डा. सिर्जना भण्डारी
ब्राम्हणवाद, वैदिक वास्तविकता र सामाजिक अव्यवस्था
विषय प्रवेश
ब्राम्हण शव्दबाट निर्मित भएको ‘ब्राम्हणवाद’ शव्द शाव्दिक अर्थमा ब्राम्हण, पंडित तथा पुरोहितसंग सम्वन्धित रहेको भएपनि क्रियात्मक अर्थमा यो समाजमा अरुलाई दबाएर आफूलाई उच्च ठान्ने हैकमवाद तथा हुकुमीशैली आधारित रहेको छ जसले आफूलाई शासक र अरुलाई शासित ठान्दछ । इशापूर्व छैठौं शताव्दीमा विश्व भूगोलको पूर्वी क्षेत्र दक्षिण एशियामा स्थित नेपाल र भारत देशमा बौद्ध विचारधारा तथा दर्शन प्रादुर्भाव हुनुको प्रमुख कारण ब्राम्हणवादको उदय हुनु र यसले समाजमा सामाजिक तथा सांस्कृतिक आतंक फैलाउनु थियो । तत्कालीन समाजमा सनातन ऋगवेदमा उल्लेख गरिएको वैदिक मूल्य–मान्यतालाई ब्राम्हणवादी सोच भएका पंडित तथा पुरोहितहरुले आफूखुशी वेदका ज्ञान, विज्ञानहरुको अर्थको अनर्थ लगाएर कर्ममा आधारित वर्ण व्यवस्थालाई जवरजस्ती जन्ममा आधारित बनाएर समाजमा लागू गर्नु र त्यसकै आधारमा मानिस मानिसकै विचमा उच–नीच, छुत–अछुत, जात–कुजात, स्त्री र पुरुषनिच लिंगभेद, सम्पन्न र विपन्नविच वर्गभेदको असमानता सिर्जना गरेर समाजलाई अव्यवस्थित बनाउनु र आम मानिसहरुमाथि आफैंले आफ्नो स्वार्थ सिद्ध गराउन रचना गरेका किर्तिक तथा बनावटी शास्त्र र तिनै शास्त्रमा निर्धारण गरिएका तथा धर्मका आडमा बनाइएका मनगढन्त संस्कार, संस्कृति तथा परम्पराहरुका पाप–पुण्य, स्वर्ग–नर्क, भगवान–इश्वर, मुक्ति–मोक्ष आदिका डर र त्रासका बोझ लादेर पशु बलिप्रथा, पंडित–पुरोहितलाई खुशी पार्न दान, भेटी, भाकल आदि गर्न बाध्य बनाएर समाजमा अन्याय, अत्याचार, अमानवीयताका श्रृंखलाहरु चालाएका थिए र यस्ता आफूखुशी बनाइएका कुनै तर्क र वैज्ञानिकता नभएका मनगढन्त अन्विश्वासका संस्कार तथा सांस्कृतिक परम्पराहरु कसैलाई मान्य थिएन तर दह्रोगरि विरोधको आवाज उठाउन सक्ने व्यत्तित तथा समुह अगाडि नभएकोले यसप्रकारका समाजिक अव्यवस्थाहरुले समाजमा निरन्तरता पाइरहेका थिए ।
वर्ण व्यवस्था र वास्तविक वैदिक मान्यता
वर्ण व्यवस्थाको सन्दर्भमा सनातन शास्त्र ऋगवेदको दशौं मण्डल(१०.९ं०.१२) पुरुष सुक्तमा उल्लेख गरिएको वैदिक नियम अनुसार वर्ण व्यवस्था मनुष्यको कर्म, गुण, विशेषता तथा स्वभावका आधारमा निर्धारण हुने व्यवस्था अनुसार समाजमा चल्दै आइरहेको थियो । यसैकारण प्राचीनकालमा धेरै ऋषिमूनिहरुले आफ्नो साधना र कर्मद्वारा वर्ण परिवर्तन गरेर क्षेत्रियबाट ब्राम्हण भएका थिए । विश्वामित्र, परशुराम, वशिष्ठ ऋषि जो पहिला क्षेत्रीय थिए पछि अध्ययन, ज्ञान, विज्ञानको साधनालाई कर्म बनाएपछि ब्रम्हर्षि अर्थात ब्राम्हण ऋषि कहलिए । प्रामाणिक सनातन शास्त्रहरु(जेन्युन बुक्स अफ साइन्स) अनुसार सबै मनुष्यहरु जन्मदा शुद्र वर्णका हुन्छन्, हुर्कदै जाने क्रममा उनीहरुको संस्कार तथा उनीहरुले गर्ने कर्म, गुण, विशेषता तथा स्वभावका आधारमा उनीहरुको वर्ण निर्धारण हुन्छ । प्रामाणिक शास्त्रहरुका अनुसार हरकोही मनुष्यले आफ्नो उमेरको कुनै पनि अवस्थामा आफूले गर्दै आइरहेको कर्म परिवर्तन गरेर अर्को प्रकारको कर्म गर्न प्रारम्भ गर्यो र त्यस कर्म अनुसार आफ्नो जीवन जिउने प्रक्रिया प्रारम्भ गर्यो तथा निरन्तरता दियो भने सोही कर्म अनुसार उसको वर्ण परिवर्तन हुन्छ र उसलाई गरिने