बौद्ध दर्शन र संघहरु व्यवस्थित गर्न डाकिएका परिषदहरु
विषयगत पृष्ठभूमि
राजकुमार सिद्धार्थ गौतम २९ वर्षको युवा उमेरमा ध्यान साधना प्रारम्भ गरेर ३५ वर्षको उमेरमा आफ्नो बोध अर्थात बुद्धत्व अर्थात निर्वाण अर्थात परमप्रकाश अर्थात परमचेतनामा उपलव्ध भएका थिए । आफ्नो बोध तथा निर्वाणमा उपलव्ध भएपछि उनलाई बुद्धत्व प्राप्त व्यक्तिको सम्मान प्रदान गरेर गौतम बुद्धका रुपमा सम्वोधन गर्न प्रारम्भ गरियो । निर्वाणमा उपलव्ध भएपश्चात ७९ वर्षको उमेरसम्म स्थुल शरीरमा रहेर ४५ वर्षसम्म सक्रिय रुपमा आम मानिसहरुको कल्याण गर्न तथा जीवनका दुःखहरुबाट मुक्ति दिलाउनका लागि सामाजिक तथा आध्यात्मिक अभियानमा निरन्तरता दिएर मनुष्यको चेतना जागरणको अभियानमा अतुलनिय योगदान पुर्याए । यसक्रममा गौतम बुद्धले ठूलो संख्यामा मानिसहरुलाई विभिन्न प्रकारले आफ्ना वाणी, शव्द, शिक्षा, प्रवचन तथा उपदेशहरु मार्फत धेरै प्रकारका अत्यन्तै जीवन उपयोगी लौकिक र अलौकिक पूर्णतः वैज्ञानिकतामा आधारित ज्ञान, विज्ञान र ध्यानका विधिहरु प्रदान गरे । तर तत्कालीन समयको अवस्था तथा परिस्थिति अनुसार यी शव्द, वाणी, शिक्षा, ज्ञान, विज्ञान, उपदेश, विधिहरुलाई लिखित ग्रन्थका रुपमा लिपिवद्ध गर्न सहज नभएका कारण सबै शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुलाई कण्ठाग्र र मुखाग्र गरेर स्मृतिमा राखिन्थ्यो र विशेष अवसरहरुमा कण्ठ गरेर आफ्नो स्मृतिमा राखिएका शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुलाई क्रमशः स्मरण गरेर, दोहोर्याएर तथा पाठ गरेर काम चलाउने परम्परा स्वस्फूर्त रुपमा विकस भएको थियो । समाज सेवा र अध्यात्म सेवाको ४५ वर्षसम्मको लामो कालखण्डमा गौतम बुद्धको निकटमा र सम्पर्कमा धेरै भिक्षु, बौद्ध अनुयायीहरु र आम मानिसहरु आए । कोही गौतम बुद्धसंग दशकौंदेखि एकसाथ थिए र कोही केही वर्षअघि र कोही भर्खर जोडिएका थिए । आफ्नो निकट आएका र समाज सेवा र अध्यात्म ज्ञानमा रुचि भएका धेरै इच्छुक व्यक्तिहरुलाई उनीहरुको अवस्था, क्षमता तथा पात्रता अनुसार गौतम बुद्धले फरक–फरक किसिमले समान्य, गहिरा र अति गहन शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु प्रदान गरे । सबै अनुयायीहरुले गौतम बुद्धबाट अलग–अलग समयमा अलग–अलग सन्दर्भमा अलग–अलग प्रकारका शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु अलग–अलग प्रकारले नै ग्रहण गरेका थिए । तर यी कुनैपनि प्रकारका शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरुलाई लिपिवद्ध गरेर सुरक्षित राखिएको थिएन पछिल्ला दिनहरु र पछिल्ला पुस्ताहरुका लागि सहज हुने प्रकारले ।
