'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Thursday, 14 May 2026

समाजमा बौद्ध दर्शनको सकारात्मक प्रभाव, भाग -२

डा. सिर्जना भण्डारी



भाग -१ को निरन्तरता

(७)सामाजिक व्यवस्थामा सुधार

तत्कालीन ब्राम्हणवादी समाजमा अत्यन्तै धेरै धार्मिक, सांस्कृतिक तथा सामाजिक अव्यवस्थाहरुले जरा गाडेका थिए; कर्ममा आधारित वर्ण व्यवस्थालाई स्वार्थमा आशक्त ब्राम्हणवादीहरुले जन्मको आधारमा बनाएका थिए सनातन ऋगवेदको गलत अर्थ लगाएर; समाजमा वर्ण, वर्ग, कुल, जात, लिंगका आधारमा चरम विभेद थियो र यसैको आडमा अन्याय, अत्याचार, दमन, हिंसाका विभिषिकाहरुले निरन्तरता पाइरहेका थिए; स्त्री, शुद्र, दाषहरुलाई मानवको श्रेणीमा राखिएको थिएन । बौद्ध धर्म तथा दर्शनले तत्कालीन ब्राम्हणवादी समाजमा व्याप्त जन्मका आधारमा हुने वर्ण व्यवस्थाको विरोध र सुधारकालागि अत्यन्तै प्रभावकारी बहसको शुरुआत गर्यो र वर्ण जन्मको आधारमा नभई व्यक्तिको क्षमता र उसले गर्ने कर्मको आधारमा हुनुपर्दछ भनेर पहिलो महान सनातन शास्त्र ऋगवेदमा उल्लेख रहेको विषयलाई नै निरन्तरता दिनुपर्नेमा जोड दियो । समाजका स्वार्थी वर्ग ब्राम्हणवादीहरुले आफ्नो व्यक्तिगत स्वार्थ शिद्धिकालागि वेदमा उल्लेखित ज्ञान, विज्ञानहरुको अर्थको अनर्थ लगाएर समाजमा धेरै अराजकता फैलाएका थिए । जन्मको आधारमा वर्ण तय हुने अव्यवस्था तय गर्नुकासाथै ब्राम्हणवादीहरुले स्त्री, शुद्र र दाषहरुलाई सबैप्रकारका अधिकारहरुबाट वन्चित गराएको थिए जसको आधारमा समाजमा चरम अन्याय, असमानता र बेथीतिको अवस्था बनेको थियो र समाजमा वर्ग विभेद, जाति विभेद, लिंग विभेद जस्ता विकृति तथा असामाजिक अव्यवस्थाहरु जन्माएको थियो । यी सबै अव्यवस्थाहरुको विरोध र सुधारको माग गर्दै बौद्ध धर्म तथा दर्शनले तत्कालीन ब्राम्हणवादी समाजलाई समाजमा व्याप्त चरम अमावीयता, अत्यचार, हिंसा, हत्या, पशुबलि जस्ता सामाजिक, धार्मिक तथा सांस्कृतिक अव्यवस्थाहरुमा सुधार ल्याउन सशक्त रुपमा आवाज उठाएर चर्को दबाब दिएको थियो । यी सामाजिक अव्यवस्थाका विषयहरुमा बौद्ध धर्म तथा दर्शनले सशक्त आवाज उठाउनुकोे मूल उद्देश्य समाजका सबै मानिसहरुलाई समानता, स्वतन्त्रता, सम्मान दिलाएर उनीहरुको जीवनशैलीमा सहि प्रकारले सुधार ल्याएर जीवनका सबै दुःखहरुबाट मुक्ति दिलाएर निर्वाणमा उपलव्ध हुन मद्धत गर्नु थियो । बौद्ध धर्म तथा दर्शनले प्रारम्भ गरेका यी समाज व्यवस्थित गर्ने थीतिहरुको सकारात्मक प्रभाव समाजमा विस्तारै बढ्दै गयो र सामाजिक व्यवस्था सुदृढ हुदैगयो जसको प्रभाव दुरगामी रह्यो वर्तमान समयसम्म नै बौद्ध धर्म तथा दर्शनका यस्ता सामाजिक व्यवस्थाका मान्यताहरुलाई विश्वव्यापी रुपमा सबैले अनुशरण गर्दै आइरहेका छौं ।    