सम्वोधन परिवर्तित वर्ण अनुसार नै हुन्छ । तर तत्कालीन समाजमा आम जनमानस तहको सहज भाषा पाकृत अर्थात पालि थियो र संस्कृत शैक्षिक संस्थाहरुमा अध्ययन, अध्यापन गर्ने तथा गराउने बुद्धिमान, ज्ञानवान व्यक्तिहरुको भाषा तथा लिपि थियो । अनपढ तथा संस्कृत नपढेका आम सर्व साधारणहरु संस्कृतमा लेखिएका शास्त्रहरुका कुरा पढ्न नसक्ने र सिधै बुझ्न नसक्ने भएकाले तत्कालीन समयमा समाजमा अन्याय, अत्याचार, अमानवीयता जस्ता सामाजिक अव्यवस्था भित्र्याएर सांस्कृतिक विचलन मच्चाइरहेका ब्राम्हणवादका अनुयायी पंडित तथा पुरोहितहरुले आफूखुशी, आफ्नो स्वार्थ सिद्ध हुनेगरि सनातन वेद तथा अन्य शास्त्रहरुको अर्थको अनर्थ जस्तो लगायो त्यस्तै, जे भन्यो त्यही र जसरी भन्यो त्यसरी मान्नु पर्ने अवस्थामा पुगेका थिए । आम सर्वसाधारणहरु शास्त्रमा उल्लेख रहेका पंडित तथा पुरोहितहरुद्वारा वाचित जन्म–मृत्यु, विवाह–विद्धवा, पाप–पुण्य, स्वर्ग–नर्क, राम्रो–नराम्रो, भगवान तथा इश्वर साक्षातकार तथा कृपा, वैकुण्ठ–मोक्ष आदि विषयहरुमा सवाल उठान सक्दैनथे, पापको डर, त्रास र बोझले थिचिएका थिए ।
गौतम बुद्ध आफू स्वयंले प्रामाणिक मान्यता प्राप्त सनातन वेद र अन्य शास्त्रहरुको अध्ययन गरेर सबै वास्तविकता जानिसकेपछि सनातन अध्यात्म तथा धर्मका सनातन शास्त्रहरुका मूल विषय तथा मूल्य–मान्यता, मूल मर्म तथा मूलसारलाई आफ्नो नीजि स्वार्थ सिद्ध हुनेगरि तोडमरोड गरेर ब्राम्हणवादका अनुयायीहरु पंडित तथा पुराहितहरुले आफूखुशी अथको अनर्थ लगाएर आम मानिसहरु माथि गर्दै आएका सबै विभेदपूर्ण, अन्याय, अत्याचार, अमानवीय तथा असामाजिक व्यवहारहरुलाई निराधार, कपोलकल्पित, अनावश्यक बताए र त्यसलाई मान्न सिधै अस्वीकार गरे; अरुलाई पनि नमान्न, यसबारे जाग्रीत हुन र अप्रामाणिक विषयहरुमा ब्राम्हणवादका अनुयायी पंडित तथा पुरोहीतहरुलाई तर्कपूर्ण प्रश्न सोध्न; यी विषयहरु आफू स्वयंले जान्न र अरुका कुरा नमान्न तथा अन्धो भएर विश्वास नगर्न; आँखा बन्द गरेर जस्ताको तस्तै स्वीकार गरेर अनुशरण नगर्न; पाप–पुण्य र स्वर्ग–नर्कका मनगढन्त कथाबाट वाहिर आउन; आफ्ना डर र कमजोरीहरु चिन्न र आफ्ना सम्भावनाहरु देख्न जागरुकता फैलाए र यसकालागि सबैलाई हौसला र प्ररणा प्रदान गरे । गौतम बुद्धले ब्राम्हणवादी पंडित, पुरोहितहरुले फैलाइका वैज्ञानिकता र तार्किक आधार नभएका निराधार अन्धविश्वासमा आधारित कर्मकाण्ड, संस्कार, संस्कृति तथा परम्पराहरुको वास्तविकता उजागर गरेर आम मानिसहरुमा आवश्यक जाग्रीति ल्याउन उनीहरु समक्ष किर्तिक तथा बनावटी शास्त्रहरुको वास्तविकता उजागर गर्न प्रामाणिक शास्त्रहरुसंग तुलना गरेर अवास्तविक, अवैज्ञानिक तथा अतार्किक विषयहरुको यसप्रकार पोल खोलिदिएका थिए–
“शास्त्रमा लेखिएका तथा शास्त्रका अनुसार भनेर आम मानिसहरुलाई भनिएका सबै विषय तथा मान्यताहरु सबै सत्य र प्रामाणिक छैनन् किनकी यी पछि लेखिएका किर्तिक तथा बनावटी शास्त्रहरु हुन्, ब्राम्हणवादका अनुयायी पंडित तथा पुरोहितहरुद्वारा पछि आफ्नो स्वार्थ सिद्ध गर्न आवश्यकता अनुसार लेखिएका हुन् र यी सबै शास्त्रहरुमा उल्लेखित विषयहरु ब्राम्हणवादकै मूल्य–मान्यता अनुसार तयार गरिएका छन् । ब्राम्हणवादका पंडित तथा पुरोहितहरुद्वारा रचना गरिएका यस्ता किर्तिक तथा बनावटी