डा. सिर्जना भण्डारी
बुद्ध तथा बुद्धत्वका सहि अर्थ तथा परिभाषा
बुद्ध शव्द कुनै व्यक्ति तथा भूमिका होइन, बुद्ध एक अवस्था हो, एक यस्तो मौन जहाँ विचारहरुको भिड र उतार–चढाव समाप्त हुन्छ । एक यस्तो मानसिक तथा भावनात्मक शान्ति जहाँ कुनै प्रकारको संघर्ष बाँकी रहदैन । बुद्ध त्यो हो जसले जान्यो कि आफू तन–मन–भाव–वुद्धि–चित्त–अहंकार केहीपनि होइन केवल शुद्ध चेतना हो जो सर्वशक्तिमान अस्तित्व अर्थात परमचेतना(सुप्रिम कन्सस)को अभिन्न अंश हो ।
बुद्धत्व प्राप्तिको मूलज्ञान र मूलमार्ग ‘आनापान सती’
बुद्धत्व हासिल गरेर बुद्धको अवस्थासम्म पुग्ने सबैभन्दा सहज विधि आनापान सती हो । गौतम बुद्धले ध्यानका हजारौं साधना विधिहरुमा आनापान सती विधिलाई सबैभन्दा सहज विधिका रुपमा आफूले अनुशरण गरे र अरुलाई पनि यही सहज विधिबाट बुद्धत्वमा उपलव्ध हुन सुझाए किनकी आनापान ध्यान विधि अत्यन्तै सरल, सहज र परिणाममुखी छ, यस विधिमा मनुष्यको तन तथा मनले केही क्रिया गर्नु पर्दैन सिर्फ आएको श्वास(आना) र गएको प्रश्वास(पान)लाई साक्षी(सती) भएर हेर्ने मात्र गरिन्छ । तर आम मनुष्यहरुलाई यही केही नगर्ने क्रियाबिहिन स्थिर रहेर साक्षी भएर हेर्ने हेराई नै सबैभन्दा कठिन कार्य लाग्छ किनकी मनुष्यको मन संधै केही गर्न चाहान्छ, मनलनई एकै ठाउँमा स्थिर भएर रोकिने आदत हुदैन, यो हरपल भागीरहन्छ । संस्कृत शव्द ‘मन अर्थात मनस्’बाट नै मनुष्य, मानिस तथा अंग्रेजीको म्यान शव्द बनेको हो, यसकारण मनुष्य भनेको मन नै हो, मनुष्यको स्थुल(दृश्य) शरीर सुक्ष्म(अदृश्य) मनकै फैलावट तथा छायाँ हो स्थुुल शरीर जड तत्व हो र मन बिना यसको कुनै सार तथा अस्तित्व रहदैन । मन अर्थात मनुष्य संधै वाहिरी संसारका ज्ञान र कर्म इन्द्रियका भोगविलासका विषयका रमझमहरुमा भागिरहन्छ– कहिले धनको पछाडि, कहिले पद–प्रतिष्ठाको पछाडि, कहिले सम्वन्ध त कहिले सफलताको पछाडि । तर जो व्यक्ति वाहिरका भोगका अनित्य तथा अनशवान विषयहरुमा आफूलाई दौडाउन छोडेर आफूतिर फर्कन्छ तथा आफूभित्रको अन्तर यात्रा गरेर आफूलाई हेर्न तथा बुझ्न प्रारम्भ गर्दछ उसको वाहिरी संसारका विषयहरुको भोगाशक्तिको पछाडि भाग्ने दौड समाप्त हुन्छ । आनापान सती मनुष्यलाई आफूभित्र फर्काएर आफूभित्रको अन्तर यात्रा गराउने अनुपम कलाको विधि हो ।
जव शान्त बसेर आफ्नो मनलाई साक्षी भएर हेरिन्छ तव मनुष्य वाहिरी संसारको रमझमबाट आफूतिर फर्कन थाल्छ र विस्तारै उसको मन बदलिन शुरु गर्छ, मनमा स्थिरता आउदै जान्छ । शुरुआतमा यो कार्य मुस्किल लाग्छ, अत्यन्तै बेचैनी हुन्छ किनकी कहिल्यै स्थिर हुने आदत नभएको मनले भन्छ उठ यो सबै व्यर्थ हो, यसको केही उपयोगीता र उपलव्धि छैन किनकी संधै वाहिरको संसारमा दौडिरहने मन अत्यन्तै चञ्चल हुन्छ, एक विषयमा स्थिर रहन सक्दैन, धैर्यता हुदैन, मन छिटो परिणाम चाहन्छ र सकारात्मक उपलव्धि तथा सफलता नै चाहान्छ, असफता मिल्यो भने अझ बढि बेचैन र अधैर्य हुन्छ । मन विभिन्न काम लाग्ने र काम नलाग्ने विषयहरुमा विचरण गरिरहन्छ– कहिले पुराना स्मृतिका दुःख पिडाहरुमा, कहिले भविश्यको असुरक्षाको डर तथा चिन्ताका