डा. सिर्जना भण्डारी
भाग २ को निरन्तरता
(६)बौद्ध मठहरु समृद्ध र नगर केन्द्रित हुनु
तत्कालीन समयमा बौद्ध धर्म तथा दर्शन आम जनसाधारणहरु माझ अत्यन्तै लोकप्रिय भएको, सामाजिक अव्यवस्थाहरुको समाधान गरेर समाज व्यवस्थित गर्न अत्यन्तै व्यवहारिक तथा उपयोगी र प्रभावकारी भूमिका निर्वाह गरेको कारण राज्यका धनाड्य, व्यापारी, सामन्त, राजा तथा महराजाहरुले सर्वकल्याणको हितमा काम गर्नकालागि मठहरुलाई आर्थिक श्रोत जुटाउन पुरै गाउँनै दानमा दिएका थिए खेतीबारीको लगान तथा कर सबै मठका भिक्षुहरु आफैंले उठाउने र भोगचलन गर्नेगरि । मठका भिक्षुहरुले किसानहरुलाई नमीनमा उब्जनी गर्ने तथा ठेक्का–पट्टा लगाउने र किसाहरुबाट लगान तथा कर उठाउथे । यसरी मठ तथा भिक्षुहरुको आर्थिक अवस्था बलियो हुदै गयो र आफूले कुनै प्रकारको दुःख नगर्ने, बसेर खाने, किसानहरुमाथि हुकुम चलाउने उनीहरुको दैनिकी तथा जीवनशैली बन्दै गयो र आम जनसाधारणहरु कुनै समय त्याग, दया, करुणा, सेवा, सहयोग, सदभावको प्रतिक रहेका भिक्षुहरुको यस्तो स्वरुप देखेर उनीहरुको भावमा विस्तारै बौद्ध धर्म तथा दर्शन र भिक्षुहरुप्रतिको आदर तथा मानसम्मानमा ह्रास र विश्वास घट्दै जान थाल्यो किनकी यस्तो सुविधामा रहेका भिक्षुहरु अव आफ्नो व्यक्तिगत स्वामित्वमा जग्गा जमीन, जिन्सी सामान तथा धन, नगदी पैशा तथा बहुमूल्य खजानाहरु संकलन गर्न, त्यसको भोगचलन गर्न थाले र सुविधा भोगी तथा विलासी बन्दै गए, आम जनसाधारणहरुको घर–घर गएर, गाउँ–गाउँ गएर भिक्षा माग्न, उनीहरुसंग निरन्तर सम्पर्कमा बस्न, उनीहरुका अन्याय, अप्ठ्यारा, गुनासाका आवाजहरु सुन्न छाडे । कतिपय व्यभिचारी संस्कार भएका बौद्ध भिक्षुहरुले त मठ भित्रै असोभनिय, व्यभिचारी तथा अनैतिक व्यवहारहरु समेत गर्नथाले । अर्थिक सम्मपन्नताका कारण बौद्ध मठ, मठाधिस तथा भिक्षुहरुको दैनिकी तथा जीवनशैली फेरीदै गयो र सुविधाभोगी चालचलन तथा गतिविधिहरु विस्तारै बौद्ध मठहरुका प्रसासनिक ढाँचा बन्दै गए । मठभित्रै भिक्षुहरुमा वर्ग, उचनिच, बढि तथा कम प्रभाव, बोलवाला चल्न थाल्यो र विस्तारैं त्याग, सादगी, समानताका प्रतिक भिक्षुहरुनै लोभ र मोहले ग्रसित भए, देखावा झल्किने विलासी जीवन जिउन थाले, वर्गको तह, उच–निचको तह देखापर्न थाल्यो, समानता हराउदै गयो र यो विचित्रको अवस्थाले बौद्ध धर्म तथा दर्शनको मूलभूत विचारधारा तथा उद्देश्यमा अत्यन्तै ठूलो र विनासकारी ह्रास आयो र यही अवस्था नै प्रादुर्भाव भएको मूलभूमिबाट बौद्ध धर्म तथा दर्शनको पतनको कारण बन्यो ।
