डा. सिर्जना भण्डारी
विषयको पृष्ठभूमि
मानव सभ्यताको प्राकृतिक तथा युग सान्दर्भिक विकास हुने क्रममा विश्वको पूर्वी भाग एशिया, विशेषगरि दक्षिण एशिया, दक्षिण पूर्व एशिया र पूर्वी एशियामा ॐकार परिवार अन्तर्गत पर्ने चार प्रमुख धर्म तथा दर्शनहरुको प्रादुर्भाव र विस्तार भयो र हुदै आइरहेको छ– (१)हिन्दु(३५०० वर्षअघि), (२)जैन(२६०० वर्षअघि), (३)बौद्ध(२५०० वर्षअघि), र (४)सिख(५०० वर्षअघि) । चार मध्य तीनवटा धर्म तथा दर्शन– हिन्दु, जैन र शिख नेपाल, भारत र केही नजिकैका वरिपरिका छिमेकी देशहरुमा मात्र सीमित रहेकाछन् तर बौद्ध धर्म तथा दर्शन विश्वव्यापि रुपमा प्रचार र विस्तार भएर वर्तमान समयमा विश्वको चौथो वैश्विक धर्मको स्वरुप स्थापित भएको छ । विगत २५०० वर्षअघि देखिको अविरल यात्रामा नेपाल तथा भारतको स्थानीय बौद्ध विचारधारा तथा दर्शन वैश्विक आध्यात्मिक शक्तिमा रुपान्तरण भयो । बौद्ध धर्म तथा दर्शन सरल, मानवीय, मध्यमार्गी र सबैकालागि उपयोगी र व्यवहारिक दर्शन भएकोले यसको प्रचार र विस्तार अझै पनि निरन्तर भैरहेको छ र जताततै तनाव र अशान्ति छाएको वर्तमान युगको परिप्रेक्षमा बौद्ध दर्शनको मूल भाव शान्ति, सदभाव र करुणा समुच्चा विश्वको लागि अझ सान्दर्भिक र अपरिहार्य हुदै गैरहेकोछ । वर्तमान समयमा बौद्ध धर्म तथा दर्शन विश्वभरि विस्तार हुदै गैरहेको छ शान्ति, सदभाव, अहिंसा, करुणा, मानवीय, सम्यक तथा मध्यमार्गी र सबैकालागि उत्तिकै उपयोगी, परिणाममुखी, प्रयोगात्मक हुने अत्यन्तै व्यवहारिक वैश्विक दर्शन, धर्म, सम्प्रदाय तथा विचारधाराका रुपमा ।
नेपाल र भारतको सनातन पुण्य भूमिमा जन्मिएको बौद्ध धर्म तथा दर्शन इशाको बाह्रौ शताव्दीसम्म यस क्षेत्रमा उच्च सम्मानकासाथ अनुशरण गर्दै आइएको थियो र स्वर्णिम अवस्थामा रहेको थियो । तर विडम्वना, पन्द्रौं शताव्दी यतादेखि प्रादुर्भाव भएको मूलभूमि नेपाल र भारत तथा यस वरिपरीका क्षेत्रहरु बंगलादेश, पाकिस्तान, अफगानस्थानबाट बौद्ध धर्म तथा दर्शन लगभग लोप भएको अवस्थामा पुगेकोछ र विशौं शताव्दीको मध्यबाट फेरी विस्तारै माथि उठ्ने प्रयास तथा संघर्ष गरिरहेको छ । इतिहासकारहरुका अनुसार यसो हुनुका नितान्त आन्तरिक, आन्तरिक तथा वाहिय धेरै प्रकारका कारणहरु रहेका भए पनि मूल र तत्कालीन कारण वाहिरबाट आएका विस्तारवादी इस्लामिक सैन्य हमलाकारहरुले बौद्ध मठ, विहार, विश्वविद्यालय, विभिन्न प्रतिष्ठान तथा संघ–संस्थाहरुमा गरेको लुटपाट तथा विध्वन्स र बौद्ध भिक्षुहरुको सामूहिक नरसंहारलाई मानिएको छ । प्रादुर्भाव भएको मूलभूमि नेपाल र भारतबाट मध्य एशिया, दक्षिण पूर्वी एशिया र पूर्वी एशियामा विस्तार भएको बौद्ध धर्म तथा दर्शन वर्तमान समयमा विश्वका १० वटा देशमा यसका अनुयायीहरुको बाहुल्यता तथा अधिक संख्या रहेको छ र यससंगै वर्तमान समयमा बौद्ध धर्म तथा दर्शन विश्वकै चौथो ठूलो दर्शन, धर्म तथा सम्प्रदायका रुपमा स्थापित भएको छ । बौद्ध धर्म तथा दर्शनका अनुयायीहरुको सबैभन्दा ठूलो संख्या पूर्वी एशिया चीनमा रहेको छ । पछिल्लो जनगणना अनुसार चीनमा ३३.