(८)सामाजिक सेवाका कार्यहरुको विकास

कृषि र पशुपालनमा तत्काली समाजको अर्थव्यवस्था विस्तारै विकसित र विस्तार हुदै गैरहेको थियो र व्यक्ति, परिवार, समाज, राज्य समृद्ध बन्दै गैरहेका थिए तर अति ब्राम्हण्वाद र यसले स्वार्थगत तवरले तय गरेका धार्मिक, सांस्कृतिक र सामाजिक अव्यवस्थाका कारण समृद्धिको लाभ समाजका सबै वर्गहरुले लिन सकेका थिएनन् खासगरि स्त्री, शुद्र, दाष तथा अन्य कमजोर वर्गहरु समृद्धिको लाभबाट वन्चित थिए र सम्पन्न र विपन्नविचको अन्तराल गहिरीदै गैरहेको थियो । यसप्रकारको विभेदपूर्ण अवस्था तथा असमान व्यवस्थामा सुधार ल्याउनका लागि बौद्ध धर्म तथा दर्शनले आफूले गठन गरेका संघहरुको माध्यमबाट व्यक्ति, समाज र राज्यका विभिन्न तहबाट आर्थिक श्रोतको जोहो गरेर निमुखा वर्गकालागि गास, वास, कपास, सुरक्षा, अवसर प्रदान गर्न प्रारम्भ गर्यो र यो सकारात्मक अभियानले समाजमा उल्लेख्य सकारात्मक प्रभाव पर्यो र सबैको कल्याण हुने सामाजिक सेवाका कार्यहरुको अभ्यास बढ्दै जानथाले । विस्तारै केवल धन तथा द्रव्यदान मात्र नभएर मनकारी मानिसहरुले श्रमदान गर्दै आवश्यक वर्गहरुलाई निस्वार्थ भावले सेवा प्रदान गर्नथाले । सेवाको यो परिपाटीको प्रभाव युगान्तकारी र दुरगामी किसिमले पर्यो र यसप्रकारका कल्याणकारी अभ्यासहरुले वर्तमान समयमा समाजसेवाका अभियानका रुपमा निरन्तरता पाइरहेका छन् विश्वव्यापी रुपमा ।   