शास्त्रशरु वास्तविक शास्त्र होइनन्, आफ्नो स्वार्थ शिद्ध गर्न मनगढण्त किसिमले रचना गरेर व्यक्तिगत तथा सामुहिक स्वार्थ समुहहरुले तयार पारेका हुन् र ती सबै ब्राम्हणवादकै निरन्तरता हुन् किनकी ब्राम्हणवाद हरहालमा आफ्नो वर्चश्व जोगाउन चाहन्छ, अरुलाई आफ्नो पैतालामूनि दवाएर आफू उचाइमा रहेको देखाउन चाहान्छ, आफू शासक भएर अरुमाथि शासन गर्न चाहान्छ । सनातन वेदमा रहेको कर्ममा आधारित वर्ण व्यवस्था ब्राम्हणवादले नै आफ्नो सुविधाकालागि जन्मका आधारमा पछि लेखिएका किर्तिक शास्त्रहरुमा लिपिवद्ध गरेको हो र अनेक प्रकारले पाप–पुण्य तथा स्वर्ग–नर्कका डर, त्रास देखाएर आम सर्वसाधारणहरुलाई मान्न बाध्य गराएको हो । सनातन वेदमा जाति, लिंग, वर्गको विषयनै उल्लेख गरिएको छैन, मनुष्यको कर्म, गुण, स्वभाव तथा विशेषताका आधारमा उसको वर्ण निर्धारण हुने व्यवस्था उल्लेख रहेको छ र हरेक मनुष्यले आफ्नो उमेरको कुनै पनि अवस्थामा आफूलाई रुचि लागे अनुसार अध्ययन, पेशा, व्यवसाय, सेवामा प्रवेश गरेर सोही अनुसार आफ्नो वर्ण परिवर्तन गर्न सक्दछ । प्राचीन समयमा विश्वामित्र, परशुराम, वशिष्ठ जस्ता ठूला–ठूला ऋषिहरुले यसैगरि आफ्नो वर्ण परिवर्तन गरेका थिए, यो सुविधा प्राचीन समाजमा थियो तर ब्राम्हणवादले आफ्नो सुविधाकालागि स्वार्थवस सनातन वेदका मूल्य–मान्यताहरुलाई नै पूर्णतः तोडमरोड गरिदियो र समाजमा आफ्नो स्वार्थी मूल्य–मान्यता स्थापित गरिदियो । सनातन वेद शास्त्रका अनुसार मनुष्य कुन क्षेत्र र कुन माता–पिताको कोखबाट जन्मियो त्यो मूल विषय होइन, उसले कस्तो जीवनयापन गरिरहेको छ, कस्तो संस्कार अंगालेको छ तथा कस्तो कर्म गरिरहेको छ, उसको गुण तथा स्वभाव कस्तो छ त्यो चाहिं सबैभन्दा महत्वपूर्ण हो र यो अवस्था चाहिं ऊ स्वयंकोलागि, परिवार, समाज र राज्यकालागि मूल विषय बन्नुपर्छ कि उसले सबैको हित हुने सर्वकल्याणका कार्यहरुमा समाज र राज्यमा के कस्तो भूमिका खेलेको छ, योगदान पुर्याइरहेको छ तथा पुर्याउन सक्छ । यदि ऊसको जीवनशैली नै बेकार छ भने ऊ कुन क्षेत्र र कुन मातापिताको कोखबाट जन्मियो भन्ने कुराले कुनै महत्व राख्दैन ।
अधि(तिर)+आत्म(आफू)=अध्यात्मको शाव्दिक अर्थ तथा परिभाषा आफूतिर फर्कनु भन्ने हो र आफूभित्र गरिने अन्तरयात्राको साधना नै वास्तविक अध्यात्म हो र आफू आध्यात्मिक हुनु हो । आफू भन्दा वाहिर आफू लगायत सबैको हित हुनेगरि गरिने वहिरयात्राको साधना सेवा हो र 'सेवा नै धर्म हो' ।मानव भएर गरिने सबै मानवीय क्रिया, कर्म तथा गतिविधिहरु सेवा तथा धर्म अन्तर्गत पर्दछन् र मानव भएर हरप्रकारले आफूले आफ्नो मानवीय धर्म(कर्तव्य, उत्तरदायित्व, जिम्मेदारी) निभाउनु नै वास्तविक अर्थमा धार्मिक हुनु हो । यसर्थ हामीलाई ब्राम्हणवादले बुझाउदै आइरहेको अध्यात्म र धर्मको वास्तविक अर्थ तथा परिभाषा कर्मकाण्ड, संस्कार, संस्कृति, परम्परा हो भन्ने भाव नै पूर्णतः गलत र असान्दर्भिक छ । कर्मकाण्ड, संस्कार, संस्कृति, परम्परा त सामाजिक व्यवस्थाका लागि लामो समय लगाएर मनुष्य स्वयंले निर्माण तथा निर्धारण गरेका कृत्रिम मूल्य-मान्यताहरु हुन जो एक समुह तथा सम्प्रदायका लागि स्वीकार्य हुन्छन् र अर्को समुह तथा सम्प्रदायका लागि स्वीकार्य नहुन सक्छन् । यसरी एक समुह तथा सम्प्रदायका लागि