'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Sunday, 10 May 2026

विश्वका पश्चिमी देशहरुमा बौद्ध दर्शनको विस्तार, भाग -२

 डा. सिर्जना भण्डारी


पश्चिमी विश्वमा बौद्ध दर्शनको चरणवद्ध विस्तार 

बौद्ध धर्म तथा दर्शन र पश्चिमी देशहरुका मानिसहरुविच आमुन्ने–सामुन्ने सबैभन्दा पहिला  भारत, श्रीलंका तथा यस वरिपरिका क्षेत्रहरुमा ब्रीटीस उपनिवेसकरणको दौरानमा भएको थियो । सत्रौं शताव्दीको प्रारम्भमा व्यापार गर्ने उद्देश्यले दक्षिण एशिया प्रवेश गरेको ब्रीटीस इष्टइन्डिया कम्पनीको यस क्षेत्रमा औपनीवेसिक शक्ति बढ्दै गएपछि पश्चिमका कुलीन वर्गका मानिस तथा व्यापारीहरु दक्षिण एशियामा औपनिवेसिक अधिकारी तथा प्रमुख व्यापारीका रुपमा नियुक्त गरेर पठाउने परम्परा प्रारम्भ भयो । विस्तारै दक्षिण एशियामा ब्रीटीसहरुले गर्ने आर्थिक, सामिजिक गतिविधिहरुसंगै धार्मिक गतिविधिहरु पनि अगाडि बढाउदै लगे । यस क्रममा सन १८०० को प्रारम्भमा भारतमै बसेर स्थानीय विद्धवान तथा वुद्धिजिवीहरुको साथ र सहयोग लिएर ब्रीटीस विद्धवान तथा वुद्धिजिवीहरुले वैदिक र बौद्ध धर्म तथा दर्शनका मूल ग्रन्थहरुको अनुवाद गर्न प्रारम्भ गरे । बौद्ध धर्म तथा दर्शनका ग्रन्थहरुमा सबैभन्दा पहिला बौद्ध धर्म तथा दर्शनसंग सम्वन्धित संस्कार तथा संस्कृतिहरुको संग्रह गरिएको बौद्ध आस्थाको मूल ग्रन्थ धम्मपदको अनुवाद गरिएको थियो । सन् १८८१ मा लण्डनमा पोलिएक सोसाइटीको स्थापना गरिएको थियो जसमा बौद्ध धर्म तथा दर्शनका प्रमुख ग्रन्थहरुलाई अंग्रेजी भाषामा अनुवाद गर्न प्रारम्भ गरियो । ग्रन्थहरु अनुवाद गर्नेक्रममा बौद्ध धर्म तथा दर्शनका सबै  ग्रन्थहरुलाई विश्वका अरु धर्म तथा दर्शनहरु– प्राचीन ग्रीस, रोमन आदि दर्शन शास्त्रका ग्रन्थहरु सरहनै उत्सुकता र मान्यता दिएर विद्धवानहरुले अत्यन्तै जिज्ञासापूर्वक अध्ययन र अनुवाद गर्ने गरेका थिए र कुन ग्रन्थहरुको मूल भाव तथा उद्देश्य के हो, मानवीय किसिमले कति व्यवहारिक, वैज्ञानिक र उपयोगी छ आदि सबै विषय र पक्षहरुमा विशेष जोड दिएका थिए । पश्चिमी देशहरुले त्यसबेलासम्म विश्वका अरु धर्म तथा दर्शनका मूल ग्रन्थहरुको अनुवादको अभ्यास प्रारम्भ गरेका थिएनन्, यो ऐतिहासिक सामुहिक प्रयास नै पहिलो थियो । ग्रन्थहरुको अनुवादको यस महाअभियानको शुरुआतसंगै विश्वको पश्चिमी भूगोलमा पूर्वीय सनातन अध्यात्म विज्ञानको अत्यन्तै महत्वपूर्ण विद्या बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तारको अवसर प्राप्त भयो र विस्तारै विश्वस्तरमा बौद्ध धर्म तथा दर्शनको विस्तार हुन प्रारम्भ भयो ।  