विचारहरुमा । तर यी विचारहरुसंग संघर्ष नगरिकन, नलडिकन ती स्मृति तथा विचारहरु राम्रा छन् तथा नराम्रा छन् नभनीकन तटस्थ भएर तिनीहरुलाई साक्षी भएर हेरिरहने र मनमा के र कस्ता विषयका स्मृति तथा विचारहरु चलिरहेका छन् भनेर थाहा पाएर मात्र बसेर बारबार आफ्नो मनलाई श्वास–प्रश्वास(आनापान)मा फर्काएर आफूलाई श्वासमा केन्द्रित गरेपछि एकदिन अचानक महसुस हुन्छ कि ती स्मृति तथा विचारहरु आफूबाट टाढा खडा भएका छन् र आफू विचारबाट अलग रहेको छु । गौतम बुद्धका अनुसार यो अवस्था नै पहिलो कदम तथा चरण हो बुद्ध तथा बुद्धत्वको तर्फ उन्मुख हुन प्रारम्भ भएको । किनकी बुद्ध तथा बुद्धत्वको सहि परिभषा अनुसार वास्तविक बुद्ध तथा बुद्धत्व हासिल गरेको व्यक्ति त्यो हो जसले जान्यो आफू तन(शरीर) त होइन नै मन–भाव–वुद्धि–चित्त–अहंकार केहीपनि होइन केवल शुद्ध चेतना हो । मनुष्यको तन प्रकृति(पंचतत्व) प्रद्धत्त जड वस्तु हो जसलाई मन(अन्तःकरण मन–भाव–वुद्धि–चित्त–अहंकार)ले संचालन गर्दछ र मनुष्यको मन सिर्फ बादल हो र ऊ आफू स्वयं विशाल आकाश अर्थात अस्तित्व अर्थात परमचेतनाको अभिन्न अंश हो तर अधिकांश हामी मनुष्यहरु उल्टो जीवन जिरहेका छौं र बादललाई आफ्नो अस्तित्व मानिरहेका छौं, वास्तविक आफू को हो चिनेकै छैनौं चिन्ने प्रयत्न पनि गर्दैनौं ।
जीवनमा सानो नराम्रो घटना घट्यो भने मनमा हरबखत त्यहि चलिरहन्छ, मन आत्तिन्छ, र कसैले आफ्नो प्रशंशा गरिदियो भने मन फुरुगं भएर मात्तिन्छ । यसरी आत्तिनु र मात्तिनुको अर्थ हो हाम्रो केन्द्र आफूभन्दा वाहिर रहेको छ, र जसको केन्द्र आफूभन्दा वाहिर हुन्छ ऊ कहिल्यै स्थिर र शान्त रहन सक्दैन । गौतम बुद्ध भन्ने गर्थे, जुन दिन तिम्रो केन्द्र तिमीभित्र आउछ त्यसदिन तिमीलाई वाहिरी संसारका भोगविलासका विषयहरुले बहकाउन र हल्लाउन सक्दैनन् । आफ्नो केन्द्र आफूतिर फर्काउनका लागि श्वास–प्रश्वास सबैभन्दा अद्भूत माध्यम हो र आनापान सती ध्यान विधि हामीभित्र रहेको आफ्नो मूल केन्द्रसम्म पुर्याउने अत्यन्तै भरपर्दो माध्यम तथा सिढी हो । हरेक प्राणी तथा मनुष्यहरुको पहिलो र अन्तिम काम श्वास लिनु र छोड्नु हो । हामी सबैले आमाको शरीरबाट अलग भएर वाहिरी संसारमा अवतरि हुने तथा जन्मिने वित्तिकै श्वास लिने र मृत्युको समयमा श्वास छोड्ने गर्दछौं र स्थुल(भौतिक) संसार छोडेर जहाँबाट आएको त्यहीं सुक्ष्म(पराभौतिक) संसारमा फर्कन्छौं । मनुष्यको जीवनका पुरै विषय तथा घटनाहरु यही लिने र छोड्ने श्वाससंग तथा श्वासको विचमा घट्दछन् तर विडम्वना मनुष्यले जीवनका सबै कुराहरु देख्यो तर आफ्नो श्वासलाई कहिल्यै देखेन, जो आफूसंग सबैभन्दा नजिक छ त्यसलाई नै भुल्यो र संसारको भोगका विषयहरु जो सबैभन्दा टाढा छन् ऊबाट उ त्यसकै पछाडि भागिरह्यो मृत्यु पर्यन्त । तर उसले आफ्नो श्वासलाई कहिल्यै पनि ध्यान दिएन जवकी श्वासले नै ऊसलाई सबैथोक दियो, जीवन तथा प्राण नै दियो किनकी हामीमा श्वाश चल्दा मात्र हामी जिवित हुन्छौं, श्वास चल्न छोडेको क्षण हामी मृत हुन्छौं ।