(९)समानता र स्वतन्त्रताको बहस

बौद्ध धर्म तथा दर्शनले तत्कालीन ब्राम्हणवादी समाजका अमानवीय गतिविधिहरुको विरोध गर्दै स्त्री, शुद्र र दाषहरुको अवस्थामा सुधार र मानवीय अधिकार प्रदान गर्नुपर्ने सन्दर्भमा अझ कडा आवाज उठाएको थियो सशक्त बहस तथा शास्त्रमा उल्लेखित सत्य–तथ्यहरुमा आधारित रहेर शास्त्रार्थको अभियान चलाएर किनकी वास्तविक शास्त्रहरुमा कहीं कतै लिंग विभेद, वर्ण विभेद, जाति विभेदको विषय उल्लेख गरिएको थिएन, त्यो सबै स्वार्थले जकडिएको ब्राम्हणवादका गलत शास्त्रीय परिभाषाहरु थिए कमजोर वर्गहरुमाथि आफ्नो अनुकुल शासन गर्न तथा उनीहरुमाथि हैकम चलाउनका लागि । तत्कालीन समयमा समाजमा विभिन्न कुतर्क लगाएर र अन्धविश्वासका कथाहरु सुनाएर कमजोर पारिएका यी वर्गहरुको अत्यन्तै दयनिय तथा नाजुक अवस्था थियो परिवार, समाज र राज्यमै तानाशाही ब्राम्हणवादका कारण किनकी राज्यमा समेत ब्राम्हणवादको दह्रो पकड रहेको थियो । यसप्रकारको सामाजिक अव्यवस्था तथा विभेदपूर्ण असमान व्यवस्थामा सुधार ल्याउनका लागि बौद्ध धर्म तथा दर्शनले विरोधको आवाज उठायो र आवश्यक वर्गहरुलाई बौद्ध संघहरुको माध्यमबाट सहयोग तथा सेवा प्रदान गर्न प्रारम्भ गर्यो । यसरी आवश्यक परेका वर्गहरुलाई निश्वार्थ सेवाभावले सहयोग गर्ने पवित्र उद्देश्य राखेर बौद्ध धर्म तथा दर्शनले संघहरुको माध्यमबाट व्यवस्थित ढंगले स्त्री, शुद्र, दाषहरुप्रति उदार हुनु, न्याय, समानता तथा स्वतन्त्रताको भाव राख्नु समाज सुधारकालागि एउटा अत्यन्तै युगान्तकारी रुपान्तरण थियो । यो रुपान्तरणले आज पर्यन्त अत्यन्तै महत्वपूर्ण प्रभाव छोडेको छ समाजमा किनकी त्यतिबेलाको समाजमा स्त्री, शुद्र र दाषहरुलाई एकै तहमा राखिन्थ्यो र आफैंले निर्माण गरेका असामजिक कृत्रिम नियमहरुको पालना गर्न बाध्य पारिन्थ्यो, पालना गर्न नमान्नेलाई कुटेर तह लगाउनुपर्छ भन्ने नियम बनाइएको थियो, यस अनुसार तत्कालीन समाजमा स्त्री र शुत्र ताडर्नेका अधिकारी अर्थात वुद्धि नभएका, कुरा नबुझ्ने र पिटेर तह लगाउनु पर्ने वर्ग हुन् भन्ने भाष्यनै बनेको थियो वैदिक साहित्यहरुमा समेत । स्त्री, शुद्र र दाषहरुमाथिको कुटपिट ठूलाहरुको अधिकार थियो, कुटपिटबाट अंगभंग, मृत्युसम्म भएपनि ब्राम्हणहरुलाई दोष लाग्दैनथ्यो तर स्त्री, शुद्र र दाषहरुले ब्राम्हणहरुले भनेको मानेनन्, उनीहरुलाई शिर ठाडो गरेर हेरे, छोए, मन्दिरभित्र, घरभित्र प्रवेश गरे भने असहिय अपमान र हदैसम्मको सजाय हुन्थ्यो, मृत्युदण्ड समेत हुनसक्थ्यो । तर यस्तो अमानवीयताको सन्दर्भमा परिवार, समाज, राज्य कोही पनि सहयोग, मानवीयताको भावले बोल्दैनथे किनकी स्त्री, शुद्र र दाषहरु पुरुष तथा मालिकहरुको व्यक्तिगत धन हुन्थे र वस्तु सरह व्यवहार गर्ने अधिकार थियो उनीहरुलाई । आफूले विवाह गरेको स्त्री मन नपरे, नचाहिए सजिलै अरु जतिवटा स्त्रीहरु पनि भित्र्याउन सक्थे ब्राम्हण पुरुषहरुले, वाहिर जति पनि सम्वन्ध बनाउन र सन्तान जन्माउन सक्थे, तर स्त्रीहरुलाई बोल्ने अधिकार, सम्पत्ति माथिको अधिकार, स्वतन्त्रताको अधिकार थिएन । स्त्रीहरुलाई वैदिक ग्रन्थ अध्ययन गर्ने छुट थिएन, गुरुकुलमा शिक्षा लिने अधिकार थिएन, स्त्री बाठा हुनु हुदैन भन्ने मान्यता राखिन्थ्यो र स्त्रीले पढ्नु हुदैन भनिन्थ्यो, जनै लगाउने अनुमति थिएन, पूजापाठ तथा अनुष्ठानहरुमा सहभागी हुने, हेर्ने, छुने अनुमति थिएन, सबै उच्च तहका मानिने कामहरु पुरुषहरुले नै गर्थे । यसरी वैदिक धर्ममा हावी भएको अति ब्राम्हणवाद छोडेर बौद्ध धर्म तथा दर्शनको संघमा सामेल भएपछि सबै सरह समान अधिकार, समानता र स्वतन्त्रता पाएका थिए स्त्री, शुद्र र दाषहरुले र यो परिपाटीले समाजको सुधारमा अत्यन्तै सकारात्मक दुरगामी प्रभाव छोड्यो र आज हामी यसैको जगमा तयार भएको स्वतन्त्रताको भोग गरिरहेका छौं खासगरि स्त्रीहरुले ।