३ प्रतिशत जनसंख्या बौद्ध मार्गी रहेकाछन्, यो चीनको कुल जनसंख्याको ४७ करोड भन्दा बढि संख्या हुनआउछ जो विश्वकै कुल बौद्ध मार्गीहरुको दुईतिहाइ भन्दा बढि ६८ प्रतिशत हिस्सा हुनआउछ । बौद्ध मार्गीहरुप्रति दमनकारी रणनीति अंगिकार गरेको वर्तमान समयमा सत्तासिन रहेको कम्युनिष्ट शासन प्रणाली प्रारम्भ हुनुपूर्व चीनमा ९० प्रतिशत जनसंख्या बौद्ध मार्गी रहेका ऐतिहासिक तथ्यांकहरुमा उल्लेख रहेको पाइएका छन् । दक्षिण एशियाइ क्षेत्र नेपाल र भारतमा प्रादुर्भाव भएर विश्वको मध्य एशिया, दक्षिण पूर्वी एशिया, पूर्वी एशिया हुदै पश्चिमी भूगोल यूरोप, अमेरीकासम्म प्रचार र विस्तार भैरहेको बौद्ध धर्म तथा दर्शनको उपस्थिति प्रादुर्भाव भएको मूलभूमि नेपाल, भारत र यसका वरिपरिका क्षेत्रहरुमा अत्यन्तै न्युन तथा न बराबरको संख्या उपस्थित रहेको छ । पछिल्लो जनगणना सन् २०२१ का अनुसार नेपालमा ८.२१ प्रतिशत र भारतमा ०.७ प्रतिशत अर्थात भारतमा कुल ३ करोड ७५ लाख जनसंख्या बौद्ध मार्गी रहेकाछन् भने इस्लामिक मूलुक पाकिस्तान, बंगलादेश र अफगानस्थानमा केही नगन्य संख्यामा उपस्थिति रहेको पाइएको छ । बौद्ध धर्म तथा दर्शनका अनुयायीहरुको संख्या विश्वका प्रमुख देशहरुमा सबैभन्दा बढिदेखि घट्दो क्रममा निम्नानुसार रहेको छ– कम्बोडिया–९८ प्रतिशत, श्रीलंका–९३.३ प्रतिशत, थाइल्याण्ड–९३.२ प्रतिशत, म्यान्मार–९० प्रतिशत, भुटान–७४ प्रतिशत, चीन–३३.३ प्रतिशत रहेको छ । विश्वका यी देशहरु र बौद्ध धर्म तथा दर्शनका मूल्य–मान्यताहरुमा रुचि राख्ने अरु देशहरुले यसलाई जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्धत गर्ने शान्ति, सदभाव र करुणाको अत्यन्तै प्रभावकारी विचारधारा तथा दर्शनको रुपमा अवलम्वन गरिरहेका छन् । पश्चिमी विश्व अर्थात यूरोप, अमेरीकाका देशहरुले बौद्ध धर्म तथा दर्शन शान्ति, सदभाव र करुणाको प्रतिकका साथसाथ मानवीय धर्म, व्यवहारिक धर्म, मध्यमार्गी धर्म, सबैकालागि सहज र प्रयोगात्मक जीवनशैली आदिका रुपमा अंगिकार गर्दै आइरहेका छन् ।
राजकुमार सिदार्थ गौतमको विषयगत पृष्ठभूमि
