डा. सिर्जना भण्डारी
(३)स्थानीय पालि भाषा तथा लिपि छोडेर संस्कृत भाषामा अंगाल्नु
बौद्ध धर्म तथा दर्शन आफ्नो मूलभूमि नेपाल र भारतबाट पतन हुनुमा अर्को प्रमुख कारण भाषा परिवर्तन रहेको उल्लेख गरिएको छ । तत्कालीन समयमा वैदिक आस्थामा रचिरहेको समाजमा भैरहेका सामाजिक अव्यवस्थाका विषयहरुको विरोध गर्दै बौद्ध धर्म तथा दर्शनले ठूलाठूला कठिनाइ तथा चुनौतिहरु खडा गरिदिएपछि त्यसको सहि ढंगले सामना गर्न वैदिक धर्म तथा दर्शनमा तत्कालीन समय सान्दर्भिक हुने किसिमले व्यवापक रुपमा समाज सुधारका आवश्यक रणनीतिहरु ल्याइए र समाज रुपान्तरण गर्ने उद्देश्यकासाथ व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउन प्रारम्भ गरिए । आम सर्वसाधारणहरुको सहजताका लागि स्थानीय रुपमा समाजमा सुधारका काम गर्ने वैदिक अनुयायीहरुकोे बाक्लो उपस्थिति गराएर सुधारका रणनीतिहरु व्यवहारिक रुपमा कार्यान्वयन गर्न थप जोड दिइयो । वैदिक धर्म तथा आस्थाका अनुयायीहरुले समाज सुधारका गतिविधिहरु प्रारम्भ गरेपछि तत्कालीन सामाजिक अव्यवस्थालाई टेकेर विस्तार भएका बौद्ध भिक्षु, बौद्ध संघ तथा बौद्ध मठहरुको महत्व कम हुदैगयो र विस्तारै ओझेलमा पर्दैगए तथा दुर हुदै गए आम सर्वसाधारण, समाज तथा स्थानीय ग्रामीण क्षेत्रहरुबाट । यसक्रममा ठूला तथा मुल भिक्षुहरु पनि स्वस्फुर्त रुपमा समाजका मुख्य व्यक्तिहरुबाट दुर हुदैगए । यस पश्चात वैदिक धर्म तथा आस्थाका अनुयायीहरुले बौद्ध धर्म तथा दर्शनले व्यवहारिक तथा प्रयोगात्मक रुपमा प्रयोगमा ल्याइरहेको आम सर्वसाधारणहरुले बोल्ने पालि भाषा खारेज गरिदिए र फेरी संस्कृत भाषालाई नै पुनःस्थापित गरे सबैप्रकारका सांस्कृतिक, परम्परागत तथा सामाजिक गतिविधिहरुमा । समाजमा ल्याइएको सुधारसंगै खासगरि पालि भाषाको खारेजी र संस्कृत भाषाको वापसीको अभियानबाट संस्कृति, परम्परा, कर्मकाण्ड, उत्सव, महोत्सव सबै संस्कृत भाषामै हुन प्रारम्भ भएपछि आम सर्वसाधरणहरु फेरी उही वैदिक परम्परामा फर्किए र बौद्ध परम्पराका गतिविधिहरु स्वस्फुर्त कम हुदै गए र विस्तारै बौद्ध धर्म तथा आस्था आम सर्वसाधारण र स्थानीय क्षेत्रहरुबाट ओझेलमा पर्दैगयो ।
यस अभियानमा थप बल स्वयं बौद्ध धर्म तथा दर्शनको सबैभन्दा ठूलो शाखाले नै पुर्यायो । गौतम बुद्धको महापरिनिर्वापछि लगत्तै दुई शाखा– (१)हिनयान र (२)महायानमा विभाजित भएको बौद्ध धर्म तथा दर्शनको महायान शाखाले पहिलो शताव्दीको प्रारम्भदेखि नै गौतम बुद्धलाई इश्वरको अवतार पुरुष मानेर बुद्धको मूर्ति पूजा गर्न प्रारम्भ गरे । वैदिक अनुयायीहरुले यही अवस्थालाई थप बल प्रदान गर्न