिन्न समयमा अत्यन्तै ठूलो संख्यामा धनसम्पत्ति लुटे, तोडफोड, विध्वन्स र आगजनी गरे र भिक्षु तथा बौद्ध अनुयायीहरुको नरसंहार गरे । यी अत्यन्तै कहाली लाग्दा घटना तथा विध्वन्सहरुले सबै संरचनाहरु सखाप पारिदिएको कारण बौद्ध धर्म तथा दर्शनमा अत्यन्तै ठूलो क्षति भयो र प्रादुर्भाव भएको मूलभूमि नेपाल र भारतमा फेरी उही अवस्थामा फर्कन बौद्ध धर्म तथा दर्शनलाई सम्भव नै भएन र कहिल्लयै फर्कनै सकेन बरु झनझन पतन उन्मुख हुदैगयो । यो अत्यन्तै कहालीलाग्दो कालखण्डलाई बौद्ध धर्म तथा दर्शनको इतिहासमा कालो युग(डार्क इरा)को रुपमा सम्वोधन गरिएको छ । इशाको बाह्रौं र तेह्रौं शताव्दीमा टर्की र अरवका इस्लाम हमलाकारीहरुले बौद्ध धर्म तथा दर्शनको स्वर्णिम युग चलिरहेको समयमा भारतमा अत्यन्तै बिनासकारी लुटपाट, युद्ध, विध्वन्स, आगजनी, हिंसा तथा हत्याका अमानवीय घटनाहरु घटाए; ठूलो संख्यामा भिक्षुहरुको आम नरसंहार गरे; ठूला तथा विशेष महत्व भएका बौद्ध मठका धनसम्पत्तिहरु लुटपाट गरेर र विध्वन्सात्मक तोडफोडका साथै आगजनी गरिदिए; सयौं वर्षको मेहनेत लगाएर निर्माण गरेका ज्ञान तथा दर्शनका संरचना नालन्दा, बिक्रमशिला, तक्षशिला जस्ता अत्यन्तै महत्वपूर्ण विश्वविद्यालयहरुमा आगजनी गरेर विश्वभरिका ज्ञान, विज्ञानका लाखौं पाण्डुलिपि तथा ग्रन्थहरुमा क्षति पुर्याए; र अत्यन्तै बिध्वन्सात्मक तवरले पुनः प्रयोगमा ल्याउन नसकिने गरि बौद्ध मठका संरचनाहरु नष्ट गरिदिए । तत्कालीन समयमा युद्ध चलिरहेको अवस्थामा टर्कीस युद्ध सेनाका प्रमुख बख्तियार खिल्जीले हातहतियार संग्रह गरिएको सैन्य किला तथा छाउनी भन्ने ठानेर नालन्दा विश्वविद्यालयमा आगो लगाइदिएका थिए । पछि बिक्रमशिला र तक्षशिला विश्वविद्यालयमा पनि विदेशी हमलाकारहरुले विध्वन्स मच्चाएर र आगजनी गरेर पूर्वीय सनातन सभ्यता तथा समाजको बौद्धिक सम्पत्ति पूर्णतः नष्ट गरिदिए र फेरी यी ज्ञानका संरचना तथा विश्वविद्यालयहरुले आफूलाई उठाउन नै सकेनन् र सदाकालागि बिलय तथा पतन भए । विस्तारै ऋतु फेरियो, प्रकृति फेरियो, पुस्ता फेरियो, समय तथा युग फेरियो र प्रकृति, पुस्ता, समय तथा युग सबैले बिर्सिदै गए यी महानतम ज्ञान, विज्ञान, दर्शनका अत्यन्तै महत्वपूर्ण उपलव्धिहरुलाई जस्तोकी त्यहाँ कहिल्यै पनि त्यस्तो केही पनि थिएन । यसकारण बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको आफ्नो मूलभूमि फेरी पहिलाको अवस्था र गतिमा फर्कन सकेन र सदाकालागि पतन भएर गयो ।
(१३)सभ्यता विकासका बहुमूल्य ज्ञान, विज्ञानको विलय हुनु