गौतम बुद्धले भन्ने गर्थे, जसले आफ्नो श्वासलाई जान्दछ, उसले आफू स्वयंलाई जान्दछ किनकी श्वास भौतिक शरीर र अभौतिक चेतना अर्थात आत्माविचको पुल हो । जव मन वाहिरका भोगविलासका विषयहरुमा दौडिन छोडेर स्थिर र केन्द्रित हुन्छ तव श्वास बदलिन्छ, लामो र गहिरो हुन्छ, जव श्वास लामो र गहिरो हुन्छ तव मन शान्त हुन्छ र आफूभित्रको केन्द्रमा फर्कन प्रारम्भ गर्दछ । श्वासको प्राकृतिक स्वभाव हो हरप्रकारका सहजता तथा सुन्दरतामा स्वस्फूर्त दामो र गहिरो हुनु । जहिले पनि सुन्दर वस्तु देख्दा, सुमधूर आवाज सुन्दा, मिठो स्वाद लिदा, मनपर्ने स्पर्श पाउदा, मिठो सुवास महसुस गर्दाको समयमा श्वास लिदा श्वास स्वतः लामो र गहिरो हुन्छ र यस्तो अवस्थामा मन पनि स्वतः शान्त र आनन्दित हुन्छ । श्वासको प्राकृतिक स्वभावमा आउने यसप्रकारका गतिविधिहरु गर्दा र यसको प्रत्यक्ष प्रभावले श्वास लामो र गहिरो हुदा आनापान सती ध्यान साधना पनि स्वतः स्थिर र गहिरो हुदै जान्छ । श्वास लामो र गहिरो हुदा तथा आनापान सती सहि ढंगले घटित हुदा मन स्थिर र शान्त हुन्छ र मन स्थिर र शान्त हुदा मनुष्यको शरीरका सबै आयामहरु– शारीरिक, मानसिक, भावनात्मक, बौद्धिक, चेतनात्मक अवस्थाहरु स्वस्थ हुन्छन् किनकी मनुष्यको मूल अंग नै श्वास हो, श्वासनै चिकित्सक हो, श्वासनै औषधि हो र श्वास नै औषधि उत्पादन गर्ने कारखाना हो शिनकी श्वाससंग नै वाहिरी तथा आन्तरिक र स्थुल तथा सुक्ष्म सबै अंगहरु जोडिएका छन् यसकारण श्वास छ हामी जिवित रहन्छौं र श्वास छैन भने हामी मृत हुन्छौं ।
ध्यानका लागि बुद्धको ज्ञान आनापान सती
गौतम बुद्धका महान वाणी तथा उपलेशहरुका अनुसार, आफ्नो श्वासलाई बुझ्ने मनुष्यले मनलाई सजिलै बुझ्न सक्छ र जसले मनलाई बुझ्न सक्छ उसको जीवनका सबै आयामहरुका दुःख, पिडा, असहजता, चुनौतिहरु समाप्त हुन्छन् । तर आम मनुष्यहरु श्वासको यो अत्यन्तै सहज विधि, मार्ग तथा तरिका छोडेर कठिन मार्गमा दौडिरहेका छन्, आफूलाई दुःख दिरहेका छन्, तपाई रहेका छन् । कोही हिमालय, कोही गुफा, कोही तीर्थ, मन्दिर, कोही जंगलतिर धाइरहेका छन् त कोही टुप्पि कसेर ग्रन्थहरु कण्ठ गरिरहेका छन् आफ्नो मनलाई बुझ्न, शान्ति पाउन, दुःखहरुबाट मुक्ति पाउन र सत्यको खोजी गर्न तर आफूले खोजेको विषय यी कुनै गतिविधिहरुमा र कतैबाट पनि प्राप्त गर्न सकेका छैनन् किनकी उनीहरु झुठमुठको वैरागी भैरहेका छन् र वैरागी भएको अभिनय गरिरहेका छन्, शरीरलाई संसारको भोगबाट अलग गरेका छन् तर मनलाई अलग गर्न सकेका छैनन् र मन नै मुल हो जीवनका सबै दुःखहरुबाट मुक्ति पाउन, शान्ति अनुभव गर्न र सत्यको अनुभूति गर्न । मन वास्तविक अर्थमा वैरागी अर्थात वितरागी(सांसारिक विषयप्रतिको स्वीकारपूर्ण त्याग) हुनसक्यो भने मात्र यी सबै अवस्थाहरु हासिल हुन सक्छन् मनुष्यको जीवनमा र मनमा वैराग्यता तथा स्थिरताको अवस्था सिर्जना गरेर दुःखहरुबाट मुक्ति, शान्ति र सत्यको अनुभव तथा अनुभूति हासिल गराउने एकमात्र भरपर्दो विधि हो आनापान सती ध्यान साधना । यस सन्दर्भमा गौतम बुद्धले बारबार भनेका छन्, सत्य कहीं वाहिर छैन, सत्य हाम्रो श्वास र प्रश्वासको विचका छिपेको छ वस आफ्नो श्वासमा रोकिएर तथा केन्द्रित भएर हेर आफू हुनुको तथा आफ्नो मूल अस्तित्वको अन्तिम शाश्वत सत्य त्यहीं पाउने छौ, त्यहीं घटित हुनेछ परमचेतनाको मूल प्रकाश ।