निर्माण तथा निर्धारण गरिएका यस्ता मूल्य-मान्यताहरु अवस्था, समय, परिस्थिति अनुसार परिवर्तनशील हुन्छन्, आवश्यकता अनुसार परिमार्जन तथा परिवर्तन गर्न सकिन्छ र युग सुहाउदो तथा समय सान्दर्भिक हुनेगरि परिमार्जन तथा परिवर्त गरिनु पर्दछ । तर अध्यात्म र धर्मका नियम तथा मूल्य-मान्यताहरु सबैकालागि संधै एकसमान हुन्छन्, अपरिवर्तनशील हुन्छन्, सदा अटल र प्राकृतिक न्यायको सिद्धान्तमा आधारित शाश्वत हुन्छन् । वर्तमान समयमा ब्राम्हणवादको स्वार्थको चंगुलमा परेर अध्यात्म र धर्म जस्तो ब्रम्हाण्डिय शाश्वत गरिमामय विषय कर्मकाण्ड, संस्कार, संस्कृति, परम्परा, अन्धविश्वासमा सीमित भएको छ । हामी सबैले सनातन अध्यात्म र धर्मको वास्तविक अर्थ र परिभाषा आफूले बुझेर, अरुलाई बुझाएर र आफूभित्रको अन्तरयात्रा गरेर, वास्तविक सत्य आफू स्वयंले जानेर, अरुलाई पनि आफूभित्रको अन्तरयात्रा गर्ने विधि बताएर तथा सिकाएर सनातन अध्यात्म र धर्मका वास्तविक अर्थ तथा परिभाषा आफू स्वयंलेनै जानेपनि मात्र मान्न उत्प्रेरित गरेर ब्राम्हणवादको स्वार्थको चंगुलबाट र यसले बनाएको सीमित घेराबाट वाहिर निकाल्नु पर्दछ र सनातन अध्यात्म र धर्मको गरिमा पूनः कायम गर्नुपर्दछ सबैकालागि समान रुपले उपयोगी, व्यवहारिक र उपलव्धिमूलक हुने किसिमले । यसकारण यस्ता विभेदपूर्ण, अन्याय, अत्याचार, अमानवीय, असामाजिक संस्कार तथा व्यवहारहरुमा सुधार ल्याउनु पर्दछ भन्ने दबाब र माग हामी सबैले विवेकशील ढंगले तार्किकता पूर्वक गर्नुपर्दछ ।”
सामाजिक अव्यवस्था र अहिंसात्मक विद्रोह
प्राय सबै राज्यका सिपाही, सेना, राजा, राज्यले धर्म तथा सामाजिक व्यवस्थामा सुधार ल्याउन हिंसाका प्रकारहरुको भाषा मात्र बुझ्छन् र आवश्यकता अनुसार हिंसाका हतियारहरु प्रयोगमा तथा व्यवहारमा ल्याउछन् तर गौतम बुद्धको हतियार हिंसा विरुद्ध खडा भएको अहिंसाको थियो, मौनताको थियो, प्रेम, सदभाव र करुणाको थियो र राजा र राज्यको भन्दा धेरै गुणा बढि गहन, खतरनाक, प्रभावकारी, परिवर्तनकारी, दुरगामी तथा उपलव्धिमूलक थियो । प्राय सबैजसो समाजहरुमा धर्म तथा आस्थामाथि प्रश्न गर्न कसैलाई पनि अनुमति दिइदैन, जस्ता संस्कार, संस्कृति तथा चालचलनहरु चल्दै आइरहेका छन् कुल, वंश र परम्परादेखि चुपचाप त्यही मान्न लगाइन्छ । प्रश्न खडा गर्नेलाई धर्मविरोधी तथा अराजक व्यक्ति मानिन्छ तर सायद पहिलो पटक तत्कालीन ब्राम्हणवादका अन्याय, अत्यचार र अमानवीय अव्यवस्थाहरुले जकडिएको समाजमा गौतम बुद्धले धर्ममाथि र यसका सबै मूल्य–मान्यताहरुमाथि अहिंसात्मक विद्रोह गर्दै सवाल गरे, तार्किकता खोजे, प्रामाणिकता तथा आधार खोजे, सार्वजनिक बहस गर्न र ज्ञान, विज्ञान, तर्क, विवेक र वैज्ञानिकताले पुष्टि गरेर देखाउन तत्कालीन समाजका ब्राम्हणवादका ठेकेदार पंडित, पुरोहितहरुलाई खुला चुनौति दिए । सार्वजनिक बहसहरुमा प्रामाणिकताका आधारमा भएका तार्किक संवादहरुमा टिक्न नसकेपछि ब्राम्हणवादका अनुयायीहरु आफैंले रचेका मनगढन्त अन्धविश्वासमा आधारित संस्कार, संस्कृति, परम्पराहरुलाई ज्ञान, विज्ञान, तर्क, विवेक र वैज्ञानिकताले पुष्टि गर्न सकेनन् र यसपछि यी र यस्ता उतार–चढावहरुका विचमा तत्कालीन ब्राम्हणवादी समाजले गौतम बुद्धलाई सनातन वेद विरोधी, नास्तीक, धर्मभ्रष्ट, समाज भाँड्ने