 

(१०)कला र संस्कृतिको उच्चतम विकास

इशाको बाह्रौ शताव्दीसम्म बौद्ध धर्म तथा दर्शन स्वर्णिम अवस्थामा रहेको समयमा यस सम्वन्धि धेरै प्रकारका मूर्तिकला, वास्तुकला, शिल्पकला, चित्रकलाहरु निर्माण गरिएका थिए । धेरै पुरातात्विक र अध्ययन सामग्रीहरुमा पाइएक अनुसार इशाको पहिलो शताव्दीमै बौद्ध धर्म तथा दर्शनका मूल्य–मान्यतहरुमा आधारित रहेर निर्माण गरिएका विभिन्न प्रकारका मूर्तिकला, वास्तुकला, शिल्पकला, चित्रकलाहरु विकसित अवस्थामा रहेको पाइएका छन् । बौद्ध धर्म तथा दर्शनले अध्यात्म तथा धर्मको इतिहासमा नयाँ इतिहास बनाएको छ मूर्ति पूजाको सन्दर्भमा किनकी पूजा गर्न प्रारम्भ गरिएको पहिलो मानव मूर्ति गौतम बुद्धकै मानिन्छ । मूर्ति स्थापना गर्न आकर्षक कलाकारिताले सम्पन्न बौद्ध गुम्बा, स्तुपा र भिक्षुहरुका लागि आवासको निर्माण गरिएका थिए । गौतम बुद्धको मूर्ति, स्तुपा, भिक्षुहरुको आवास बनाउने प्रचलन बढ्दै जाने क्रममा बौद्ध धर्म तथा दर्शनमा मूर्तिकला, वास्तुकला, शिल्पकला, चित्रकलाका नयाँ–नयाँ नमूना र स्वरुपहरु विकास हुदै गए र यसको प्रभाव वैदिक दर्शन तथा हिन्दु धर्म लगायत तत्कालीन समाजमा सबैतिर गहिरोसंग पर्दैगयो । तत्कालीन भारतको उत्तर–पश्चिम क्षेत्र (वर्तमानमा अफगानस्थान)मा यूरोपको ग्रीक र एशियाको भारतका कलाका विशेषताहरुलाई मिश्रण(फ्युजन) गराएर नयाँ ‘गान्धार’ कलाको सिर्जना गरेर कला र संस्कृति विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पुगेको थियो । बौद्ध भिक्षुहरुका लागि ठूला–ठूला पहाड र शिलाहरु कपेर आकर्षक कलाकृति कुँदेर र सुविधायुक्त आवास गृहहरु निर्माण गरिएका थिए । बारबर हिल, नासिक, गयामा उच्चतहको वास्तुकला(आर्किटेक्चर)को शुरुआत भएको थियो । दक्षिणमा कृष्ण डेल्टा, उत्तरमा मथुरामा उच्चतहको वास्तुकलाको विकास भएको थियो जसको प्रभाव वर्तमान समयमा पनि विभिन्न धर्म, सम्प्रदाय तथा समाजहरुमा परिरहेको देखिन्छ । 

   