राज्यको शाही समर्थन तथा संरक्षण प्राप्त भएको र राज्य धर्मका रुपमा अनुशरण तथा अंगिकार गरिएको कारण यो कालखण्डमा बौद्ध धर्म तथा दर्शन निकै व्यवहारिक र लोकप्रिय भएको थियो, राज्यको ठूलो ताकत बनेको थियो र यही कारण देशभित्रका टाढा–टाढाका क्षेत्रहरु र विदेशसम्म बौद्ध धर्म तथा दर्शनको व्यापक विस्तार भएको स्वर्णिम अवस्था थियो । तर विस्तारै राज्यको समर्थन, आर्थिक सहयोग र बौद्ध मठ, मठाधिस तथा भिक्षुहरुको समृद्धि तथा सम्पन्नताको अवस्था नै मूलभूमि नेपाल र भारतबाट बौद्ध धर्म तथा दर्शनको पतन हुनुको प्रमुख कारणहरु मध्य एक बन्न पुग्यो । किनकी इशाको पाचौं शताव्दीसम्म आइपुग्दा बौद्ध भिक्षुहरु जो प्राय खाली गोडा, खाली हात, खाली आंग, खाली पेटको अवस्थामा बौद्ध संघहरुमा सामेल भएका थिए । यो अवस्थामा आ–आफ्नो जीवन गुजाराका लागि घर–घर गएर भिक्षा माग्ने गर्दथे । आम सर्वसाधारणहरुको दान, दक्षिणा, सहयोगमा बौद्ध संघ र भिक्षुहरुको गुजारा चल्दै आइरहेको थियो तर राज्यको शाही मान्यता र राज्य लगायत सामन्त, व्यापारी तथा कुलीन वर्गहरुबाट उल्लेख्य मात्रामा आर्थिक सहयोग प्राप्त गर्न थालेपछि बौद्ध मठ, मठाधिस तथा भिक्षुहरु सेठ, जमिन्दार र सुविधाभोगी हुदै कुनैपनि प्रकारको दुःख गर्नु नपर्ने हरप्रकारले सुविधा सम्पन्न नगर क्षेत्रहरुमा केन्द्रित हुदैगए र आफू त्यो अवस्थासम्म आइपुग्न योगदान पुर्याएका सबै ऐतिहासिक पृष्ठभूमि तथा अवस्थाहरु आफैंले भुल्दैगए र मूलभूमिबाट पतनको मार्ग उन्मुख गराए आफैंले आफ्नो आस्थाको केन्द्र बौद्ध धर्म तथा दर्शन र आफूलार्ई ।
तत्कालीन सामाजिक अव्यवस्थाका कारण अन्यायमा परेका आम सर्वसाधारणहरुले आफूहरुले न्याय पाउने आशका कारण अत्यधिक उत्साहित भएर क्रान्तिकारी नयाँ विचारधारा बौद्ध धर्म तथा दर्शनको अनुशरण गरेका थिए र बौद्ध संघहरुमा आवद्ध भएर बौद्ध मूल्य–मान्यता अनुसार भिक्षु तथा बौद्ध मार्गी भएका थिए । र धेरै सर्वसाधारणहरुले स्वीकार गरेको हुनाले राजा, महाराजा तथा राज्यहरुले पनि बौद्ध धर्म तथा दर्शनलाई राज शाही मान्यता र सहयोग तथा संरक्षण प्रदान गरेका थिए । तर धर्म तथा आस्था जताजता राखेको भएपनि सबै आमा मानिसहरुले आ–आफ्नो जीवनका व्यवहारिक पक्षहरुलाई तत्कालीन परिस्थितिमा हरहालमा सुचारु राख्नुनै पर्नेथियो । विभिन्न कारणहरुले बौद्ध मठ, मठाधिस तथा भिक्षुहरुको आम सर्वसाधारणहरुका आवाजका विषयहरुबाट दुरी बढ्दै गएपछि आम सर्वसाधारणहरुका लागि बौद्ध मठ, मठाधिस तथा भिक्षुहरु अव्यवहारिक हुनथाले, दुवै पक्षको उदाषिनता बढ्दै जानथाल्यो र विस्तारै अधिकांश बौद्ध मठहरु ग्रामीण क्षेत्र तथा स्थानीय सर्वसाधारणहरुबाट दुर भएर नगर तथा शहर केन्द्रित हुदै जानथाले जहाँ बौद्ध मठहरुलाई सहजै राजा तथा राज्यको संरक्षण, सहयोग, दान, दातव्य प्राप्त हुने गर्दथ्यो । तर तत्कालीन समाजको अवस्था तथा वास्तविकता फरक थियो, बौद्ध धर्म तथा दर्शन अनुशरण गर्ने ९० प्रतिशत वास्तविक अनुयायी आम जनसाधारणहरु स्थानीय ग्रामीण क्षेत्रहरुमा बसोवास गर्दथे, नगर क्षेत्रमा बस्न उनीहको सामाजिक तथा आर्थिक अवस्था तथा हैसियत पर्याप्त