'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Monday, 11 May 2026

पश्चिमी विश्व यूरोपमा बौद्ध दर्शनको विस्तार र अनुशरण

डा. सिर्जना भण्डारी



विषय प्रवेश 

अमेरीकामा बौद्ध दर्शनको जागरण र विस्तारको दौर तेज रफ्तारमा चलिरहेको समयमा यूरोप पनि पछाडि थिएन यस सन्दर्भमा । ब्रीटेन र जर्मनीले सन् १८०० को अन्त्यतिर अर्थात उन्नाइसौं शताव्दीको उत्तरार्धमा बौद्ध समाजको स्थापना गरे र जीवन सहज, सरल, शान्त र सदभावपूर्ण बनाउन मद्धत गर्ने बौद्ध दर्शनका जीवनउपयोगी ज्ञान, विज्ञानलाई व्यवहारिक रुपमा अनुशरण गर्न प्रारम्भ गरे । यस समयका महान स्वीस मनोवैज्ञानिक कार्ल युंग(१८७५–१९६१)ले मानिसको मन, भाव, चेतना तथा मनोविज्ञान र यिनको अवस्था तथा विकासका विषयहरुका सन्दर्भमा आफ्नो सोध तथा खोजमूलक कार्यहरुमा विश्वमा विभिन्न समयमा प्रादुर्भाव भएका विविध प्रकारका विचारधारा तथा दर्शनहरुलाई सामेल गराएर समय सान्दर्भिक हुनेगरि आधूनिक तवरले आधूनिक मनोविज्ञानको विकासमा अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले यस सन्दर्भमा सोध तथा खोज मुलक ढंगले गहन अध्ययन गर्न पृथ्वीको पूर्वीय भूगोल भारतमा लामो समय वैदिक दर्शनका अनुयायी योगी, सन्तहरुसंग र बौद्ध दर्शनका अनुयायी भिक्षुहरुसंग गुणस्तरिय समय बिताए र आफूलाई आवश्यक पर्ने मानवको मनोविज्ञानसंग सम्वन्धित महत्वपूर्ण विषयका पर्याप्त सूचना, जानकारी तथा तथ्यांकहरु संकलन गरी आफ्नो देश फर्किएर मानिसको मन, भाव, चेतना तथा मनोविज्ञानको अवस्था र विकाससंग सम्वन्धित विषयहरु समेटेर श्रृंखलावद्ध रुपमा आधूनिक मनोविज्ञानका पुस्तकहरु लेखे र क्रमशः प्रकाशित गर्दै गए । आधूनिक मनोवैज्ञानिक कार्ल युंग आफू स्वयंले सनातन वैदिक भूमि भारतमा लामो समय लगाएर स्थलगत रुपमा गरेका शोध, खोज, अध्ययन र अनुसन्धानबाट प्राप्त भएका वैज्ञानिकतामा आधारित सूचना, जानकारी तथा तथ्यांकहरु आफ्ना पुस्तकहरुमा समावेश गरेकाले उनका पुस्तकहरु यूरोपका साना तथा ठूला विद्यालय र विश्वविद्यालयका पाठ्क्रमहरुमा समावेश गरिए र पूर्वीय ज्ञान, विज्ञानका विषयहरु विश्वको पश्चिमी भूगोल युरोप, अमेरीकामा औचारीक रुपमा अध्ययन, अध्यापन गराउन प्रारम्भ गरिए र विस्तारै विश्वका अरु देशहरुले पनि मनोविज्ञानका यिनै पाठ्यक्रमहरुमा समावेस गरिएका विषयहरुलाई अनुशरण गरे, तत तत मुलुकका विद्यालय र विश्वविद्यालयका पाठ्क्रमहरुमा समावेश गरेर । यसप्रकार क्रमिक रुपमा पूर्वीय सनातन वैदिक दर्शन र बौद्ध दर्शनका ज्ञान, विज्ञानका विषयहरु संसारभरि प्रचार र विस्तार हुदैगए । विसौं शताव्दीमा स्क्यान्डेभियन क्षेत्रहरु(मानव सुचकांकका आधारमा अति विकसित मुलुकहरु)मा बौद्ध दर्शनका केन्द्रहरु खुल्न प्रारम्भ भए । सन् २००० को पूर्वाद्र्धमा वर्लिन, पेरीस, लण्डन जस्ता विश्वकै विकसित नगरहरुमा तिव्बतीयन बौद्ध मार्गी दलाई लामाको आगमनमा उनलाई त्यहाँका नागरिकहरुले आदरपूर्वक खडा भएर सम्मान व्यक्त गरेका थिए बौद्ध दर्शनको स्वीकार र अनुशरण गरेको प्रतिक स्वरुप र दलाई लामाबाट बौद्ध दर्शनका ज्ञान, विज्ञानहरु श्रवण र अनुशरण गर्न प्रारम्भ गरेका थिए । यसपश्चात बौद्ध दर्शनलाई अझ गहन ढंगले सबैमाझ पुर्याउन फ्रान्स, स्वीजरल्याण्ड, नेदरल्याण्ड लगायत वरिपरिका देशहरुमा बौद्ध दर्शनका केन्द्रहरु खोल्न प्रारम्भ गरिएको थियो र बौद्ध विचारधारा तथा दर्शनका मूलमर्म तथा मूलभाव अनुसार यसका जीवनउपयोगी ज्ञान, विज्ञानहरुको अनुशरण गर्न प्रारम्भ गरियो ।


