डा. सिर्जना भण्डारी
गौतम बुद्धद्वारा प्रतिपादित बौद्ध दर्शनको मूलसार
मनुष्यका दुःख, पिडा तथा कुण्ठाका कारणहरु
तत्कालीन ब्राम्हणवादी समाजमा व्याप्त रहेको चरम विभेद, अन्याय, अत्याचार, अमानवीयता तथा सामाजिक अव्यवस्थामा सुधारको माग राख्दै विरोधको पृष्ठभूमिबाट प्रादुर्भाव भएकोले बौद्ध दर्शन तथा धर्मको मूल उद्देश्य, मूल अवधारणा तथा मूलसार सर्वकल्याण केन्द्रित शान्ति, सदभाव, करुणा तथा अहिंसासंग प्रत्यक्ष सम्वन्धित रहेको छ । गौतम बुद्ध तथा उनीद्वारा प्रतिपादित बौद्ध विचारधारा तथा दर्शनका अनुसार ब्राम्हणवादका अनुयायीहरु पंडित तथा पुरोहितहरुले शास्त्रमा भनिएको भनेर उल्लेख गरिए जस्तो पाप–पुण्य, स्वर्ग–नर्क भनिने कुनै अलग्ग स्थान तथा भूगोल छैन; पाप–पुण्यको अवस्था र परिणाम पनि उनीहरुले अर्थ लगाए जस्तो प्रकारको भौतिक स्वरुपमा भोग्नुपर्ने केहीपनि छैन; यो पाप–पुण्यको सजाय तोक्ने इश्वर–भगवान तथा आत्मा–परमात्मा भन्ने पनि कुनै अलग्ग शक्ति तथा महाशक्ति छैन; सबै कुरा सबैले बुझ्नेगरि स्पष्ट छ कि मनुष्यको जीवनशैली जस्तो प्रकारको हुन्छ त्यस्तै परिणाम उसको जीवनमा देखा पर्दछ; जीवनशैली सकारात्मक प्रकारको भए उसको जीवन सहज, सन्तुलित, व्यवस्थित, विकसित तथा सफल हुन्छ र जीवनशैली नकारात्मक प्रकारको भए उसको जीवन असहज, असन्तुलित, अव्यवस्थित, अविकसित तथा असफल हुन्छ; मनुष्यले आफ्नो आचरण, चरित्र, जीवनशैली सकारात्मक किसिमले व्यतीत गर्यो तथा आफूलाई सुधार्यो भने ऊ यही जीवनमै आरोग्यता, मनको शुन्यता, आन्तरिक शान्ति, मुक्ति, निर्वाण, कैवल्य तथा मोक्षमा उपलव्ध हुन सक्दछ किनकी मनुष्यका सबै दृश्य तथा अदृश्य हरप्रकारका गतिविधिहरु उसको आफ्नै मनको अवस्था तथा मनोदशाबाट निर्मित भएका हुन्छन् र उसको जीवनका सबै सुख, खुशी तथा दुःख, पिडाका अनुभव तथा अनुभूतिहरु सबै उसको मनोदशा तथा भावदशका अवस्थाहरु(स्टेट्स अफ दि माइन्ड) हुन्; आफ्नो बोली, वचन, व्यवहार, आचरण, चरित्र, कर्म तथा समग्र जीवनशैली सुधार गरेपछि सबैप्रकारका दुःख, पिडाका अनुभव तथा अनुभूतिहरुको निवारण स्वतः सम्भव हुदैजान्छ र यसकालागि अर्को कोही मध्यस्तकर्ता तथा उच्च ओहोदा भएको ब्राम्हण, पंडित तथा पुरोहितको आवश्यकता पर्दैन; आफ्ना हरप्रकारका गतिविधिहरुको जिम्मा हरेक मनुष्य आफू स्वयंले लिनु पर्दछ र आफ्नो दियो, गुरु तथा मार्गदर्शम आफैं बन्नु पर्दछ; आफ्नो दियो आफैं बनेर जीवनमा आइपर्ने सबै दुःख, पिडा, कुण्ठाका अनुभव तथा अनुभूतिहरुबाट सदाकालागि मुक्त हुन तथा कुण्ठा रहित अवस्था ‘वैकुण्ठ’ अर्थात निर्वाण अर्थात मोक्षमा उपलव्ध हुन सकिन्छ भन्ने प्रमुख मूल शिक्षा, ज्ञान, देशना तथा उपदेशहरु रहेकाछन् वर्तमान समयमा संसारभरि सबैको जीवनशैली बनिसकेको वैश्विक बौद्ध धर्म तथा दर्शनमा ।