थिएन र नगर क्षेत्रमा वसोवास गर्ने मानिसहरु धनाड्य, व्यापारी, सामन्त, दरवारिया तथा कुलीन वर्गहरु थिए जो सनातन वेदका मूल्य–मान्यताहरुको विरोध गरेर अस्तित्वमा आएको नास्तिक बौद्ध मत तथा विचारधारालाई पटक्कै स्वीकार गर्दैनथे र संधैनै यसको खिलाफमा रहने गर्दथे । यसप्रकार बौद्ध मठ, मठाधिस र भिक्षुहरु नगर केन्द्रित भएर क्रमशः ग्रामीण क्षेत्र र त्यहाँ बसोवास गर्ने ठूलो संख्याका आम सर्वसाधारणहरु विच सम्वन्ध र सम्पर्क टुटेपछि उनीहरुले नयाँ विचारधारा बौद्ध धर्म तथा दर्शनलाई विस्तारै वेवास्ता गर्दै र बिर्सिदै गए । यस्तो परिस्थितिमा व्यक्ति र समाजको नजरमा विस्तारै बौद्ध धर्म तथा दर्शनको औचित्य खस्कदै गयो र यही अवस्था नै बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको मूलभूमि नेपार र भारतबाट पतन हुनुको अर्को कारणको रुपमा देखापर्योे ।
(७)भिक्षुहरु सम्पन्न र सुखभोगी तथा बिलासी हुनु
इतिहासकारहरुका अनुसार प्रारम्भिक समयमा समाजमा रहेको चरम अव्यवस्था विरुद्ध आवाज उठाएर देश तथा विदेश सबैतिर विस्तार भएको र यसैकारण लोकप्रियता कमाएको तथा उच्चतम उचाइ हासिल गरेको बौद्ध धर्म तथा दर्शनका मूल अनुयायी तथा ठूला भिक्षुहरु नै विस्तारै सुख, सुविधा, भोग, विलासको लोभ तथा मोहजालमा पर्दैै गए र आफ्नो मूल आदर्श विर्सिदै गए । समाजका गन्यमान्य व्यक्तिहरु, धनीमानी, व्यापारी, कुलीन वर्ग, सामन्त, राजा, महाराजा तथा राज्यहरुबाट बौद्ध मठ तथा भिक्षुहरुलाई साथ, समर्थन, मान्यताका साथै पर्याप्त आर्थिक सहयोगका रुपमा दान, दातव्य मिलेपछि बौद्ध मठ तथा भिक्षुहरु सम्पन्न हुदैगए, उनीहरुको जीवनशैली सहज बन्दै गयो र क्रमशः सुखभोगी र विलासी बन्दैगयो । खाने तथा लाउने जिवीकोपार्जनका लागि भिक्षा पात्र बोकेर खालि गोडा भिक्षा माग्न स्थनीय क्षेत्रका घर–घर धाउनु परेन । भिक्षा दान माग्न हिड्नु नपरेको र अरु काम विशेषले पनि आम सर्बसाधारणहरुलाई भेट्नु नपरेको कारण स्थानीय ग्रामीण क्षेत्रका सर्वसाधारणहरु तथा समाजबाट बौद्ध भिक्षुहरुको सम्वन्ध तथा सम्पर्क टुट्दै गयो । बौद्ध भिक्षुहरुको जीवनशैली सामान्यबाट विशिष्ठ हुदै गएको कारण बौद्ध मठ, मठाधिस, भिक्षुहरुले बौद्ध धर्मको मूल लक्ष्य तथा मूल आदर्श नै बिर्सिए, आम सर्वसाधारणहरु र स्थानीय क्षेत्रहरुबाट अलग तथा दुर हुदैगए, र आम सर्वसाधारणहरुको मन, मस्तिष्क तथा हृदयबाट उत्रिदै गए ।