वर्तमान समयमा हामी सनातन ज्ञान, विज्ञानको मूलभूमि नेपाल र भारत स्वयंले समेत हाम्रै पूर्वीय भूमिमा प्रादुर्भाव भएको र यतैबाट निसृत भएर विश्वको पश्चिमी भूगोलका युरोप र अमेरीकाका दार्शनिक तथा वुद्धिजिवीहरुले प्रतिपादन गरेका यिनै पूर्वीय प्राचीन ज्ञान, विज्ञानका विषयहरु नै आधूनिक मनोविज्ञानका रुपमा अनुशरण गर्दै आइरहेका छौं र हाम्रा विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रमहरुमा समावेस गरेर अध्ययन, अध्यापन गराउदै आइरहेका छौं । पूर्वको भूमिमा प्रादुर्भाव भएर पिश्चमको भूमिको यात्रा गर्दै आधूनिक स्वरुपमा रुपान्तरण भएर पुनः पूर्वकै भूमिमा आएपुगेको छ मानिसको तन, मन, भाव, वुद्धि, चेतना, मनोविज्ञानको अवस्था र विकास विषयहरु र यी आयामहरुको सन्तुलित विकास तथा व्यवस्थापनमा योग साधना र ध्यान ध्यान साधनाको उल्लेख्य भूमिकाका प्रयोगात्मक अभ्यासका तथ्यहरुको ज्ञान र विज्ञान । 


पश्चिमी विश्वमा धर्म निरपेक्ष बौद्ध दर्शनको अनुशरण

वर्तमान समयमा विश्वभरि ठूलो संख्यामा बौद्ध मार्गीहरु रहेकाछन् । यो संख्या पश्चिमी देशहरुमा पनि निकै ठूलो संख्यामा रहेकोछ र विस्तारका गतिविधिहरु वर्तमान समयको प्ररिप्रेक्षमा अझ बढ्दो क्रममा रहेका छन् । विश्वमा अनुशरण गरिएका बौद्ध दर्शनका अधिकांश गतिविधिहरु गैर धार्मिक प्रकारका देखिएकाछन् किनकी पश्चिमेलीहरु ध्यान गर्छन, सहज जीवनशैली सिकाउने बौद्ध ग्रन्थहरु अध्ययन गर्छन् र आफ्नो जीवनमा अनुशरण गर्छन तर बौद्ध धर्मका धार्मिक संस्कार, संस्कृति तथा परम्पराहरु अनुशरण गर्दैनन्, धार्मिकतामा इशाई धर्मकै मूल्य–मान्यताहरु अनुशरण गरिरहेका छन् । आफूले अनुशरण गर्दै आइरहेको धर्म तथा आस्थालाई धर्मान्तर नगरीकन बौद्ध धर्मका नैतिक र अनुशासित मध्यममार्गमा आधारीत जीवनशैलीका ज्ञान, विज्ञानहरुलाई अनुशरण तथा व्यवहारिक अभ्यास मात्र गर्दै आइरहेका छन् । बौद्ध विचारधरालाई कुनै धर्म तथा आस्थाको विषयका रुपमा प्रस्तुत नगरि दर्शनका रुपमा मान्यता प्रदान गरेर यसका विभिन्न प्रकारका महत्वपूर्ण मनोवैज्ञानिक चिकित्सा तथा थेरापीहरु र वर्तमानमा केन्द्रित रहन सिकाउने साक्षी भाव ध्यान साधना तथा माइन्डफुलनेस मेडीटेसनमा आधारित तनाव कम गर्ने भरपर्दा वैज्ञानिक उपायका विधि, पद्धति तथा प्रक्रियाहरु विद्यालय र विश्वविद्यालयका पाठ्यक्रमहरुमा समावेस गरेर सबै उमेरका मानिसहरुलाई बौद्ध दर्शनको जीवनशैली सहज र सरल गर्ने ज्ञान, विज्ञानहरु सिकाइरहेका छन् धर्म निरपेक्ष प्राचीन ज्ञान, विज्ञानका रुपमा ।