र आम सर्वसाधारणहरुमा वैदिक धर्मको सकारात्मक छाप बसाउन संस्कृत भाषामा रचना गरिएका वैदिक पुराण तथा ग्रन्थहरुमा गौतम बुद्धलाई भगवान श्रीहरि विष्णुको अवतारको रुपमा मान्यता प्रदान गरे । यो विषय बौद्ध धर्म तथा दर्शनको प्रमुख विचारधारा, मूल्य–मान्यता र स्वयं गौतम बुद्धको चाहनाको विरुद्धमा थियो किनकी वैदिक धर्ममा व्याप्त मूर्ति पूजा तथा भगवानवादकै विषयलाई विरोध गरेर र त्यसमा सुधार गरेर समाज व्यवस्थापन गर्ने भनिएको थियो तर त्यही कर्म बौद्ध मार्गीहरु स्वयंले गर्नथालेपछि बैदिक धर्मलाई आफ्नो मत समाजमा स्थापित गराउन अझ सहज भयो र सहयोग मिल्यो । यो अवस्थाको प्रत्यक्ष प्रभावका कारण बौद्ध धर्म तथा दर्शनको परम्परागत मूल्य–मान्यता पछ्याइरहेको मूल शाखा हिनयान अल्पमतमा पर्यो र वैदिक परम्परासंग नजिक रहेको महायान शाखाको अनुशरण र विस्तार समाजमा बढ्दै गयो ।
बौद्ध धर्म तथा दर्शनलाई ओझेलमा पार्न तथा पतन उन्मुख बनाउन संस्कृत भाषा पुनः अनुशरणको अर्को महत्वपूर्ण प्रभाव तव देखियो जव ठूला-ठूला बौद्ध भिक्षुहरु स्वयंले पालि भाषा तथा लिपि छोडेर संस्कृत भाषा तथा लिपि अपनाए । समाजमा बौद्ध विचारधाराको विस्तार भैरहेको प्रारम्भिक अवस्थामा सर्वसाधारणको मार्का बुझ्न; उनीहरुलाई जटिल भाषा संस्कृतमा लेखिएका वैदिक ग्रन्थहरुमा उल्लेखित जन्म–मृत्यु, स्वर्ग–नर्क, पाप–पुण्य, मुक्ति–मोक्ष, कर्मकाण्ड, संस्कृति, परम्पराका विषयहरु जस्ताको तस्तै सहज ढंगले सम्झाउन तथा बुझाउन; बौद्ध धर्म तथा दर्शनका विषय, भाव, नियत तथा मूल्य–मान्यताहरु सहज ढंगले सम्झाउन सबै सर्वसाधारणहरुले बोल्ने तथा बुझ्ने स्थानीय पाकृत अर्थात पालि भाषाको प्रयोग गरिएको थियो र यसको प्रभाव र परिणाम निकै सकारात्मक र उपलव्धिमूलक आएको थियो । तर पछिपछि विस्तारै बौद्ध भिक्षुहरु ज्ञानी, विद्ध्वान हुदैगए, उनीहरु वैदिक धर्ममा आस्था राख्ने ब्राम्हण र दरबारीयाहरुसंग संस्कृत भाषामा शास्त्रार्थ(डिवेट) गरेर आफूलाई पनि ज्ञानवान र संस्कृत भाषा, ग्रन्थहरुको अध्ययनमा अव्वल देखाउन तथा आफूलाई पनि वौद्धिक रुपले श्रेष्ठ देखाउन तथा सावित गर्न संस्कृत भाषा तथा लिपि पढ्न तथा पढाउन थाले र पालि भाषा तथा लिपिको प्रयोग गर्न छाडे । यसरी विस्तारै बौद्ध धर्म तथा दर्शनमा पनि ज्ञान लिने र दिने विषयमा पुनः संस्कृत भाषानै हावी हुदै गयो, बौद्ध विश्वविद्यालयहरुमा संस्कृत भाषा र लिपिमै अध्ययन गर्ने, गराउने, लेख्ने, लेखाउने परम्परा बसालियो र पालि भाषा तथा लिपिको प्रयोग कम हुदैगयो । यसप्रकार सबैतिरबाट विस्तारै स्थानीय प्राकृत तथा पालि भाषा तथा लिपि