खासगरि इशाको चौथो, पाचौं शताव्दीदेखि बौद्ध धर्म तथा दर्शनको स्वर्णिम युग चलिरहेको थियो । पुर्वीय सभ्यताले ज्ञान, विज्ञानमा विश्वलाई नै निकै ठूलो योगदान पुर्याइरहेको थियो र यो क्रम उत्कृष्तम तवरले अगाडि बढ्दै तथा प्रगतिउन्मुख हुदै गैरहेको थियो, विश्वभरिका विद्यार्थीहरु भारतमा रहेका यी बौद्ध विश्वविद्यालयहरुमा आएर विभिन्न विषयहरुमा अध्ययन पूरा गरेर स्वदेश फर्केर आफ्नो देशमा शिक्षाको उज्यालो फैलाई रहेका थिए । तर इशाको दशौं र बाहौं शताव्दीको विचमा अत्यन्तै क्रुर विदेशी टर्कीस, अरवी र अन्य लुट तथा युद्ध हमलाकारीहरु मैमुद गजनवी, मोहम्मद गौरी, बख्तियार खिल्जीका लुटेरा तथा सैन्य बलहरुले नालन्दा, बिक्रमशिला, तक्षशिला, उदन्तपुरी जस्ता ठूलाठूला तत्कालीन समयका विश्वभरिका ज्ञान, विज्ञान, सूचना तथा जानकारीहरुको विशाल संग्रह रहेका विश्वकै सबैभन्दा उत्कृष्ट महाविद्यालय, विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठान तथा संघ, संगठनहरुमा गरिएका लुट, हमला, युद्ध, विध्वन्स र आगजनीका कारण ७०० वर्षदेखि संग्रहित गरिएका विश्वभरिका मानव सभ्यता विकासका ज्ञान, विज्ञान, सूचना तथा जानकारीहरुको विशाल संग्रह निमेसमै पुरै खरानी भएर समुच्चा ज्ञान, विज्ञानको संग्रह सदाकालागि विलय भएको थियो दक्षिण एशियाको ज्ञानभूमिबाट । प्राचीन एतिहासका सन्दर्भ ग्रन्थहरुमा इतिहासकारहरुले उल्लेख गरे अनुसार नालन्दा विश्वविद्यालयका लामो समय लगाएर संगहित गरिएका विश्वभरिका महत्वपूर्ण ज्ञान, विज्ञान, सूचना तथा जानकारीका पाण्डुलिपिहरु छ महिनासम्म पनि जलिरहेका थिए अर्थात संरचनाको भग्नावशेषमा छ महिनासम्म धूवाँ आइरहेको थियो । नालन्दा विश्वविद्यालयमा आगजनी भएको ४० वर्षपछि एक तिव्वतीयन बौद्ध भिक्षु नालन्दा विश्वविद्यालयको अवस्था बुझ्न भारत आएका थिए । उनले त्यहाँ भवनको भगनावशेष बाहेक केही पनि देखेनन् तर एउटा दृश्य देखेर चकित भए, भग्नावशेषका खण्डहरहरुको एक कुनामा एक ९० वर्षिय वृद्ध भिक्षु आफ्ना केही शिष्यहरुलाई पढाइरहेका थिए जो उक्त विश्वविद्यालय सहि अवस्थामा रहेको समयका त्यहाँका गुरु थिए ।
यस्ता अत्यन्तै त्रासदीपूर्ण घटना तथा दुर्घटनाहरुका कारण बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको मूलभूमि नेपाल र भारतमा ८०० वर्षसम्म बौद्ध धर्म तथा दर्शन गुमनाम तथा पतनको अवस्थामा रह्यो । तत्कालीन त्रासदीपूर्ण अवस्थामा बौद्ध धर्म तथा आस्थाका अनुयायीहरुमाथि चरम डर र त्रासको अवस्था आएकोले सबै चुपचाप बसे, बौद्ध परम्पराका सबै प्रकारका गतिविधिहरु गर्न पूर्णतः बन्द गरे किनकी वाहिरी हमलाकारीहरुले भन्दा अझ कयौं गुणा बढी तत्कालीन समाजमा व्याप्त रहेका वैदिक धर्म तथा आस्थाका अनुयायीहरुले पनि बौद्ध धर्म तथा आस्थाका अनुयायीहरुलाई कमजोर बनाउन विभिन्न प्रकारले निशाना बनाउदै आइरहेका थिए । यी सबै कारणहरुले प्रादुर्भाव भएको मूलभूमिबाट बौद्ध धर्म तथा दर्शनको अस्तित्वनै नामेट भयो तत्कालीन समयमा तर पछिल्लो समयमा विस्तारै केही समर्पित बौद्ध मार्गीहरुले बौद्ध धर्म तथा दर्शनलाई समाजमा पुनः पहिचान दिलाउने प्रयास गरे र यो प्रयास आजको दिनसम्म पनि जारी नै रहदै आएको छ र यसको परिणाम स्वरुप वर्तमान समयमा बौद्ध धर्म तथा दर्शनको मूलभूमि नेपालमा कुल जनसंख्याको ८.२१ प्रतिशत र भारतमा कुल जनसंख्याको ०.७ प्रतिशत बौद्ध मार्गीहरु रहेकाछन् र यो संख्या सुस्त गतिमा बढ्दै गैरहेको पाइएको छ पछिल्ला तथ्यांकहरुलाई केलाउदा ।