 

वर्तमान समयमा पश्चिमका देशहरुमा सबै प्रकारका संघ, संगठनहरुका कार्यस्थलमा बौद्ध दर्शनका जीवनउपयोगी ज्ञान, विज्ञानका विषयहरुलाई प्रचार र विस्तार गरेर सबैको जीवनशैलीमा तथा जीवनका सबै आयामहरुमा सकारात्मक परिवर्तन ल्याउनका लागि बौद्ध दर्शनका जीवनउपयनेगी सुत्र तथा विधिहरु अनुशरण गर्न सबैलाई उत्प्रेरित गरिदै आइएको पाइन्छ । प्राविधिक क्षेत्र गुगल, एप्पल, माइक्रोसफ्ट जस्ता विश्वप्रसिद्ध ठूला वैश्विक संस्थाहरु, विश्वविद्यालयहरु, स्वास्थ्य संगठनहरु आदिले अलग्ग योग र ध्यान साधना गर्ने कक्षहरु उपलव्ध गराएर पूर्वीय वैदिक दर्शन र बौद्ध दर्शनले प्रदान गरेका योग र ध्यान साधनाका सरल र सहज जीवनशैलीका सुत्र तथा विधिहरु आफ्नो जीवनमा नियमित रुपमा अनुसारण गर्न हरकोहीलाई हरप्रकारले प्रोत्साहित गर्दै सक्दो सहजता गरिरहेका छन् । यसप्रकारका गतिविधिहरुका कारण पश्चिमी विश्वमा बौद्ध दर्शन धर्मको रुपमा नभई सहज जीवनयापन गर्ने एक तरिका, कला तथा जीवनशैलीका रुपमा प्रचार र विस्तार हुदै गैरहेको छ धर्म निरपेक्ष(विशेष देवी–देवता तथा संस्कृतिप्रति आस्था नभएको) एक अलग नवीन विचारधाराका रुपमा । यस सन्दर्भमा विज्ञहरुको मतले पनि यस्तै संकेत गरेको देखिन्छ, उनीहरुका अनुसार बौद्ध दर्शन धर्म तथा आस्था भन्दा सहज जीवनशैली जीवनयपन गर्न सिकाउने कलाको विज्ञान भएकोले यसरी तिब्रगतिमा विश्वव्यापी रुपमा प्रचार र विस्तार हुनसकेको हो किनकी यदि यो कुनै धर्म, विशेष संस्कार तथा संस्कृतिप्रति आस्थावान भएर देवी–देवता मान्ने तथा पुज्ने विचारधारा तथा आस्था भएको भए विश्वका सबै मानिसहरुले यति सहजै रुचाउने र व्यवहारिक रुपमा अनुशरण गर्ने थिएनन् जुन चुनौति वर्तमान समयमा वैदिक दर्शन तथा हिन्दु धर्म बेहोरीरहेको छ र विश्वकै एक उत्कृष्ट दर्शन हुदाहुदै पनि आफ्नै मूलभूमि नेपा, र भारतमा मात्र खुम्चिरहन बाध्य भएको छ । बौद्ध दर्शन पनि पूर्वीय सनातन धर्म तथा आस्थाकै एक शाखा हो वैदिक दर्शन भन्दा पछि प्रादुर्भाव भएको तर वैदिक दर्शनको तुलनामा विश्वमा बौद्ध दर्शनलाई सबैले मन पराउछन्, अनुशरण गर्छन, लोकप्रिय छ र वैश्विक दर्शनका रुपमा स्थापित समेत भैसकेको छ ।