यो सत्य हो कि सबैलाई आफ्नो श्वासमा रोकिन सजिलो छैन किनकी मनुष्यलाई एक्लै हुन, मौन हुन, एकान्तमा रहन डर लाग्छ यसकारण उ संधै हल्लाखल्लामा रहन्छ, गफगाफ, मोबाइल, टि.भी, रेडियो, चाडपर्व, भिडभाड, उत्सव, पार्टी केहीन केहीको आयोजना गरिरहन्छ आफूलाई एक्लै हुन नदिन तर एक्लै हुनु नै ध्यान साधनाको पहिलो सिढी हो । एक्लै नभइ मन स्थिर, शान्त, शुन्य हुन नै सक्दैन; मन स्थिर, शान्त, शुन्य नभइकन आफूतिरको यात्रा प्रारम्भनै हुदैन; र आफूतिरको यात्रा प्रारम्भ नभैकन अन्तिम सत्य अर्थात परमचेतनासंग साक्षातकार हुननै सक्दैन । तर मनुष्य एक्लै हुननै चाहदैन, एक्लोपनसंग डराउछ यसकारण ऊ संधै भिड र हल्लाखल्ला रुचाउछ ताकि आफूसंग आमना–सामना गर्नु नपरोस, आफूभित्र प्रवेश गर्नु नपरोस किनकी ऊभित्र धेरै अध्यारो छ, दबेर रहेका दुःखका स्मृतिहरु, पिडाका पोलाईहरु, दबेको क्रोध, अधूरा तथा अतृप्त इच्छाहरुको खालिपन छ, असुरक्षा छ र यिनीहरुले पैदा गर्ने कम्पन तथा तरंगहरु अत्यन्तै डरलाग्दा र असहिय प्रकृतिका छन् । श्वास–प्रश्वास अर्थात आनापानमा मन टिकाएर जव स्थिर र शान्त बस्ने प्रयास गरिन्छ तव यी आफूभित्र दबेर रहेका जन्म–जन्मका पुराना तथा नयाँ विषयहरु मनको माथि आउन र तैरिन थाल्छन् । यसकारण धेरै साधकहरु ध्यान साधनाको शुरुआतमा डराउछन्, उनीहरुलाई लाग्छ ध्यानमा रहनु गलत हो, यसबाट त अझ बढि अस्थिरता, अशान्ति र पिडाहरु अनुभव हुने रहेछ । तर हामी सबैले यो मुझ्नु अत्यावश्यक छ कि ध्यान गलत होइन र कहिल्यै पनि ध्यान गलत हुन नै सक्दैन किनकी मनुष्यको हरप्रकारका दुःख, पिडा, अस्वस्थता, असहजता, कठिनाइ, चुनौतिहरु निवारणको सबै भन्दा ठूलो औषधि नै ध्यान हो, समस्या अनेक समाधान एक ध्यान साधना, अर्थात केवल ध्यान साधना हो सबै समस्याहरुको एकमात्र समाधानको अचुक उपाय ।
हामी ध्यान साधनामा रहदा आफ्नो आन्तरिक अवस्थाको वास्तविक चित्र देखिन्छ । जो व्यक्ति आफ्नो आन्तरिक वास्तविक सत्यलाई हेर्न र त्यसको डटेर सामना गर्न हिम्मत गर्छ उसैको जीवन बदलिन सक्छ सकारात्मक किसिमले उसले चाहेको दिशामा । गौतम बुद्ध कहिल्यै कसैलाई कसैसंग लड्न र संघर्ष गर्न भन्दैनन् मात्र साक्षी भएर त्यो अवस्थालाई देख्न, हेर्न थाहा पाइरहन भन्छन् । क्रोध, वासना, दुःख, डर, राग, द्वेश, लोभ, मोह जे आएपनि आफू केवल साक्षी बनेर हेरीराखौं मात्र किनकी जुन विषयलाई हामी पूरा जागरुकताले तथा पूर्ण सजग(साक्षी) भएर हेर्छौं त्यो विस्तारै समाप्त भएर जान्छ । अध्यारो जति पुरानो र जति घना होस सानो दियोले त्यसलाई मेटाइदिन सक्छ । त्यसैगरि चेतनाको जागरुकताको सानो दियोले मनको अध्यारो(ती सबै दुःख, पिडा, अस्वस्थता, चुनौति)लाई समाप्त गर्नसक्छ र आएको–गएको श्वास–प्रश्वासलाई साक्षी भएर हर्ने आनापान सती विधि त्यही मनको अध्यारो हटाउने तथा चिर्ने दियो सल्काउने साधन(लाइटर) हो । श्वास–प्रश्वासमा मन केन्द्रित गर्दै जाँदा विस्तारै मनभित्र मौनले जन्म लिन्छ र मौन त्यस्तो अवस्था हो जो एकपटक घटित भएपछि साधक