अन्त्यमा
प्रारम्भ भएको २५०० वर्षका विभिन्न कालखण्डहरुमा बौद्ध धर्म तथा दर्शनले आन्तरिक तथा वाहिय धेरै प्रकारका अत्यन्तै त्रासदीपूर्ण घटना तथा दुर्घटनाहरु बेहोर्नु परेका कारण आफ्नो जन्म तथा प्रादुर्भाव भएको मूलभूमि नेपाल र भारतबाट पतनको अवस्था बेहोर्नु परेको भएपनि तत्कालीन समयमा र वर्तमान समयमा बौद्ध धर्म तथा दर्शन करुणा, शान्ति र सदभावको ब्रान्ड बन्दै आइरहेको छ र वैश्विक धर्म तथा दर्शनको रुपमा संसारभरि स्थापित भैसकेको छ । बौद्ध धर्म तथा दर्शनका विभिन्न शाखाहरु(लगभग ६५ शाखा रहेका छन्) संसारभरि विस्तार भएका छन् । सानो संघबाट प्रारम्भ भएको बौद्ध धर्म तथा दर्शन २५०० वर्षको लामो उतारचढावले भरिएको यात्रा पार गर्दै वर्तमान समयमा संसारका सबै मनुष्यहरुले स्वीकार गरेर व्यवहारिक रुपमा अनुशरण गर्दै आइरहेको वैश्विक धर्म तथा दर्शन बन्न सफल भएको छ र यो विचारधारा तथा आस्थाका प्रणेतालाई आज संसारले एशियाका तारा, शान्तिका अग्रदुतका साक्षात स्वरुप मान्दछ, जान्दछ र सम्मान प्रकट गर्दछ ।
निष्कर्षमा बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको मूलभूमि नेपाल र भारतबाट पतन हुनुका प्रमुख कारणहरुका सन्दर्भमा भन्नुपर्दा, तत्कालीन र सबैभन्दा ठूलो परिणाम ल्याएको कारण ज्ञान, विज्ञानका केन्द्रहरु महाविद्यालय, विश्वविद्यालय, शैक्षिक प्रतिष्ठान तथा संगठनहरुमा विध्वन्स तथा आगजनी हुनु र बौद्ध मठहरु नष्ट गरिनु तथा ठूलो संख्यामा भिक्षुहरुको हत्या गरिनु बौद्ध धर्म तथा दर्शनको पतन हुने क्रमको अन्तिम कडी तथा तत्कालीन कारणका रुपमा रुपमा देखिएको भएपनि वास्तविकतामा बौद्ध धर्म तथा दर्शनको पतनको प्रमुख कारण वैदिक धर्म तथा दर्शनमा चुपचाप विस्तारै विलय हुने गतिविधिहरुमा सामेल हुनु थियो । माथि उल्लेखित विविध कारणहरुले बौद्ध धर्म तथा दर्शन भित्रबाट खोक्रो र चुरो तथा विज बिहीन हुदै गैरहेको थियो र बौद्ध मठ, विश्वविद्यालय हरुमा भएको विध्वन्स तथा आगजनी र ठूलो संख्यामा भिक्षुहरुको हत्याले यो गर्लामगुर्लुम्म ढलेको थियो । यदि बौद्ध धर्म तथा दर्शन भित्रबाट खोक्रो तथा विज बिहिन हुदै नगएको थियो तथा यसको विज बाँकी रहेको थियो भने आफ्नो मूलभूमिमा यी घटनाहरुपछि पनि फेरी उठ्न र समृद्ध बन्न सक्थ्यो किनकी स्वयं बौद्ध धर्म तथा दर्शनको विस्तारबाट र विदेशी हमलाकारीहरुबाट वैदिक धर्म तथा दर्शनले पनि आन्तरिक तथा वाहिय रुपमा यस्तै प्रकारका विध्वन्सहरु बेहोरेको थियो बौद्ध धर्म तथा दर्शनले भन्दा बढि पटक । बौद्ध दर्शनको प्रादुर्भाव स्वयंनै वैदिक धर्मको बिनासका लागि निकै ठूलो विध्वन्स थियो तर वैदिक धर्म तथा दर्शन यी सबैप्रकारका चुनौतिहरु चिरेर आफूलाई फेरी आफ्नो मूलभूमिमा र विश्व समाजमा उभ्याउन सफल भया आफ्नो विज जोगाएको कारण । वैदिक धर्म तथा दर्शन फेरी ृठ्यो, सर्वकल्याणका लागि आफ्ना दर्शन र यि दर्शनका मूल्य–मान्यताहरु विश्वमाझ पुर्याउन र आफूलाई फेरी पहिला भन्दा पनि सशक्त सिसिमले उभ्याउन तथा विश्व समाजमा वैदिक ध्वज फहराउन पुनः सफल भयो तर बौद्ध धर्म तथा दर्शन एकपटक ढलेपछि आफ्नो मूलभूमिमा फेरी उठ्न सकेन तर पूर्वी एशिया र दक्षिण पर्वी एशियाका देशहरुमा अझ विस्तार हुदैगयो ।