छुट्दै गयो र यसको परिणाम स्वरुप विस्तारै बौद्ध धर्म तथा दर्शन नै आम सर्वसाधारणबाट तथा स्थानीय क्षेत्रहरुबाट ओझेल पर्दैगयो र पुनः वैदिक धर्म, आस्था, भाषा, कला, संस्कृति समाजमा हावी हुदै जानथाल्यो । बौद्ध मठ, मठाधिस तथा भिक्षुहरुले आम सर्वसाधारणको भाषा तथा जीवनशैली छोडे, उनीहरुको समस्या तथा गुनासाहरु सुन्न छोडे र कुलिन, सामन्त तथा दरबारीया वर्गहरुको भाषा र जीवनशैली अपनाउन प्रारम्भ गरे । यसप्रकार आम सर्वसाधारणहरुको मन, मस्तिष्कबाट उत्रिदै गएका बौद्ध मठ, मठाधिस तथा भिक्षुहरु र बौद्ध धर्म तथा दर्शन आफ्नै मूलभूमिबाट पतन हुने अवस्थामा पुग्यो ।
तत्कालीन समयमा संस्कृत आम मानिसहरुको बोलचाल तथा लेखपढको भाषा थिएन, संस्कृत जटिल भाषा तथा लिपि थियो । आम मानिसहरु आफ्नो समस्या लिएर बौद्ध मठमा समाधान तथा न्याय पाउन जान्थे उजुरी लिएर प्रारम्भिक समयमा बौद्ध संघहरुले न्याय दिलाएको जस्तै आशा लिएर तर ठुला, संस्कृत पढेका, ज्ञानी तथा विद्ध्वान भिक्षुहरु सर्वसाधारण जनताहरुको समस्या सुल्झाउनुको साटो ब्राम्हणहरुले झैं संस्कृत भाषामा संस्कृत ग्रन्थहरुमा उल्लेख भएका ठूलाठूला आदर्श छाँट्थे उनीहरुले नबुझ्ने गरि र उनीहरुलाई अझ रुमल्याएर फर्काउन थाले । पछिपछि विस्तारै बौद्ध मठमा, बौद्ध विश्वविद्यालयहरुमा संस्कृत भाषा तथा लिपिमा अध्यन, अध्यापन गराउन प्रारम्भ गरियो र बौद्ध धर्म तथा दर्शनका ग्रन्थहरु संस्कृत भाषा तथा लिपिमा पढाइन र लिपिवद्ध गरिन प्रारम्भ गरियो । इशाको सातौं शताव्दीमा बौद्ध धर्म तथा दर्शनबारे गहन सोध–खोज गरेर थप जानकारी लिनकालागि चीनबाट भारत आएका चीनिया यात्री तथा महान बौद्ध भिक्षु हुएनसांगले नालन्दा विश्वविद्यालय लगायत नेपाल र भारतका अरु शैक्षिक संस्थाहरुमा १६ वर्ष अध्ययन गरेर फर्कदा आफूसंग संस्कृत भाषा तथा लिपिमा लेखिएका ६०० बौद्ध ग्रन्थहरु २० वटा घोडामा बोकाएर लिएर गएको इतिहासमा उल्लेख रहेको छ । यो ऐतिहासिक प्रामाणिक विषयले तत्कालीन समयमा भाषा परिवर्तन गरेको तथ्यलाई प्रमाणित गर्दछ ।
स्थानीय पालि भाषा तथा लिपिको त्यागको सबैभन्दा ठूलो नकारात्मक प्रभाव आम सर्वसाधारणको बौद्ध धर्म तथा दर्शनसंगको जुडावमा पर्नगयो । आम सर्वसाधारणहरुकै आड र भरोसामा विस्तार भएको र फरक मतको पहिचान बनाएर अलग अस्तित्वमा स्थापित हुन सफल भएको बौद्ध धर्म तथा दर्शन आफू स्वयंले नै सर्वसाधारणहरुलाई छोड्यो तथा त्याग गर्यो उनीहरुको भाषा तथा लिपि परित्याग गरेर पुनः संस्कृत भाषा तथा लिपि अपनाएर । यसप्रकार बौद्ध मठ तथा संघ र बौद्ध भिक्षुहरुबाट दुरी बढ्दै गएपछि बौद्ध धर्म तथा