पश्चिमी विश्वले वैदिक दर्शन भन्दा बौद्ध दर्शन किन रुचाउछ 

पहिलो कारण

बौद्ध धर्म तथा दर्शनमा देवी–देवता मान्ने तथा पुज्ने संस्कृति प्रारम्भबाट नै रहेकोछैन, यसमा केवल गुरुको श्रद्धा गर्ने तथा गुरुलाई नै सर्वमान्य मानेर पुज्ने परम्परा रहेको छ र बौद्ध दर्शनको सर्वोच्च गुरु बौद्ध दर्शनका प्रणेता गौतम बुद्ध मानिन्छन् । बौद्ध दर्शन प्रारम्भ हुदादेखिनै गौतम बुद्धले आफ्ना विचारधाराहरुमा कुनै देवी–देवताहरुको पूजा–आराधना गरेर र अरुको आशिर्वादबाट नभई हरप्रकारले आफ्नो जीवनशैली सहि बनाएर मात्र जीवनका सबैप्रकारका दुःखहरुबाट मुक्ति पाउन सकिन्छ भन्ने विचार व्यक्त गरेका थिए र सबैकालागि समान रुपमा अनुशरण गर्न सकिने मानिसको जीवनशैली हरप्रकारले सहि बनाउने सुत्र तथा विधिहरु प्रदान गरेका थिए । क्रमशः व्यक्ति, समाज र मानव सभ्यता विकास हुनेक्रममा पछि गएर विस्तारै यिनै सुत्र तथा विधिहरु बौद्ध दर्शनका रुपमा प्रचलनमा आउदै गए र प्रख्यात भए र त्यसै अनुसार नै अनुशरण गर्न थालियो विश्वव्यापी रुपमा । स्वयं बौद्ध मार्गी तथा बौद्ध अनुयायीहरु नै भन्ने गर्दछन् कि बौद्ध विचारधारा तथा दर्शन केवल जीवनशैली सहि ढंगले जिउन सिकाउने कलाको ज्ञान, विज्ञान हो जुन सबैकालागि बुझ्न सहज र अनुशरण गर्न हरप्रकारले व्यवहारिक छ र उत्तिकै उपयोगी पनि छ, यसकारण सबैले यो जीवनशैली अपनाऔं र आफ्नो जीवनलाई आरोग्य तथा पूर्णता भरिएको बनाउँ । किनकी बौद्ध दर्शनका प्रणेता गौतम बुद्ध स्वयंले कुनै भगवान, इश्वर, आत्मा, परमात्मा र यसको दिव्यताको कुरा गरेका छैनन्, आत्मवोध र आत्म श्रेष्ठता, बुद्धत्व तथा निर्वाणको अवस्थाको विषय अघि सारेकाछन् । यसकारण धार्मिक दृष्टिकोणले गौतम बुद्धका विचारमा साधापन र सिधापन छ; कुनै प्रकारको चुनौति तथा डर छैन; बुद्धत्व तथा निर्वाणमा उपलव्ध हुनु उनको दर्शनको अन्तिम लक्ष्य हो; निर्वाण केवल विचार, मन तथा भावको शुन्यताको स्थिर स्थिति हो अर्थात मनातीत र भावातीत अवस्था हो; बौद्ध दर्शन भगवान तथा ब्रम्हसंगको साक्षातकार तथा एकाकारको रहस्यमय दिव्यताको विषय होइन र छैन बौद्ध धर्म तथा दर्शनमा किनकी बुद्धको विचारधारामा इश्वर, ब्रम्ह अर्थात परमात्मा र आत्माको अवधारणा नै समावेश छैन । यसकारण बौद्ध धर्म तथा दर्शन सजिलो छ, यसलाई लगेर थपक्क आफ्नो धर्म(इशाई)मा राख्न सकिन्छ आफ्नो धर्म तथा आस्थामा कुनै प्रकारको खलल नपर्नेगरि किनकी बौद्ध धर्म तथा दर्शन सहि ढंगले जीवन जिउने सहि तरिका सिकाउने विज्ञान भएकोले यसले इशाई(क्रिश्चियन) धर्ममा पूजा–उपासना–प्रार्थना गरिने भगवान इशामसिहको अस्तित्व र मान्यतामा कुनै प्रकारको अमान्यता तथा अनास्था ल्याउदैन, आफ्नो धार्मिक आस्था र भगवानको अस्तित्व र मान्यतालाई जस्ताको तस्तै राख्न सकिन्छ । यसरी आफ्नो धार्मिक आस्था र भगवानको अस्तित्व र मान्यतालाई जस्ताको तस्तै राख्न सकिने र जीवन सहज गर्न बौद्ध दर्शनमा उल्लेखित सुत्र तथा विधिहरुका अनुसार ध्यान साधना गरेर आत्मा अर्थात चेतनाको मनातीत, भावातीत अवस्था, सुख, शान्ति, आनन्द हासिल गर्न सकिने भएकोले पश्चिमी विश्वमा वैदिक तथा अरु धर्म तथा दर्शनहरुको तुलनामा बौद्ध दर्शन बढि रुचाइन्छ र व्यवहारिक रुपमा धेरै मानिसहरुले अनुशरण गर्दछन् । पश्चिमका इशाई धर्ममा आस्था राख्ने क्रिश्चियनहरुले इशाई धर्मको मूल्य–मान्यता अनुसार आफ्नो धर्म तथा आस्थामा कुनैप्रकारको असहजता नआउने गरि बौद्ध दर्शनका जीवनउपयोगी सुत्र तथा विधिहरुको अनुशरण गरेर यसरी हासिल गरेको जीवनको शान्ति तथा आनन्दबाट सिर्जत ‘निर्वाण’को स्थिर अवस्थाको स्थानमा ‘सालभेसन(मुक्ति)’ राखेर अर्थात थपक्क कट र पेष्ट(झिक्ने र राख्ने) गरेर आफ्नो धर्म तथा आस्थाका मूल्य–मान्यताहरुमा कुनै प्रकारको फेरवदल नआउने गरि आफ्नो रुचि र आवश्यकता अनुसार परिमार्जित गरेकाछन् र आफ्नो र समग्र इशाई धर्म समाजको जीवनयापनलाई सहज बनाएका छन्  । 