सन् १८८१ मा लण्डनमा पोलिएक सोसाइटीको स्थापना गरेर व्यवस्थित रुपमा पालि र संस्कृत भाषामा लेखिएका बौद्ध धर्म तथा दर्शनका मूल ग्रन्थलाई अंग्रेजी भाषामा अनुवाद गरिएपछि सन् १८९३ मा विश्वमा न्याय, शान्ति र सदभाव कायम गर्नकालागि अमेरीकाको सिकागोमा आयोजना गरिएको विश्व धर्म संसद (वल्र्ड रिलिजिवोस पार्लियामेन्ट) कार्यक्रम आयोजना गरियो र यस कार्यक्रमा भएको गरिमामय सहभागितापछि विश्वका प्रमुख धर्म तथा दर्शनहरुसंगै बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तारमा एउटा विशेष प्रकारको सकारात्मक चरण तथा मोड आयो । यस कार्यक्रममा दक्षिण एशियाबाट श्रीलंकाका एक युवा भिक्षु धर्मपालले सभामा ठूलो संख्यामा उपस्थित इशाई दर्शकहरुको सामुन्नेमा खडा भएर मुख्य रुपमा हिनयान(थेरावाद) बौद्ध धर्म तथा दर्शनलाई शान्ति र सदभावको सार्वभौमिक दर्शनको रुपमा प्रस्तुत गरे । उनको साथमा महायान बौद्ध धर्म तथा दर्शन निकट मानिने जापानका एक जेन मास्टर सोयन साकुले महायान बौद्ध धर्म तथा दर्शनका मूल विषयहरु समेटेर उक्त समारोहलाई अझ आकर्षक ढंगले सम्वोधन गरे । यो पहिलो पटक थियो जहाँ हिनयान र महायान दुवै शाखाका बौद्ध धर्मावलम्विहरुलाई संयुक्त रुपमा संयुक्त राज्य अमेरीकामा आफ्नो धर्म तथा आस्थाका संस्कार तथा संस्कृतिहरु समेटीएका विषय तथा मूल्य–मान्यताहरु अरुसमक्ष राख्न अवसर दिइएको । विश्वव्यापी सहभागिता आव्हान गरेर आयोजना गरिएको ऐतिहासिक विश्व धर्म संसद कार्यक्रममा समावेस गरिएका विश्वका सबै धर्म, आस्था तथा दर्शनका विषय तथा मूल्य–मान्यताहरु विश्वभरिकै समाचार बने र यससंग सम्वन्धित विभिन्न संघ, संगठन तथा संस्थाहरुले उक्त कार्यक्रममा उठान गरिएका विश्वका विभिन्न धर्म तथा दर्शनका प्रमुख विषय तथा मूल्य–मान्यताहरु सार्वजनकि मिडियाहरु मार्फत विश्वभरि चर्चित भए र जोडतोड प्रचार गरिए । अमेरीकी आम नागरिकहरु यस्ता शान्ति र सदभावपूर्ण ज्ञान, विज्ञान र इश्वरिय दर्शनका अलौकिक विषयहरुबाट निकै प्रभावित भए । यस विश्वस्तरीय विशेष धार्मिक समारोहमा वैदिक दर्शन तथा हिन्दु धर्मको तर्फबाट स्वामी विवेकानन्द सहभागी भएका थिए र उनले अत्यन्तै प्रभावकारी ढंगले सनातन वैदिक धर्मको मूल विषय वेदान्त दर्शनका मूल्य–मान्यताहरुलाई प्राथमिकताका साथ जोडदार प्रस्तुत दिएर पूरै सभालाई नै प्रभावित, मोहित र चकित पारेका थिए आफ्नो परमप्रकाशित सकारात्मक दिव्य उर्जाको प्रभावले ।   


