'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Thursday, 14 May 2026

समाजमा बौद्ध दर्शनको सकारात्मक प्रभाव, भाग -१

डा. सिर्जना भण्डारी



विषय प्रवेश 

तत्कालीन समयका अति निरंकुश ब्रम्हणवादीहरुले समाजमा फैलाएका अन्याय, अत्याचार, विभेद, अमानवीयहरुको खिलाफमा आवाज उठाएर तिनको निवारण गर्दै सर्वकल्याणका लागि काम गर्ने सेवा तथा सहयोगको भाव राखेर अगाडि बढेको बुद्ध विचारधरा तथा फरक मतनै अत्यन्तै लोप्रिय भएर पछि गएर बौद्ध धर्म तथा दर्शनका रुपमा विश्वभरि स्थापित भयो । तत्कालीन समयमा विभिन्न आन्तरिक तथा वाहिरी शक्तिहरुको आक्रमण, दमन र अन्य समस्याहरुमा परेर प्रादुर्भाव भएको मूलभूमिबाट पतनको अवस्थामा पुगेको भएपनि तत्कालीन समयदेखि आजसम्म समाजमा सबैप्रकारका सन्तुलन तथा सुव्यवस्थाहरु कायम गर्न बौद्ध धर्म तथा दर्शनका अत्यन्तै महत्वपूर्ण सकारात्मक प्रभावहरु देखिएका छन् जसले समाज र राज्यकै पुनः व्यवस्थापन र पुनः संरचनामामा अत्यन्तै परिवर्तनकारी भूमिका खेले तथा महत्वपूर्ण योगदान प्रदान गरे । तत्काली समाजका विभिन्न आयामहरुमा खासगरि सबैप्रकारका धार्मिक, सांस्कृतिक, सामाजिक, राज्य व्यवस्थाहरुमा, कृषि, अर्थतन्त्र, पेशा, व्यवसाय, व्यापार, गरिवी निवारण आदिमा बौद्ध धर्म तथा दर्शनले धेरै प्रकारका राम्रा र सकारात्मक प्रभावहरु पारेको तथा छाप छोडेको छ र ती सकारात्मक प्रभावका उपलव्धिहरुका जगमा तयार भएका नयाँ–नयाँ व्यवस्थाहरुको लाभ वर्तमान समयमा हामी सबैले नै लिरहेका छौं । ती मध्य केही महत्वपूर्ण सकारात्मक प्रभाव र यसका लाभहरु यसप्रकार रहेकाछन्–


(१)चेतनाको जागरणमा विकास

बौद्ध धर्म तथा दर्शनले आम मानिसहरुलाई तत्कालीन निरंकुश ब्राम्हणवादी सामाजिक, धार्मिक र सांस्कृतिक अव्यवस्था विरुद्ध विवेकशीलता, तर्क, वुद्धिको प्रयोग गर्न सिकायो र उत्साहकासाथ प्रेरणा प्रदान गर्यो । बौद्ध धर्म तथा दर्शनले आम मानिसहरुलाई अरुले जे भन्यो त्यही खुरुखुरु नमान्न, प्रश्न गर्न, तर्क गर्न, अन्धविश्वासमा टिकेको आस्थाबाट वाहिर निस्कन र आफैंले आफूलाई चिन्न, आफ्नो क्षमताको पहिचान गरेर त्यसको विकास गर्न र सहि जीवनशैली अपनाउन सिकायो । सबैकुरा आफूले जानेर र अनुभव गरेर मात्र मान्न तथा सहि र गलत छुट्याएर मात्र विश्वास गर्न र आफ्नो लागि आफैंले निर्णय लिन जागरुक गरायो । कसैको दबावमा नबस्न, अन्याय, अत्याचार, अव्यवस्था विरुद्ध आवाज उठाउन, कृत्रिम परम्पराहरुबाट वाहिर आउन ज्ञान प्रदान गर्यो र विवेकशील, तर्कशील, अधिकार खोज्ने, अन्याय नसहने हुनुपर्छ भन्नेमा जोड दिएर आम मानिसहरुको चेतनाको जागरणमा उल्लेख्य योगदान पुर्यायो । बौद्ध धर्म तथा दर्शनको चेतना जागरणको यो अभियानको सकारात्मक प्रभाव र परिणाम वर्तमान समयमा समेत पुर्वीय लगायत पश्चिमको संसार तथा सारा विश्वले नै अनुभव गरिरहेको छ ।