यही तरिका अपनाएर पश्चिमी विश्वमा सबैभन्दा ठूलो संख्यामा रहेको इशाई धर्मले बौद्ध दर्शनलाई आफूमा समाहित तथा समावेश गरेर इशाई धर्मको आस्था अनुसारको जीवनपद्धति अंगीकार गरेकोले उनीहरुको समाजमा यो प्रयोग(एक्सपेरीमेन्ट) सहज भयो तर यसरी वैदिक धर्म तथा दर्शनलाई काटछाँट गरेर आफ्नो अनुकुल बनाएर थपक्क कट र पेष्ट गर्न सकिदैन किनकी वैदिक जीवनपद्धतिलाई आफ्नो जीवनशैलीमा अनुशरण गर्न यसका दिव्यता(डिभिनिटि)मा आधारित दैवीक आस्था, संस्कार, संस्कृति, परम्पराहरु र यससंग सम्वन्धित देवी–देवता, भगवान, इश्वर, दिव्य शक्ति, अवतार सबैलाई एकसाथ राखेर उचित मान्यता प्रदान गरेर मात्र अंगिकार गर्नुपर्ने हुन्छ जुन अर्को धर्ममा आस्था राख्नेहरुका लागि सहज तथा सम्भव नहुन सक्छ । वैदिक दर्शन अर्थात हिन्दु धर्म अनुशरण गर्न चाहना राख्ने  नयाँ व्यक्ति, समुह तथा समाजले यसका पराभौतिक तथा परालौकिक विषयहरु, यसका मूल विषय तथा मूल्य–मान्यताहरुमा यो मान्छु, यो मान्दिन, यो राख्छु, यो राख्दिन, यो अनुशरण गर्छु यो गर्दिन भन्न मिल्दैन र कुनै प्रकारले कट र पेष्ट अर्थात झिक्न र राख्न मिल्दैन । यसकारण यस्ता रहस्यमय गुढ विषयहरुदेखि इशाईहरु डराउछन् र वैदिक धर्म तथा दर्शनका विषय तथा मूल्य–मान्यताहरु अनुशरण गर्न हच्कििन्छन् तथा हिचकिचाउछन् कतै आफ्नो धर्म तथा आस्थामाथि थिचोमिचो पर्ने होकि, खलल पर्ने होकि र यस्तो अवस्थाले इशाइ धर्ममा असन्तुष्टीका आवाजहरु उठेर धर्ममै मतभेद, विखण्डन आउने होकि भनेर र उनीहरु इश्वरीयता तथा दिव्य शक्तिको मान्यता नभएको बौद्ध धर्म तथा दर्शनलाई सहज मान्दछन् किनकी बौद्ध धर्म तथा दर्शनले पारमार्थिक जीवन, सुक्ष्म जीवन तथा सुक्ष्म संसारका रहस्यमय परालौकिक दिव्य विषयहरुलाई समेट्दैन । बौद्ध धर्म तथा दर्शनमा पराभौतिक तथा परालौकिक विषयहरु र तिनका मूल्य–मान्यताहरु नभएका कारण यो हरप्रकारले सहज र खुल्ला छ यस सन्दर्भमा र सबैकालागि अनुशरण गर्न सहज भएको हो सांसारिक रुपमा वाहिर समृद्धि र आन्तरिक रुपमा मन तथा भावभित्र सुख, खुशी, शान्ति हासिल गर्नकालागि । 


सन् १९६० को दशक यतादेखि बौद्ध धर्म तथा दर्शनका महान अनुयायी विश्वको पूर्वीय हिमवत भूमि तिव्बतका दलाई लामाले पश्चिमी विश्वमा बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तार गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन् । वैदिक दर्शनका गुरुहरु पनि सन् १९६०, ७०, ८० को दशकमा विश्वव्यापी रुपमा निकै सक्रिय रहेका थिए तर वैदिक दर्शनका गुरुहरुले आफूले मेहनत गरे अनुसार पश्चिमका मानिसहरुमा वैदिक दर्शन अर्थात हिन्दु धर्मप्रति उति आकर्षण जगाउन सकेनन् जति प्रारम्भिक चरणमै बौद्ध दर्शनका अघिल्ला पुस्ताका भिक्षुहरु र पछिल्लो चरणमा भिक्षु दलाई लामाले आकर्षण जगाउन सके । यसको मूलकारण थियो वैदिक अर्थात हिन्दु गुरुहरुले वैदिक आस्थाका इश्वरीय मूल्य–मान्यतामा त्यति खुकुलोपन नदिनु जति बौद्ध दर्शनले दिरहेको थियो र दिरहेको छ किनकी बौद्ध दर्शनमा देवी–देवता, दिव्य शक्ति, इश्वर, आत्मा–परमात्मा, अवतार जस्ता परालौकिक तथा पराभौतिक(मेटाफिजिकल) विषयहरु छदैछैनन् जसलाई प्रामाणिक रुपले पुष्टी गर्न मुस्किल पर्ने गर्दछ जुन विषय वैदिक दर्शनले अनुभव गर्दै आइरहेको थियो र छ ।