दर्शन अनुशरण गर्ने ग्रामीण क्षेत्रका आम सर्वसाधारणहरुको जीवनशैली पुस्तान्तरण संगै विस्तारै वैदिक धर्मका अनुयायीहरु सरह हुदैगयो र तत्कालीन समयमा समाजमा गहिरोसंग जरा गाडेको वैदिक धर्म तथा आस्थाका संस्कृति तथा परम्परा अनुसार नै उनीहरुका जन्म, मृत्यु, विवाह, उपनयनका संस्कारहरु गरिन प्रारम्भ गरिए र सबै विधि तथा कर्मकाण्डहरु ब्राम्हण तथा पुरोहितहरुबाट नै गराउन प्रारम्भ भयो । किनकी ब्राम्हण तथा पुरोहितहरु ग्रामीण तथा स्थानी क्षेत्रहरुमै एकैसाथ बस्थे, मठाधिस तथा भिक्षुहरु जस्तो अलग्ग स्थानमा तथा शहरमा बस्दैनथे । प्रारम्भिक समयमा भन्दा ठिक विपरित अवस्था बन्दैगयो समाजमा, प्रारम्भमा ब्राम्हण तथा पुरोहितहरु आम सर्वसाधारणहरुसंग ठूलो–ठालु तथा सामन्तको व्यवहार गर्दथे तर पछिपछि यो भूमिकामा बौद्ध भिक्षुहरु देखिन थाले किनकी ब्राम्हणहरुले आफूलाई समयको माग अनुसार समय सान्दर्भिक हुनेगरि सुधार गर्दै लगेका थिए तर पछि यसको ठिक विपरित अवस्था बन्यो, बौद्ध मठ, मठाधिस तथा भिक्षुहरु ठूलो–ठालु तथा सामन्तको व्यवहार गर्न लागे र विस्तारै गौतम बुद्धको मूल मार्ग छोडेर अर्कै असामाजिक मार्ग पक्डिदै गए । फलस्वरुप विस्तारै बौद्ध मठ तथा बौद्ध भिक्षुहरु आम सर्वसाधारणहरुको जीवनचक्रको हिस्सा बन्न छोडे, यो अवस्थालाई बौद्ध धर्म तथा दर्शनका चुनौतिहरुको इतिहासमा तीन पिढीको चुप्पी तथा मौन विस्मृति भनिएको छ । तत्कालीन समयमा परिवार समाजमा यसप्रकारको चुप्पी तथा मौनता यतिविधि छायो कि बौद्ध धर्म तथा दर्शनको सन्दर्भमा मौन विस्मृतिका कारण हजूरबा–आमाको पुस्तामा रहेको बौद्ध धर्म तथा दर्शनको अनुशरण नाती–नातिनीको पुस्तामा आइपुग्दा पूर्णतः लोप तथा विलय भएर वैदिक धर्म तथा संस्कृतिमा स्वस्फुर्त रुपमा रुपान्तरण भयो र आफ्नै जन्मभूमिबाट बौद्ध धर्म तथा दर्शन पतनको अवस्थामा पुग्यो ।
(४)बौद्ध धर्मको मूल दर्शन राम्ररी अध्ययन नगर्नु
बदलिदो समय क्रम तथा युग परिवर्तनसंग आस्था, विश्वास, परम्परा, रहनसहन आदि परिवर्तन हुदै जान्छन् र समय तथा युगको वहावसंग विगतको तुलनामा विलकुल फरक बन्दै जान्छन् र तिनको अर्थ तथा परिभाषामा समेत विविधता आउदै जान्छ । यसरी संस्कार तथा संस्कृतिहरु फरक हुदै गएर अलमलको अवस्था सिर्जना हुन पुग्दछ खासगरि नयाँ पुस्ताहरुका लागि । यस्तो अवस्थामा चलिरहेका संस्कृति तथा परम्पराहरु वास्तविक हुन् कि अन्धविश्वास हुन् भन्ने दुविधा हुनजाने हुनाले धार्मिक आस्थाका संस्कृति तथा परम्पराका वास्तविक मूल्य–मान्यताहरु विस्तारै समाजबाट छुट्दै जान्छन् र गलत प्रकारले अनुशरण्न गर्न तथा मनाउन