(२)अहिंसाको अवधारणा र बहस

त्त्कालीन ब्राम्हणवाद हावी भएको वैदिक समाजमा धर्म, संस्कृति र परम्पराको नाममा स्त्री, शुद्र, दाष र पशु माथि अत्यन्तै अमानवीय हिंसक व्यवहारहरु गरिदै आइएको थियो । स्त्री, शुद्र, दाषमाथि अमानवीय व्यवहार, कुटपिट र पशु बलिप्रथा व्याप्त थियो र यो गतिविधिको विरोधमा आवाज उठाएर अहिंसावादी मत तथा विचारधारा राख्दै गौतम बुद्धले तत्कालीन वैदिक धर्मका यस्ता प्रथा चलाउने ब्राम्हणवादी समाज विरुद्ध आवाज उठाए र धर्म, संस्कृति र परम्पराको नाममा भैरहेको हिंसाको अन्त्य गरी समाजमा सुधार र सुव्यवस्था कायम गर्नुुपर्ने माग राखे । पछि गएर गौतम बुद्धको यही विरोधको मत तथा विचारधारा नै बौद्ध धर्म तथा दर्शनको रुपमा विकसित भयो । स्त्री, शुद्र, दाषहरुप्रतिको अमानवीय तथा हिंसक व्यवहार र पशुबलि प्रथा तथा निर्दोष पशुमाथि गरिने हिंसाको विरोध र सुधारमा बौद्ध धर्म तथा दर्शनले जोडतोडले आवाज उठाएकै कारण तत्कालीन समाज अहिंसाको पक्षमा सोच्न बाध्य भयो र विस्तारै यस्ता निराधार अन्यायपूर्ण परम्पराहरुमा कमी आउदै गयो तर समाजबाट अझै पनि पूर्णरुपमा हट्न तथा हटाउन चाहिं सकिएको छैन तथापि धेरै हदसम्म सुधार आएको छ र आज पर्यन्त विश्व समाजमा बौद्ध धर्म तथा दर्शनको अहिंसा नीति प्रचलनमा रहदै आएको छ र देश–विदेशमा राज्य तथा समाजका विभिन्न क्षेत्रहरुमा अझ सशक्त रुपमा अनुशरण गरिएको पाइन्छ ।


(३)कृषि उत्पादन र परिश्रममा जोड 

मानव सभ्यताको विकास हुने क्रममा तत्कालीन समाजको जीवन निर्वाह र राज्यको अर्थव्यवस्था पशुपालन प्रधानबाट कृषि प्रधान हुदै गैरहेको थियो र समाज तथा राज्यका सबै क्षेत्रहरु विकसित बन्दै गैरहेका थिए तर धनको प्राप्तिसंगै ब्राम्हणवादी समाजमा वर्ग विभेद, उचनिच, दाष प्रथा तथा काम गर्ने वर्ग र बसेर खाने हैकम चलाउने काम नगर्ने अरुलाई काम लगाउने ठालु वर्ग छुट्टिदै गैरहेको थियो । पुरातात्विक संग्रहालयका सामग्रीहरुमा इशाको पहिलो शताव्दीमा निर्माण गरिएका मुर्तिकला तथा चित्रकलाहरु(स्क्लप्चरस्)मा गौतम बुद्ध स्वयंले हलो ठेलेर खेत जोतिरहेको पाइएका छन् । यसको सिधा अर्थ लाग्छ कि समाजमा सबै मानिसहरुको मान्यता समान रहनु पर्दछ, उच–निच, ठूलो–सानो भन्ने हुनु हुदैन, सबैले आ–आफ्नो हिस्साको मेहनेत गर्नु पर्दछ, सबैले आ–आफ्नो काम कर्तव्य पूरा गर्नु पर्दछ भन्ने मान्यता बौद्ध धर्म तथा दर्शनको रहेको स्पष्ट हुन्छ । तत्कालीन वैदिक धर्म मान्ने ब्राम्हण समाजमा ब्राम्हण र समाजका ठूला व्यक्तिहरुले हलो जोत्नु हुदैन तथा श्रम–मजदुरी गर्नु हुदैन यसो गरे जात जान्छ, मानपदबी घट्छ, पाप लाग्छ भन्ने निराधार कुतर्क र मान्यताहरु थिए तर बौद्ध धर्म तथा दर्शनको यो प्रस्तुतिले सबै वर्ग तथा जात–जातिले सबै प्रकारका काम गर्नु हुन्छ र सबैले मेहनत गर्नु पर्दछ भन्ने मान्यता स्थपित गर्यो र विस्तारै यसको सकारात्मक प्रभाव ब्राम्हणवादी समुदायमा पर्यो र उनीहरुले पनि अन्धविश्वास र बिनातर्कका परम्पराहरुलाई छोडेर सबैले आ–आफ्नो काम, कर्तव्य पूरा गर्ने, परिश्रम गर्ने गर्नथाले जुन आज पर्यन्त समाजमा चल्दै आइरहेको छ सबैले सबैप्रकारका काम गर्न सकिन्छ, सबैले आफ्नो लागि आफू सवयंले मेहनत गर्नुपर्दछ, कुनै पनि काम उच–निच तथा ठूलो–सानो हुदैन भन्ने मान्यता समाजमा स्थापित हुदैगयो र वर्तमान समयमा यस अवधारणाको औचित्य अझ स्पष्ट र सान्दर्भिक भएको छ ।


