'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Wednesday, 6 May 2026

दक्षिण पूर्वी एशिया र पुर्वी एशियामा बौद्ध दर्शनको विस्तार

डा. सिर्जना भण्डारी 


पृष्ठभूमि 

प्रारम्भमा तत्कालीन समयको समाजमा वैदिक धर्म तथा दर्शन मात्र व्यवहारिक रुपमा प्रचलनमा थियो । वैदिक धर्म अनुशरण गर्ने तत्कालीन समाजमा अत्यन्तै धेरै ब्राम्हणवाद हावी रहेको थियो र समाजमा यसको नकारात्मक प्रभाव धेरै थियो । वैदिक मूल्य–मान्यताहरुको वास्तविक मूलमर्म तथा मूलभावहरुबाट बिमुख हुदैगैरहेको अति ब्राम्हणवादमा व्याप्त चरम अन्धविश्वास, असामाजिकता, अनैतिकता, वर्ण–जाति–लिंग–वर्ग विभेद, अन्याय, अत्याचार तथा अमानवीयताबाट वाक्क भएका आम सर्वसाधारणहरुले ब्राम्हणवादी समाजको यस्तो असमानता र अन्यायपूर्ण अवस्थाबाट पार पाउन अति ब्राम्हणवादका नकारात्मकता र अव्यवस्थाहरुले क्षतविक्षत पारेको सनातन वैदिक धर्मलाई त्याग गरेर सामाजिक व्यवस्थामा सुधार ल्याउनु पर्ने क्रान्तिकारी आवाज उठाइरहेको नयाँ विचारधारा बौद्ध मत अंगाल्न थाले र आम सर्वसाधारणहरुलाई न्याय दिलाउन बौद्ध मतले खडा गरेका संघहरुमा स्वस्फुर्त रुपमा सामेल हुनथाले । ब्राम्हणवादको यस्तो अमानवीय अन्याय र अत्यचारको अवस्थाबाट आम सर्वसाधारणहरु मात्र नभएर समाजका ठूलाबडा, व्यापारी, कुलीन वर्ग, सामन्त, राजा, महाराजाहरु समेत वाहिर निस्कन तथा स्वतन्त्र हुन चाहान्थे र त्यसबेला नयाँ सोच राख्ने बौद्ध मत सबैकालागि सहज र विश्वासिलो विकल्पको रुपमा देखापर्यो । यसकारण समाजका ठूलाबडा, व्यापारी, कुलीन वर्ग, सामन्त, राजा, महाराजाहरुले पनि बौद्ध मत र यसले सर्वकल्याण गर्नकालागि स्थापना गरेका संघहरुलाई मान्यता र साथ दिए, आफ्ना जनताहरुलाई बौद्ध संघहरुमा सहभागि हुन अनुमति दिए र ब्राम्हणवादका अन्धविश्वासपूर्ण, अमानवीय तथा असामाजिक मूल्य–मान्यताहरुलाई बेवास्ता तथा बहिस्कार गर्दै बौद्ध मतका मानवीय, सामाजिक, व्यवहारिक र मध्यमार्गी सिद्धान्त तथा मूल्य–मान्यताहरुलाई अनुशरण गर्न प्रारम्भ गरे । यसरी विस्तारै तत्कालीन असामाजिकता तथा अन्यायको विरोधमा उठेको एउटा सामान्य मत तथा विचारधाराले संघहरुको संख्या बढाएर संगठित हुदै विस्तारै एउटा अलग धर्म तथा दर्शनको स्वरुप धारण गर्यो र वरिपरिका र टाढाटाढाका क्षेत्रहरुमा समेत लोकप्रिय हुदै र विस्तार हुदैगयो । इतिहासकार तथा पुरातत्वविध ग्रयागरी सोहोपेनका अनुसार बौद्ध धर्म तथा दर्शन प्रारम्भमा विस्तार हुने क्रममा तत्कालीन समयमा उत्तर भारतको गंगा क्षेत्र र दक्षिण नेपालको तराई क्षेत्रहरुमा बढि प्रचलनमा रहेको तथा अनुशरण गरिएको थियो र विस्तारै यो अरु क्षेत्रतिर विस्तार हुदैगयो ।