सिद्धार्थ गौतमका पिता शुद्धोधन तत्कालीन समयमा कपिलवस्तुका निर्वाचित राजनीतिक नेता, नेतृत्व कर्ता तथा शाक्य वंशका प्रमुख थिए । सिद्धार्थ गौतमकी माता मायादेवी कोशलान राज्यवंशकी राजकुमारी थिइन । सिद्धार्थ गौतम घरानिय परिवार तथा उच्च कुलका सदस्य थिए र उनी यसप्रकारको निर्वाचित गणतन्त्रात्मक राज्यमा रहेका कारण सबैको समान अधिकार हुनुपर्छ भन्ने विचारधाराका समर्थक तथा विचारक थिए । तत्कालीन समाजमा चलिरहेको सनातन अध्यात्म तथा धर्म विज्ञानको पर्याय रहदै आएको तर पछिल्लो चरणमा भ्रष्ट हुदै गैरहेको वैदिक धर्म अनुशरण गर्ने कर्मकाण्डी ब्राम्हणवादले चलाइरहेको स्त्री, शुद्र, दाषहरुलाई मानव समेत नमान्ने; पशु हिंसा बलिप्रथामा बढावा दिने; समाजमा वर्ण–कुल–जात–लिंग–वर्ग–उचनिच जस्ता हदैसम्मका अन्यायपूर्ण, अत्याचारी, अमानवीय, असामाजिक, कुसंस्कारी अन्धविश्वासमा आधारित अराजकता ल्याउने व्यवहारहरु कसैकोलागि पनि स्वीकार्य थिएन र तपस्यापछि सिद्धार्थ गौतमबाट गौतम बुद्ध कहलाएका सबै सर्वकल्याण गर्ने करुणा र सुधारवादी सोच राख्ने व्यक्तिलाई झन मान्य तथा स्वीकार्य भएन । गौतम बुद्ध यस्ता अनैतिक, असामाजिक, अमानवीय, अत्याचारका गतिविधिहरुको खिलाफ आवाज उठाउदै मैदानमा उत्रिए सबैलाई समानता र स्वतन्त्रता प्रदान गरिनुपर्ने माग राख्दै र प्रचलित संस्कार तथा संस्कृतिहरुमा सबैलाई मान्य हुने सामाजिक तौरतरिका, नैतिकता, अनुसासन, मानवीयतामा आधारित सामाजिक व्यवस्था निर्माण गरी समाज रुपान्तरण गरेर सामाजिक सुव्यवस्था मिलाउन अरुलाई दबाव दिदै आफू स्वयं अग्रसर भए । तत्कालीन समयमा गौतम बुद्ध शक्तिशाली राज्यका शक्तिशाली राजकुमार रहेका र बुद्धत्व प्राप्त चैतन्य चेतनामा उपलव्ध भैसकेका महान व्यक्ति भएकाले उनलाई आफ्नो उद्देश्यमा का मगर्न यो उच्च अवस्थाको अत्यन्तै ठूलो लाभ तथा सहयोग मिलेको थियो र साथसाथ आम मानिसहरुको पनि भरपूर साथ मिलेको थियो ।
वैराग्यता जगाउने चार विषयहरु र जीवन रुपान्तरण
शाक्यमूनि सिद्धार्थ गौतम इशापूर्व ५६७ मा नेपालको दक्षिण भेग रुपन्देही, लुम्बिनीमा शाक्य वंश(क्लान)मा जन्मिएका थिए र यो क्षेत्र भारतको उत्तर प्रदेश राज्यसंग सीमानामा रहेको छ वर्तमान समयमा । सिद्धार्थ गौतम जन्मिने वित्तिकै शिशुको जन्मको अवस्था र समयबारे जानकारी गराउने चिनाटिपन हेर्ने ज्योतिषीहरुको समुहले भनेका थिए, “यो वालकले संसारलाई राम्ररी चिन्नसक्यो भने महान राजा बन्नेछ, तर आफूलाई राम्ररी चिन्नसक्यो भने महान वैरागी तथा योगी बन्नेछ” । यति जानकारी पाएपछि राजा तथा पिता शुद्धोधनले आफ्नो पुत्र तगा राज्यको उत्तराधिकारी सिद्धार्थ गौतमलाई दरबारभित्र कुनैपनि प्रकारको दुःखको अनुभूति हुन नदिनेगरि अत्यन्तै सुविधा सम्पन्न वातावरणमा हुर्काए सिद्धार्थ गौतम २९ वर्षको हुन्जेलसम्म ताकि कुनै दुःख, पिडा देखेर तिनको अनुभव तथा अनुभूति गरेर आफ्नो छोरो वैरागी तथा सन्यासी नबनोस् भनेर । तर प्रकृति तथा अस्तित्वले तय गरेको विषयमा मनुष्यको कुनै प्रकारको ताकतले काम गर्दैन, राजकुमार