जीवन जिउनेक्रममा सांसारिक भोगहरुप्रतिको अति इच्छा तथा आशक्ति मनुष्यका दुःख, पिडा तथा कुण्ठाका प्रमुख कारणहरु हुन्, खासगरि– (१)धन, (२)शक्ति, (३)भोजन, र (४)सहवासप्रति गरिएका अति इच्छा तथा आशक्तिहरुले मनुष्यको तन, मन, भाव, वुद्धि, चेतनालाई ज्यादा खलबल्याउछन् तथा चञ्चल बनाउछन् र यसैबाट मनुष्यको जीवनमा विभिन्न प्रकारका दुःख, पिडा तथा कुण्ठाहरुको उत्पत्ति हुन्छ– (१)शारीरिक तथा मानसिक अस्वस्थता, (२)खराव सम्वन्ध, (३)विपन्नता, (४)मानहानि, (५)असन्तोष–अस्वीकार–अशान्ति आदिका रुपमा । सबै मनुष्यहरुको सहज र खुशीयालीपूर्ण जीवनयापनका लागि धन, शक्ति, भोजन, सहवास यी सबै अत्यावश्यक विषयहरु हुन् तर यी विषयहरुप्रति लगाव, अपेक्षा बढि हुनु तथा त्यसप्रति अति आशक्त हुनु वास्तविकतामा मनुष्यको दुःख, पिडा तथा कुण्ठाको मूलकारण हो किनकी मनुष्यका अपेक्षाहरु अन्त्यहिन हुन्छन्, ती सबै यही जीवनमा पूरा हुन सक्दैनन् र अपूरा अपेक्षा, इच्छा तथा तृष्णाहरुले उसलाई उदाष तथा निराश बनाउछन् र यिनै उदाषि र निराशाहरु नै दुःख, पिडा तथा कुण्ठाहरुमा रुपान्तरण हुन्छन् र शारीरिक तथा मानसिक अस्वस्थता, खराव सम्वन्ध, विपन्नता, मानहानि, असन्तोष–अस्वीकार–अशान्ति आदि बनेर विभिन्न स्वरुपहरुमा मनुष्यको जीवनमा प्रकट भएर आउछन् । यसकारण बौद्ध धर्म तथा दर्शनले मनुष्यको जीवनका हरेक अवस्थाहरुमा कुनैपनि विषय तथा घटनाप्रति मध्यमार्ग(मिडिल पाथ) अपनाउन महत्व र प्राथमिकता दिएको छ, जीवनयापनका क्रममा आइपर्ने सबैप्रकारका विषय तथा घटनाहरुप्रति न अति अशक्त हुनु न अति उदाष हुनु सम्यक तथा ठिक्क व्यवहार गर्नु भन्ने भावमा किनकी सांसारिक भोगप्रति अति आशक्त हुदा मनुष्य दुःख, पिठा तथा कुण्ठाको चक्र (बारबार जन्म–आकांक्षा–पिडा–मृत्यु र फेरी जन्म...) मा घुमिरहन्छ र बारबार फेरी यही अवस्था आइरहन्छ मनुष्यको जीवनमा किनकी मनुष्यका इच्छा, कामना, आकांक्षा तथा आशक्तिहरु असीमित र अन्त्यहिन हुन्छन् र यी इच्छाहरुको भोग गर्ने आशक्तिका कारण ऊ बारबार जन्म लिरहन्छ र जन्म–आकांक्षा–पिडा–मृत्युको चक्रमा घुमिरहन्छ ।