(११)नयाँ भाषाको विकास

तत्कालीन समाजमा ग्रन्थहरुको लेखन, अध्ययन, अध्यापन संस्कृत भाषामा गर्ने, गराउने प्रक्रिया चलिरहेको थियो । बौद्ध विचारधाराको विस्तार भैरहेको प्रारम्भिक अवस्थामा सर्वसाधारणको मार्का बुझ्न; उनीहरुलाई वैदिक ग्रन्थहरुमा उल्लेखित संस्कृति, परम्परा तथा कर्मकाण्डका विषयहरु सहज ढंगले सम्झाउन तथा बुझाउन; बौद्ध धर्म तथा दर्शनका विषय, भाव, उद्देश्य र मूल्य–मान्यताहरु सहज ढंगले सम्झाउन सबै सर्वसाधारणहरुले बोल्ने तथा बुझ्ने स्थानीय पाकृत अर्थात पालि भाषाको प्रयोग गरिएको थियो र यसको प्रभाव र परिणाम निकै सकारात्मक आएको थियो । तर तत्कालीन वैदिक समाजमा लेखन, अध्ययन, अध्यापनको भाषा संस्कृत रहेकोले सबैलाई बुझ्न सहज गराउने उदेश्यले पालि र संस्कृत भाषा तथा लिपि दुवैलाई मिलाएर(फ्युजन) नयाँ प्रकारको भाषा विकसित गरियो, संस्कृतका शव्द तथा भाष्यहरु अप्रभंस भएर नयाँ शव्द अर्थात ठिमाहा(दुवैको मिश्रीत रुप) भाषा बन्यो । नयाँ प्रकारको भाषाले समाज र राज्य व्यवस्थापनमा सहजता प्रदान गर्यो र यसको सकारात्मक प्रभाव दुरगामी पर्यो ।

 

(१२)शिक्षा, ज्ञान, विज्ञानको विकास

तत्काली सामाजिक अव्यवस्थालाई सुधार र व्यवस्थापन गर्ने पवित्र उद्देश्यले गठन गरिएका बौद्ध संघहरु विस्तारै बौद्ध धर्म तथा दर्शनबारे र सामाजिक व्यवस्था तथा अन्य ज्ञान, विज्ञानका विषयहरु सिक्ने, सिकाउने, अध्ययन, अध्यापन गराउने तथा ज्ञान प्रदान गर्ने उच्च केन्द्र बने र अगाडि बढ्दै गए । क्रमिक रुपमा ज्ञानको दायरा बढ्दै गएपछि बौद्ध धर्म तथा दर्शन प्रार्दुभाव भएको मूलभूमि भारतमा ठूला–ठूला विश्वविद्यालयहरु स्थापना गरिए र विश्वभरिका ज्ञान, विज्ञानका विषयहरु अध्ययन, अध्यापन गराइए । विश्वभरिका ज्ञान मुमुक्षहरुलाई सेवा प्रदान गरियो विश्वविद्यालयमै आवासिय व्यवस्थाका सुविधाहरु प्रदान गरेर । अध्यात्म विज्ञान, भौतिक विज्ञानका विषयहरुमा गहन खोज गरिए । तक्षशीला(इशापूर्व छैठौं शताव्दी, गान्धार, पाकिस्तान), नालन्दा(इशाको पाचौं शताव्दी, मगध, विहार), वल्लभी(इशाको छैठौं शताव्दी पश्चिम भारत, गुजरात), विक्रमशिला(इशाको आठौं शताव्दी, मगध, विहार) आदि विश्वकै ठूला, प्रसिद्ध र लोकप्रिय शैक्षिक प्रतिष्ठानहरु थिए । बौद्ध धर्म तथा दर्शनका साथसाथ वैदिक दर्शन तथा हिन्दु धर्मका विषयहरुको सोध, खोज र विकासमा यी ठूला विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुको महत्वपूर्ण योगदान रहेको छ । भौतिक तथा पराभौतिक शिक्षा, ज्ञान, विज्ञानको क्षेत्रमा गरिएका यिनै विकासका उच्चस्तरिय नमुनाहरुको सिकोनै आज सारा विश्वले गर्दै आइरहेको छ र ज्ञान, विज्ञानको गहनतालाई अझ उचाइमा पुर्याउने प्रयासहरु निरन्तर भैरहेका छन् ।   