सिद्धार्थ गौतम एकदिन आफ्नो दरबारबाट वाहिर निस्केर अर्को राज्यमा राजकुमारको हैसियतमा प्रतिनिधित्व गर्न जानुपर्ने अवस्था आयो । अर्को राज्यतिर जाने क्रममा यात्राको समयमा उनले आफूले २९ वर्षको जीवनकालमा कहिल्यै नदेखेका, अनुभव नगरेका र कल्पना समेत नगरिएका चार प्रकारका विशेष अवस्थाका दृश्यहरु देखे– (१)वृद्धको पाको उमेर र राम्ररी उभिन नसक्ने जिर्ण शरीर; (२)बिरामी व्यक्तिको छटपटाहट, दुःख तथा पिडाका रोदनहरु; (३)मृत व्यक्तिको सवयात्रा र आफन्तहरुको बिलौना र रुवाबासि; र (४)मनुष्यहरुको दुःखको समाधान गर्न उपायको खोज गरिरहेका चेहरा ओज–तेजले भरिएका तपस्वीलाई प्रत्यक्ष दृश्यहरुमा देखे । यी दृश्यहरुले सिद्धार्थ गौतमको मन तथा हृदयमा क्रान्तिकारी र रुपान्तरणकारी विचारधारा भरिदिए र आफूले केही विशेष काम गरेर अरुको जीवनमा आइपर्ने यस्ता दुःखहरु किन आउछन् तथा तिनको कारण के हुनसक्छ, के कारण मनुष्यको जीवन दुःखद तथा पिडादायि हुन्छ यसबारे खोज गर्ने र पत्ता लगाएर उनीहरुलाई जीवनका यस्ता प्रकारका दुःख, पिडाहरुबाट मुक्त गर्ने सन्दर्भमा अग्रसर हुने प्रेरणा मिल्यो । उनले तत्कालै निर्णय लिए औपचारीक समारोहमा नजाने, दरबार फर्कने र आफू स्वयंनै यो अभियानमा होमिने संकल्प गरे, राजसी ठाँटबाँटको बिलासी जीवन र राजपाठ सबै चटक्क छोडेर त्यसै रात परिवार र दरबारमा कसैलाई सुइको समेत नदिइ मध्यरातमा घर, परिवार, सुख–सुविधा र राजपाठ सबै छोडेर घरबाट निस्किए मनुष्यहरुको दुःखको कारण र दुःखबाट मुक्त हुने उपायको खोजी गर्न । आफ्नो उद्देश्यको काममा उनी छ वर्षसम्म एक ठाउँबाट अर्को ठाउँ हिडिरहे र एक गुरुबाट अर्को गुरु चहारीरहे नयाँ ज्ञानको खोजीमा । बौद्ध कथनहरुमा उल्लेख गरिए अनुसार मनुष्यहरुको दुःख निवार गर्ने नयाँ ज्ञान प्राप्तिकालागि सिद्धार्थ गौतमले ९९ वटा गुरु र त्यतिनै संख्यामा आश्रमहरु फेरे तर उनले आफूले चाहेको ज्ञान फेला पार्न सकेनन् । अन्तिममा केही नलागेर, थाकेर, बोधिबृक्षमूनि तपस्या गर्न बसे अन्न–जल लगायत सबै कुरा त्यागेर समाधान नभेटुनजेल त्यहाँबाट नउठ्ने अठोट गरेर र यही अवस्थामा उनलाई परमज्ञान हासिल भयो, परमात्मा साक्षातकार भयो, बुद्धत्व, निर्वाण तथा सम्बोधि(परमचेतना अर्थात परमआत्मा अर्थात अस्तित्व)मा उपलव्ध भए । साधना तथा तपस्याको लामो प्रक्रिया तथा संघर्षबाट आफ्नो बोध, बुद्धत्व, निर्वाण तथा सम्बोधिमा उपलव्ध भएपछि सिद्धार्थ गौतमबाट उनी ‘गौतम बुद्ध’ का रुपमा सम्वोधित गरिए तथा उनलाई आफ्नो वोध(चेतना अर्थात आत्मा)मा उपलव्ध भएका कारण त्यसयता गौतम बुद्धको नामले सम्वोधन गर्न प्रारम्भ गरियो र उनी आफ्नो बोधमा उपलव्ध भएको स्थान गयाको नाम समेत अगाडि ‘बोध’ जोडेर बोधगया नामाकरण गरियो जुन