यसकारण बौद्ध मार्गीहरुले पछिल्ला दिनहरुमा खासगरि गौतम बुद्धको अन्त्यपछि बारबार बौद्ध धर्म तथा दर्शनको सहि ढंगले व्यवस्थापन गर्न निकै नै असहज परिस्थितिहरुका तीता यथार्थहरु सामाना गर्नुपर्यो किनकी मानिसको स्मृति कमजोर हुन्छ, समयसंगै मानिसको शारीरिक, मानसिक, भावनात्मक, बौद्धिक, चेतनात्मक अवस्थाहरु परिवर्तन हुन्छन् । यससंगै विषय तथा सन्दर्भहरु, परिस्थिति, मौसम, व्यवस्था सबै बदलिन्छन् र यी अवस्थाहरुका पनि सबै पक्षहरुमा प्रत्यक्ष र अप्रत्यक्ष सम्वन्ध तथा प्रभावहरु रहेका हुन्छन् । गौतम बुद्ध सक्रिय र जिवीत रहुन्जेल त सबै अवस्था तथा परिस्थितिहरु सहज ढंगले चलिरहेका थिए तर इशापूर्व ४८३ मा गौतम बुद्धको महापरिनिर्वाण प्रवेश अर्थात देहाबसान भएपछि बौद्ध अनुयायीहरु अन्योलमा परे अव कसरी गौतम बुद्धका शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरुलाई एकत्रित गर्ने र सबै बौद्ध भिक्षुहरु, बौद्ध धर्म तथा दर्शनमा आस्था राख्ने अनुयायीहरु तथा आम मानिसहरुलाई एक समुहमा आवद्ध गराउने भन्ने सन्दर्भमा । यसबारे गहन चिन्तन मनन्का प्रक्रियाहरु प्रारम्भ भए र परिषद सभाहरु बमेलाइए । यसपछि बौद्ध संघमा आइपरेको अवस्था सोचे जति सहज थिएन किनकी गौतम बुद्धको ४५ वर्ष लामो समाज सेवा तथा अध्यात्म सेवाको पूरै समय उनीनै नेतृत्वमा रहेकाले बौद्ध भिक्षु तथा अनुयायीहरुको नियमन र बौद्ध संघ तथा मठहरु संचालन तथा व्यवस्थापनका लागि कुनैपनि प्रकारको उत्तराधिकारी तथा पदक्रमको व्यवस्था गरिएको थिएन र कसैलाई नेतृत्वदायि भूमिकामा तोकिएको पनि थिएन । गौतम बुद्धको स्थुल शरीर जीर्ण भएर उनको सक्रियता कम हुनलागेपछि यो परिस्थिति निकै जटिल घुम्तिमा आइपुग्योे । गौतम बुद्धले ४५ वर्षसम्म बाँडेको शिक्षा, ज्ञान, विज्ञान, साधनाका विधिहरु, हजारौं उपदेश, लाखौं शव्दहरु केवल मनुष्यको स्मृतिमा राखिएको थियो, न कुनै लिखित दस्तावेज थियो, न कुनै लिपिवद्ध शास्त्र थियो, न कुनै विधिवत रेकर्ड थियो । यस्तो अप्ठ्यारो परिस्थितिमा आइपरेको झन्डै असम्भव जस्तो लाग्ने जटिल समस्या समाधान गर्नकालागि गौतम बुद्धको दाहसंस्कार भैरहेकै समयमा केही बौद्ध भिक्षुहरुले यस विषयबारे चर्चा गरेका थिए तर उक्त समय गौतम बुद्धको वियोग, दाहसंस्कार, काजक्रिया र मौनको समय भएकोले यो चर्चाले मुर्तता पाउन सकेन र वरिष्ठ बौद्ध भिक्षुहरुले अनुकुल समय हेरेर बौद्ध संघको वृहत्तर सभा तथा परिषद डाक्ने र यस सन्दर्भमा विस्तृतमा चर्चा गरेर विषयको टुंगो लगाउने आश्वासन दिए ।
बौद्ध दर्शन र संघहरु व्यवस्थित गर्न डाकिएका चार परिषदहरु