अराजक व्यक्तिका रुपमा चित्रित गर्यो । ब्राम्हणवादका अनुयायीहरुले यसो गर्नु स्वाभाविक थियो किनकी गौतम बुद्धको मूल उद्देश्य सिर्फ आम मानिसहरुलाई ध्यान सिकाउनु र आफ्नो जीवनमा खुशी र शान्ति प्राप्त गर्ने ज्ञान दिनु मात्र नभएर तत्कालीन समाजमा व्याप्त रहेको चरम विभेद, अन्याय, अत्याचार, अमानवीयता तथा सामाजिक अव्यवस्थाहरुमा सुधार ल्याएर, समाजमा व्याप्त रहेको अनैतिकता, अराजकता र अव्यवस्थाहरुलाई हटाएर मानिसहरुलाई वाहिय र आन्तरिक दुवै किसिमले जाग्रीत गरेर, आफ्नो डर र कमजोरीलाई देख्न; आफ्नो लोभ, मोहलाई चिन्न; आफ्ना सम्भावनाहरु पत्ता लगाउन; पंडित, पुरोहित, ब्राम्हणवादले खडा गरेको मनगढन्त पाप–पुण्य, स्वर्ग–नर्क, भगवान तथा इश्वरका झुठा कथा–कुथुंग्रीहरुमा विश्वास नगरी आफू स्वयंमा खडा हुन सिकाएर उनीहरुलाई अनावश्यक डर–त्रास–तनाव तथा अन्धविश्वासबाट मुक्त गरेर निडर, स्वतन्त्र बनाउनु र समाज र राज्यका मुल्य–मान्यता तथा नियम–कानूनहरुलाई उदारवाद तथा स्वतन्त्रतामा आधारित बनाउनु थियो किनकी आफ्नो डर, कमजोरी, लोभ, मोह, सम्भावना देख्न, चिन्न, जान्न र पत्तालगाउन सक्ने मनुष्य दाष मानसिकता भएको आज्ञाकारी हुदैन, उसले विभेद, अन्याय, अत्याचार र अव्यवस्था सहदैन र तिनको विरोधमा आवाज उठाउछ । गौतम बुद्ध तत्कालीन समाजमा व्याप्त विभेद, अन्याय, अत्याचार र अव्यवस्थाका सन्दर्भमा आज्ञाकारी थिएनन् र उनी आम सर्वसाधारणहरुलाई पनि समाजको विभेद, अन्याय, अत्याचार र अव्यवस्थाहरुमा आज्ञाकारी नबन्न र तिनको विरुद्ध आवाज उठाउन प्रेरित गरिरहेका थिए । आफूपनि आज्ञाकारी नभएको र अरुलाई पनि आज्ञाकारी नबन्न प्रेरणा प्रदान गरिरहेको कारण ब्राम्हणवादीहरुले उनलाई खतरनाक र अराजक व्यक्तिको चित्रण गर्दै समाजको अपराधिका रुपमा घोषणा गरेको थियो । तर गौतम बुद्ध ब्रमहणवादका यी तर्साइहरुसंग डराएनन् र उनीहरु समक्ष झुकेनन् बरु उनले ब्राम्हणवादलाई नै घुँडा टेकाउन सफल भए र तत्कालीन समाजमा क्रान्तिकारी परिवर्तनको वाहक बने केवल स्थानीय क्षेत्रहरुका लागि मात्र नभएर पुरै विश्वकै लागि शान्ति, सदभाव र करुणाका अग्रदूत भएर ।
समाज सुधार अभियान र संघको स्थापना
गौतम बुद्धको संघमा आवद्ध हुन कसैसंग कुनैप्रकारका मागहरु राखिदैनथ्यो र अनावश्यक सवालहरु गरिदैनथ्यो । बौद्ध संघमा प्रवेश गर्नकालागि को व्यक्ति कुन वर्ण, कुल, जाति, लिंग, वर्गको हो भन्ने कुनै उच–निचको भाव राखिदैनथ्यो, यति मात्र सोधिन्थ्यो, “के तिमी आफ्नो वुद्धि, विवेक र मनभित्रबाट आफ्नो पूरानो पहिचान छोड्न तयार छौ ?” स्त्री, शुद्र, दाषदेखि लिएर नगरवधु, व्यापारी, धनाड्यहरुको समेत समान हैसियत थियो बौद्ध संघमा किनकी यो स्वतन्त्रता र समानताका लागि गरिएको सामाजिक क्रान्ति थियो । यसकारण बौद्ध संघका सर्वकल्याणका सबै प्रकारका गतिविधिहरुलाई तत्कालीन समाजका चार वर्णमध्य ब्राम्हण वाहेक अरु तीन वर्ण– क्षेत्रिय, वैश्य, शुद्र सबैको समर्थन थियो निकी ब्राम्हणवादको अराजकताबाट सबै पिडित थिए, सर्वसाधारण ब्राम्हणहरु समेत पिडित थिए तर उनीहरु माध्य थिए ब्राम्हणकै विरुद्धमा गएर विरोधीलाई साथ दिन । यसकारण उनीहरुले चाहेर पनि बौद्ध संघमा अरुले देख्ने तथा चिन्नेगरि आवद्ध हुन सकेनन् । गौतम बुद्धको सबैभन्दा गहन उद्देश्य आधा आकाश ढाक्ने स्त्रीहरुलाई, आफू जस्तै मानव शुद्रहरुलाई र दाषहरुलाई समान हैसियत भएको मुक्त मनुष्यको मान्यता प्रदान गर्नु थियो किनकी उनी अत्यन्तै साझा तथा वैश्विक मान्यता राखेर आफ्नो अभियानमा अगाडि बढिरहेका थिए कि चेतनाको कुनै लिंग तथा वर्ण हुदैन र सबै मनुष्यहरु एक–एक चेतना हुन् अर्थात महासागर रुपि समुद्रको एक थोपा पानी जस्तै परम चेतनाका् व्यष्टि स्वरुप तथा अंश हुन् ।