वर्तमान समयमा भारतको विहार राज्यमा अवस्थित रहेको छ र यो अत्यन्तै महत्वपूर्ण ज्ञानभूमिलाई बौद्धमार्गीहरुको पवित्र तीर्थस्थलको मान्यता प्रदान गरिदै आइएको छ जति गौतम बुद्धको जन्मस्थल नेपाल स्थिति लुम्विनीलाई प्रदान गरिदै आइएको छ । घरबार तथा दरबार त्यागेर छ वर्ष लामो कष्टपूर्ण अथक साधना तथा तपस्याबाट बोध तथा बुद्धत्वमा उपलव्ध भएपछि सिद्धार्थ गौतमबाट गौतम बुद्ध कहलिएका उनलाई समय बित्दै जाने क्रममा विस्तारै चैतन्य चेतनामा उपलव्ध असाधारण व्यक्ति तथा इश्वरको अवतार भगवान बुद्धको रुपमा सम्वोधन गर्न प्रारम्भ गरियो विश्व भरिनै विशिष्ठ चेतना भएका अवतार पुरुषको रुपमा र मठ, गुम्बा, स्तुपाहरुको निर्माण गरेर त्यहाँ उनका विभिन्न आकारका प्रतिमा तथा मूर्तिहरु स्थपना गरिए र उक्त स्थानहरुलाई पवित्र क्षेत्रको रुपमा मानेर पूजा, उपासना, ध्यान गर्न प्रारम्भ गरियो ।
बुद्धत्वमा उपलव्ध भए पश्चात गौतम बुद्धको ज्ञातमा आयो कि मनुष्यको जीवनमा आइपर्ने दुःखका कारणहरु जन्म, मृत्यु, जरा(वृद्धावस्था), व्याधि(रोग) प्रमुख हुन् । उनका अनुसार यी चार कारणहरु– जन्म, मृत्यु, जरा, व्याधिबाट आइपर्ने दुःखहरुबाट मुक्त हुने उपाय वाहिर अन्त कतै नभएर मनुष्य स्वयंभित्र नै छ । यसकालागि मनुष्यले हरप्रकारले आफ्नो दैनिक जीवनशैली सहज बनाउनु पर्दछ, न अति आशक्ति न अति उदाषि मध्यमार्गमा रहेर तथा सम्यक भएर जीवनयापन गर्नुपर्दछ किनकी मनुष्यको हरप्रकारका दुःखहरुको मूल कारण उसको भोगप्रतिको अति इच्छा, चाहना तथा यिनीहरु प्राप्तिप्रतिको आशक्ति र प्राप्त नहुदाको निराशा हो । गौतम बुद्धले यस सन्दर्भमा हरप्रकारले जागरण ल्याउने उद्देश्यले आम मनुष्यहरुको दृश्य जीवनशैली(सांसारिक जीवन) र अदृश्य जीवनशैली(पारमार्थिक जीवन)का विषयहरुलाई प्रमुख प्राथमिकतामा राखेर उपदेश, प्रवचन तथा देशना बाँड्न थाले र आफूले साधनाबाट प्राप्त गरेको परम ज्ञानको प्रचार गर्न प्रारम्भ गरे आफ्नो मन, मस्तिष्क, हृदयमा सबैको निस्वार्थ सेवा तथा कल्याण गर्ने भाव राखेर । बुद्धत्व तथा सम्बोधिमा उपलव्ध भएपछि गौतम बुद्धले सबैको हितकालागि सबैभन्दा पहिलो सार्वजनिक ज्ञानपूर्ण प्रवचनको भारतको वनारसमा दिएका थिए । वर्षा ऋतुमा बाहेक बाँकी पूरै समय आफैं पैदल यात्रा गरेर विभिन्न स्थानहरुमा गएर ध्यान साधनाबाट आफूलाई प्राप्त भएको परम ज्ञानको दिक्षा सबैलाई बाँडिरहे र हरेका मनुष्यमा चेतनाको जागरण ल्याउने प्रयासमा लागिरहे । मनुष्यको चेतना जाग्रीत गरेर उनीहरुका सबैप्रकारका दुःख, पिडाहरुबाट मुक्त गराउने यो महान अभियानलाई निरन्तरता दिरहे र यो काम उनले ३५ वर्षको उमेरमा बुद्धत्व तथा सम्वोधिमा उपलव्ध भएपश्चात मृत्य तथा महानिर्वाणसम्म ७९ वर्षको उमेर(४५ वर्ष)सम्म निरन्तर गरिरहे । उनी त्यसबखत उमेरले युवा तथा शरीरिक रुपले बलिष्ठ भएकाले हजारौं मानिसहरुमा जागरण ल्याउन सफल भए, हजारौं बौद्ध मठ तथा बौद्ध संघहरुको निर्माण तथा स्थापना गराए । बौद्ध कथनहरुमा उल्लेख गरिए अनुसार गौतम बुद्धले आफ्नो जीवनकालभरि ७५०० भन्दा बढि बौद्ध मठ तथा संघहरु निर्माण गराए र आफू स्वयंले उद्घाटन गरेका थिए । यस दौरानमा उनलाई धेरै आम जनसाधारण, संघ–संस्था, राज्य, प्रशासन तथा अन्य धर्महरुबाट समेत हरप्रकारले साथ र सहयोग मिलिरह्यो किनकी उनले समाजमा व्याप्त विभेद, अन्याय, अत्याचार र अमानवीयताका विषयहरुको विरोधमा आवाज उठाउदै उचित रुपान्तरण तथा युग सान्दर्भिक हुने सुधारको विषय अघि सारेका थिए सबैको समान किसिमले कल्याण हुने किसिमले ।
गौतम बुद्धको मानवीयतामा आधारित समाज सुव्यवस्थापनको महाअभियान व्यापक प्रचार र विस्तार हुनेक्रममा थियो किनकी गौतम बुद्धले तत्कालीन समाजमा सर्वकल्याणका विषयहरु उपर समाजमा सामाजिक अव्यवस्था फैलाउने ब्राम्हणवादका ठेकेदारहरुसंग आवश्यक छलफल, बहस तथा शास्त्रार्थ गरेर सबैलाई आफ्नो ज्ञान, विवेक, तर्क र वैज्ञानिकताको बलले पराजित गरेर आफ्नो सामाजिक उचाई, प्रताप, मानवीयता, व्यवहारिकता, सन्तुलनतामा आधारित अवधारणा, विचार तथा मत विस्तार गर्दै लगे नेपाल र भारतका विभिन्न क्षेत्रहरुमा र क्रमिक रुपमा उनको विचार, मत तथा दर्शनको सकारात्मक प्रभाव सबैतिर बढ्दै तथा विस्तार हुदै गयो र लोकप्रिय हुदै गयो । सबैले मान्यता प्रदान गर्दै अनुशरण गर्न प्रारम्भ गरे किनकी उनको यो अभियानमा धनी–गरिव, उच–निच, सम्पन्न–विपन्न, महिला–पुरुष, लिंग, वर्ग, जातजाति, वर्णमा कुनै प्रकारको विभेद थिएन, वास्तविकता र व्यवहारिकतामा आधारित भएर यी सबै अत्यावश्यक विषयहरुमा सबैकालागि एकै प्रकारको समानता, स्वतन्त्रता हुनुपर्दछ र सबैको समान अधिकार हुनुपर्दछ भन्ने भावमा काम गरिरहेका थिए । सबै समान र सबैलाई सम्मान प्रदान गर्ने भावले ओतप्रोत भएको गौतम बुद्धको विचाधारा, दर्शन तथा धर्मलाई सबैले रुचाए र खुशीसाथ अनुशरण गर्नथाले । महात्मा पुरुष गौतम बुद्ध आफ्नो यसप्रकारको अभियानलाई एउटा निश्चित उचाइमा पुर्याएर ४५ वर्षसम्म नथाकी निरन्तर यस क्षेत्रमा सेवा र सुकर्म गरेर ७९ वर्षको उमेरमा स्थुल शरीर त्याग गरेर यो संसारबाट विदा भए ।
बौद्ध दर्शनको प्रार्दुभाव र कारण