प्रारम्भ गरिन्छन् । यसो हुनु मानव सभ्यता विकास तथा परिवर्तनको सामान्य तथा प्राकृतिक अवस्था हो किनकी समयक्रमा ढिलोचाँढो सबै प्रकारका धर्म, दर्शन तथा आस्थाहरुमा धेरथोर बदलाव तथा परिवर्तनहरु आउछन् । नकारात्मक सिकिमले आमुल फरक पर्नेगरि यसप्रकारका परिवर्तित अवस्थाहरु आउन नदिन धर्म तथा आस्थाका दर्शनमा मूल ग्रन्थहरुलाई नै पूरापूर बुझ्ने गरि अध्ययन गर्नु तथा गराउनु अत्यावश्यक हुन्छ । बौद्ध धर्म तथा दर्शनले आफ्ना अनुयायीहरुलाई आफ्नो धर्म तथा आस्थाका मूल सिद्धान्त तथा मूल्य–मान्यताहरु सिकाउदै जाने परिपाटी बसाल्नु पर्नेथियो तर यस्तो परिपाटी बसालिएन र सबै गतिविधिहरु मठबाट नै भिक्षुहरुले गरिदिने प्रचलन बढाउदै लगियो र यसको परिणामस्वरुप बौद्ध अनुयायीहरु बौद्ध धर्म तथा आस्थाको सन्दर्भका सबै गतिविधिहरुमा पर्याप्त जानकार हुन सकेनन् । यसरी समयक्रमसंग आम मनुष्य लगायत भिक्षुहरु समेतमा बौद्ध दर्शनका शास्त्रहरु पढ्ने तथा पढाउने र व्यवहारमा अनुशरण गर्ने प्रचलन हराउदै गएको कारण बौद्ध धर्म तथा दर्शनका कतिपय विषय तथा मूल्य मान्यताहरुको मूलसार अप्रभंस भएर गलत प्रकारले निरन्तरता लिदैगयो, धेरै प्रकारका शाखाहरुमा विभाजन भयो, सबै शाखाले आ–आफ्नै प्रकारले बौघ धर्म, आस्था तथा दर्शनको परिभाषा गरे र बौद्ध संस्कृति पूर्णतः गौतम बुद्धको विचारधारा तथा दर्शनको मूल भावबाट वाहिर गैरह्यो र यस्तो अवस्थाले बौद्ध धर्म तथा दर्शनलाई पतन उन्मुख गरायो र लोपको संघारमा पुर्यायो । खासगरि गौतम बुद्धको महापरिनिर्वाण अर्थात देहाबसानपछि बौद्ध धर्म तथा दर्शन धेरै शाखाहरुमा विभाजित भएको कारणले गर्दा बौद्ध अनुयायीहरुमा यसप्रकारको मूल ज्ञानको अलमल तथा अभाव भएको देखिएको थियो ।
यसको विपरित वैदिक धर्म तथा आस्थाका साना–सानादेखि ठूला–ठूला सांस्कृतिक तथा कर्मकाण्डका सबै प्रकारका गतिविधिहरु वैदिक अनुयायीहरु स्वयंले आफ्ना घर–घरमा आयोजना गर्दथे, केही विशेष प्रकारका संस्कारहरुमा पंडित तथा पुरोहितहरुको आवश्यकता हुन्थ्यो र उनीहरु स्थानीय क्षेत्रहरुमै सहजै उपलव्ध हुन्थे । यस्तो अवस्थामा वैदिक धर्मका अनुयायीहरुका लागि वैदिक दर्शन तथा मुल शास्त्रहरुको अलग्ग अध्ययन गर्नु त्यति आवश्यक हुदैनथ्यो किनकी यी गतिविधिहरुनै दर्शन शास्त्रहरुको अध्ययन तथा अनुशरण गरे सरह हुने गर्दथे । विहान साँझ नियमित गरिने पांचायन पूजा साथै अन्य आस्थाका पूजा–पाठ, धूप–दीप–आरती, कर्मकाण्डका उत्सवहरु, वर–पिपल, भौतारी, देउराली, पानीको मुहान सबैको पूजा गर्दथे नियमित रुपमा तर बौद्ध धर्म तथा दर्शनका सबै गतिविधिहरु बौद्ध मठ, मठाधिस