स्थितप्रज्ञ(आफूभित्रको केन्द्रमा स्थित) अवस्थामा प्रवेश गर्दै जान्छ र वाहिर जतिसुकै हल्लाखल्ला होस तथा उतार–चढावहरु आउन् ऊभित्र एकप्रकारको बलियो स्थिरता र शान्ति बनिरहन्छ, ऊ कुनैपनि अवस्थाहरुमा कत्तिपनि विचलित हुदैन, ऊभित्र सबै प्रकारका चुनौतिहरुको सामना गर्न सक्ने, चुनौतिहरुलाई अवसरमा बदल्न सक्ने, वाहिरी तथा आन्तरिक सबै प्रकारका असहजताहरुलाई सजिलै व्यवस्थापन गर्न सक्ने क्षमताको विकास हुन्छ । वाहिर मानिसहरु दुर्वचन बोल्छन्, अपमान गर्छन तर त्यसले ऊसको भित्र कुनैप्रकारको नकारात्मक हलचल, कम्पन तथा वाधा पैदा गर्दैन । त्यस्तै वाहिर अरुले प्रशंशा गर्छन तर ऊभित्र कुनै अहंकार उठ्दैन र यही नै बुद्ध तथा बुद्धत्वको वास्तविक अर्थ तथा अवस्था हो ।
हामी कोही पनि भ्रममा नबसौं कि कोही मनुष्यमा बुद्ध तथा बुद्धत्वको वास्तविक अवस्था कुनै तन्त्रमन्त्र, चमत्कार, पूजापाठ तथा आशिर्वादबाट आउदैन । बुद्ध तथा बुद्धत्वको वास्तविक अवस्था आफूभित्र घटित भएका साना–साना जागरुकता र साक्षी तथा सजक श्वासबाट आउछ । यसकालागि हरेकदिन थोरै समय आफूलाई दिनु पर्दछ– आफूलाई दिइएको समयमा आँखा बन्द गरौं, शान्त बसौं र सिर्फ आफ्नो श्वासको भित्र आउने(श्वास) र वाहिर जाने(प्रश्वास)को गतिविधिलाई हेरौं । श्वास–प्रश्वासलाई केही गर्नु पर्दैन, लामो–छोटो जस्तो छ त्यसलाई हेरौं र थाहा पाउँ मात्र, श्वास भित्र आएको र प्रश्वास वाहिर गएको लयसंगै आफूपनि लयवद्ध बनौं । अलि बानी पर्दैगएपछि श्वासलाई लामो र गहिरो(भित्र आएको श्वास भन्दा वाहिर गएको श्वासको समय लामो, भित्र आएको श्वास ४ सेकेण्ड भए वाहिर गएको प्रश्वास ६ सेकेण्ड) बनाउनु राम्रो हुन्छ, लामो र गहिरो श्वासमा अक्सिजन र प्राणउर्जाको प्रवाह तथा मात्र बढ्ने हुनाले यसले हाम्रो स्थुल शरीर र सुक्ष्म शरीरका सबै वाहिय तथा आन्तरिक आयामहरुलाई स्वस्थ, शुद्ध, सक्रिय र सन्तुलित तथा व्यवस्थित राख्न मद्धत गर्दछ र हाम्रो ध्यान साधना अझै गहिर्याउन मद्धत गर्दछ । कम्मर, ढाड, गर्धन, शिर सिधा राखेर, आँखा बन्द गरेर ध्यान साधनामा बसेर सामान्य अवस्थामा रहेको श्वास–प्रश्वासलाई हेरीरहदा श्वास आफैं स्वतः सुस्त, लामो र गहिरो हुदै जान्छ प्राकृतिक रुपमा । यसक्रममा विस्तारै विचारहरुविच अन्तराल आउन थाल्छ, यही अन्तराल नै ध्यानको विशेष अवस्था हो र ध्यानको यही विशेष अवस्था नै समाधिको द्वार हो । यही अन्तरालमा पहिलो पटक आफ्नो वास्तविक स्वरुपको महसुस हुन्छ । मानिसहरु सोच्ने गर्दछन् ध्यान साधना कुनै धार्मिक क्रिया तथा विषय हो तर होइन यो शुद्ध विज्ञान हो किनकी ध्यान साधनामा रहदा सबै साधकहरुमा एकैप्रकारको परिणाम तथा अनुभूति हुन्छ यदि सहि ढंगले आनापान विधिको अनुशरण गरेको छ भने । धार्मिक क्रिया तथा विषयमा आस्था राख्नेहरुको ध्यान साधनामा एकै प्रकारको परिणाम तथा अनुभूति हुन्छ भन्ने कुनै तथ्यगत प्रामाणिकता छैन तर ध्यान साधनाको सन्दर्भमा थुप्रै तथ्यगत प्रामाणिकताहरु रहेकाछन् ।