सातौं शताव्दीसम्म आइपुग्दा बौद्ध मठ र भिक्षुहरु सबैको जीवनशैली सहज र अलि ठूला बौद्ध मठाधिस तथा भिक्षुहरुको जीवनशैली निकैनै सुविधाभोगी तथा विलासी भैसकेको थियो । यसको परिणामस्वरुप सर्वसाधारणहरु र समाजसंगको सम्वन्ध काटिइसकेको थियो र बौद्ध भिक्षुहरुले सर्वसाधारणहरुको मार्का तथा आवाज सुन्न छोडिसकेका थिए । यो अवस्था गौतम बुद्धले उठाएका, लडेक तथा संधर्ष गरेका सामाजिक अव्यवस्थाहरुको विपरित थियो । बौद्ध मठ, मठाधिस तथा भिक्षुहरु यिनै सामाजिक अव्यवस्था, अनैतिकता, अत्याचार, विभेद आदिको मतियार बन्दै गैरहेका थिए र गौतम बुद्धले नगर्नु भनेकै काम तथा कुराहरु उनीहरुले गरिरहेका थिए किनकी उनीहरु सहजता रुचाउने सुविधा भोगी र विलासी बनिसकेका थिए र बौद्ध मठ, मठाधिस तथा भिक्षुहरु ब्राम्हणवादीहरुमmैं सहजता र श्रेष्ठता रुचाउने जीवनशैलीका आदि भैसकेका थिए र ब्राम्हणवादीहरुसंग गुप्त उठबस तथा सामाजिक विषयहरुमा सम्भौता हुन प्रारम्भ भैसकेको थियो । यस्तो अवस्थामा बौद्ध मठ, मठाधिस र भिक्षुहरु स्वयं नै सामाजिक अव्यवस्थाको मतियारका रुपमा प्रस्तुत हुनथाले । यो नयाँ प्रकारको अराजक बौद्ध धर्म तथा दर्शन बज्रयान शाखाको नामबाट प्रचलित भयो इशाको सातौं शताव्दीमा । यसरी आफ्नै धर्म तथा दर्शनका मूल विचारधारा तथा मूलमर्म विपरित भएका तथा गरिएका गतिविधिहरुले बौद्ध धर्म तथा दर्शनलाई भित्रभित्रै खोक्रो बनाउदै लग्यो र अन्ततः प्रादुर्भाव भएको मूलभूमि नेपाल र भारतबाट पतनको मार्गतिर उन्मुख हुदैगयोे ।
(८)बौद्ध अध्यात्म दर्शन संस्कृतिमा सीमित हुनु
कुनैपनि धर्म तथा दर्शनहरु प्रारम्भ हुनुको कारण खासगरि आध्यात्मिक सुधारका गतिविधिहरु हुने गर्दछन् र समयको साथसाथ धर्म तथा दर्शनको आध्यात्मिक पाटो विस्तारै धार्मिक, सामाजिक, सांस्कारीक तथा सांस्कृतिक हिस्सा बन्दै जान्छ, यिनको सामुन्नेमा झुक्दै जान्छ र विस्तारै आध्यात्मिक पाटो हराएर केवल कर्मकाण्ड, संस्कार, संस्कृति, परम्परा, चालचलन बन्न पुग्दछ । तत्कालीन समयमा वैदिक धर्म तथा आस्थाको अवस्था यस्तै भएको थियो र वैदिक धर्मको कर्मकाण्ड, संस्कार, संस्कृति, परम्परा, चालचलनको विरोधमा प्रादुर्भाव भएर फरक विचारधारा तथा अलग अस्तित्व बनाएको बौद्ध मत तथा विचारधारा तत्कालीन समयमा समाज व्यवस्थापनका लागि व्यवहारिक भएकोले छिट्टैनै चारैतिर तिव्र गतिमा विस्तार हुदै गयो, लोकप्रिय भयो तर समयको कालखण्डमा एक विन्दुमा पुगेपछि यो पनि संस्कार तथा संस्कृतिमा मात्र सीमित भयो र संस्कार तथा संस्कृतिको सामुन्नेमा झुक्यो । यसकारण १२औं शताव्दीको अन्त्यसम्ममा बौद्ध धर्म तथा दर्शन पनि आलोचनाको विषय बन्यो र अल्पमतमा पर्दै प्रादुर्भाव भएको मूलभूमिबाट पतन हुने अवस्थामा पुग्यो ।
(९)बौद्ध मठहरुमा आर्थिक शंकट आउनु
इतिहासमा बदलाव संधै हल्ला गरेर तथा त्रान्ति छेडेर मात्र आउदैन, कहिलेकाहीं मौनतामै ठूलो बदलाव घटित भैदिन्छ । भारतका राज्यहरुमा विदेशी लुटेरा तथा युद्ध हमलाकारीहरुको आक्रमणहरु बढ्न थालेपछि राज्यको देशभित्र र वाहिर समुद्रपारीका देशहरुसंगको व्यापार घट्न थाल्यो र राज्यकै धन आर्जनको श्रोत घट्दै जान थाल्यो । यस्तो अवस्थामा राजा तथा राज्यहरुको ध्यान बौद्ध मठहरुबाट हट्यो र राजनीतिक तथा