दोस्रो कारण

बौद्ध अनुयायीहरुले बौद्ध विचारधाराको प्रादुर्भाव भएको प्रारम्भिक चरणदेखि नै संघको स्थापना गरेर आफ्ना सर्वकल्याणका गतिविधहरुलाई अगाडि बढाइरहेका थिए, ठिक त्यस्तै रणनीति दलाई लामाको नेतृत्वले पछिल्लो चरणमा पश्चिमी विश्वमा आपनाएर अगाडि बढ्यो र व्यवस्थित किसिमले सबै विषय र अवस्थाहरुलाई व्यवस्थापन गर्दै योजनावद्ध ढंगले लाखौंको संख्यामा पश्चिमाहरुलाई बौद्ध धर्म तथा दर्शनमा आवद्ध गराउदै, रुपान्तारण गराउदै तथा प्रवेश गराउदै आइरहेका छन् तर वैदिक दर्शन तथा हिन्दु धर्ममा यसप्रकारले संघ निर्माण र संचालनको परम्परा प्रारम्भिक चरणबाट नै थिएन र अहिलेसम्म अपनाइएको छैन । यस अभियानमा अझ सशक्तता र प्रभावकारीता ल्याउन पछिल्ला चरणहरुमा भिक्षु दलाई लामाले पश्चिमी विश्वका बौद्ध अनुयायीहरुलाई खुल्ला रुपमा आव्हान र अनुरोध गरे र भने, “विश्वका सबै मानिसहरुलाई स्वास्थ्य, सुख, खुशी, शान्ति, आनन्द तथा समग्रमा आरोग्यता र पूर्णताले भरिएको जीवन चाहिएको छ र त्यसकालागि बौद्ध दर्शनले उजागर गरेका सहि ढंगले जीवनयापन गर्ने सम्यक तथा मध्यमार्गी जीवनशैलीका सुत्र तथा विधिहरुको अनुशरण अत्यन्तै व्यवहारिक छ, तसर्थ आफूले बौद्ध दर्शन अध्ययन गरेर विश्वभरिका विश्वविद्यालयहरुको माध्यमबाट अरुलाई बौद्ध दर्शन अध्यापन जानुहोस् र मानवीय धर्म निभाएर तथा पालना गरेर सबैको जीवनमा सकारात्मक रुपान्तरण अर्थात स्वास्थ्य, सुख, खुशी, शान्ति, आनन्द, आरोग्ता तथा पुर्णताले भरिएको जीवन प्रदान गर्नुहोस्; यो ज्ञान सबैकालागि हो, सबैलाई लाभ पुग्नेगरि वैश्विक रुपमा बाड्नुहोस्; सबैलाई यसमा समावेश गराउनुहोस् र सबैको जीवन सहज गराउन मद्धत गर्नुहोस् किनकी आज विश्व विविध कारणहरुले अत्यन्तै आक्रान्त र अशान्त छ; व्यक्तिहरु अशान्त रहुन्जेल समाज, विश्व, प्रकृति, जगत, ब्रम्हाण्ड कतैपनि शान्ति छाउन सम्भव हुदैन । यसकारण पहिलो काम हरेक व्यक्तिको स्वास्थ्य, सुख, खुशी, शान्ति, आनन्दमा काम गर्नु अत्यावश्यक हुन्छ एक महाअभियानका रुपमा किनकी हामीले विश्वव्यापी रुपमा अशान्ति तथा तनाव महामारी बन्दै गैरहेको विश्व स्वास्थ्य संगठनको डरलाग्दो खुलासाबारे जानकारी पाइसकेका छौं, त्यसैले यसउपर सबै मिलेर काम गरौं, बौद्ध दर्शनका मानवीय, व्यवहारिक, मध्यमार्गी जीवनशैलीलाई विश्वव्यापीकरण गरौं सबैको कल्याण तथा भलाईका लागि ।” भिक्षु दलाई लामाको यो महान वक्तव्य र विनम्र आव्हान पश्चात विश्वका धेरै विश्वविद्यालयहरुमा बौद्ध धर्म तथा दर्शनको अध्ययन र अध्यापन गराउने क्रम बढ्दैगयो तर वैदिक दर्शन तथा हिन्दु धर्मले यसरी वैश्विक रुपमा प्रभावकारी हुने किसिमले आफ्ना मूल्य–मान्यताहरुलाई अगाडि बढाउन ताथ पस्कन सकेन । यसरी संघ निर्माण गरेर अगाडि बढ्ने व्यवस्थापनको प्रक्रिया बौद्ध मार्गी मुलुकहरु तिव्बत लगायत चीन, जापान, म्यानमार, थाइल्याण्डले पनि अनुशरण गरिरहेका छन् र बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तार गरिरहेका छन् ।    