अध्यात्म विज्ञान र आधूनिक विज्ञानका वैज्ञानिक अध्ययनका तथ्यांकहरुले उजागर गरे अनुसार, जो कोही व्यक्ति क्रोधित हुदा उसको श्वास अस्थिर र छोटो हुन्छ, जव कोही व्यक्ति शान्त हुन्छ उसको श्वास सुस्त, लामो र गहिरो हुन्छ किनकी क्रोध, शान्ति र वर्तमान अवस्थासंग श्वासको सिधा र गहिरो सम्वन्ध रहेको हुन्छ । यसकारण गौतम बुद्धले संधैनै श्वासमा हनै जोड दिदै आए, श्वासलाई हेर किनकी श्वास वर्तमानमा हुन्छ तर मन कि अतीतका स्मृतिहरुमा हुन्छ कि भविश्यका योजनाहरुमा हुन्छ, मन कहिल्यै वर्तमानमा रहदैन र श्वासमा निरन्तरको साक्षी तथा सजगतापूर्ण हेराइले मनलाई विस्तारै वर्तमानमा केन्द्रित गराउन सक्दछ । हाम्रो श्वास संधै वर्तमानमा चल्छ, जो व्यक्ति वर्तमानमा टिकेर रहन सक्छ ऊ ततक्षण स्थिर, शान्त र मुक्त हुन्छ । मनुष्यको दुःख संधै समयसंग जोडिएको हुन्छ या बितेको समयको पश्चातापमा या आउनेवाला समय तथा भविश्यको डरमा रहेको हुन्छ । वर्तमानमा कुनै दुःख हुदैन, जुन क्षण वर्तमानमा पूर्णरुपमा उपस्थित भइन्छ सबैकुरा स्वतः स्थिर र शान्त हुन्छ र आनापान सती ध्यान साधनाको विधिले साधकलाई वर्तमान समयमा ल्याउन मद्धत गर्दछ । यसकारण आनापान सती यति महान साधना हो तर मानिसको मन अत्यन्तै चलाख छ, मनले भन्छ आनापान गरेर के मिल्छ, यति समय भैसक्यो कुनै अनुभव भएको छैन, किनकी मन संधै परिणाम चाहान्छ र परिणामको अनुभव गर्न हतारिन्छ तर सत्य बुझन तयारी हुदैन कि केवल कर्म गर्नु मनुष्यको अधिनमा छ परिणाम उसको अधिनमा छैन, परिणाम उसको कर्मको गुणस्तर र समय अर्थात प्रकृतिको अधिनमा छ । ध्यान साधनामा साधकलाई परिणाम प्राप्त हुने होइन केवल आन्तरिक रुपमा आफूमा आएको सकारात्मक परिवर्तन महसुस तथा अनुभूति हुन्छ जो मनातीत, भावातीत, शव्दातीत हुन्छ, शव्द तथा हाउभाउले अरु समक्ष व्यक्त गर्न सकिदैन, आफ्नो अनुभूतिमा मात्र रहन्छ स्थिरता, धैर्यता, शान्ति, आनन्दका रुपमा ।
यसरी ध्यान साधनाबाट जीवनमा आउने परिवर्तन अत्यन्तै विस्तारै क्रमिक रुपमा आउछ जसरी विहान उज्यालो हुनुअघि अध्यारो विस्तारै–विस्तारै कम हुदै जान्छ त्यसैगरि ध्यानमा पनि चेतनाको प्रकाश विस्तारै–विस्तारै प्रष्फुटित हुदै जान्छ यसकारण ध्यान साधनामा धैर्यता राख्नु अत्यावश्यक हुन्छ । गौतम बुद्धले वर्षौंसम्म ध्यान साधना गरे तर जव सत्य भेटे तव उनले भने जे मैले खोजिरहेको थिएं त्यो संधै नै मभित्रै रहेछ तव बल्ल जानें आफू हुनुको सत्य कहीं वाहिर रहेनछ । मनुष्य अज्ञानी छ, ऊ सुख, खुशी, शान्ति, आनन्द आफूभन्दा वाहिर खोज्छ त्यसैले चुक्छ, आनापान सतीले मनुष्यलाई आफैंभित्र फर्काइदिन्छ र भित्रको आन्तरिक सुख, खुशी, शान्ति, आनन्दमा पुर्याउछ । आफूभित्र भएको आन्तरिक सुख, खुशी, शान्ति, आनन्द दिगो र अनन्त हुन्छ, यसको कुनै अन्त्य हुदैन । एकपटक आफूभित्र भएको आन्तरिक सुख, खुशी, शान्ति, आनन्दको स्वाद मिलेपछि संसारका क्षणिक सुख, खुशी, शान्ति, आनन्द प्रदान गर्ने विषयहरु सबै फिका लाग्न थाल्छन् । आफूभित्र प्रवेश गरेर आफूभित्रै रहेको आफ्नो आन्तरिक सुख, खुशी, शान्ति, आनन्दमा उपलव्ध भएको व्यक्ति भिडमा पनि आफूलाई एक्लो, एकान्त र शान्त पाउछ र एक्लै रहेर पनि पूर्ण हुन्छ । उसलाई अव कुनै वाहिरी सहाराको आवश्यकता रहदैन किनकी उसले आफूभित्रको साहारा पाइसकेको हुन्छ र यहीनै वास्तविक बुद्ध तथा बुद्धत्व हो किनकी बुद्ध तथा बुद्धत्व व्यक्ति तथा भूमिका होइन यो एक परम शुन्यता तथा परम शान्तिको विशेष अवस्था हो । कुनै विशेष पहिरन लगाउनु, शिर मुण्डन गर्नु बुद्ध तथा बुद्धत्व होइन, भित्रबाट हरप्रकारले सुखी, खुशी, शान्त, आनन्दित हुनु तथा आफूभित्रको संसार हरप्रकारले स्थिर र शान्त हुनु वास्तविक बुद्धत्व हो ।