प्रारम्भिक पश्चिमेली बौद्ध अनुयायीहरु

सन् १८९३ मा अमेरीकाको सिकागोमा आयोजना गरिएको विश्व धर्म संसद विश्वमै एक अत्यन्तै दुरगामी प्रभाव पार्ने युगान्तकारी ऐतिहासिक कदमको शुरुआत थियो । बौद्ध धर्म, आस्था तथा विचारधारा सम्वन्धि यस कार्यक्रममा समावेश गरिएका दार्शनिक विषयहरुले पश्चिमका वास्तविक बौद्ध दर्शनका अनुरागीहरुलाई निकै प्रभावकारी ढंगले आकर्षित गर्यो । यस ऐतिहासिक कार्यक्रमको आयोजना भएपछि अमेरीकी दार्शनिक हेनरी डेभिड थोरोले बौद्ध दर्शनका ग्रन्थहरुको गहिरो अध्ययन गरेका थिए र केही मूल ग्रन्थहरुको अनुवाद पनि गरेका थिए । यसपश्चात पूर्वीय अध्यात्म दर्शन तथा बौद्ध दर्शनका विभिन्न शाखा तथा आयामहरुको सन्दर्भमा पश्चिमका दार्शनिक तथा वुद्धिजिवीहरुमा तिब्रगतिमा थप जिज्ञासा जाग्रित हुन प्रारम्भ भयो र उनीहरुले बौद्ध आस्था, विचारधारा तथा दर्शनका सन्दर्भमा आफ्नो रुचि, खोज, अध्ययन, अनुसन्धान र लेखनका कार्यहरु विस्तारै अगाडि बढाउदै लगे । यसक्रममा जर्मन अमेरीकी दार्शनिक पोलकर्सले जापानका जेन बौद्ध मास्टर सोयन साकुसंग आवश्यक सहयोग लिए र पश्चिमका बौद्ध दर्शनका अनुरागीहरुका लागि जेन बौद्ध आस्थाका विचारधारा तथा दर्शनलाई सहज ढंगले बुझ्न अझ प्रष्ट पार्ने उद्देश्यले यस सन्दर्भमा पुस्तक लेखे । यसको सकारात्मक प्रभाव स्वरुप सन् १८९८ मा अमेरीकाको भूमि सानफ्रान्सीस्कोमा पहिलो बौद्ध स्तुपा(गुमबा)को निर्माण भयो । यस स्तुपामा थोरै संख्यामा गोरा बौद्ध मार्गीहरु(ह्वाइट बुद्धिष्ट)को र अधिक संख्यामा जापनीज बौद्धमार्गी आप्रवासीहरुको उपस्थिति हुने गर्दथ्यो । यस स्तुपाको व्यवस्थापनले मूलरुपमा जापनीज आप्रवासीहरुको समस्या तथा असहजता निवारण गर्न र उनीहरुको जीवन व्यवस्थापन गर्न सहयोगी भूमिका प्रदान गरिरहेको थियो । यस पवित्र स्तुपामा निकै पछिसम्म बौद्ध धर्म तथा दर्शनका संस्कार, संस्कृति तथा परम्पराहरुको परिपालन जापनीज तथा एशियाका अन्य बौद्ध मार्गी आप्रवासीहरुले गरिरहेका थिए तर बौद्ध धर्म तथा दर्शनको अध्ययन र ज्ञान वाँड्ने तथा प्रचार र विस्तार गर्ने काम त्यहाँका बौद्ध अनुरागी कुलीन वर्गका वुद्धिजिविहरुले गरिरहेका थिए । क्रमिक रुपमा पछिपछि विस्तारै यस स्तुपामा गोरा बौद्ध मार्गीहरुको उपस्थिति बढ्दै जान थाल्यो र आवश्यकता अनुसार अमेरीकाका विभिन्न नगरहरुमा ध्यान तथा प्रार्थना गर्ने गतिविधिहरुका लागि बौद्ध स्तुपाहरुको निर्माण हुदैगयो र बौद्ध भिक्षुहरुको सरल वसोवास तथा सहज जीवनयापनका लागि आवश्यकता अनुसार सकेसम्म स्तुपाकै नजिक तथा वरिपरि बौद्ध मोनास्ट्रीहरुको निर्माण गरियो । यसप्रकार पश्चिम भूमिमा बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तार हुन प्रारम्भ भयो ।