बौद्ध दर्शनको मूलज्ञानः चार आर्य सत्य र आर्य अष्टांगीक मार्ग
गौतम बुद्ध व्यवहारिक र प्रयोगात्मक अभ्यासहरुमा विश्वास राख्ने सुधारवादी(रिफरमेटीभ) प्रकृतिका व्यक्ति भएकाले मनुष्यको जीवनमा आइपर्ने सबैप्रकारका दुःख, पिडा तथा कुण्ठाहरुको सन्दर्भमा उनले लामो समय आन्तरिक र वाहिय रुपमा साधना, अध्ययन, अनुसन्धान गरेर, निकै गहिराइमा गएर सर्वकल्याणका लागि अत्यन्तै सह्रानिय हुने र उनीहरुका लागि जीवनका सबै दुःख, पिडा तथा कुण्ठाहरुबाट मुक्त हुने विधिहरुको खोज गरे र यस सन्दर्भमा उनले प्रयोगात्मक अभ्यासका धेरै प्रकारका प्रामाणिक कामहरु गरेर मनुष्यको जीवनमा आइपर्ने दुःख, पिडा तथा कुण्ठाहरुबाट मुक्त हुने विधिलाई मानव जीवन र समाजमा अत्यन्तै वैज्ञानिक तवरले प्रभावकारी हुनेगरि स्थापित गराए । उनले आफूले गरेको तपस्या तथा ध्यान साधनामा प्राप्त भएको परमज्ञानमा अनुभव गरे कि सारा संसार दुःखले भरिएको छ र मनुष्यहरुको सारा दुःख तथा पिडाहरुको मूल कारण उनीहरुको सांसारिक विषय भोगप्रतिको अन्त्यहिन अपेक्षा, कामना, इच्छा, आकांक्षा, तृष्णा तथा अति आशक्ति हो र यी अवस्थाहरुनै मनुष्यको शारीरिक तथा मानसिक स्वास्थ्य, सुख, खुशी, शान्ति, आनन्दका वास्तविक बाधक तथा शत्रुहरु हुन् । यी बाधा तथा शत्रुहरुलाई आफ्नो वसमा तथा नियन्त्रणमा राख्न सके मात्र मनुष्य पूर्णरुपमा आरोग्यता, सुख, खुशी, शान्ति, आनन्द, मुक्ति तथा निर्वाणमा उपलव्ध हुन सक्दछ । मुक्ति, मोक्ष तथा निर्वाण कुनै निश्चित क्षेत्र तथा भूगोल होइन स्वर्ग, बैकुण्ठ, गोलोक भनिदै आइएको जस्तो, यो मनुष्यले आफ्नो मन तथा भावको विशेष अवस्थामा गर्ने एकप्रकारको मनातीत तथा भावातीत अनुभव तथा अनुभूति हो र मनुष्यको शरीर, मन, भावना, वुद्धि तथा चेतनाको उच्चतम सकारात्मक अवस्था हो जहाँ कुनै प्रकारका दुःख, पिडा तथा कुण्ठाहरु शेष रहदैनन् र आफ्नो जीवनमा यो अवस्था प्राप्त गर्न कोही पनि मनुष्य मर्नु पर्दैन तथा मृत्यु कुर्नु पदैन ।
आफ्नो जीवनलाई हरप्रकारले सकारात्मक र विकसित बनाएर हरेक मनुष्य यही शरीरमा रहेर यही जीवनमा मुक्ति, मोक्ष, निर्वाण, स्वर्ग, वैकुण्ठ तथा गोलोकमा उपलव्ध हुन सक्दछ र यो क्षमता हरेक मनुष्यमा उत्तिकै सम्भावना सहित स्थित रहेको छ, प्रयास गर्ने र योग–ध्यान साधनालाई आफ्नो जीवनशैली बनाउने हरकोहीले प्राप्त गर्न सक्दछ किनकी बौद्ध धर्म तथा दर्शनमा कुनै