बौद्ध दर्शनको विस्तारमा सम्राट अशोकको योगदान

बुद्धत्वमा उपलव्ध भएपश्चात गौतम बुद्ध आफू शरीरमै रहेको समयमा पनि सम्भव भएसम्म र आफूले भ्याएसम्म बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तारमा पूरा समय दिएर प्रयास गरेका थिए । गौतम बुद्धको महापरिनिर्वाण अर्थात देहावसान भएको १००–२०० वर्षपछि बौद्ध मार्गीहरुद्वारा आम सर्वसाधारणहरुमा, समाज तथा राज्यमा लोकप्रिय हुदैगएको बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तार गर्ने प्रयासहरु प्रारम्भ भए देशभित्र र देशवाहिरका विभिन्न क्षेत्रहरुमा । इशापूर्व २५० मा मौर्यवंशी चक्रवर्ति सम्राट अशोकले आफ्नो राज्यको ठूलो भू–भागका(उत्तरतिर हिमालय र दक्षिणमा श्रीलंकासम्म) साथै आफ्नो राज्य भन्दा वाहिरका क्षेत्रसम्म विस्तार गर्ने बौद्ध धर्म तथा दर्शन प्रचारक मिसनरी पठाएर महाअभियान नै प्रारम्भ गरे । सम्राट अशोकद्वारा परिचालित पहिलो धर्मप्रचारक मण्डली ‘सुवर्णभूमि’ थियो, यसलाई म्यानमारको भूमिमा हिनयान(थेरावाद) बौद्ध धर्म प्रचार र विस्तार गर्न बौद्ध भिक्षुहरु खटाएका थिए बौद्ध धर्म तथा दर्शनसंग सम्वन्धित महत्वपूर्ण सामग्रीहरु साथमा लगेर । म्यान्मारको स्थानीय भाषा र संस्कार अनुसार प्रदान गरिएका बौद्ध धर्मका ज्ञान तथा उपदेशहरु आम सर्वसाधारणहरुले अनुशरण गर्दैगए र म्यान्मारमा बौद्ध धर्मको प्रचार र विस्तार हुदैगयो र त्यहाँबाट दक्षिण पूर्वी एशियाका अन्य देशहरुसम्म विस्तार भयो । बौद्ध धर्म तथा दर्शनको इतिहासमा उल्लेख गरिए अनुसार, गौतम बुद्ध स्वयं नै पैदल यात्रा गरेर म्यान्मारका विभिन्न क्षेत्रहरुमा पुगेका थिए बौद्ध धर्म तथा दर्शनका मूल्य–मान्यताहरु त्यहाँका आम सर्वसाधारणहरुलाई सिकाएर उनीहरुलाई जीवनका दुःख, पिडा तथा हानिहरुबाट मुक्त गराएर मानवीय सेवा गर्ने उद्देश्यले । तत्कालीन समयमा म्यानमारका बौद्ध अनुयायीहरुले गौतम बुद्धको कपाल र दाँत संरक्षण गरेर राखेको र पछि बौद्ध गुम्बा तथा स्तुपाहरु बनाएर त्यहाँ स्थापना गरेको धार्मिक गतिविधिहरु म्यान्मारको धार्मिक इतिहासमा उल्लेख रहेको पाइन्छ । यसकारण पनि सम्राट अशोकका धर्म प्रचार मण्डलीहरुलाई यस क्षेत्रमा बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तार सहज भएको थियो ।  

 

यसपछि लगत्तै अर्को धर्मप्रचार गर्ने मण्डली बनाएर सम्राट अशोकका छोरा राजकुमार महेन्द्र श्रीलंका रवाना भए आफ्नो साथमा बौद्ध देशना तथा प्रवचन गर्ने भिक्षुहरु, बौद्ध धर्म तथा दर्शनसंग सम्वन्धित महत्वपूर्ण सामग्रीहरु र सहयोगीहरु साथमा लिएर । श्रीलंकाको अनुराधापुरुम नगरमा उनीहरुले त्यहाँका राजा टिसालाई भेटेर आफ्नो उद्देश्य र विषय विस्तारमा राखे । अनुराधापुरमका राजा टिसाले सम्राट अशोकको धर्मप्रचार मण्डलीका विषय र अनुरोध स्वीकार गरे, बौद्ध र्धा तथा दर्शनलाई सबैकालागि उपयोगी र व्यवहारिक धर्मको मान्यता प्रदान गरे र आफ्नो राज्यमा बौद्ध धर्मको विस्तार गर्न आदेश दिए । यसप्रकार श्रीलंकामा बौद्ध धर्मको अवस्था मजबुत बन्दै गयो । इशाको दोस्रो शताव्दीमा अधिकांश सिंहालीहरुले बौद्ध धर्म तथा दर्शनमन मूल्य–मान्यताहरुलाई अनुशरण गरे । यिनै अभियानहरुको परिणाम स्वरुप वर्तमान समयमा ९३.३ प्रतिशत जनसंख्या बौद्ध धर्म तथा दर्शनका अनुयायी रहेकाछन् । 