इशापूर्व पन्द्रौं–दशौंं शताव्दीतिर दक्षिण एशियाको तत्कालीन उत्तर भारतको गंगा, यमुनाको भूमिमा सनातन अध्यात्म तथा धर्म, आर्यन(आर्य) संस्कृति, वैदिक धर्म तथा समाज उच्च तह तथा स्वर्णिम अवस्थामा पुगेको थियो तर समयक्रमसंगै आर्य समाजमा विकासका साथसाथै विकृतिहरु पनि देखापर्दै गए । सनातन अध्यात्म, आर्य संस्कृति, वैदिक धर्म तथा समाजमा ब्राम्हणवाद र उनीहरुले सिर्जना गरेको बनाबटी कर्मकाण्डवाद हावी हुदैगयो र ब्राम्हणवादले आफ्नो स्वार्थ सिद्धिकालागि सनातन वेदमा उल्लेखित अत्यन्तै उपयोगी, व्यवहारिक र वैज्ञानिकतामा आधारित ज्ञान, विज्ञानहरुको आफूखुशी जथाभावी किसिमले परिभाषा गरेका कारण सनातन अध्यात्म तथा धर्मका वैज्ञानिकतामा आधारीत आध्यात्मिक तथा धार्मिक साधनाका अभूतपूर्व विधिहरु केवल कर्मकाण्ड, संस्कृति, परम्परा, मनगढन्त अन्धविश्वासमा सीमित हुदैगए र यस्तो अवस्थाको नकारात्मक प्रभाव र परिणाम तत्कालीन समाजमा उचनिच, वर्ण–कुल–जाति–लिंग–वर्ग विभेद र यसका आधारमा अनियमितता, अन्याय, अत्याचार, अमानवीयताका गतिविधिहरु बढ्दै जानथाले र विस्तारै समाज अव्यवस्थित र अस्तव्यस्त हुदै जानलाग्यो । कुनैपनि नयाँ विचारधारा, दर्शन, धर्म तथा आस्थाको प्रादुर्भाव तथा पतन हुनुमा त्यस्तो अवस्था घटित बनाउने तत्कालीन समयका प्राय सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक, प्राकृतिक कारणहरु हुने गर्दछन् । इशापुर्व छैठौं–पाचौं शताव्दीमा जैन, बौद्ध र आजिविका विचारधारा, दर्शन तथा धर्मको प्रादुर्भाव हुनु र वैदिक दर्शन तथा धर्मको पतन हुनुमा तत्कालीन समयमा समाजमा अव्यवस्था सिर्जना गर्ने त्यस्तै प्रकारका वातावरणहरु तयार भएका थिए । तत्कालीन समयमा नयाँ विचारधारा तथा मतहरुको प्रादुर्भाव हुनु र पुरानो विचारधारा तथा मतको पतन हुनुका मूल कारणहरुमा यससंग सम्वन्धित ऐतिकासिक सन्दर्भ सामग्रीहरुमा निम्न प्रकारका ठम्याइहरु रहेका छन्– (१)ब्राम्हणवादको प्रभाव र वेदमा कर्मका आधारमा तयहुने वर्ण व्यवस्था जन्मका आधारमा तय गर्नु तथा जन्मलाई नै श्रेष्ठता मान्नु; (२)ब्राम्हणवादका अनुसार कर्मकाण्डबाट मुक्ति मिल्छ भन्ने अन्धविश्वासको संस्कृति व्याप्त हुनु; (३)समाजमा हिंसापूर्ण बलिप्रथा व्याप्त हुनु; (४)वेद, उपनिषद जस्ता ज्ञानको अध्ययनमा ब्राम्हण बाहेक अरुलाई पहुच नदिइनु; (५)स्त्री, शुद्र र दाषहरुलाई मानवको श्रेणीमा नराखिनु; (६)कृषि अर्थतन्त्रको उदय हुनु; (७)व्यापार, व्यवसाय तथा आर्थिक कारोबार बढ्नु तथा समाज आर्थिक रुपले सम्पन्न हुदै जानु र वैश्यहरुको महत्व बढ्नु आदि । यी सबै कारणहरुको केन्द्रमा तत्कालीन समयमा समाजमा हुकुमी निरंकुशता लाद्ने स्वघोषित पंडित तथा पुरोहितहरुको ब्राम्हणवाद नै सबैभन्दा केन्द्रमा रहेको थियो र यसैका कारण अरु अधिकांशप रिस्थिति तथा कारणहरु उत्पन्न भएका थिए ।
छिट्टै,
@ब्राम्हणवाद र सामाजिक अव्यवस्था
@बौद्ध दर्शन तथा धर्मको मूलसार
@बुद्धको महापरिनिर्वाण र बौद्ध दर्शन व्यवस्थापनका श्रृंखलाहरु
(चारवटा प्रमुख बैठकहरु र चारवटा प्रमुख शाखाहरु)
No comments:
Post a Comment