श्रेष्ठ इश्वर, भगवान तथा देवी–देवताहरुको अस्तित्व स्वीकार गरिदैन, मानिदैन तथा मान्न भनिएको छैन र स्थापित गरिएको पनि छैन; कुनै अदृश्य विषय तथा शक्तिको पूजा–आराधना–ब्रत तथा विशेष प्रकारको कर्मकाण्ड आयोजना आदि गर्न र यसको परिणामस्वरुप जीवनका दुःख, पिडा तथा कुण्ठाहरुबाट मुक्ति मिल्छ, निर्वाण तथा मोक्षमा उपलव्ध भइन्छ भनेर अव्यवहारिक र अप्रामाणिक कुरा सिकाइएको छैन । मध्यमार्गी जीवनशैलीे अनुशरण गरेर आफू अनुशासित, चरित्रवान, नैतिकवान भएर, हरेक मनुष्यले आ–आफ्नो जीवनशैलीमा आवश्यक सुधार ल्याएर र आफ्नो जीवनयापन सहज बनाएर यही जीवनमा उसका चार मूल दुःख– (१)जन्म, (२)मृत्यु, (३)जरा, व्याधि र जीवनका अन्य दुःखहरु– शारिरीक तथा मानसकि अस्वस्थता, खराव सम्वन्ध, विपन्नता, अपमान, अषन्तोष–अस्वीकार–अशान्तिबाट मुक्त भएर शारिरीक तनदुरुस्ती, मनमा सकारात्मकता, एकाग्रता, विचार शुन्यता, आन्तरिक शान्ति तथा आनन्द हासिल गरेर निर्वाणको अवस्थामा उपलव्ध हुन सक्दछ ।
इस्वी संम्वत तेस्रो शताव्दीमा प्रतिपादन गरिएका बौद्ध धर्म तथा दर्शनका ग्रन्थहरुमा चार आर्यसत्य(फोर नोवल ट्रुथ) तथा चार प्रकारका दुःखहरु– (१)सर्वम दुःखं– जीवनमा दुःख छ, (२)दुःख समुदयं– दुःखको कारण छ, (३)दुःख निरोधं– दुःखको निरोध गर्न सकिन्छ, र (४)दुःख निरोधगामिनी प्रतिपदा– दुःख निवारणका उपायहरु छन् भन्ने ज्ञान, विज्ञानका विषयहरु उल्लेख गरिएका छन् र यससंगै मनुष्यको जीवनका यी चार आर्यसत्य तथा चार प्रकारका दुःखहरुको व्यवस्थित ढंगबाट समन तथा निवारण गर्ने अत्यन्तै प्रभावकारी उपायका रुपमा निम्न आठ प्रकारका आर्य अष्टांगीक मार्गहरु(एटफोल्ड नोवल पाथ)को उल्लेख गरिएको छ– (१)सम्यक दृष्टि(राइट भ्यु)– सही र गलतको पहिचान; (२)सम्यक संकल्प(राइट रिजोल्भ)– विषयभोगप्रति अनाशक्ति; (३)सम्यक वाणी(राइट स्पीच)– सत्य र मधूर बोलीवचन; (४)सम्यक कर्म(राइट एक्सन)– अहिंसक र करुणादायी कर्म; (५)सम्यक आजिविका(राइट लाइभलीहुड)– सदाचार र इमान्दारीको कमाइ; (६)सम्यक परिश्रम(राइट इफोर्ट)– सकारात्मक प्रयास; (७)सम्यक स्मृति(राइट माइन्डफुलनेस)– वर्तमानमा स्थित; (८)सम्यक समाधि(राइट कन्सनट्रेसन)– लक्ष्यप्रति एकाग्रता । सम्यक जीवनशैली अपनाउनु तथा मध्यमार्गमा रहेर जीवन जिउनु भन्नुको अर्थ कुनैपनि विषयप्रति न अति आशक्ति तथा झुकाउ न अति उदाषी तथा बेवास्ता गर्नु हो, विचमा रहेर त्यसको उपयोग गर्नु र आफू