बौद्ध दर्शन विस्तारमा राजा कनिस्कको योगदान

चक्रवर्ति सम्राट अशोकको अन्त्यपछि बौद्ध धर्म तथा दर्शनले राज्यबाट उति साथ, समर्थन र सहयोग प्राप्त गर्न छोड्यो जति हासिल गरिरहेको थियो । असहयोगसंगै धर्म प्रचार र विस्तारका गतिविधिहरुको क्रम सुस्त हुन थाल्यो । अशोकको अन्त्यपछि नयाँ राजा कनिस्क आए कुशान राजवंशका । राजा कनिस्कले आफ्नो राज्य अन्तर्गत पर्ने उत्तर पूर्वी भारत, मध्य एशिया, अफगानस्थान तथा गान्धारमा बौद्ध धर्म तथा दर्शनको फरक स्वरुपलाई स्वीकार गरे र प्रचार तथा विस्तार गर्ने अनुमति दिए । यो फरक स्वरुप तथा मान्यता बौद्ध धर्मको गान्धार सिद्धान्त(गान्धनर स्कुल अफ थट) थियो जुन गान्धार क्षेत्रमा बढी ग्रीक जनताहरुको बाहुल्यता भएको कारण उत्तर भारतको गंगा क्षेत्रमा प्रादुर्भाव भएको मूल बौद्ध मान्यता भन्दा निकै फरक थियो र यसमा ग्रीक संस्कारको प्रभाव बढि थियो । राजा कनिस्कले मध्य एशियामा परम्परागत बौद्ध धर्म तथा दर्शनको भन्दा अनेक विविधताहरुले युक्त गान्धार सिद्धान्तको बौद्ध धर्म तथा दर्शनका मूल्य–मान्यताहरुको प्रचार र विस्तार गरे । यस पश्चात इशाको पहिलो शताव्दीमा मध्य एशियाबाट बौद्ध धर्म तथा दर्शनको प्रचार तथा विस्तारले महत्वपूर्ण फड्को मार्यो पूर्वी एशिया चीनतिर । चीनको हान राज्यवंशले आयातीत महायान बौद्ध धर्म तथा दर्शनलाई आफ्नै भाषा र संस्कृतिमा ढालेर अनुशरण गर्यो । तर इशाको चौथो शताव्दीमा हान राजवंशले बौद्ध धर्मका विषय तथा भावहरु सहजै बुझ्न कठिन भएकोले बौद्ध धर्मबारे थप अध्ययन र खोज गरेर अझ बढि जानकारी लिन तथा संग्रह गर्न अध्ययन तथा खोज मिसन बौद्ध धर्म तथा दर्शनको प्रादुर्भाव भएको मूलभूमि तत्कालीन उत्तर भारत तथा दक्षिण नेपालमा पठायो महान बौद्ध भिक्षु हुएनसांगको नेतृत्वमा । विश्वव्यापि रुपमा तत्कालीन समयको बहुप्रतिष्ठीत नालन्दा विश्वविद्यालयमा र वरपरका शैक्षिक प्रतिष्डानहरु र बौद्ध मठहरुमा करिव १६ वर्ष लामो बौद्ध धर्म तथा दर्शनसंग प्रत्यक्ष सम्वन्धित विषयहरुको अध्ययन तथा खोज गरेर संस्कृत भाषामा लेखिएका करिव ६०० बौद्ध ग्रन्थहरु २० वटा घोडसवारीमा आफ्नो साथ लिएर भिक्षु हुएनसांग आफ्नो मातृभूमि चीन फर्किए र ती संस्कृत भाषामा लेखिएका बौद्ध धर्म तथा दर्शनका ग्रन्थहरुलाई चीनिया भाषामा अनुवाद गरेर तथा गराएर आम सर्वसाधारणहरुलाई बौद्ध धर्म तथा दर्शनको वास्तविक शिक्षा, ज्ञान तथा उपलेशहरु प्रदान गर्ने महाअभियान चलाए । यसरी चीनमा सबैतिर बौद्ध धर्म तथा दर्शनको को प्रचार र विस्तार भएको थियो । अर्को किसिमले व्यापारिक गतिविधिहरुका माध्यमबाट सिल्क रोड(रेशम मार्ग) हुदै चीनका विभिन्न क्षेत्रहरुमा व्यापारी तथा आम सर्वसाधारणहरुको माध्यमबाट पनि भारत–इरान–मंगोलिया–चीन हुदै विश्वका विभिन्न क्षेत्रका कुनाकुनामा बौद्ध धर्म तथा दर्शनको विस्तार भैरहेको थियो विस्तारै किनकी तत्कालीन समयमा मसला, बहुमूल्य धातु, पेन्टींग, हस्तकला, रेशम कपडाका सामग्रीहरुको अन्तर–देशिय व्यापार गर्ने सिल्क रोडले अन्तर–महादेशिय(क्रस कन्टिनेन्टल) प्रमुख मार्ग(मेन रुट) थियो जसले युरो–एशिया र सिंगो पुर्वी एशियाका देशहरु चीन, कोरिया, जापानलाई एकआपसमा जोड्थ्यो । 