विभिन्न युगहरुमा बौद्ध धर्मका प्रवर्धक गौतम बुद्धका अमूल्य वाणी तथा शव्दहरु र बौद्ध धर्म तथा दर्शनका शिक्षा, ज्ञान, विज्ञान, साधनाका विधिहरुलाई सुरक्षित किसिमले व्यवस्थापन गर्नकालागि चारपटक चारवटा बौद्ध परिषद भेलाहरु डाकिएका थिए– (१)इशापूर्व ४८३, राजा अजाद शत्रुको समयमा, भारतको मगधमा; (२)इशापूर्व ३८३, राजा कालाशेकको समयमा, भारतको बैशालीमा; (३)इशापूर्व २५०, राजा अशोकको समयमा, भारतको पाटलीपुत्रमा; र (४)इस्वी संवत ००७२, राजा कनिस्कको समयमा, भारतको कश्मिरमा ।
पहिलो बौद्ध परिषद
गौतम बुद्धको महापरिनिर्वाण भएको तीन महिनापछि इशापूर्व ४८३ मा उत्तर भारतस्थित मगध राज्यको राजगृहमा पहाडको चट्टान कपेर बनाइएको सप्तपर्णी गुफामा वरिष्ठ भिक्षु महाकश्यपको नेतृत्वमा बौद्ध संघको पहिलो परिषद(काउन्सील) डाकियो । वरिष्ठ भिक्षु महाकश्यप तत्कालीन समयमा बौद्ध संघको व्यवस्थापनको जिम्मेदारी सम्हालिरहेका थिए तर उत्तराधिकारी, पदक्रम, पदाधिकारी तथा नेतृत्वको भूमिका अनुसार थिएनन् किनकी गौतम बुद्धले बौद्ध संघहरुमा उत्तराधिकारी, पदाधिकारी, पदक्रम तथा नेतृत्वको व्यवस्था गरेका थिएनन् । तर कसैनकसैले त नेतृत्व गर्नुपर्ने थियो यसकारण स्वस्फुर्त रुपमा व्यवस्थापकीय भूमिकामा उनी देखिएका थिए बुजु्रक तथा अनुभवी भिक्षु भएकाले । मगध राज्यका तत्कालीन राजा अजातशत्रुले परिषदलाई शाही संरक्षण दिएका थिए र भिक्षु महाकश्यपलाई सबै सहभागिहरुद्वारा परिषदको नेतृत्वकर्ताको सम्मान दिलाइएको थियो । परिषदमा ५०० विशिष्ठ हरहन्त(वोधिसत्व तथा निर्वाणमा उपलव्ध) बौद्ध भिक्षुहरु एकै ठाउँमा भेला भए र बौद्ध शिक्षा, ज्ञान, विज्ञान, उपदेश, साधनाका विधिहरु, बौद्ध अनुयायीहरु र बौद्ध संघहरुलाई सहि व्यवस्थापन गर्ने वौद्धिक र प्राविधिक चर्चा प्रक्रियागत रुपमा प्रारम्भ भयो । गौतम बुद्धका शिक्षा, ज्ञान, विज्ञान, शव्द, वाणी, उपदेश र साधनाका विधिहरु सबै जस्ताको तस्तै संरक्षित गरेर राख्न र बौद्ध संघहरुको सहि ढंगले व्यवस्थापन गर्न पहिलो बौद्ध परिषद आयोजना गरिएको थियो । सभामा सहभागि भएका अरहन्त भिक्षुहरु समान्य थिएनन्, उनीहरुले प्रत्यक्ष रुपमा गौतम बुद्ध स्वयंबाट मुखरित भएका शव्द, वाणी, उपदेशहरु तथा बौद्ध शिक्षा, ज्ञान, विज्ञान ग्रहण गरेका थिए र अव उनीहरुमाथि गौतम बुद्धले जीवनभरि गरेका मानवीय, सामाजिक र आध्यात्मिक कार्यहरुको उत्तराधिकारीका रुपमा तटस्थ भएर काम गर्नुपर्ने थियो । गौतम बुद्धका अधिकांश कार्यहरुमा प्रत्यक्ष रुपमा सम्वन्धित रहेर बुद्धद्वारा प्रदान गरिएका आ–आफ्नो स्मृतिमा रहेका बौद्ध धर्मका सबै शिक्षा, ज्ञान, विज्ञान, साधनाका विधि र सबै मूल्य–मान्यताहरुलाई पूरै स्मरण गरेर जस्ताको तस्तै स्थापित गर्नुपर्ने थियो राम्ररी संरक्षण गरेर पछिल्लो पिढीहरुमा सजिलो हस्तानतरण गर्नका लागि ।