विश्व युद्ध र बौद्ध दर्शनको विश्व शान्ति सन्देश

संसारभरि भएका साना–ठूला मतभेद तथा युद्धका साथै पहिलो र दोस्रो ठूला–ठूला विश्वयुद्धमा ठूलो संख्यामा भएका अत्याचार, अमानवीयता, हिंसा, हत्या र अत्यासलाग्दा मानवीय क्षतिका विभिसिकाहरु प्रत्यक्ष रुपमा देखेपछि पश्चिमका मानिसहरुका विस्तारै पारम्परिक धर्मबाट मोह भंग हुदै गयो र उनीहरुले त्यसको विकल्पको खोजी गर्न प्रारम्भ गरे तव बौद्ध धर्म तथा दर्शनको सर्वजन हिताय, सर्वनजसुखाय भावले ओतप्रोत शान्ति, सदभाव, सजगता र आन्तरिक आनन्दको सन्देश सबैमाझ आकर्षक बन्दै गयो, यसप्रति विश्वको आकर्षण तथा झुकाव बढ्दै गयो र बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तार गर्न सहज वातावरण तयार हुदैगयो । यस परिस्थितिमा बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तार गर्न पहिलो जापानीज जेन बौद्ध भिक्षु टी सुजुकी अग्रसर भए जसले अमेरीकाका विश्वविद्यालयहरुमा बौद्ध धर्म तथा दर्शनका विषयहरु अध्यापन गराए र शैक्षिक संस्थाहरुबाटै औपचारीक रुपमा अरु धेरै बौद्ध धर्म तथा दर्शनमा रुचि भएकाहरुलाई सुसूचित हुने अमूल्य अवसर प्रदान गरे । जेन बौद्ध भिक्षु टी सुजुकीले आफ्नो कलात्मक अध्यापनबाट सामान्य जिज्ञासु व्यक्तिहरुका साथै त्यहाँका विशिष्ट कलाकार, कवि, मनोवैज्ञानिक, संचारकर्मीहरुलाई समेत प्रभावित गरे । बौद्ध भिक्षु टी सुजुकीले आफ्नो अध्यापनमा समावेश गरेका बौद्ध धर्म तथा दर्शनका विषयहरुबाट अत्यन्तै धेरै प्रभावित भएर समग्र विश्वभरिका मनुष्यहरुमा स्वास्थ्य, आरोग्य, सुख, खुशी, शान्ति, सदभाव जस्ता अमूल्य ज्ञान, विज्ञानहरु फैलाएर विश्वमा मतभेद र युद्ध समाप्त गरि शान्ति र सदभाव स्थापना गर्न उपयोगी सन्देश सबैमाझ पुर्याउने उद्देश्यले एक ब्रीटीस दार्शनिक एलन वाट्सले पुस्तक र रेडियो प्रसारणको संचार माध्यमबाट पूर्वीय दर्शन जेन बौद्ध धर्म तथा दर्शनलाई विश्वमा तिब्रगतिमा प्रचार र विस्तार गरे । यसप्रकारका प्रतिष्ठित गतिविधिहरुले बौद्ध धर्म तथा दर्शनलाई विश्वमा सबैमाझ लोकप्रिय बनाउन अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरे र पूर्वीय अध्यात्म दर्शनके व्यापक प्रचार गरेर विश्वमाझ सबैसम्म पुर्याउन अतुलनीय योगदान प्रदान गरे । यसरी क्रमिक रुपमा प्रचार र विस्तार हुदैजाने क्रममा सन् १९५० र १९६० को दशकसम्म आइपुग्दा बौद्ध धर्म तथा दर्शन केवल एक विचारधारा, दर्शन, अध्ययन र अध्यापनमा मात्र सीमित रहेन, क्रमशः यो एकप्रकारले आम पश्चिमी मानिसहरुको दैनिकी तथा जीवनशैली बन्दै जान थाल्यो । 