चीनका विभिन्न क्षेत्रहरुमा विस्तार हुदै बौद्ध धर्म तथा दर्शन त्यहाँबाट उत्तरी भियतनाममा विस्तार भयो र क्रमशः कोरिया र जापानसम्म विस्तार भयो । तत्कालीन समयमा पूर्वी एशियाका यी क्षेत्रहरुमा बौद्ध धर्म विस्तार हुन करिव १००० वर्षको समय लाग्यो । बौद्ध धर्मको महायान शाखाका मूल्य–मान्यतामा आधारित बुद्ध धर्म तथा दर्शनको प्रचार र विस्तार कार्यमा राजा तथा राज्य संयन्त्रले नै मूल भूमिका निर्वाह गरेका थिए । इशाको छैठौं शताव्दीमा कोरियाका राजाले जापानमा हिनयान बौद्ध धर्म प्रचार र विस्तार गर्न धर्म प्रचार मण्डली पठाए उपहार स्वरुप गौतम बुद्धका विभिन्न कद र स्वरुपका मूर्ति, आकृति तथा कला र अन्य सम्वन्धित सामग्रीहरु सहित । जापानका राजाले कोरियाका राजाको आग्रह पालन गरेर आफ्नो राज्यमा मयायान बौद्ध धर्म अनुशरण गर्ने आदेश दिएर बौद्ध धर्मको थप विस्तारमा योगदान पुर्याए । तर तत्कालीन समयमा जापानमा पनि बौद्ध धर्म प्रचार तथा विस्तार गर्न सहज थिएन किनकी त्यस समयमा त्यहाँका ८६ प्रतिशत आम मानिसहरु नास्तिक(एथिष्ट) थिए, कुनै पनि धर्म मान्दैनथे, उनीहरुलाई धर्म, इश्वर तथा भगवान हुन्छ र इश्वरिय शक्ति हुन्छ भन्नेमा विश्वास नै थिएन । यस्तो अवस्थामा परमात्मा, इश्वर तथा बोधिसत्वमा र बोधिसत्वको सर्वशक्ति तथा सर्वव्यापकतामा विश्वास राख्ने महायान बौद्ध धर्मको प्रचार तथा विस्तार गर्ने काम सहज थिएन । त्यस्तै पछिल्ला दशकहरुमा समेत दक्षिण कोरिया, उत्तर कोरिया र चीनमा बौद्ध धर्मको प्रचार तथा विस्तार उति सहज थिएन किनकी त्यहाँ कम्युनिष्टहरुको अत्यधिक प्रभाव थियो र कम्युनिष्टहरु सबै प्रकारका धर्महरुका विरोधी थिए, उनीहरु कुनैपनि धर्म नमान्ने नास्तिक थिए। सबै धर्मलाई बहिस्कार गर्थे र सम्मान तथा संरक्षण प्रदान गर्नुको साटो नोक्सान पुर्याउन तथा नष्ट गर्न उतारु हुन्थे हरक्षण । यसको विपरित दक्षिण पूर्वी एशियामा हिनयान मान्यतामा आधारीत बौद्ध धर्मको प्रचार तथा विस्तारमा निकैनै सहजता थियो पूर्वी एशियाको तुलनामा र छोटो समयमा नै दक्षिण पूर्वी एशियाका देशहरुमा हिनयान बौद्ध धर्म अनुशरण गर्नेहरुको संख्या उल्लेख्य किसिमले बढेको थियो ।