(४)राज्य व्यवस्थाको विकास

पशुपालसंगै कृषिको दायरा र विकास बढ्दै जान थालेपछि साना–साना समुहमा ठाउँ सरीसरी बस्ने ट्राइबल समुहहरु एकै ठाउँमा एकत्रित भएर बस्न लागे । जिविकोपार्जनका लागि पशुपालन र कृषिमा विविध आयामहरु समावेस गरेर पशुपालन, यस सम्वन्धि गतिविधिहरु, कृषि र खेतीपातीका गतिविधिहरु बढाउदै लगे । जिविकोपार्जनका यस्ता क्रियाकलापहरुसंगै छरछिमेक, अर्मपर्म, साथ, सहयोगका गतिविधिहरु पनि बढ्दै जान थाले, कारोबार बढ्दै जान थाल्यो र धन संचिती पनि बढ्दै जान थाल्यो । यस्ता गतिविधिहरुसंगै समाजमा सुरक्षा, सुविधा, अन्य व्यवस्थापनका आवश्यकताहरु पनि बढ्दै जान थाले र साना–साना ट्राइबलहरुको समुह बढ्दै जाने क्रममा ठूलो संख्यामा प्रस्तुत भएर राज्यको स्वरुपमा रुपान्तरण हुनलागे । विस्तारै सबैतिरको सुरक्षा व्यवस्था तथा अन्य सरसुविधाका व्यवस्थापन हेर्ने एउटा बलियो नेतृत्व तथा राज्य संचालन गर्ने अधिकारी बन्दै गए र उनीहरुलाई कार्य संचालन गर्न आवश्यक पर्ने धन, सुविधा, श्रम आदि राज्यका वासिन्दाहरुले दिनथाले खेतबारीको कुत, जग्गाको कर, कृषि उत्पादनको लगान, व्यापारीबाट राजश्व आदि उठ्न थाल्यो । तर विडम्बना यसरी क्रमिक रुपमा विकसित हुदै गैरहेका राज्य व्यवस्थामा उही पुरानै समस्या हावी हुदैगयो र ब्राम्हणवादी सामान्तहरुको हालिमुहाली बढ्दै गयो । समाज तथा राज्यमा शोषक र शोषित दुई वर्ग देखिन थाले र आम सर्वसाधारणहरु अन्यायमा पर्दै गए किनकी उनीहरुले आफ्नो मेहनत र कमाएको ठूलो हिस्सा ब्राम्हण तथा सामन्तहरुलाई बुझाउन बाध्य गराइयो र परिश्रम गरिकन पनि उनीहरुको अवस्था दयनीय बन्दै गयो । समाज तथा राज्यमा देखिएको यसप्रकारको शोषण र शोषित वर्ग विभेद अव्यवस्थाका विरुद्ध बौद्ध धर्म तथा दर्शनले यस्तो अवस्थामा सुधार र सुव्यवस्था गरेर समाजमा समानता कायम गर्नुपर्नेमा दबाव र जोड दियो । राज्यमा सुव्यवस्था कायम गर्न बौद्ध धर्म तथा दर्शनको दबाव र जोडको प्रभाव तत्कालीन समाजमा गहिरोसंग पर्यो र समाजमा शोषण गरिरहेका ब्राम्हणवादी सामन्तहरुले समाज र राज्य व्यवस्थामा सुधार ल्याउन बाध्य भए र सबैतिर समानता कायम गर्ने प्रयास हुदैगयो । क्रमशः यो व्यवस्थाले समाज र राज्यमा निरन्तरता र प्राथमिकता पाउदै गयो र राज्य व्यवस्थाको अझ सुदृढ किसिमले विकास हुन प्रारम्भ भयो ।