आफूभित्रको स्थिरता तथा शान्ति विचारहरुलाई दबाएर आउदैन, विचारहरुलाई साक्षी भएर हेर्न सक्ने कलाबाट मात्र आउछ । जति विचारहरुलाई साक्षी भएर हेरिन्छ उति विचारहरुको समुह मन कमजोर हुदै जान्छ किनकी मन अध्यारोमा जिउछ, चेतनको जागरुकताको उज्यालो विचार तथा मनको अन्त्य हो । साक्षी रहनु, सजग रहनु तथा जे भैरहेको छ थाहा पाइरहनु नै चेतनाको जागरुकता हो । यसकारण आनापान सती सिर्फ ध्यानको विधि होइन यो महानतम आत्मक्रान्ति हो । यदी हामी आनापान सतीलाई इमान्दारीपूर्वक अनुशरण गर्छौं भने हाम्रो पूरै जीवन अवश्य बदलिन्छ, सम्वन्ध, समृद्धि, वाणी, व्यवहार, आचरण, चरित्र, सोच, विचार, मन, भाव सबै सकारात्मक तवरले बदलिन्छन्, आँखामा एकप्रकारको अनुपम नयाँ शान्ति र शान्तपनको चमक आउछ, अरु मानिस हामीसंग बसेर आनन्द, शान्तिको महसुस गर्दछन् किनकी शान्ति सरुवा रोगहरु जस्तै संक्रामक हुन्छ, यो अर्को व्यक्तिमा सर्लक्कै सर्छ दुवै पक्षले थाहै नपाइकन । जसरी एउटा दिपकले हजारौं दिपकहरु जलाउन सक्छ त्यसैगरि एक शान्त व्यक्तिले हजारौं अशान्त तथा बेचैन व्यक्तिहरुलाई सकारात्मकतामा बदल्न र शान्त गराउन सक्छ । गौतम बुद्धको नजिक धेरै मानिसहरु आउने गर्दथे, यसरी उनलाई भेट्न धेरै मानिसहरु आउनुको कारण उनी बडो ज्ञानी भएर होइन, गौतम बुद्धको नजिक बस्ने वित्तिकै उनीहरुलाई असीम शान्तिको अनुभूति हुन्थ्यो, आफ्ना अस्वस्थता, कठिनाइ तथा समस्याहरु समाधान हुन्थे त्यसकारण नजिक जाने गर्दथे । गौतम बुद्धको उपस्थिति र उनीसंगको सानिध्यता नै अरुकालागि ध्यान साधनाबाट आउने परिवर्तन शान्ति र आनन्दको अवस्था थियो । यो सम्भावना हरेक मनुष्यको भित्र विद्यमान छ, हरेक मनुष्य बुद्ध हुन तथा बुद्धत्वमा उपलव्ध हुनसक्छ र यसको प्रारम्भ श्वासबाट हुन्छ, अर्थात श्वासलाई साक्षी भएर हेर्ने आनापान सती ध्यान विधिबाट हुन्छ । एकदम सानो र सहज हुरुआतबाट हरेक मनुष्यले आफ्नो जीवनमा यो अवस्था हासिल गर्न सक्दछ । पुरै जागरुकता तथा साक्षी भावमा रहेर श्वास भित्र आएको र प्रश्वास वाहिर गएको हेरेर दैनिक १० मिनेटबाट ध्यान साधना शुरुआत गरेर विस्तारै समय बढाउदै लानु सबैभन्दा उपयुक्त तरिका मान्दै आइएको छ । श्वास–प्रश्वासको गतिलाई हेर्ने क्रममा विचमा विचार आयो भने विचारसंग विलकुल नउल्झिकन अर्थात किन यस्तो विचार आयो, नआओस तथा नआएको भए हुन्थ्यो भनेर विचारसंग नलड्ने, पूर्णतः साक्षी भएर त्यसलाई हेरिरहने मात्र– ए मलाई खानाको विचार आएछ, ए मलाई पहिरनको विचार आएछ, ए मलाई फलानो व्यक्तिले गरेको दुव्र्यवहारको स्मृति आएछ, डरको, असुरक्षा, क्रोध, पिडाको विचार आएछ आदि... । विचारको प्राकृतिक स्वभाव तथा काम चल्नु, आउनु र जानु हो, विचार आउनु स्वाभविक तथा सामान्य कुरा हो, जिउदो मनुष्यमा विचारहरु आउनु पर्दछ, विचारहरु नआउनु असामान्य तथा अस्वस्थताको अवस्था हो ।