र अरुलाई समेत सक्दो लाभ पुर्याउने प्रयत्न गर्नु हो । मनुष्यले यी आठ प्रकारका मध्यमार्गी तथा सम्यक मार्गहरुलाई निष्ठापूर्वक अनुशरण गरेर जीवनका हरेक अवस्था तथा परिस्थितिहरुमा आफूलाई अनुशासित बनाउन सक्यो भने उसको जीवनबाट दुःख, पिडा तथा कुण्ठाहरु स्वतः कम भएर जान्छन् र ऊसले आफ्नो जीवनमा शारिरीक तनदुरुस्ती, मनमा सकारात्मकता, एकाग्रता, विचार शुन्यता, आन्तरिक शान्ति तथा आनन्द हासिल गरेर सहज, सरल, सन्तुलित, व्यवस्थित तथा विकसित जीवन निर्माण गर्न सक्दछ । ब्राम्हणवादका अनुयायीहरु ब्राम्हण, पंडित तथा पुरोहितहरुले आमरुपमा सर्वसाधारण मानिसहरुको मन, भावना, वुद्धि, चेतनामाथि समवेदनशील प्रभाव पारेर लाद्दै आइरहेका अन्धविश्वासमा जकडिएका संस्कार, संस्कृति तथा परम्पराहरुको अनुशरणले जीवनबाट दुःख, पिडा तथा कुण्ठाहरु कसैगरि पनि कमगर्न सकिदैन । निष्ठापूर्वक अष्टांगीक मार्गको अनुशरण गरेर मात्र मनुष्य मोक्ष तथा निर्वाणतर्फको मार्गमा उन्मुख हुन सक्दछ र स्वर्ग, वैकुण्ठ तथा गोलोक भनिएको आन्तरिक शन्ति तथा आनन्दको अनुभूति यही शरीरमा रहेर यही जीवनमा नै फलित हुन सक्दछ आफ्नो शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक तथा चेतनात्मक सन्तुलन, व्यवस्थापन तथा विकासका रुपमा । यिनै विषहरु नै बौद्ध धर्म तथा दर्शनका मूलसार तथा सबैभन्दा ठूला र महत्वपूर्ण शिक्षा, ज्ञान तथा विज्ञान थिए र हुन् जुन मध्यमार्ग(मिडिल पाथ)मा आधारित रहेका छन् ।
आफ्नै प्रयासबाट आफ्नो जीवन सहज बनाएर जीवनमा आइपर्ने सबै प्रकारका दुःख, पिडा तथा कुण्ठाहरुबाट मुक्त गर्ने यही महत्वपूर्ण विधि र यसको ज्ञान, विज्ञानको कारणले नै बौद्ध धर्म तथा दर्शनलाई विश्वका अरु धर्म तथा दर्शनहरुबाट फरक किसिमको विशेषता तथा मूल्य–मान्यतामा आधारित रहेको अगल धर्म तथा दर्शनको रुपमा विश्व समाजमा स्थापित गरेको छ । बौद्ध धर्म तथा दर्शनले यी सबै सर्बकल्याणकारी मूल्य–मान्यताहरुलाई हरेक व्यक्तिले आफ्नो जीवनमा अनुशरण गर्नुनै पर्ने पंचशील(कोड अफ कन्डक्ट)का रुपमा अपनाएको छ– (१)हिंसा नगर; (२)अरुको धनको कामना नगर; (३)मादक तथा लागु पदार्थ सेवन नगर; (४)असत्य नबोल; (५)व्यभिचारबाट दुर बस । बौद्ध दर्शनले यसप्रकारका सुधारात्मक शिक्षा, ज्ञान, विज्ञानहरु मार्फत सबैलाई अनुशासित, नैतिकवान, चरित्रवान। कर्मवान बन्न प्रेरित गर्दै हरप्रकारले आफ्नो जीवनशैली सहज र सरल बनाएर यही जीवनमै