तथा भिक्षुहरु रहेका स्थानहरुमा मात्र हुन गर्दथे, भिक्षुहरुले नै सबै गरिदिन्थे, सर्वसाधारणहरुको व्यक्तिगत भूमिका त्यति हुदैनथ्यो । यस्तो अवस्थाका कारण बौद्ध धर्म तथा आस्था सर्व साधारण मानिसहरुको मन, मस्तिष्कमा त्यति गहिरोसंग स्थापित हुन सकेन । तत्कालीन समयमा राजनीतिक परिस्थिति असहज भएकाले बौद्ध मठ तथा भिक्षुहरु आर्थिक, सामाजिक आदि विभिन्न कारणहरुले शंकटमा पर्दैगए र यसको परिणामस्वरुप शहर केन्द्रित हुदै जानथाले र त्यसमाथि अझ आन्तरिक तथा वाहिरी हमलाकारीहरुले बौद्ध मठहरु ध्वस्त गरिदिएपछि तथा ठूलो संख्यमा भिक्षुहरुको हत्या गरिदिएपछि मठ तथा भिक्षुहरुसम्म सर्वसाधारणहरुको पहुच विस्तारै का तथा कमजोर हुदै जानथाल्यो । यस्तो शंकटको परिस्थितिमा बौद्ध धर्म तथा दर्शनका गतिविधिहरु आम जनसाधारणहरु आफैंले आयोजना गर्न जानेनन् तथा सकेनन् र उनीहरु चाहेर तथा नचाहेर उनीहरुका जन्मदेखि मृत्युसम्मका संस्कारहरु वैदिक आस्थाका विधिहरु अनुसार गर्न तथा गराउन थाले अर्थात फेरी वैदिक धर्म तथा आस्थातिर नै झुकाउ राख्दै जानथाले । यसप्रकार बौद्ध धर्म तथा दर्शनका गतिविधिहरु स्वस्फुर्त रुपमा कम तथा बन्द हुदैगए र अपर्याप्त व्यवहारिक अनुशरणमा आएको कमीका कारण बौद्ध धर्म तथा दर्शन मूलभूमिबाट पतन उन्मुख हुदै जानथाल्यो ।
(५)राज्य सत्ता र ब्राम्हणवादसंग सम्भौता
व्यक्ति सम्पन्न भएपछि उक्त सम्पन्नतालाई निरन्तरता दिन सम्पन्नता आउने श्रोतप्रति नरम रहनु पर्दछ र सम्पन्नता कायम राखिराख्न धेरैसंग धेरै प्रकारका सम्भौताहरु पनि गर्नुपर्दछ । तत्कालीन समयमा बौद्ध मठ तथा बौद्ध भिक्षुहरुलाई आर्थिक दान दिएर उनीहरुलाई आर्थिक रुपले सम्पन्न तथा हरप्रकारले समृद्ध बनाउने राजा तथा राज्यहरु थिए । राजा तथा राज्यहरुले विभिन्न क्षेत्रका गाउँहरु पुरै दानमा दिएका थिए । गाउँका सम्पूर्ण जमीनदारी, उब्जनी, लगान, वस्तुभाउ, कर लगायतका सबै आर्थिक कारोबारहरु बौद्ध मठ तथा बौद्ध भिक्षुहरुले आफ्नो स्वामित्वमा लिएर आफ्नो किसिमले उपयोग गर्नेगरि स्वतन्त्रता दिएका थिए । ठूलो धनराशि उठ्ने ग्रामीण क्षेत्रका सबैप्रकारका अधिकारहरु पाएपछि बौद्ध भिक्षुहरुकै विचमा विस्तारै जमीनदारी, वर्ग विभेद, उच–निचका तहहरु देखिनथाले ।