विचारहरु गतिमान र श्रृंखलावद्ध हुन्छन्, आउछन् र हामी तिनीहरुसंग उल्झलेनौं भने केही समयपछि आफैं जान्छन्, उल्झियौं भने जादैनन् हाम्रो मस्तिष्कमा बसिहन्छन् र हाम्रो मनको प्रतिक्रिया र समय लिरहन्छन् तर वास्ता गरेनौं भने विचारहरु आफैं टाढा हुदै र हराउदै जान्छन् । विचारहरु गतिमान र श्रृंखलावद्ध हुनेहुनाले एक समयमा एकप्रकारका विचार आउछन् र एकपछि अर्को–अर्को प्रकारका निरन्तर आइरहन्छन् । विचारहरुसंग नउल्झीकन तटस्थ रुपमा साक्षी भएर हेरीराख्यौं भने विचारहरु आउछन्, आफैं जान्छन् र फरी तिनै विचारहरु फर्केर आउदैनन् समय र मुल्य नपाएको कारण । यसरी विचारहरुसंग नउल्झीकन तटस्थ भएर विचारलाई हेरिरहदा विचार आउने क्रम आफैं कम हुदै जान्छ किनकी मनले विचाहरुलाई समय र मूल्य दिएन भने विचारहरु थाक्छन् र विस्तारै स्वतः आफैं आउन बन्द हुन्छन् । आनापान सती ध्यान विधिको नियम अनुसार आएका विचारहरुलाई तटस्थ भएर हेर्न मुस्किल परिरहेको छ भने विचारहरुलाई व्यवस्थापन गर्न जान्नु पर्दछ र यो कला साधकको बुद्धिमता, कुशलता, विवेकशीलतामा निर्भर गर्दछ । मनले साधकलाई हरप्रकारले वाहिर तान्न खोज्छ विचारहरुको माध्यमबाट तर आफू प्रसस्त सजक भएर बारबार मनलाई श्वासमा फर्काउनु पर्दछ । यसो गर्दा विस्तारै–विस्तारै मन हार्छ किनकी विचारहरुलाई उर्जा तथा भाउ दिन तथा आफू त्यससंग जोडिन बन्द गरेपछि विचारहरु आफैं स्वतः छुट्दै जान्छन् । जुन दिन आफू सिर्फ विचारलाई देख्नेवाला बनिन्छ त्यसैदिन मनको जादु टुट्न थाल्छ र एकदिन आफूलाई अचानक लाग्छ कि आफूभित्र एउटा गहिरो शन्नाटा, शुन्यता अनुभवमा आउछ । यही सन्नाटा शुन्यता तथा शुन्य निराकार परमात्मा हो, यही निराकार सन्नाटा निर्वाणको अवस्था हो, बोध हो, बुद्ध तथा बुद्धत्व हो । यही शून्यता तथा वोधको अवस्थालाई बौद्ध दर्शनले निर्वाण(इटरनल लिवरेसन– जन्म र मृत्युको चक्रबाट पार) भन्दछ र यही निराकार तथा ब्रम्हज्ञानको अवस्थालाई वैदिक दर्शनले मोक्ष(जन्म र मृत्युको चक्रबाट पार) भन्दछ । गौतम बुद्धले कुनै अलौकिक चमत्कारीक भगवान तथा इश्वर, आत्मा, परमात्माको कुरा गरेनन् मात्र चेतनाको जागरुकताको कुरा गरे र जाग्ने सरल विधि आनापन सतीलाई प्रमुख मार्ग बताए र सबैलाई देशना प्रवाहित गरे बुद्ध हुनु छ भने आनापाना सती सिक किनकी कसैकालागि पनि वाहिरको संसार बदल्न सम्भव हुदैन, हामीले आफूभित्रको आफ्नो संसारलाई जित्न तथा बदल्न सक्नु पर्दछ र यो सम्भव छ । जसले आफ्नो भित्रलाई बदल्न तथा जित्न सक्छ, उसले सबैकुरालाई जित्न सक्छ र उसको वाहिर जतिसुकै अशान्ति भएपनि ऊ हरहालमा शान्त रहन सक्छ । यहिनै बुद्धको मूल ज्ञान हो, आनापान सतीको चमत्कार हो र यो सबैकालागि सम्भव छ ।
छिट्टै,
@सनातन धर्ममा बौद्ध धर्मको सकारात्मक प्रभाव
@मूलभूमि नेपाल र भरतमा बौद्ध धर्मको पुनरागमन र विस्तार
@राजकुमार सिदार्थ गौतमको बोधिवृक्षदेखि वैश्विक दर्शनसम्मको यात्रा
No comments:
Post a Comment