सबैकालागि समान र साझा मूल्य–मान्यता रहेको गौतम बुद्धको संघमा प्रारम्भमा समाजले सबैभन्दा तल्लो तह ठानेका र निकृष्ट व्यवहार खेपिरहेका शुद्र, दाष, नगरवधुहरु(वेश्या)को आवद्धता भएको थियो र विस्तारै पछि सबै वर्ण, वर्ग, कुल, जात–जाति, लिंगका मानिसहरुको समलग्नता बढ्दै गयो । खासगरि यसपश्चात विशेष अधिकार पाएको र हालिमुहाली गरिरहेको ब्राम्हणवादका जराहरु हल्लिन लागे, आम मानिसहरुबाट मनगढन्त अन्धविश्वासी संस्कृति तथा परम्पराहरु बहिस्कृत हुनलागे । आमरुपमा उठेका यस्ता हलचजहरुका क्रममा ब्राम्हणवादीहरुले आफ्नो बचावका लागि बौद्ध विचार धर्म होइन, धर्म विपरित अराजकता हो कसरी वेश्या, दाष, शुद्र, स्त्री र अरु वर्णहरु ब्राम्हण समान हुन सक्छन्, यो हुनै सक्दैन, यो पाप हो, अधर्म हो, अधर्मीहरुलाई समाजबाट निस्कासित गर्नुपर्छ पाप तथा अधर्मको भागी बनाउनु पर्दछ भन्ने जस्ता अभिव्यक्तिहरु बारबार दिइरहे । ब्राम्हणवादीहरुको यसप्रकारका गतिविधिहरु विरुद्ध गौतम बुद्धले पनि जवाफ दिरहेका थिए, जहाँ सामाजिक व्यवस्था नैतिक, अनुशासित र मानवीय हुदैन त्यहाँ दमदार विरोध र विरोधको अराजकता नै पहिलो सत्य हुन्छ । तर ब्राम्हणवादीहरुले आरोप लगाए जसरी वास्तविकतामा गौतम बुद्धले इश्वर अर्थात परमचेतना अर्थात अस्तित्वको मान्यतालाई अस्वीकार गरेका तथा हटाएका थिएनन्; उनी इश्वर अर्थात परमचेतना अर्थात अस्तित्वको विरुद्ध लडेका थिएनन्; इश्वर अर्थात परमचेतना अर्थात अस्तित्वको आडमा मौलाइरहेको मानव–मानव विचको विभेद, अन्ययाय, अत्याचार, अनैतिकता, असामाजिकता, अमानवीयतालाई अनावश्यक, अतार्कीक, अप्रासंगीक, अवैज्ञानिक, अप्रामाणिक, मनगढन्त र अन्धविश्वासमा आधारित अव्यवहारिक रहेको भनेका थिए आम मानिसहरुले गरिरहेको दैनिक जीवनयापनको अवस्था र सन्दर्भ अनुसार किनकी उनले स्पष्ट रुपमा देखे तथा अनुभूत गरे आम मनुष्यहरुको जीवनमा दुःख छ, दुःखको कारण छ, दुःखको निवारण हुनसक्छ, र दुःख निवारणका मार्ग तथा उपायहरु छन् ।
गौतम बुद्धका यी सुत्रहरुमा कहीं कतै इश्वर छैन, मनुष्य स्वयं छ; उसको जीवनशैली, सुख, दुःख सबै कुराकालागि ऊ स्वयंनै जिम्मेदार छ; उसले आफ्नो मन, वचन र कामले गरेका खराव कर्महरु जिम्मेदार छन्; दुस्खबाट निवृत हुन मनुष्य र उसको विचमा कोही पंटित, पुरोहित मध्यस्थकर्ता पकेही पनि छैन; न भगवान, इश्वर, परमात्मा न पंडित तथा पुरोहित कोही पनि छैन; केवल मनुष्य स्वयं छ र उसको चेतना छ; मनुष्यको चेतना गलत विषय तथा स्थानमा लगाउदा उसको जीवनमा अनेक प्रकारका दुःखहरु आउछ र चेतना सहि विषय तथा स्थानमा लागाउदा उसको जीवनमा स्वास्थ्य, सुख, खुशी, आरोग्यता, शान्ति, आनन्द प्राप्त हुन्छ हरप्रकारले । हरेक मनुष्यले आफ्नो जीवनशैलीमा सुधार ल्याएर हरप्रकारले आफ्नो चेतनाको जागरण गर्नु नै गौतम बुद्धको सामाजिक सुव्यवस्था कायम