यस्तो परिस्थितिमा बौद्ध भिक्षुहरुका लागि सबैभन्दा अप्ठ्यारो अवस्था हुने गथ्र्यो राजा तथा राज्यका सबै प्रकारका प्रस्तावहरु मान्नुपर्ने अवस्था र अझ अर्को मुस्किलको विषय हुने गथ्र्यो राजाका सल्लाहकार, राज पुरोहित तथा धार्मिक विषयहरुमा निर्णय लिने उच्चपदस्थ व्यक्तिहरु सबै वैदिक धर्मका अनुयायी ब्राम्हणहरु हुने गर्दथे । त्यसमाथि पनि अझ अर्को सबैभन्दा मुस्किलको विषय थियो वैदिक धर्मका कट्टर ब्राम्हणहरु कहिल्यै पनि अवैदिक बौद्ध धर्म तथा विचारधाराप्रति सकारात्मक थिएनन् । सल्लाहकार तथा राज पुरोहित तथा धार्मिक विषयहरुमा निर्णय लिने उच्चपदस्थ व्यक्तिहरु मार्फत राजाहरुबाट आएका दबावहरु मान्न बौद्ध भिक्षुहरु बाध्य हुन्थे तथा बाध्य पारिन्थे विभिन्न प्रकारले । यस्ता दबावपूर्ण परिस्थितिहरुमा बौद्ध संघ, मठ, मठका मठाधिस तथा भिक्षुहरुले आफ्ना पथप्रदर्शक गौतम बुद्ध र बौद्ध धम्म(धर्म) तथा संघहरुको मूलभावप्रति उदाषिन तथा कठोर हुन र ब्राम्हणहरुको माग तथा दबावप्रति नरम हुनथाले । बौद्ध धर्म तथा दर्शनका मूल्य–मान्यताहरु र समाज व्यवस्थापन क्रान्तिकारी विचार तथा भावहरु आम मानिसहरुमा र समाजमा कार्यान्वयन नगर्न बाध्य गराइए । यस्तो दबावको परिस्थिति बौद्ध भिक्षुहरुले झेल्न सकेनन् र यी विषयहरुमा आफू चुपचाप रहने, नबोल्ने तथा अन्याय विरुद्ध आवाज नउठाउने भनेर ब्राम्हणहरुसंग सम्भौता गरे । ब्राम्हणहरुको मूल उद्देश्य सदाकाल यही रहदै आएको थियो कि बौद्ध भिक्षुहरुलाई कसरी आम सर्वसाधारणहरुको दैनिकी र समाजका गतिविधिहरुबाट दुर राख्ने भन्ने र यो अवस्था उनीहरुकालागि सहि अवसर थियो । यसप्रकारको सम्झौता र सम्भौताको बाध्यताका कारण आफू बाधिएकाले बौद्ध भिक्षुहरुले बौद्ध धर्म तथा दर्शनको मूल्य–मान्यता, मूल लक्ष्य, नारा तथा विचारधारालाई कार्यान्वयनमा ल्याउन छाडे र सर्वसाधारणहरुबाट दुरी बनाउदै लगे । यसपश्चात बौद्ध मठ, मठाधिस तथा भिक्षुहरुको काम सिर्फ राजाहरुले आर्थिक दान गरेका गाउँका जमीनको उब्जनी, लगान, कर आदि उठाउनु र खाएर बस्नुमा मात्र सीमित हुनलाग्यो । यस्तो सम्भौतामा बाधिएपछि बौद्ध संघ, मठ, मठाधिस तथा भिक्षुहरुले पूर्णतः आफ्नो आवाज दबाउन थाले, सामाजिक अव्यवस्थामा भैरहेका अन्याय, अत्याचार, अनैतिकता, विभेद, दमन, जाति–लिंग–वर्ग, वलिप्रथा तथा अन्य प्रकारका समाजिक अव्यवस्था तथा असहिष्णुताहरुको समेत विरोध गर्न छाडे, सर्वसाधारणहरुबाट अलग रहनथाले, उनीहरुको मार्का तथा गुनासो सुन्न छाडे र विस्तारै–विस्तारै उही पुरानै ब्राम्हणवादी विभेदित र शोषणयुक्त सामान्ती प्रथाको हिस्सा बन्न पुगे । यसरी समृद्धिको लोभ र मोहमा बदलिदै गएको बौद्ध भिक्षुहरुको अवस्था आम मानिसहरुको नजरमा र समाजको नजरमा बौद्ध भिक्षुहरुको हैसियत पनि उही भ्रष्ट ब्राम्हण, पुरोहित, पंडितहरु सरहनै भयो । तर विडम्वना यसअघि सामाजिक अव्यवस्था तथा अन्यायका विषयहरुको विरोधमा र आम सर्वसाधारणहरुको न्यायको समर्थनमा ब्राम्हण समाज