१९६० को दशकमा संस्कृति र प्रकृति बचाउ आन्दोलन

सन् १९६० को दशकमा हिप्पि आन्दोलन प्रारम्भ भयो, हिप्पि आन्दोलनमा प्रमुख रुपमा संस्कृति र प्रकृतिको संरक्षणमा जोड दिइएको थियो । पछिल्लो समय वैश्विक मतभेद, देखसेखी, प्रतिस्पर्धा, युद्धका कारणहरुले मानवीयता, संस्कृति र प्रकृतिको विनासमा अत्यन्तै नकारात्मक हानि हुदैआएको कारणले गर्दा अमेरीकी युवाहरुले तत्काली अवस्थामा चलिरहेको चरम पुंजीवाद, युद्ध र कठोर धर्म तथा आस्थालाई अस्वीकार गर्न प्रारम्भ गरे । उनीहरुको यो अभियान पूर्वीय आध्यात्मिक विज्ञानको नवीन सोच तथा विचारधारा, दर्शन, वौद्धिकता नैतिकता, अनुसासन, मानवीयता, शान्ति, सदभाव, सर्वकल्याण भाव, विश्ववन्धुत्वको भावतिर जोडिदै जानथाल्यो र यिनै मूल्य–मान्यताहरुतिर मोडिदै गयो । सर्वकल्याणका लागि र विश्व समाजमा शान्ति र सदभाव कायम राख्न सहजता प्रदान गर्ने सहयोगी विषयका रुपमा आत्मसाथ गर्दै अमेरीकाको समाजमा स्थापित साहित्यकार तथा लेखकहरुले आफ्नो लेखनको माध्यमबाट जेन बौद्ध धर्म तथा दर्शनलाई केन्द्रमा राखे र निरन्तर प्राथमिकताका साथ यस क्षेत्रमा सोध र लेखनका कार्यहरुलाई अगाडि बढाईरहे । 


बौद्ध धर्मगुरु दलाई लामाको निर्वासन र बौद्ध दर्शनको विस्तार

तिव्बतीमा सबैभन्दा बढि अनुशरण गरिदै आइएको बौद्ध धर्म तथा दर्शनको तेस्रो ठूलो शाखा बज्रयान तव विश्व माझ पुग्न सफल भयो जव तिव्बतका बौद्ध मठका मूल मठाधिस दलाई लामा सन् १९५९ मा चीनको कम्युनिष्ट सरकारको धरपकडमा परे र तिव्बतबाट पलायन हुन बाध्य गराइए । असुरक्षाको कारण दलाई लामा तिव्बतबाट पलायन भएर भारतमा शरणागत हुन आए र आप्रवासीका रुपमा आजपर्यन्त भारतमै रहिरहेका छन् । भारतबाटै उनले तिव्बतका बौद्ध अनुयायीहरुलाई संचालित तथा परिचालित गर्नलागे र यसपश्चात आफ्नो भूमि तिव्बत र आफू अन्यायमा परेको भन्दै यसको समाधान तथा उपचारका लागि विश्वको सदभाव र सहयोग जुटाउन खासगरि पश्चिमका शक्ति राष्ट्रहरुलाई साथ र समर्थन गरिदिन अपिल गर्दै पश्चिमी देशहरुको भ्रमण गर्न प्रारम्भ गरे । विभिन्न गरिमाय ओहोदाका व्यक्ति र महत्वपूर्ण संघ–संस्था तथा क्षेत्रहरुको भ्रमण गर्ने क्रममा पश्चिमी भूमिमा तिव्बती बज्रयान बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तारको सुनौलो अवसर बन्दैगयो । बौद्ध धर्मगुरु दलाई लामाले धेरै कार्यक्रमहरुको माध्यमबाट ठूलो संख्यामा अमेरीका र यूरोपका मानिसहरुलाई बौद्ध धर्म तथा दर्शनको मूलभाव, विचारधारा, सिद्धान्त तथा बौद्ध दर्शनको ज्ञान, विज्ञान प्रदान गर्दै उनीहरुमाझ वर्तमान समयमा अशान्त रहेको विश्वमा शान्ति र सदभाव कायम गर्न पूर्वीय दर्शनको महत्व, प्रभावकारीता र व्यवहारिकता स्पष्ट गरे, साथै बौद्ध दर्शनमा विषयहरु आफूले अध्ययन गरेर विश्वविद्यालयहरुबाट अरुलाई औपचारीक शिक्षा प्रदान गरेर विश्मा सबैलाई शान्ति र सदभावको पाठ पढाउन सबै पश्चिमा मुलुकहरुलाई आब्हान गरे ।