(१३)धार्मिक तथा सांस्कृतिक व्यवस्था

पूर्णतः अध्यात्म विज्ञान तथा धर्म विज्ञानमा आधारित सनातन समाज खराव नियत भएका वर्गहरु अतिवादी ब्राम्हण, पंडित तथा पुरोहितहरुको नियन्त्रणमा पुग्यो, उनीहरुले मनपर्दी किसिमले चलाउन थाले आफ्नो स्वार्थमा आशक्त भएर र क्रमशः एक कालखण्डपछि सनातन अध्यात्म विज्ञान तथा धर्म विज्ञानको गरिमा, मूल्य–मान्यता खस्कदै गयो । यस्तो अवस्थामा सनातन अध्यात्म तथा धर्म अव केवल संस्कृति, कर्मकाण्ड, परम्परा र तर्कबिनाका अवैज्ञानिक गतिविधिहरु तथा अन्धविश्वासमा चल्न तथा चलाउन थालियो र समाजमा वर्णभेद, जातिभेद, लिंगभेद, वर्गभेद जस्ता विभिन्न प्रकारका विकृति तथा अव्यवस्थाहरु देखिए । यस्ता विभेदहरुका कारण समाजमा अन्याय, अत्याचार, अमानवीयता व्याप्त हुदैगयो र यो अवस्थाले आम मानिसहरुको जीवनशैली अत्यन्तै कष्टकर बनाउदै लग्यो । यस्तो सामाजिक अव्यवस्थाको अन्त्य गरेर समाजमा सुधार ल्याइ सुव्यवस्था कायम गर्नुपर्ने माग राख्दै गौतम बुद्धले विद्रोह गरे र सामाजिक क्रान्तिको आव्हान गरे सबै आम सर्बसाधारणहरुलाई र यो क्रान्ति सफल भयो, ब्राम्हणवाद पछाडि हट्यो र आफ्ना गतिविधिहरुमा सुधार ल्याउन बाध्य भयो । एउटा विरोधको आवाजबाट प्रारम्भ भएको विद्रेही मत तथा विचारधाराको लोप्रियता र विस्तार बढ्दै जाने क्रममा विस्तारै यहीनै विश्वव्यापी रुपमा बौद्ध धर्म तथा दर्शनका रुपमा अस्तित्वमा आयो र विस्तारै वैश्विक धर्म बन्यो । 