गर्ने महाअभियान तथा क्रान्तिको मूलविषय तथा मूलसार थियो तत्कालीन समयमा र यही भावले ब्राम्हणवादी सत्ताका रखवालाहरुलाई सबैभन्दा बढि बेचैन गरेको थियो किनकी यदि मनुष्यलाई ब्राम्हणवादका पंडित तथा पुरोहितहरु बिना जीवनका दुःखहरुबाट मुक्ति, शान्ति, आनन्द, निर्वाण, मोक्ष मिल्न सक्छ भने मनुष्यलाई यी मध्यस्थकर्ताहरु किन चाहियो ? यदि आम मनुष्यहरुले ब्राम्हणवादका अनुयायी पंडित तथा पुरोहितहरुलाई मान्न छोडे भने सत्ताका रखवाला, धर्मका ठेकेदारहरुको समाजमा हैसियत तथा स्थिति के हुन्छ ? यसकारण उनीहरु गौतम बुद्धको विरुद्ध एकजुट भएका थिए र उनलाई अराजक, नास्तिक, सामाजिक व्यवस्था भाँड्ने आदि आरोपहरु लगाएका थिए । गौतम बुद्धको चेतनाको विकास तथा जागरण, अहिंसा, प्रेम, शान्तिको रणनीति कायरता थिएन बरु ब्राम्हणवादी अत्याचारी सत्ताको भाषा नबोल्ने र उसका मूल्य–मान्यता तथा व्यवस्थाहरुलाई स्वीकार नगर्ने, समाजमा आमुल परिवर्तन ल्याउने क्रान्तिकारी सुधारवादी महाअभियानको पछाडि नहट्ने दरिलो कदम थियो ।
अन्त्यमा
यी सबै कारणका सकारात्मक र नकारात्मक प्रभाव तथा परिणामहरुका कारण तत्कालीन समाजमा भित्रभित्रै नजानिदो प्रकारले विरोधको तरंग र सुधारको माग बढिरहेको थियो किनकी तत्कालीन समाजमा प्रवुद्ध तथा वुद्धिजिवी वर्गहरुले आम मानिसहरुलाई आ–आफ्नो अधिकार र अस्तित्वको खोजी गर्न सिकाइरहेका तथा प्रेरणा प्रदान गर्दै गैरहेका थिए र आफ्नो गतिमा परिवर्तन अगाडि बढिरहेको थियो । वैश्यहरु कृषिको क्षेत्रमा आएको विकास र व्यापार तथा व्यवसायमा भएको बढ्दो प्रगतिका कारण प्रगतिसंगै आफ्नो हैसियत तथा सामाजिक मानप्रतिष्ठा बढाउन चाहान्थे र यसकालागि अलग परिस्थिति तथा नयाँ माहोलको खोजी गरिहेका थिए । यो परिस्थितिमा केवल आम सर्वसाधारणहरु मात्र नभएर राज्यका सामन्त, राजा, महाराजाहरु समेत ब्राम्हणवादको अन्धविश्वास, असामाजिकता, विभेद, अन्याय, अत्याचार, अमानवीयताबाट आफूहरुलाई मुक्त गर्न र सबै जनताहरुको हित हुने प्रकारको नयाँ अवस्था र आस्थाको खोजी गरिरहेका थिए । समाजको यस्तो अवस्था रहेको समयमा बौद्ध विचारधारा तथा मतको प्रादुर्भाव उनीहरु सबैकालागि सर्वस्वीकार्य तथा सहज बन्यो र क्रमशः आममानिसहरु, राज्यका सामन्त, राजा तथा महाराजाहरु समाजमा निरंकुशता लाद्ने ब्राम्हणवादलाई छोडेर नयाँ विचारधारा तथा दर्शन बौद्ध धर्मतिर आकर्षित हुदै गए । तर तत्कालीन समाजका ब्राम्हणवादीहरुले परम्परागत संस्कार तथा तौरतरिकामा कायम रहिरहन दबाव दिरहे जसको कारण बौद्ध विचारधाराको समर्थनमा सहकार्यता अझै बढ्दै जान थाल्यो र बौद्ध विचारधाराको सर्वकल्याण गर्ने अभियानलाई थप तिब्रता प्रदान गर्न र सबै विषयहरुलाई सहज ढंगले व्यवस्थापन गर्नकालागि संघहरु बनाइए र बौद्ध संघहरुमा आममानिसहरुको आवद्धता बढ्दैगयो । यस अभियानसंगै बौद्ध संघहरुको माध्यमबाट आम मानिसहरुको सहकार्यता र सक्रियतामा समाजमा सामाजिक कार्यहरु, धर्म रुपान्तरण र बौद्ध धर्मका सर्वकल्याणका गतिविधिहरु तिब्र गतिमा अगाडि बढ्दै गए, लोकप्रियता हासिल गर्दै र प्रादुर्भाव भएको नेपाल र भारतको क्षेत्र भन्दा टाढा–टाढाका क्षेत्रहरुमा समेत बौद्ध विचारधाराको प्रचार र विस्तार हुदैगयो । यसप्रकार बौद्ध मत, विचारधारा तथा दर्शनको प्रारम्भ तत्कालीन समाजमा