दक्षिण पूर्वी एशियामा बौद्ध धर्मको विस्तार

इतिहासकार तथा पुरातत्वविध ग्रयागरी सोहोपेनका अनुसार, गौतम बुद्धको महापरिनिर्वाणपछि तत्कालीन समयमा उत्तर भारतको गंगा क्षेत्र र दक्षिण नेपालका तराई क्षेत्रहरुमा बढि प्रचलनमा तथा अनुशरण गरिएको बौद्ध धर्म तुरुन्तै सर्वप्रथम दक्षिण भारत आन्द्र प्रदेशसम्म विस्तार भएको थियो र त्यहाँबाट वाहिरका क्षेत्र तथा देशहरुमा विस्तार हुन प्रारम्भ भएको थियो । मौर्यवंशी चक्रवर्ति सम्राट अशोक र उनका छोरा महेन्द्रले दक्षिणतिर बौद्ध धर्म तथा दर्शनलाई तिब्रगतिमा प्रचार र विस्तार गरे । त्यसबखत आन्द्र प्रदेशमा विभिन्न कामले आउने विदेशी र व्यापारीहरुको आवत–जावत चलिरहन्थ्यो, उनीहरुले नै बौद्ध धर्म तथा दर्शनलाई आ–आफ्नो क्षेत्र तथा देशमा पुर्याए । यसरी आवत–जावत गर्ने विदेशी तथा व्यापारीहरुमा चीनियाँ नागरिकहरु धेरै हुन्थे, उनीहरुले नै बौद्ध धर्म तथा दर्शनलाई इशाको पहिलो शताव्दीमै चीनसम्म पुर्याए र विस्तारै चीनका अन्य क्षेत्रहरुमा विस्तार गरे र क्रमशः बौद्ध धर्म तथा दर्शन चीनबाट कोरिया हुदै जापानसम्म विस्तार भयो । यसरी विस्तार हुनेक्रममा स्थानीय संस्कार, संस्कृति तथा भाषामा ढल्दै गयो र बौद्ध धर्म तथा दर्शनमा क्षेत्र तथा देश अनुसारका फरक तथा विविध प्रकारका विशेषताहरु देखिदै गए बौद्ध धर्म तथा दर्शनका साहित्य, कला, संस्कार, संस्कृति तथा परम्पराहरुमा । यसरी विस्तार हुदै जाने क्रममा इशाको दोस्रो र तेस्रो शताव्दीमै बौद्ध धर्म तथा दर्शनले धेरै राज्यहरुको पूर्ण साथ, समर्थन, सहयोग र राज्यको मूल धर्मको मान्यता र सम्मान प्राप्त गरिसकेको थियो ।


दक्षिण पूर्व एशियामा बौद्ध धर्म तथा दर्शन धर्म प्रचारक मण्डली, व्यापार र विवाह सम्वन्धको माध्यमबाट विस्तार भएको ऐतिहासिक सन्दर्भ सामग्रीहरुमा उल्लेख रहेको पाइन्छ । बौद्ध दर्शनको सबैभन्दा पुरानो तथा बौद्ध दर्शनको मुल विचारधारा प्रस्तुत गर्ने हिनयान(थेरावाद अर्थात थेराभाटा) बौद्ध शाखा पहिलो र दोस्रो शताव्दीदेखि नै दक्षिण भारतबाट श्रीलंका, म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओससम्म विस्तार भएको थियो । यस क्षेत्रमा बौद्ध धर्मको विस्तार गर्ने काम काममा भिक्षु, स्थानीय जनजातिका व्यक्ति तथा समुह, व्यापारी आदिले प्रमुख भूमिका निर्वाह गरेका थिए । बौद्ध धर्म तथा दर्शनको अर्को शाखा महायान पहिलो र दोस्रो शताव्दीदेखि नै उत्तर भारतबाट भुटान, तिब्बत, चीन, कोरिया, जापान, भियतनाम, इन्डोनेसिया र त्यस क्षेत्रमा रहेका अन्य समुदायहरुमा विस्तार भएको थियो जमीन र समुद्री यात्रा गर्ने व्यापारी, भिक्षु तथा आम सर्वसाधारणहरुको माध्यमबाट र तत तत देशमा स्थानीय भाषा तथा संस्कृति अनुसार विस्तारै स्थापित हुदैगयो । 