बाहौं शताव्दीमा बौद्ध मठहरु, भिक्षुहरु, विश्वविद्यालयहरुमा निर्मम दंगला अमानवीय विध्वन्स र आगजनी भएपछि ८०० वर्षसम्म पुरै सन्नाटा छायो, कसैले त्यस सन्दर्भमा खोजी गरेनन्, सबै त्राहीमाम भएर डराएको अवस्था थियो युद्धका विभिसिका र असुरक्षाको भयका कारण । यसप्रकार विस्तारै समयसंगै आफ्नै सन्तान बौद्ध धर्म तथा दर्शनलाई मातृभूमि स्वयं नेपाल र भारतले नै भुल्दै गए र यो विस्तारै मूलभूमिबाट पतन भयो । बाह्रौं शताव्दीमा यसप्रकारको भयानक विध्वन्स भएको ८०० वर्षपछि उन्नाइशौं शताव्दी तथा सन १८३० मा ब्रिटीस पुरातात्विक तथा इतिहासकारको समुहले विश्वभरिका पुरातत्विक महत्वका सम्पदाहरुको खोज गर्न प्रारम्भ गर्यो । अलेक्जेन्डर कमिंगहमले पुरातात्विक खोज तथा अनुसन्धान गर्दा जंगलमा रुपान्तरण भैसकेको नालन्दा विश्वविद्यालयको भग्नावशेषकाबारे सूचना तथा जानकारीहरु वाहिर आउन थाले । नालन्दा विश्वविद्यालयको भग्नावशेष उत्खनन् गर्दा पालि र संस्कृत भाषामा लेखिएका बौद्ध ग्रन्थहरु, विभिन्न शिलालेखहरु, ध्यानमा रहेका गौतम बुद्धका मुर्तिहरु आदि सामग्रीहरु भेटिएका थिए । पुरातात्विक टोलीहरुले स्थानीय जनताहरुले नालन्दा विश्वविद्यालयको भग्नावशेष रहेको स्थानका ईंटा तथा अन्य सामग्रीहरु कोट्याएर लगेर आफ्नो घर बनाउन प्रयोग गरिरहेको देखेर उनीहरुलाई त्यस क्षेत्रको बारेमा सोधेका थिए । तर स्थानीय वासिहरुलाई केही पनि थाहा थिएन त्यस भग्नावशेषबारे, हामीले पुस्तौं पुस्तादेखि यस्तै देख्दै आइरहेका छौं यहाँ के थियो, यी ईंटा तथा ढुंगाहरु किन यहाँ छन् हामीलाई केही पनि थाहा छैन भनेका थिए । स्वयं बौद्ध धर्म तथा दर्शनको मातृभूमि नेपाल र भारतलाई ब्रिटीस पुरातात्विक समुहको उत्खनन्पूर्ण खोज र चीनिया यात्री महान भिक्षु हुयनसांगको यात्रा विवरण सार्वजनिक भएपछि मात्र थाहा भएको थियो की इतिहासमा नेपाल, भारत विश्वकै अग्रणी ज्ञान भूमि, ध्यान भुमि, वैदिक भूमि, बुद्ध भूमि थियो भनेर ।
यी विविध ठूला–साना पुराना तथा तत्कालीन कारणहरुले पतन भएको बौद्ध धर्म तथा दर्शनलाई नेपाल भारत स्वयंले विस्तारै भूल्दै गए तर यो एउटा यस्तो धर्म तथा दर्शन रहेको थियो जुन बाह्रौं शताव्दीसम्म अत्यन्तै उच्च अवस्थामा पुगेको थियो र स्वर्णिम अवस्थामा थियो जसले पुरै देश, विदेश तथा विश्वलाई नै हल्लाइदिएको, बदलदिएको तथा रुपान्तरण गरिदिएको थियो आफ्ना मानवीय र व्यवहारिक मध्यम मार्गी अवाधारणहरुले ।
छिट्टै,
पुर्वी एशिया, दक्षिण पूर्वी एशिया र पश्चिमी विश्वमा बौद्ध दर्शनको विस्तार
No comments:
Post a Comment