(५)पेशा, व्यवसाय, व्यापारको विकास 

तत्कालीन समयमा जिविकोपार्जनको प्राथमिक माध्यम पशुपालन र कृषि थियो र त्यसबेलाका पेशा, व्यवसायका सबै गतिविधिहरु पशुपालन र कृषिमै आधारित थिए । कृषि कार्य गर्नकालागि अत्यावश्यक वस्तुभाउहरु खासगरि गाई र गोरुको महत्वलाई बढावा दिदै बौद्ध धर्म तथा दर्शनले राज्यभरिका जनावरहरुको स्वास्थ्य सहि राख्नुपर्ने व्यवस्थामा सुधार ल्याउन चर्को दबाब दियो पशु अधिकारका विषयहरु अघि सार्दै । तत्कालीन ब्राम्हणवादी समाज तथा राज्यले यो विषय सहि ठान्यो र पशुहरुको अवस्था सुधारमा जोड दियो । जव राज्यमा पशुहरुको अवस्था सुदृढ हुदै गयो तव कृषिका गतिविधिहरु तथा पेशा, व्यवसायहरु झन–झन बढदै गए र व्यक्तिहरुको घर–घरमा कृषि र पशुपालनमा आधारित वस्तुहरुको उत्पादन बढ्न थाल्यो, यससंगै जिन्सी तथा नगद धन संचय पनि बढ्दै गयो । यसरी संचित भएको धन आवश्यकता भएका अरु मानिसहरुको पहुचमा पुर्याउनका लागि वस्तु साटासाट तथा बिनिमयको प्रचलन(बाटर सिस्टम) बढ्दैगयो र यी गतिविधिहरु विस्तारै बजार व्यवस्था र व्यापारमा रुपान्तरित हुदैगए र यो अवस्थाले समाज तथा राज्यमा पेशा, व्यवसाय र व्यापारको विकास हुदैगयो । तर विस्तारै तत्कालीन ब्राम्हणवादी समाजको विभाजित र विभेदित अव्यवस्थामा पेशा, व्यवसाय र व्यापारको क्षेत्रमा पनि अव्यवस्था देखिन थाल्यो, ब्राम्हणवादी सामन्तहरुको पेशाकर्मी, व्यवसायि तथा व्यापारीहरुमाथि हैकम चल्न प्रारम्भ भयो र उनीहरुको मनपरितन्त्रका कारण समाज तथा राज्यमा पेशा, व्यवसाय, व्यापारमा अव्यवस्था घुस्यो । उत्पादन, गुणस्तर, मूल्य, समाजका कुन वर्ग तथा जातिले के प्रयोग गर्न हुने तथा नहुने आदि असमानता र बिनातर्कका अव्यवस्थाहरु देखिन थाले । यस्तो अव्यवस्थाको विरोधमा बौद्ध धर्म तथा दर्शनले आवाज उठायो र सुधार गर्न जोड दिदै बहस गर्यो ब्राम्हणवादी सामन्तहरुसंग । पछि विस्तारै यस क्षेत्रमा सुधार देखिन थाल्यो र अव्यवस्था कम हुदै गएपछि साना व्यक्ति तथा समुहहरुको सहभागिता बढ्दै जान थाल्यो विभिन्न प्रकारका पेशा, व्यवसाय तथा व्यापारहरुमा र यसको दायरा र विकास अझ बढ्दैगयो जसको कारण राज्य अझ बलियो हुदैगयो । बौद्ध धर्म तथा दर्शनको सुत्तानीपता ग्रन्थमा पेशा, व्यवसाय तथा व्यापारका मूलश्रोत वस्तुभाउहरुलाई अन्नद, मन्नद, बलद र सुखद अर्थात खाना, सुन्दरता, बल र खुशी प्रदान गर्नेवाला भनेर सम्मान व्यक्त गरिएको छ । यसकारण वस्तुभाउको संरक्षण र यससंगै पशुपालन र कृषिमा आधारित पेशा, व्यवसाय तथा व्यापारहरुलाई प्राथमिकता दिएर योे विषयलाई स्थापित गरेको थियो जसको दुरगामी सकारात्मक प्रभाव रह्यो समाज तथा राज्यमा र समयसान्दभिक समाज तथा अर्थतन्त्रको विकासमा आज पर्यान्त । 