आर्थिक रुपमा राज्यसत्ता जोगाउनुनै महत्वपूर्ण हुदैगयो । राजा तथा राज्यहरु बौद्ध मठ तथा भिक्षुहरुलाई दिरहेको सुविधामा निरन्तरता दिन असक्षम भए तथा आर्थिक सहयोगमा निरन्तरता दिन सकेनन् र कतिपय अवस्थामा दिरहेको सुविधा तथा आर्थिक सहयोगहरु समेत कटौती गरिदिए तथा रोकिदिए । यस्तो शंकटको परिस्थितिमा बौद्ध मठहरुमा आर्थिक शंकटको अवस्था देखियो र आर्थिक अभावकै कारण मठहरुको नियमित गतिविधिहरुमा अवरोध आउन थाल्यो । सुविधा भोगमा बानी परिसकेका बौद्ध भिक्षिुहरुले मठको व्यवस्थापन तथा संचालन सुचारु गर्न कुनै प्रयत्न गरेनन् किनकी उनीहरुमा भोगविलास हावी भैसकेको थियो र परिश्रम गर्ने आदत छुटिसकेको थियो । यस्तो शंकटको परिस्थितिमा कतिपय बौद्ध मठहरु चरम आर्थिक अभाव तथा व्यवस्थापनको खर्च अभावबाट गुज्रिए र कतिपय बौद्ध मठहरु पूर्णरुपमा बन्द भए ।
हजूरबा–आमाको पुस्ता बौद्ध मठ आउथे धार्मिक तथा सांस्कृतिक गतिविधिहरु गर्न र बौद्ध भिक्षुहरुका प्रवचन तथा देशनाहरुको माध्यमबाट ज्ञान लिन्थे तर मठहरु बन्द भएपछि यो क्रम रोकियो र नाती–नातिनी पुस्तासम्म आइपुग्दा बौद्ध धर्म, दर्शन, मठ धाउने संस्कृति सबैमा बदलाव आउन थाल्यो, परिणामस्वरुप पछिल्लो पुस्ताले आफ्नो पुर्खा बौद्ध मार्गी थियो भन्ने समेत बिर्सिन थाल्यो । किनकी जव बौद्ध मठहरु बन्द भएर आम सर्वसाधारणहरुले गर्दैआएका जन्मदेखि मृत्युसम्मका दुःख र सुखका सबै उत्सव, क्रिया तथा पर्वहरु सबै संस्कार तथा कर्मकाण्डहरु ग्रामीण तथा स्थानीय क्षेत्रमै संधै उपलव्ध रहने त्यहींका ब्राम्हण, पंडित तथा पुराहितहरुको माध्यमबाट वैदिक रीति तथा संस्कृति अनुसार गर्न तथा गराउन थालियो तव विस्तारै बौद्ध धर्म तथा दर्शन आम सर्वसाधारणहरुको मन, मस्तिष्कबाट स्वस्फुर्त रुपमा हट्दै तथा ओझल पर्दैगयो । पहिलाको तुलनामा ब्राम्हणवादले आफ्ना सांस्कृतिक कर्मकाण्ड तथा धार्मिक गतिविधिहरुमा सुधार गरेका र वर्ण–कुल–वर्ग–जाति–लिंगको सन्दर्भमा विभेद अन्त्य गरेर अलि लचिलो बनेका तथा सामाजिक लयमा आइसकेका कारण आम सर्वसाधारणहरुलाई सहज भैरहेको थियो । यो बदलाव इतिहासको अत्यन्तै शान्त, बिना हल्लाखल्ला, बिना क्रान्तिकारी हलचल भएको क्रमिक रुपमा स्वस्फुर्त भएको युगान्तकारी रुपान्तरण तथा थाहानै नपाइकन बौद्ध धर्म तथा आस्था वैदिक धर्म तथा आस्थामा विलय भएको अवस्था थियो र मूलभूमिबाट बौद्ध धर्म तथा दर्शन विस्तारै विलय तथा पतन उन्मुख हुदैगयो ।
छिट्टै,
बौद्ध धर्म तथा दर्शन मूलभूमि नेपाल र भारतबाट पतन हुनुका थप कारणहरु, क्रमशः
(१०)बौद्ध धर्म विरोधी समाज तथा राज्य सत्ता;
(११)बौद्ध मठहरुको प्रशासनिक व्यवस्था केन्द्रिकृत हुनु;
(१२)वाहिरी हमलाकारीहरुको आक्रमणमा पर्नु;
(१३)सभ्यता विकासका बहुमूल्य ज्ञान, विज्ञानको विलय हुनु आदि रहेकाछन् ।
No comments:
Post a Comment