यसै समयको हाराहारीमा बौद्ध धर्म तथा दर्शनको महायान शाखासंग नजिक मानिने भियतनामी जेन बौद्ध मास्टरले विश्वमा व्याप्त अन्याय, अत्याचार, अमानवीयताको अन्त्य गरि, हरेक मानिसको जीवनशैलीमा सकारात्मक सुधार तथा रुपान्तरण ल्याएर विश्वमा सबैतिर सामाजिक न्याय र प्राकृतिक सामान्जस्यता स्थापना गर्नकालागि साक्षीभाव तथा हरपल वर्तमानमा रहने सजगतापूर्ण ध्यान(माइन्डफुलनेस) विधिको उपयोग गर्दै ठूलो संख्यामा पश्चिमका मानिसहरुलाई सहज ध्यान साधना सिकाए र इच्छुक व्यक्तिहरुलाई साक्षीभाव तथा सजगतापूर्ण ध्यान साधना गर्ने तथा गराउने विधिहरुको तालिम समेत प्रदान गरे । यसरी तालिम प्राप्त गरेका नव ध्यान प्रशिक्षकहरुले बौद्ध दर्शनको साक्षीभाव तथा सजग रहने ध्यान विधि ठूलो संख्यामा अरु मानिसहरुलाई सिकाउदै, प्रचार गर्दै र विस्तार गर्दै गए । यसप्रकार विस्तारै बौद्ध दर्शनको साक्षीभाव तथा वर्तमानमा केन्द्रित रहने ध्यान विधि विश्वका सबै भू–भागहरुमा प्रचार र विस्तार हुदैगयो । आम मानिसहरुको व्यवहार र जीवनशैलीमा सकारात्मक सुधार, परिवर्तन तथा रुपान्तरणका विषयहरु रहेका कारण साक्षीभाव ध्यान विधिलाई विस्तारै आधूनिक मनोविज्ञानले समेत आफ्ना अध्ययन तथा अध्यापनका विषयहरुमा समावेश गर्दैगयो । मानिसको मानसिक र भावनात्मक अवस्थाहरुमा सकारात्मक परिवर्तन ल्याउन साक्षीभाव ध्यान विधि अत्यन्तै प्रभावकारी देखिएकोले यही विषयमा केन्द्रित रहेर आधूनिक मनोविज्ञानले पनि वर्तमानमा केन्द्रित हुन सिकाउने साक्षीभाव ध्यान विधिलाई आफ्ना अध्ययनका विषयहरुमा उच्च प्राथमिकता प्रदान गर्यो । मानिसको मानसिक अवस्था तथा भावनात्मक संवेगहरुमा सकारात्मक परिवर्तन ल्याउनमा साक्षीभाव ध्यान विधि अत्यन्तै उपयोगी, प्रभावकारी र व्यवहारिक देखिएकै कारणले विस्तारै आधूनिक मनोचिकित्सा विज्ञानले मानसिक तथा भावनात्मक अस्वस्थता भएका बिरामीहरुको उपचारका प्रक्रियाहरुमा समावेस गर्दैगयो । यी सबै गतिविधिहरु र समावेसीकरणले पूर्वीय दर्शनको मानवीयता शान्ति र सदभाव केन्द्रित विचारधारा र यसका मध्यमार्गी सहज, सरल, व्यवहारिक र जीवनउपयोगी विधिहरुको उपयोग, महत्व र उपयोगीतामा अझ बढि जोड मिल्यो र पश्चिमी विश्वमा पूर्वीय दर्शनको प्रचार र विस्तार स्वस्फूर्त रुपमा हुदै जानथाल्यो । यसप्रकार बौद्ध धर्म तथा दर्शन क्रमशः युद्ध विरोधी, शान्ति र सदभावको प्रतिक, मानवीय, सबैकालागि व्यवहारिक, मानसिक समस्याहरुको समाधान तथा उपचारको भरपर्दो साधन र जीवन व्यवस्थापनको सबैभन्दा उपयुक्त विधिका रुपमा अत्यन्तै उपयोगी रहेको र सहज मध्यम मार्ग(मिडल पाथ)लाई अनुशरण गरेर अगाडि बढेको महान दार्शनिक विचारधाराको रुपमा विश्वभरि प्रचार र विस्तार हुदैगयो । यसपश्चात बौद्ध दर्शनले प्रतिपादन गरेको साक्षीभाव ध्यान विधि र ध्यान साधनालाई पश्चिमका मुलुकहरुमा वैज्ञानिक अध्ययन, सोध, खोज तथा अनुसन्धानहरुमा समेत साथ र समर्थन मिल्दैगयो र अझ तिब्रगतिमा पूर्वीय बौद्ध दर्शनको प्रचार र विस्तार हुन थाल्यो प्रारम्भिक अवस्थामा भन्दा फरक प्रकारले अत्यन्तै गहन र स्वस्फूर्त रुपमा ।  