बौद्ध दर्शनको सन्दर्भमा गलत बुझाइ र आलोचना 

जहिले पनि कुनैपनि विषयकाबारे अझ स्पष्ट हुनेगरि बुझ्नका लागि दोस्रो पक्षको आलोचनात्मक दृष्टिकोणको सहभागिता बिना पूरा हुन सम्भव हुदैन । केही शुभचिन्तकहरुले वर्तमान समयमा बौद्ध धर्म तथा दर्शनमा भैरहेको पश्चिमीकरण अवधारणा तथा स्वरुप(मोडल)को आलोचना गर्दै आइरहेका छन् किनकी यो प्रक्रिया अत्यन्तै व्यवसायिक भएर बजारको रुपमा अगाडि बढिरहेको छ र धर्म तथा दर्शन जस्तो समवेदनशील विषय तथा क्षेत्रमा भएका यस्ता व्यवसायिक गतिविधिहरुले समुच्चा बौद्ध धर्म तथा दर्शनको अवधारणा, मूलमर्म तथा मूल्य–मान्यताहरुलाई नै कमजोर पार्दै र धुमिल बनाउदै लानसक्छ र यो संकेत देखिइरहेको छ बौद्ध धर्म तथा दर्शनका मूल विषय, अवधारणा तथा मूल्य–मान्यताहरुमा चाहिनेभन्दा बढि छेडछाड र व्यवसायिकरण भएको कारणले । आलोचक तथा शुभचिन्तकहरुका अनुसार वर्तमान समयमा रहन सिकाउने साक्षी भाव ध्यान साधना तथा माइन्डफुलनेस मेडिटेसनलाई यस प्रकारले निरन्तर उत्पादन तथा बजारको विषयको रुपमा प्रस्तुत गरेर आमरुपमा बेचिदै आइएको छ कि यस्ता गतिविधिहरुले बौद्ध दर्शनको नैतिक जरानै हल्लाएको छ, ओखलिएको छ तथा खोसिएको छ । उनीहरुले चिन्ता व्यक्त गर्दै आइरहेका छन् कि यसप्रकारले पश्चिमाकरण गरिएका गतिविधिहरुले बौद्ध धर्म तथा दर्शनको मूल विषय तथा शव्द ‘बुद्ध तथा बौद्ध’ र यसको मूल भावलाई नै फरक तथा गलत रुपमा अर्थ लगाउदै आइरहेका छन् र फरक तथा गलत प्रकारले आफूले प्रयोग गर्दै र अरुलाई प्रयोग गर्न सिकाउदै आइरहेका छन् र बुद्ध तथा बौद्ध शव्द र यसको मूल भावलाई गलत किसिमले परिभाषित गर्दै आइरहेका छन् कि बुद्ध भनेको कोही व्यक्ति तथा दार्शनिक हो र उनका विचारधारा तथा दर्शनको अनुशरण गरेर आफूपनि भौतिक रुपमा व्यक्ति तथा दार्शनिक बुद्ध जस्तै बन्न सकिन्छ तथा बन्नु पर्छ भन्ने किसिमले । तर बुद्ध तथा बौद्ध शव्दको वास्तविक भाव, अर्थ तथा परिभाषा कुनै व्यक्तिको भौतिक छवि नभएर ध्यान साधनाको माध्यमबाट व्यक्तिले हासिल गरेको एक विशेष बोधको अवस्था हो, आत्मा अर्थात चेतना शुन्यतामा प्रवेश गरेको अमनी, मनातीत तथा भावातीत अवस्था हो । यसकारण बुद्ध शव्दको वास्तविक भाव तथा अर्थ ‘बुद्ध बन्नु’ भन्ने होइन ‘बुद्ध हुनु’ भन्ने हो तर वर्तमान समयमा आमरुपमा पश्चिमी विश्वमा बुद्ध तथा बौद्ध शव्दको वास्तविक अर्थ तथा परिभाषा यसप्रकारले बुझाइएको पाइदैन । 