निर्वाणमा उपलव्ध हुनसक्ने मान्यतालाई वैज्ञानिक तवरले प्रामाणिक रुपमा स्थापित गरेको छ । यीनै मानवीय, सम्यक तथा मध्यमार्गी, व्यवहारिक, समानता, सम्मान, शान्ति, सदभाव, समभाव, सहिष्णुता, करुणा आदि फरक प्रकारका सबैकालागि अत्यन्तै उपयोगी हुने मूल्य–मान्यताहरु भएकै कारण बौद्ध धर्म तथा दर्शन वैश्विक धर्म तथा चिन्तन बन्न सफल भएको छ र विश्वभरि वर्तमान समयसम्म पनि यसको प्रचार र विस्तार तिब्रगतिमा हुदै आइरहेको छ । बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तार हुने क्रमको गति अझ तिब्र देखिदै गएको र वर्तमान समयमा वैश्विक बन्दै गैरहेको सन्दर्भलाई केही दशक यता विश्वकै छाता संगठन तथा सबै देशहरुको केन्द्र सरकार मानिने संयुक्त राष्ट्रसंघले पूर्वीय दर्शनका यस्ता वहुमूल्य ज्ञान तथा विज्ञानका विषयहरुलाई सारा जगतको कल्याणकालागि पूर्ण मान्यता र प्राथमिकता दिदै अन्तरराष्ट्रिय योग दिवस, विश्व ध्यान दिवस, अन्तरराष्ट्रिय आरोग्य दिवस आदिको घोषणा गरेर अझ सार्थकता प्रदान गरेको विषयले पुष्टी गरिरहेको छ । बौद्ध धर्म तथा दर्शनले प्रदान गरेका शिक्षा, ज्ञान, विज्ञान, अनुशासन, जीवनपद्धति आदिका विधि, प्रक्रिया, पद्धति, सिद्धान्त र मूल्य–मान्यताहरु संसारका अरु धर्म तथा दर्शनहरुमा पनि छन् तर बौद्ध धर्म तथा दर्शनले जसरी आफूमा तथा आफ्नो जीवनमा नितान्त व्यक्तिगत तवरले अन्तरयात्राको माध्यमबाट अनुशरण गर्न जोड दिएको छ र व्यवहारिक अभ्यासका उपायहरु सिकाएको छ त्यसरी अरु धर्म तथा दर्शनहरुले प्रेरित गर्न सकेका छैनन् । आफ्नो जीवनशैलीमा सुधार ल्याएर जीवनमा आइपर्ने सबैप्रकारका दुःख, पिडा तथा कुण्ठाहरुबाट मुक्त हुन बौद्ध धर्म तथा दर्शनले अत्यन्तै प्रभावकारी ढंगले संसारका मनुष्यको जीवनशैली लगायत सबै प्राणी, वनस्पति, पदार्थहरु तथा समुच्चा प्रकृतिलाई अत्यन्तै उपयोगी हुने प्रकारका व्यवहारिक मूल्य–मान्यताहरु प्रस्तुत गरिरहेको छ र अझै पनि बौद्ध दर्शनलाई अझ उपयोगी र सबैकालागि व्यवहारिक बनाउन सक्ने प्रयत्नहरु गरिदै आइरहिएको छ युग सान्दर्भिक हुने किसिमले किनकी बौद्ध धर्म तथा दर्शनले सबैभन्दा उच्च तहमा मनुष्यको खुशी, शान्ति, सबैप्रति करुणा र आपसी सदभावलाई केन्द्रमा राख्दै आइरहेको छ ।
छिट्टै,
@बुद्धको महापरिनिर्वाण र बौद्ध दर्शन व्यवस्थापनका श्रृंखलाहरु
(चारवटा प्रमुख बैठकहरु र चारवटा प्रमुख शाखाहरु)
No comments:
Post a Comment