साक्षीभाव ध्यान विधि र ध्यान साधनालाई वैज्ञानिक समर्थन

भौतिक र संरचनागत रुपमा हरप्रकारले विकसित रहेको पश्चिमी विश्वले वैदिक दर्शन र बौद्ध दर्शनका विषयहरु केही हदसम्म आफ्नो भूमिमा प्रचार, विस्तार र लोकप्रिय भएपछि सदियौंदेखि व्यवहारिक रुपमा खासगरि साधु, सन्त तथा भिक्षुहरुद्वारा प्रयोगात्मक अभ्यासका रुपमा दैनिक जीवनमा अनुशरण गरिदै आइएको वर्तमानमा केन्द्रित रहने साक्षीभाव ध्यान विधि(माइन्डफुलनेस) र अरु प्रकारका ध्यान साधना र यसका सबै प्रकारका अभ्यासहरुलाई सन् १९८० र १९९० को दशकमा व्यापक सिसिमले वैज्ञानिक रुपमा अध्ययन गर्ने प्रयास गर्यो र यसकार्य कार्यलाई तिब्र रुपमा अगाडि बढायो खासगरि आधूनिक मनोविज्ञान र मनोचिकित्सा विज्ञानका विषयहरुमा समावेस गरेर । युगौंदेखि निरन्तर प्रयोगात्मक अभ्यासका रुपमा अनुशरण गर्दै आइएको र सबैमाझ अत्यन्तै लोकप्रिय रहेको पूर्वीय ज्ञान ध्यान विज्ञानका साधाना विधिहरुका सन्दर्भमा; ध्यान साधनाका गतिविधिहरु किन यतिविधि लोकप्रिय छन्; र यति धेरै मानिसहरुले यति लामो समयदेखि किन यति निष्ठापूर्वक अनुशरण गर्दै आइरहेका छन् भन्ने सन्दर्भलाई अझ गहिरिएर जान्न र यो ज्ञान सबैका सामु उजागर गर्न पश्चिमी विश्वका सुप्रसिद्ध शैक्षिक वैज्ञानिक संस्थाहरु हावर्ड, एम.आइ.टी., स्टानफोर्ड जस्ता ठूला विश्वविद्यालयहरुले अत्यन्तै लागि परेर दृढताकासाथ मानिसको जीवनमा ध्यानका सबै प्रकारका विधिहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष हरप्रकारका प्रभावहरुको सन्दर्भमा विस्तृतमा अध्ययन, सोधकार्य र खोजकार्य गर्न प्रारम्भ गरे । उनीहरुले आफ्नो गहन अध्ययन र वैज्ञानिक सोध तथा खोज कार्यबाट पत्ता लगाएकी सबै प्रकारका ध्यान साधनाले– (१)मानिसको तनाव कम गर्न मद्धत गर्दोरहेछ; (२)एकाग्रतामा सुधार तथा विकास गर्दोरहेछ; (३)शान्त(काल्म) रहन मद्धत गर्दोरहेछ; र (४)विस्तारै समग्र मस्तिष्कको सुक्ष्म बनाबट(न्युरो प्लास्टीसिटी) तथा समग्र संस्कारमै सकारात्मक बलदाव र परिवर्तन ल्याएर सबैप्रकारका मानसिक तथा भावनात्मक समस्याहरु(मेन्टल एण्ड इमोसनल प्रबलम्स) समाधान गर्न मद्धत गर्दोरहेछ । 