विरुद्ध लडेका बौद्ध भिक्षुहरु स्वयं नै ब्राम्हण समाजको हिस्सा बन्नपुगे । यसपश्चात मठका ढोका, तथा झ्यालहरु आम सर्वसाधारण मानिसहरुको न्यायको लागि बन्द भयो र मठका भित्ताहरु क्ेवल भित्ता मात्र नभएर आम सर्वसाधारण मानिसहरु र बौद्ध मठ, मठाधिस तथा भिक्षुहरुविचको दुरी बढाउने पर्खाल बन्नपुगे । यसप्रकारको दुरी भौतिक मात्र नभएर वैचारीक, भाषिक र संवादको बन्दैगयो र यो झन–झन फराकिलो हुदै गयो ।
राजा र राज्यहरुबाट आर्थिक सहयोग पाइरहनकालागि राजा र ब्राम्हणहरुसंग गरिएका सम्झौताहरु– (१)पालि भाषा छोडेर संस्कृत भाषालाई निरन्तरता दिने सम्भौता; (२)आम सर्वसाधारणहरुलाई वैदिक संस्कारहरु निर्वाध रुपमा मान्न दिने सम्भौता; (३)ब्राम्हणहरुसंग मिलेर तथा सामन्जस्य भएर बस्ने सम्झौता; (४)ब्राम्हणहरुले गरेका धार्मिक निर्णयहरु विरुद्ध आवाज नउठाउने सम्भौता आदि प्रमुख थिए । यिनै सम्भौताहरुका कारण बाध्य भएर राजा तथा राज्यहरुबाट प्राप्त हुने आर्थिक सहयोगलाई निरन्तरता दिरहनका लागि बौद्ध मठ, मठाधिस तथा भिक्षुहरु आफ्ना मूल्य–मान्यताहरुको त्याग गर्न तत्पर भए र आम सर्वसाधरणहरुका मार्का तथा गुनासाहरुप्रति उदाष भए; सबै व्यवस्थाहरु ब्राम्हणहरुको निर्णयमा स्वतन्त्र छोडदिए; अन्यायपूर्ण भएपनि विरोध गर्न छाडे; निमुखाहरु माथि भएका सबैप्रकारका अन्याय, अत्याचारहरु विरुद्ध आवाज उठाउन छाडे । यसको परिणाम स्वरुप वैदिक धर्ममा आस्था राख्ने हिन्दु समाजमा त्यसयता जन्मका आधारमा वर्ण व्यवस्था अझ झांगीदै गयो; परिवार र समाजमा स्त्रीहरुको अवस्थामा खासै सुधार आउन सकेन; शुद्र जातिहरुप्रति गरि विभेदतथा जातिवाद झन–झन गहिरिदै गयो; आर्थिक रुपले विपन्न वर्गहरुको उत्थान हुन सकेन र वर्ग विभेद, उच–निच, सम्पन्न–विपन्नताका अवस्थहरु अझ फराकिलो बन्दै गए र समाज झन–झन अव्यवस्थित हुदै जानथाल्यो । यी सबै कारणहरुले गर्दा बौद्ध धर्म तथा दर्शनलाई ठूलो धक्का लाग्यो र विस्तारै आफ्नो मूलभूमिबाट पतनको मार्गतिर उन्मुख हुदैगयो ।
छिट्टै,
बौद्ध धर्म तथा दर्शन मूलभूमि नेपाल र भारतबाट पतन हुनुका थप कारणहरु, क्रमशः
(६)बौद्ध मठहरु समृद्ध र नगर केन्द्रित हुनु;
(७)भिक्षुहरु सम्पन्न र सुखभोगी तथा बिलासी हुनु;
(८)बौद्ध अध्यात्म दर्शन संस्कृतिमा सीमित हुनु;
(९)बौद्ध मठहरुमा आर्थिक शंकट आउनु;
(१०)बौद्ध धर्म विरोधी समाज तथा राज्य सत्ता;
(११)बौद्ध मठहरुको प्रशासनिक व्यवस्था केन्द्रिकृत हुनु;
(१२)वाहिरी हमलाकारीहरुको आक्रमणमा पर्नु;
(१३)सभ्यता विकासका बहुमूल्य ज्ञान, विज्ञानको विलय हुनु आदि रहेकाछन् ।
No comments:
Post a Comment