बौद्ध धर्म तथा दर्शनले हरेक व्यक्ति र समाजका दुःख र अव्यवस्थाहरुको अन्त्य गर्न सबैकालागि उत्तिकै उपयोगी र व्यवहारिक हुने धर्म निरपेक्ष सहज साधना विधिहरु प्रदान गर्यो– (१)चार आर्य सत्य, (२)अष्टांगीक मार्ग, (३)धम्मपद, (४)त्रिरत्न, (५)त्रिशिक्षा, (६)त्रिपिटक आदि र हरेक व्यक्तिलाई कुनै विषयहरुमा अति आशक्त र अति उदाष नभइकन मध्यमार्गी भएर, सम्यक जीवनशैली अपनाएर, आफूतिर फर्किएर अर्थात सबै दुःख पिडाहरु आफ्नै कारणले भएका हुन् भन्ने जानेर, स्वीकार गरेर र आफू सजक(साक्षी) भएर आफ्नो जीवनका सबै आयामहरुमा आइपर्ने दुःख, पिडाहरुको निवारण गर्न सकिन्छ भन्ने अत्यन्तै महत्वपूर्ण र प्रभावकारी व्यवहारिक शिक्षा प्रदान गर्यो । वास्तवमा सनातन अध्यात्म विज्ञान तथा धर्म विज्ञानको मूल भाव यहीनै थियो र हो जो ब्राम्हणहरुको अतिवादी अतिक्रमण्मका कारण गलत अर्थ तथा परिभाषाको भवरमा परेर यसको मूलभाव ओझल भएको थियो । सनातन अध्यात्म विज्ञान तथा धर्म विज्ञानको यही मूलमर्म तथा मूलभावलाई गौतम बुद्धले फेरी पुनःस्थापित गराइदिए आफ्नो अध्यात्म साधनाको बलबाट । उनको यो मान्यतामा विस्तारै सबै व्यक्ति, समाज, राज्य र विश्व समाज राजी हुदैगयो र सबैतिर बौद्ध धर्म तथा दर्शनको लोप्रियता, विस्तार र अनुशरण बढ्दै गयो । लोकप्रियता र विस्तारको यहि रफ्तारको कारण बौद्ध धर्म तथा दर्शन वर्तमान समयमा वैश्विक धर्म तथा दर्शनको रुपमा स्थापित हुन सफल भएको छ । बौद्ध धर्म तथा दर्शनको यसप्रकारको मत तथा अवधारणा तत्कालीन समाजमा लोकप्रिय बन्दै गएकोले विशेषगरि कर्मकाण्ड, पूजापाठ, अनुष्ठान जस्ता संस्कार र संस्कृतिका अधिकांश मनगढण्ते परम्परागत गतिविधिहरुमा अभ्यस्त वैदिक धर्म तथा दर्शनका अनुयायी ब्राम्हणवादीहरुले बौद्ध धर्म तथा दर्शनको आफैंभित्र फर्कने, आफूलाई चिन्ने, आफ्ना आन्तरिक क्षमताहरुलाई जान्ने र सदा मध्यमार्गी भएर आफ्नो जीवनशैली सुधार गरि जीवनका विविध आयामहरुमा आइपर्ने दुःखहरुको निवारण गर्दै मनको उच्चतम अवस्था मनातीत, शुन्यता तथा निर्वाण अर्थात मोक्षमा उपलव्ध हुने विचारधारा र विधिलाई भक्तिको नयाँ स्वरुप दिए, कर्मकाण्ड–पूजापाठ,–अनुष्ठानका वाहिरी जगतमा गरिने गतिविधिहरुलाई कम गर्दै बौद्ध धर्म तथा दर्शनका आफूतिरको यात्रा गर्ने अध्यात्म साधनाका विधिहरु अनुशरण गर्दै गए र अझ आकर्षक बनाए नयाँ प्रकारको भक्ति दर्शनका रुपमा । 


बौद्ध धर्म तथा दर्शनको मूल ज्ञान

चार आर्य सत्य

(१)जीवनमा दुःख छ, (२)दुःखको कारण छ, (३)दुःखको निवार गर्न सकिन्छ, र (४)दुःख निवारणका मार्ग तथा उपायहरु छन्

अष्टांगी मार्ग

(१)सम्यक तथा मध्यमार्गी दृष्टि; (२)सम्यक तथा मध्यमार्गी संकल्प; (३)सम्यक तथा मध्यमार्गी वाणी; (४)दृष्टि सम्यक तथा मध्यमार्गी कर्म; (५)सम्यक तथा मध्यमार्गी आजिविका; (६)सम्यक तथा मध्यमार्गी परिश्रम; (७)सम्यक तथा मध्यमार्गी स्मृति; र (८)सम्यक तथा मध्यमार्गी समाधि ।

धम्मपद

बौद्ध धर्म(धम्म) तथा दर्शनको मूल ग्रन्थ 

त्रिरत्न

(१)बुद्धं शरणं गक्षामी, (२)धम्मं शरणं गक्षामी, (१)संघं शरणं गक्षामी

त्रिशिक्षा 

(१)शील, (२)प्रज्ञा, (३)समाधि

त्रिपिटक

(१)सुत्त पिटक, (२)अभिधम्म पिटक, (३)विनय पिटक


छिट्टै, 

@मूलभूमि नेपाल र भरतमा बौद्ध धर्मको पुनरागमन र विस्तार

@राजकुमार सिदार्थ गौतमको बोधिवृक्षदेखि वैश्विक दर्शनसम्मको यात्रा


No comments:

Post a Comment