वरिष्ठ भिक्षु महाकश्यपले दुईजना भिक्षुलाई सभाको अगाडि बोलाए, दुई मध्य एक आनन्द थिए जो विगत २५ वर्षदेखि गौतम बुद्धसंग निरन्तर साथमा सेवकका रुपमा रहेका थिए र उनले सबैभन्दा बढि बुद्धका शिक्षा तथा उपदेशहरु सुनेका थिए । भिक्षु आनन्दलाई उनले गौतम बुद्धबाट सुनेका आफ्नो स्मृतिमा रहेका बौद्ध सुक्त र उपदेशहरु स्मरण गर्दै परिषदको प्रक्रियामा रहेर सबै अरहन्त भिक्षुहरु समक्ष विस्तारमा सुनाउन आग्रह गरियो । अर्का भिक्षु ओपाली जो संघ व्यवस्थाप नियमका विशेषज्ञ थिए उनलाई बिनय तथा बौद्ध भिक्षुहरुले पालन गर्नुपर्ने अनुसासन र आचरणका नियमहरु परिषदको प्रक्रियामा रहेर विस्तारमा सुनाउन आग्रह गरियो र परिषदमा उपस्थित ५०० अरहन्त भिक्षुहरुलाई आनन्द र ओपालीले विस्तारमा गरेका व्याख्याहरु सुनेर आ–आफ्नो स्मृतिमा भएको बुझाइसंग मिलान गर्न आग्रह गरियो र पछि क्रमैसंग सबैलाई आ–आफ्नो बुझाइ र विचार परिषद समक्ष राख्न आग्रह गरियो । परिषदले प्रारम्भमै पारित गरेको थियो जुन विषयमा अधिकांश सहभागिहरुको सहमति बन्छ त्यही नै बौद्ध दर्शनको आधिकारिक धम्म(धर्म) मानिनेछ सर्वसम्मतले र कुनै विषयमा यदि कोही व्यक्ति तथा समुह असहमत हुन्छ भने तवसम्म उक्त विषयउपर बहस जारी रहनेछ जवसम्म अधिकांश सहभागीहरुको राय एकसमान हुदैन त्यस विषयका सन्दर्भमा । सभामा उपस्थित सबै अरहन्त भिक्षुहरुको राय मिलाउन हरसम्भव प्रयासहरु गरिनेछ र राय नमिलेको विषयलाई धम्ममा समावेश गरिने छैन । आ–आफ्नो स्मृति स्मरण गरेर आफ्ना बुझाइहरु व्यक्त गर्ने प्रक्रियामा सबै बौद्ध भिक्षुहरुलाई पालैपालो आफूले गौतम बुद्धबाट प्राप्त गरेका आफ्नो स्मृतिमा संग्रहित रहेका शिक्षा, ज्ञान, विज्ञान, उपदेश, साधनाका विधिहरु मसिनो गरि स्मरण गर्दै सबैसामु सुनाउन आग्रह गरियो । तर यहाँनेर वैधानिकताको शंकट आइपर्यो, भिक्षु आनन्दको विरोध हुनथाल्यो र उनका स्मृतिहरु स्वीकार नगरिने आवाज उठ्न थाल्यो किनकी उनी अरहन्त अर्थात मुक्त अर्थात निर्वाणमा उपलव्ध भएका चेतना थिएनन् । अव यो काम लगभग असम्भव जस्तै भयो, आनन्द जो गौतम बुद्धका सबैभन्दा निकट रहेका, सबैभन्दा लामो समय एकसाथ बिताएका, सबैभन्दा बढि गौतम बुद्धका शव्द, वाणी, शिक्षा, ज्ञान, विज्ञान, उपदेश तथा साधनाका विधिहरु सुनेका र सबैभन्दा बढि स्मृति भएका अनुभवी भिक्षु थिए । उनी अरहन्त भिक्षु नभएको कारणले उनलाई परिषदबाट वाहिर निकालियो किनकी परिषदको भेलामा केवल अरहन्त भिक्षुहरुलाई मात्र प्रवेशको अनुमति थियो ।