इशाको १४औं शताव्दीमा २० वर्षको कलिलो उमेरमा घरबार छोडेर आफूलाई बौद्ध धर्मको सेवामा निमज्जित गरेका भारतीय बौद्ध भिक्षु गुणबर्मन बौद्ध धर्म प्रचार तथा विस्तार गर्नकालागि दक्षिण पूर्वी एशियाको देश इन्डोनेसियाको सुमात्रा प्रान्त तथा टापुमा गए। उनी कास्मिर अर्थात बौद्ध धर्म प्रारम्भ भएको पुण्यभूमिका राजपरिवारका सदस्य थिए । इन्डोनेसियामा आफ्नो काम सम्पन्न गरेपछि उनी त्यहाँबाट श्रीलंका प्रस्थान गरे । श्रीलंकामा यसअघिदेखिनै हिनयान बौद्ध धर्म तथा दर्शनको विस्तार भैसकेको थियो, यसकारण भिक्षु गुणबर्मन श्रीलंकाका राजाको धर्म सम्वन्धि विषयहरु हेर्ने र सुझाव दिने सल्लाहकार बने र बौद्ध धर्मको अझ गुणस्तरिय विस्तारमा महत्वपूर्ण भूमिका खेले तथा अतुलनिय योगदान पुर्याए । श्रीलंकामा राजाको धर्म सल्लाहकार भएर बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तारमा योगदान पुर्याएका भिक्षु गुणबर्मन फेरी इन्डोनेसियाको अर्को टापु जाभा प्रान्ततिर बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तारकालागि प्रस्थान गरे । तत्कालिन समयमा जाभा प्रान्त वैदिक तथा हिन्दु धर्म अनुशरण गर्ने राजाबाट संचालित हुदै आइरहेको थियो । हिन्दु र बौद्ध अलग–अलग मूल्य–मान्यतामा आधारित दुई फरक धर्म भएपनि दुवै धर्मका राम्रा विषयहरुलाई एकजुट गरेर समायोजन(मर्ज) गर्दै राजा र भिक्षु गुणबर्मन मिलेर सर्वकल्याणका लगि बौद्ध धर्म प्रचार गरे सर्वसाधारणहरुको । तर समय बित्दै जाँदा इन्डोनेसियाको स्वरुप फेरियो धार्मिक दृष्टिकोणबाट, हिन्दु र बौद्ध दुवै धर्म लोप हुदैगए विस्तारै त्यहाँबाट र पुरै देशनै इस्लामिक राज्य बन्यो । इन्डोनेसिया इस्लामिक बन्ने प्रक्रिया इन्डोनेसियाबाट बहुसंख्यक बौद्ध मार्गीहरु थाइल्याण्ड पलायन भएका थिए । यही कारणले नै वर्तमान समयमा दक्षिण पूर्वी एशियाका, देशहरुमा थाइल्याण्ड सबैभन्दा धेरै हिनयान(थेरावाद) बौद्ध धर्म मान्ने सर्वाधिक धेरै जनसंख्या तथा कुल जनसंख्याको ९५ प्रतिशत बौद्ध मार्गीहरु भएको विश्वको सबैभन्दा ठूलो संख्यामा बौद्धमार्गीहरु रहेको देश बनेको छ । थाइल्याण्ड यति धेरै बौद्ध धर्म मार्गीहरुको राज्य हुनुमा दुुईवटा मत रहेका छन्, एउटा मतले भन्छ– इशाको पहिलो शताव्दिमै थाइल्याण्डमा तत्कालीन भारतीय चक्रवर्ती सम्राट अशोकले बौद्ध धर्मको प्रचार तथा विस्तार गरेका कारणले र अर्को मतले भन्छ सामाजिक तथा राजनीतिक कारणले इन्डोनेसियाबाट बहुसंख्यक आम सर्वसाधारणहरु थाइल्याण्ड प्रवेश गरेको कारणले । र धेरै इतिहासकार तथा पुरातात्वविधहरुको मान्यता र सहमति अनुसार यी दुवै कारणलाई प्रमुख मान्यता प्रदान गरिएको छ थाइल्याण्डमा सर्वाधिक ठूलो संख्यामा बौद्ध धर्म मान्ने अनुयायीहरु रहनुमा ।


छिट्टै,
पुर्वी एशिया चीनमा बौद्ध दर्शनको विस्तार

No comments:

Post a Comment