(६)मजबुत अर्थव्यवस्था र विकास

तत्कालीन समयमा कृषि र पशुपालनमा आधारित पेशा, व्यवसाय तथा व्यापारहरुमा आएको विकास तथा विस्तारका कारण कृषिमा आधारित तथा कृषिमुखी अर्थव्यवस्था अझ मजबुत, विकसित र विस्तार हुदै गैरहेको थियो र क्रमशः समाज तथा राज्यको अर्थतन्त्र, अर्थव्यवस्था, पेशा, व्यवसाय, व्यापार, गरिवीका अवस्थाहरु सुदृढ हुदै गैरहेका थिए । आम मानिसहरुले सम्पत्ति जोडेका थिए आफ्नै बल, मेहनेत र परिश्रमको कमाइले । यसको नकारात्मक परिणामका रुपमा तत्कालीन स्वार्थ, लोभ, मोहमा आशक्त ब्राम्हणवादी सामन्ती समाजले धनी पेशाकर्मी, व्यवसायी, व्यापारीहरुबाट आफूहरुले केही पाउने आशामा उनीहरुलाई विशेष मुल्य दिनथाले र कमजोर हैसियत भएकाहरुलाई कम महत्व तथा हैसियतमा राख्न थाले । यसको परिणामस्वरुप समाजमा वर्ग विभाजन तथा वर्ग विभेद जस्ता आर्थिक र सामाजिक असमानता र अव्यवस्थाहरु देखिए । यिनै असमानता तथा अव्यवस्थाहरुलाई सुधार गरेर सामाजिक रुपले व्यवस्थित समाजको निर्माण गर्न बौद्ध धर्म तथा दर्शनले आम मानिसहरुलाई धन कमाउन र संचित गर्ने कामको पछाडि ज्यादा नलाग्न, धनको आशक्तिले जीवनमा दुःख, पिडा बढाउछ, धनप्रतिको रुचि आवश्यकता जति मात्र उपयोग गर्दै आहार विहार व्यवहार, सतसंग, साधना, सेवा गरेर आफ्नो व्यक्तिगत आचरण र जीवनशैली सहि गरेर आफैंले आफूलाई हरप्रकारले स्वस्थ, सुखी, खुशी, शान्त, आनन्दित राख्न र यस्ता प्रकारका आचरणहरु गरेर धनसम्पत्तितिर नभइ आफूतिर फर्किन प्रेरित गर्यो । आम मानिसहरुलाई जीवनमा सम्यक तथा मध्यम मार्ग अपनाउन अर्थात आफ्नो आधारभूत आवश्यकता पूरा गर्न नसक्ने गरि गरिव पनि नरहन र धनप्रति धेरै आशक्त पनि नहुन प्रेरीत गर्यो किनकी बौद्ध धर्म तथा दर्शनको तर्क थियो अति धन र धनप्रतिको आशक्तिबाट पनि व्यक्ति र समाजमा विकृत्ति र अव्यवस्था आउछ, अति धनले अहंकार, स्वार्थ, निरंकुशता, वर्ग विभेद, हुने र नहुनेहरु विचको अन्तराल तथा खाडल जस्ता सामाजिक अव्यवस्थाहरु बढाउछ र समाजलाई असन्तुलित गर्छ । त्यसैगरि अति निर्धनता तथा गरिवीका कारण चोरी, घृणा, षडयन्त्र, हिंसाले जन्म लिन्छ यसकारण समाजबाट गरिवी निवारण गर्नुपर्छ; सबैलाई गरिखाने अवस्थाको सर्जिना गर्नुपर्छ र सबैलाई अवसर प्रदान गर्नुपर्दछ; एउटैले मात्र तथा सक्नेले मात्र धन थुपार्नु हुदैन; धनको समान वितरणमा राज्यले विशेष ख्याल राख्नु पर्दछ; समाज स्वस्थ, सहज र व्यवस्थित बनाउनकालागि धेरै धन आर्जन गर्नेहरुले धनको कमी भएर तथा धन नै नभएर जीवन धान्न मुस्किल परेकाहरुलाई विभिन्न माध्यमबाट सहयोग गर्नुपर्छ निस्वार्थ भएर सेवाको भावले; व्यक्ति, समाज र राज्य सबै मिलेर यस्ता कल्याणकारी कामहरु गर्नुपर्छ धनको समान वितरण मिलाउनका लागि धन भएकाहरुबाट कर असुली गरेर जस्ता रणनीतिक विषयहरुमा जोड दियो आफूले आम मानिसहरुको कल्याण गर्नका लागि गठन गरेका संघको काम, कार्यवाहीहरुको माध्यमबाट जुन अभ्यास आजको विश्वमै सबैभन्दा बढि अनुशरण गरिदै आइएको छ । 


छिट्टै, 

@मूलभूमि नेपाल र भरतमा बौद्ध धर्मको पुनरागमन र विस्तार

@राजकुमार सिदार्थ गौतमको बोधिवृक्षदेखि वैश्विक दर्शनसम्मको यात्रा


No comments:

Post a Comment