यसप्रकारको विरोधको आवाज उठेपछि भिक्षु आनन्दले परषदको वैधानिक सभा प्रारम्भ हुनुपूर्व त्यस रातभरि ध्यान साधना गरे, सूर्योदयअघि नै अरहन्त भिक्षु बने र परिषदको प्रक्रियामा उनलाई फेरी सामेल गराइयो र परिषदको मूल उद्देश्य अनुरुपका कार्यहरुको प्रक्रिया प्रारम्भ गरियो । आनन्द अरहन्त भिक्षु बनेपनि अधिकांश अरहन्त भिक्षुहरुले उनको अरहन्त भिक्षु बन्ने प्रक्रियाको र त्यसको वैधताको बारेमा विरोधका आवाजहरु उठिरहे । यसकासाथै गौतम बुद्धसंग रहदा अरु केही अस्पष्ट रहेका विषयहरु– (१)स्त्रीहरुलाई बौद्ध संघमा सामेल गराउन बुद्धलाई मनाएर संघको पवित्रत्रा खलबल्याएको र कमजोर बनाएको; (२)बुद्धलाई सोधेर जानकारी लिएर नराखेको कि बुद्धको अन्त्यपछि बौद्ध धर्म तथा दर्शन र संघलाई कसरी अगाडि बढाउने र के–कस्ता तथा कुन–कुन विषयहरु यथास्थितिमा राख्ने र के–कस्ता तथा कुन–कुन विषयहरुमा आवश्यकता अनुसार समय सान्दर्भिक हुनेगरि सुधार तथा परिवर्तन गर्न सकिन्छ; र (३)गौतम बुद्धको पर्याप्त संकेतका वाबजुद आनन्दले अलौकिक शक्तिको उपयोग गरेर गौतम बुद्धलाई आफ्नो आयु बढाउन अनुरोध नगरेको, यस विषयको गहिराइनै नबुझेको भन्ने गहन विषयहरुमा भिक्षु आनन्दको विपक्षमा विरोध उठिरहेको थियो वृहत सभामा र यस सन्दर्भमा अधिकांश अरहन्त भिक्षुहरुको मतैक्यता रहेको थियो । यसका वाबजुद परिषदमा उपस्थित सबै बौद्ध भिक्षुहरुले पालैपालो आफूले गौतम बुद्धबाट प्राप्त गरेका आफ्नो स्मृति संग्रहित भएका बौद्ध शिक्षा, ज्ञान, विज्ञान, उपदेश तथा साधनाका विधिहरु सकेसम्म स्मरण गरेर सुनाए । महिनौंसम्म गुफाभित्र लगातार गौतम बुद्धका शव्द र जपहरु लयमा गुञ्जिरहे, आवाजहरु दोहोरीरहे, बहस, तामेल, सुधार र समझदारीका प्रयासहरु चलिरहे ।
परिषद सभामा गौतम बुद्धका शव्द र जपहरु सुनाउने, सुन्ने र तुलना गर्नेक्रममा अर्को जटिल परिस्थिति खडा भयो किनकी अधिकांश भिक्षुहरुका स्मृतिहरु एकअर्काका स्मृतिहरुसंग मिलेनन्, कतिपय अवस्थामा त एकअर्काविच बाझिए पनि खासगरि चेतनाको विकासका सन्दर्भमा सामान्य, गहन र विशिष्ठ ज्ञानका विषयहरुका बारेमा । यी जटिलताहरु केवल भिक्षुहरुको बुझाई, मत र सिद्धान्तसंग मात्र सम्वन्धित थिएनन्, आ–आफ्नो बुझाइ तथा मतलाई स्थापित गर्ने र यस सन्दर्भमा निर्णय गर्ने अधिकारी र सबैको आ–आफ्नो अधिकारको विषयसंग बढि सम्वन्धित रहेको थियो । यसरी एकअर्कासंग नमिलेका तथा बाझिएका स्मृति तथा मतहरुको व्यवस्थापन कसरी गर्ने, कुन र कस्ता मतहरुलाई वैधानिकता प्रदान गर्ने र यसको निर्णय कसले गर्ने, उत्तराधिकारी को हुने र नेतृत्व कसले लिने यस विषयको सबैलाई चित्तबुझ्धो आधार देखाएर शंकटको सर्वमान्य समाधान निकालेर गौतम बुद्धको वास्तविक शिक्षा, ज्ञान, विज्ञान तथा उपदेश र यसको मूलसार तथा मूलमर्म यसप्रकारको थियो भनेर अन्तिम निर्णय लिनेबारे पर्याप्त छलफल तथा बहसहरु गरिए सकेसम्म सबैको सहमति लिएर अन्तिम निर्णयमा पुग्नका