लामो समयदेखि चल्दै आइरहेका यिनै अन्धविश्वास तथा असामाजिक कुरीति, अनियमितता, विभेद, अन्याय, अत्याचार, अमानवीयता, अनैतिकता, अव्यवहारिक गतिविधि तथा अन्यायपूर्ण क्रियाकलापहरुप्रतिको असहमति तथा विरोधमा खडा भएको एक सामान्य आवाज थियो तत्कालीन समाजमा चल्दै आइरहेका आस्था तथा विश्वासका संस्कार तथा संस्कृतिहरुलाई मानवीय र व्यवहारिक बनाइयोस र समाजमा सुव्यवस्था, समानता, स्वतन्त्रता कायम गरियोस, सबैको जीवन शोषण, दुःख र पिडाबाट मुक्त तथा सहज बनाइयोस भन्ने मागका साथ । यसप्रकारको मूल भाव राखेर बौद्ध मतले सर्वसाधारण, सामन्त, राजा, महाराजा सबैलाई समानतामा ल्याउने प्रयास गरेको महाअभियान नै बौद्ध धर्म तथा दर्शनको मूलसार बन्यो र विश्वव्यापि रुपमा शान्ति, सदभाव र करुणाको रुपमा वैश्विक दर्शन बनेर प्रचार र विस्तार हुदैगयो । गौतम बुद्धले तत्कालीन ब्राम्हणवादले कृत्रिम रुपमा निर्माण गरेका कर्मकाण्ड, संस्कार, संस्कृति, परम्परा, अन्धविश्वास र सामाजिक अव्यवस्थाहरुको अत्यन्तै सीमित घेरामा जकडिएर रहेको सनातन अध्यात्म तथा सनातन धर्मलाई मौन विद्रोह र अहिंसावादी तथा रक्तबिहिन अथक क्रान्तिको माध्यमबाट पुनः उही गरिमामय अवस्थामा स्थित गराउन अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेका हुनाले उनी संसारभरि सबैको कल्याण गर्ने महाविचारक, महामानव र शान्ति, सदभाव, करुणाका अग्रदूतको गरिमामय सम्मान प्राप्त गर्न सफल भए । यसरी गौतम बुद्ध सनातन अध्यात्मक तथा सनातन धर्मको गुमेको गरिमा पुनःस्थिापित गराउने उद्धारकर्ता तथा महानकर्ता बनेर विश्वकै ठूला तथा महत्वपूर्ण विचारक तथा दार्शनिक बने र उनको मत अर्थात बौद्ध विचारधारा तथा बौद्ध दर्शन वैश्विक दर्शन बन्न सफल भयो, संधै सदाबहार बनिरह्यो, बनिरहेको छ, विश्वभरि प्रचार र विस्तार भयो, आजसम्म पनि भैरहेकै छ र वर्तमान समयमा अझ बढि युग सान्दर्भिक र समयको माग अनुसार उपयोगी र व्यवहारिक हुदै गैरहेको ।
यसप्रकारका सामाजिक विभेद, असमानता, अत्याचार, अमानवीयता अव्यवस्था हिन्दु समाजमा अझैपनि हावी रहेको छ किनकी वैदिक धर्मका ब्राम्हणवादी अनुयायीहरुले सुधारको प्रतिवद्धता गरे र आम मानिसहरु समक्ष सुधारको प्रयास गर्ने सम्झौता गरे तर पालना गरेनन्, पुनः पुरानै स्वभाव तथा प्रकृतिमा फर्किए र हिन्दु धर्मावलम्वीका रुपमा फैलिए तथा चर्चित भए । सनातन आध्यात्मिकता तथा धार्मिकता विश्लेषकहरुको मत अनुसार हिन्दु धर्म तथा सम्प्रदाय ब्रामहणवादकै निरन्तरता तथा नयाँ स्वरुप(भर्सन) हो र यो सनातन अध्यात्म तथा सनातन धर्मका वास्तविक तथा प्रामाणिक(जेन्युन) मूल्य–मान्यताहरु भन्दा थुप्रै विषय तथा मानकहरुमा धेरै हदसम्म फरक रहेको छ र वर्तमान अवस्थासम्म पनि सनातन वेद विरुद्धका मूल्य–मान्यता तथा गतिविधिहरु हिन्दु समाजमा व्याप्त रहेका छन्– जन्मका आधारमा वर्ण, वर्णका आधारमा तय गरिएका जातजाति र जातजातिका आधारमा निर्धारण गरिएका जातियता, छुवाछुत, उच–निच, लैंगिक विभेद, सानो– ठूलो, कुल–घरान, वर्गीय विभेद, सम्पन्न–विपन्न आदिका रुपमा ।
छिट्टै,
@बौद्ध दर्शन तथा बौद्ध धर्मको मूलसार
@बुद्धको महापरिनिर्वाण र बौद्ध दर्शन व्यवस्थापनका श्रृंखलाहरु
(चारवटा प्रमुख बैठकहरु र चारवटा प्रमुख शाखाहरु)
No comments:
Post a Comment