बौद्ध दर्शनमा मानिसका सबै प्रकारका अस्वस्थता तथा समस्याहरु खासगरि मानसिक तथा भावनात्मक अस्वस्थता तथा समस्याहरु समाधन गर्नकालागि समावेश गरिएका मूलविधिहरु– (१)विस्मृति(लेट गो), (२)आवश्यतामा जिउने जीवन(निडवेस लाइभलीहुड), (३)अनाशक्ति(ननअट्याचमेन्ट), (४)नस्वरवाद तथा अनित्यवाद(कन्टिनिअस चेन्जएबल), (५)सत्यको भ्रम(इल्युजन) आदिबारे गहन रुपमा बुझेर, आफूभित्र आत्मसाथ गरेर गरिने प्रयोगात्मक अभ्यासहरुले मानिसलाई मानसिक, भानात्मक तथा मनोवैज्ञानिक साथै शारीरिक रुपले स्वस्थ, सुखी, खुशी, शान्त, आनन्दित रहन आत्मबल प्रदान गर्दछ भन्ने विषयहरु वैज्ञानिक रुपमा शतप्रतिशत प्रामाणिक पाइए तथ्यगत हिसावले । वैज्ञानिक खोजका नतिजाहरुले उजागर गरेका यस्ता प्रामाणिक तथ्यांकहरुलाई समेटेर विभिन्न दृष्टिकोणबाट विभिन्न विषयहरुलाई प्राथमिकता प्रदान गर्दै विभिन्न प्रकारका खासगरि मनोवैज्ञानिकतामा आधारित पुस्तकहरु प्रकाशन गरिए र वैदिक दर्शन र बौद्ध दर्शनका योग–ध्यान साधना तथा सरल, सहज, मध्यममार्गी जीवनशैलीका विषयहरु र यिनका लाभहरु लिपिवद्ध रुपमा स्थापित गरिए । पुस्तक लेखनका यी कार्यहरुबाट पश्चिमी विश्वमा वैदिक दर्शन र बौद्ध दर्शनका विषयहरुको प्रचार र विस्तार अझ तिब्र गतिमा हुदैगयो संसारभरि विलकुल धर्म निरपेक्ष विचारधारा तथा फरक प्रकारको दर्शनका रुपमा । पुस्तक लेखनको यही क्रममा एक समयमा ‘द मिराकल अफ माइन्डफुलनेस’, ‘होयरइभर यु गो देयर यु आर’ आदि पुस्तकहरु सर्वाधिक विक्री हुने मध्यका थिए विश्वव्यापी रुपमा ।  


छिट्टै, 

जीवन रुपान्तरणका सन्दर्भमा यूरोपमा बौद्ध दर्शनको अनुशरण 


No comments:

Post a Comment