लागि । किनकी पहिलो बौद्ध परिषद केवल बुद्धका शिक्षा तथा उपदेशहरुको संरक्षण गर्नकालागि मात्र थिएन, यो तय गर्नकालागि थियो कि कसले र कसरी तय गर्ने बौद्ध धर्म तथा दर्शनको मूलसार तथा मूलमर्म के थियो र कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा । पहिलो परिषदमा भिक्षुहरुले आ–आफ्नो स्मृतिमा रहेका बुद्ध मन्त्रहरुका पाठ महिनौंसम्म गरिएपछि सबै अरहन्त भिक्षुहरु एउटा सहमतिमा पुगे, अरहन्त भिक्षुहरुमध्य परिषदको नेतृत्व गरिरहेका बरिष्ठ भिक्षु महाकाश्यपले निर्णय सुनाए, “बौद्ध संघ महत्वपूर्ण विषयहरुको सन्दर्भमा पारस्परिक सहमतिमा एकजुट भएर अगाडि बढ्नेछ; जुन मन्त्रहरु अधिकांश भिक्षुहरुबाट एकसाथ पढिए, स्मरण गरिए र अधिकांश भिक्षुहरुको स्मृतिसंग मेलखाए तिनै मन्त्र तथा विषयहरु मात्र धम्म(धर्म) बन्नेछ; र जुन एकसाथ पढिएन, स्मरण गरिएन र अधिकांश भिक्षुहरुको स्मृतिसंग मेलखाएन ती मन्त्र तथा विषयहरु धम्म बन्ने छैनन् ।” यसप्रकार पहिलो बौद्ध परिषदले बौद्ध धर्म तथा दर्शनलाई एउटा निश्चित आकार प्रदान गर्यो, गौतम बुद्धका शव्द, वाणी, शिक्षा, ज्ञान, विज्ञान, उपदेश तथा साधनाका विधिरुलाई सुरक्षित गर्यो र स्पष्ट रुपमा तय गर्यो कुन तथा कस्ता विषयलाई वास्तविक धम्म मान्ने र नमान्ने भनेर । पहिलो परिषदको यो सहमति र निर्णयले १०० वर्षसम्मको सिमामा रहने तय गर्यो १०० वर्षपछि दोस्रो बौद्ध परिषदको भेला नहुन्जेलसम्मका लागि । तर अधिकांश विषयहरु बहुमतले सहमति गरेपनि कममत तथा अल्पमतमा परेका विषयहरुको विरोधका आवाजहरु उठिरहे पछिसम्म पनि । यो शंकटको असमनजस्यताले बौद्ध धर्म तथा दर्शनमा यस्तो बिउ रोपियो जो असहमतिको संघर्षका रुपमा युगौंसम्म चलिरह्यो र बौद्ध धर्म तथा दर्शनलाई गौतम बुद्धको देहाबसानपछि १०० वर्षपछि दुई अलग–अलग शाखा– (१)आत्मानुशासित भएर व्यक्तिगत चेतना विकासलाई अनुशरण गर्ने परम्परावादी समुह ‘थेरावाद’; (२)सबैलाई करुणापूर्वक समेट्ने र सबैको मुक्तिकालागि समर्पित बोधिसत्व र पुनरजन्मलाई अनुशरण गर्ने नवीनतावादी समुह ‘महायान’; र १२०० वर्षमा अर्को नयाँ शाखा– (३)विशेष शक्तिमा आस्था राख्दै आफ्नो चेतनालाई यही एक जीवनमै सम्वोधि अर्थात उच्चचेतना(सुपरकन्सस)संग एकाकार गर्ने साधनालाई अनुशरण गर्ने ‘बज्रयान’मा विभाजन गरिदियो । जम्मागरि अलग–अलग तीन प्रमुख शाखामा विभाजित भयो र त्यसपछिका दिनहरुमा अझै धेरै शाखा र उपशाखाहरुमा विभाजित भयो । इतिहासकारहरुका अनुसार वर्तमान समयमा बौद्ध धर्ममा लगभग ६५ शाखा र १०० भन्दा बढि उपशाखाहरु रहेका छन् ।
छिट्टै,
बौद्ध दर्शन र संघहरु व्यवस्थित गर्न डाकिएका परिषदहरु: दोस्रो बौद्ध परिषद भेला
No comments:
Post a Comment