निष्कर्ष

बौद्ध दर्शन एक धर्म निरपेक्ष दार्शनिक विचारधारा हो जसमा कुनै देवी देवता, दिव्य शक्ति, अवतार जस्ता रहस्यका पराभौतिक विषयहरु समावेस गरिएका छैनन् । यो केवल ज्ञानको लागि ज्ञानको रुपमा रहेको छ र विश्वभरि सबैले यही स्वरुपमा व्यवहारिक किसिमले अनुशरण गर्न सहज भएको छ । बौद्ध धर्म तथा दर्शन जीवन जिउने शैली तथा पद्धतिको कला तथा ज्ञान भएकोले विश्वव्यापी रुपमा सबैले बौद्ध धर्म तथा दर्शनलाई सहज किसिमले सहर्ष स्वीकार गर्दै आफ्नो जीवनशैली बनाउदै लगेकाछन् र आम नागरिक देखि सरकारी संस्था तथा नीजि सांगठनिक संस्थाहरु समेत सबैको कल्याण हुने यस महाअभियानको निरन्तर प्रचार र विस्तारमा लागिपरेका छन् । विस्तारै बौद्ध दर्शनका जीवनउपयोगी अवधारणा, सुत्र तथा विधिहरु शैक्षिक संस्थाहरु, स्वास्थ्य संगठन तथा संस्थाहरु र अन्य व्यवस्थापनसंग सम्वन्धित संस्थाहरुले पनि आत्मसाथ गर्दै आइरहेका छन् र क्रमिक रुपमा बौद्ध धर्म तथा दर्शनको विश्वव्यापी रुपमा प्रचार र विस्तार बढ्दै गैररहेको छ र यो एक महान वैश्विक दर्शनको रुपमा स्थापित भैरहेको छ ।

              

धेरै मानिसहरुले तर्क गरेकाछन् कि कहिलेकाहीं धेरै वुद्धिले भन्दा थोरै बुद्धिले पनि अप्ठ्यारो परेको समयमा त्यसको दलदलबाट वाहिर निस्किन महत्वपूर्ण किसिमले ठूलै मद्धत गर्न सक्दछ तथा महत्वपूर्ण किसिमले काम आउन सक्दछ । पश्चिमी विश्वको भौतिकवाद, भौतिक विकास र यसले सिर्जना गरेका मुस्किलहरुकामा दविएर सकिनसकी दौडिरहेको अशान्त समाजमा पूर्वीय प्राचीन विचार, अवधारणा तथा दर्शनको सानो व्यवहारिक अनुशरणले निकै राम्रो र सकारात्मक प्रभावहरु देखिएका छन् । २५०० वर्षअघि सिद्धार्थ गौतम आम मानिसहरुको दुःख निवारणको उपाय पत्ता लगाउन बोधिवृक्ष मूनि बसेका थिए, आज पश्चिमका न्युयोर्क, वर्लिन, पेरिसमा पनि लाखौं मानिसहरु त्यसैगरि बस्न प्रारम्भ गरेका छन् आ–आफ्नो दुःख निवारणको उपाय पत्ता लगाउन, त्यसैगरि शान्तिको खोज तलास गरिरहेका छन् । बौद्ध धर्म तथा दर्शन यत्तिकै यति लामो यात्रा गरेर आफूलाई विभिन्न चुनौतिहरुबाट बचाएर वर्तमान समयमा वैश्विक धर्मको मान र ओहोदासम्म आइपुगेको होइन, विभिन्न कालखण्डहरुमा आएका साना र ठूला उतार–चढाउमा यसले अरुलाई मात्र बदलेन आफू स्वयंलाई पनि युग सान्दर्भिक हुने गरेर धेरै पटक बदल्यो र यसकै परिणाम स्वरुप पूर्वीय ज्ञान बौद्ध दर्शनले आज पूरै संसारको राजनीतिदेखि मनोविज्ञानसम्म र भौतिकदेखि पराभौतिकसम्मका विषयहरुलाई प्रभाव पारिरहेको छ र समय सान्दर्भिक हुनेगरि बदलिरहेको छ, यसमा पक्कै केही गहनता, विशेषता तथा परिपक्वता रहेको छ यसकार वैश्विक धर्म तथा दर्श बन्दै गैरहेको छ ।


छिट्टै, 

@बौद्ध दर्शनको मूलभावः ‘बुद्ध व्यक्ति होइन अवस्था हो’ 

@सनातन धर्ममा बौद्ध धर्मको सकारात्मक प्रभाव

@मूलभूमि नेपाल र भरतमा बौद्ध धर्मको पुनरागमन र विस्तार

@राजकुमार सिदार्थ गौतमको बोधिवृक्षदेखि वैश्विक दर्शनसम्मको यात्रा


No comments:

Post a Comment