डा. सिर्जना भण्डारी
बौद्ध दर्शनले उजागर गरेका प्रमुख विषयहरु
अनउदारवादी ब्राम्हणवाद र उदारवादी बौद्ध मत
इशापूर्व छैठौं शताव्दीमा तत्कालीन समाजमा वैदिक धर्मको आडमा मौलाएको निरंकुश ब्राम्हण्वादीहरुको दवदवा रहेको अवस्थामा समाजमा समानतामा आधारित सुव्यवस्था कायम गर्न बौद्ध विचारधारा एक अहिंसावादी फरक मत तथा विलकुलै अलग उदारवादी धार तथा क्रान्तिकारी सोचको रुपमा अगाडि बढिरहेको थियो । तत्कालीन ब्राम्हणवादको हालिमुहाली रहेको समाजमा देखिएका विभेद, अन्याय, अत्याचार, अन्धविश्वासमा आधारित कुरीति, कुसंस्कार, अमानवीयता जस्ता सामाजिक अव्यवस्था विरुद्ध फरक मत राख्दै क्रमशः (१)सनातन वेदको गलत अर्थ लगाएर ब्राम्हणवादले आफ्ना नीजि स्वार्थहरु पूरा गर्न कर्मको आधारमा रहेको वर्ण व्यवस्थालाई जन्मको आधारमा हुने व्यवस्था कायम गरेकोमा जोडदार विरोध गर्यो; (२)कर्मकाण्ड गरेर मुक्ति, निर्वाण तथा मोक्ष मिल्ने अन्धविश्वासमाथि सिधा प्रहार गर्यो; (३)असान्दर्भिक पशुबलि प्रथा, जातिविभेद, लिंगविभेद, वर्गविभेद, कुरीति, कुसंस्कार र अन्धविश्वासमा आधारित परम्पराहरुलाई ठाडै अस्वीकार गर्यो; (४)पाप–पुण्य, धर्म–अधर्म, स्वर्ग–नर्क, इश्वर साक्षातकार–मुक्ति तथा मोक्ष, आत्मा–परमात्मा, कर्म–कुकर्म, राम्रो–नराम्रो, स्त्री–पुरुष, जात–कुजात, छुत–अछुत, पवित्र–अपवित्र, चोखो–जुठो आदि चरम विभेद र अमानवीयताका विषयहरु ब्राम्हणवादी पंडित, पुरोहितहरुले अर्थ लगाएको जस्तो शास्त्रमा उल्लेख नभएको उजागर गर्यो र आम मनुष्यहरुलाई आफू स्वयं नै जागरुक हुन प्रेरीत गर्दै जीवनमा आइपर्ने दुःख, पिडा तथा कुण्ठाहरुका कारण, परिणाम र समाधानका व्यवहारिक र प्रयोगात्मक वैज्ञानिक उपाय तथा विधिहरु प्रदान गर्यो र यी विधिहरु दैनिक जीवनमा अपनाउने तथा अनुशरण गर्ने तरिका पनि सिकायो एकैपटक ठूलो परिमाणमा आम मनुष्यहरुलाई ।
तत्कालीन समाजमा यसरी चलिरहेका यसप्रकारका दुइपक्षिय मत संघर्षका गतिविधिहरुका युग सान्दर्भिक परिवर्तित अवस्थाका कारण विस्तारै ब्राम्हणवादी मत अनुदार र हुकुमी शासक(हैकम चलाउने)का रुपमा र बौद्ध मत समान अधिकार तथा स्वतन्त्रता चाहने उदारवादी समुहका रुपमा स्थापित हुदैगए । बौद्ध मतका समुह तथा संघहरुले समाजका हरेक व्यक्तिहरुमा जागरण ल्याउनका लागि वैदिक धर्मका मनगढन्त कहानी र अन्धविश्वासमा आधारित असामाजिक मूल्य–मान्यताहरु माथि निरन्तर प्रहार गरिरहे, गौतम बुद्धका सबैजसो प्रवचन तथा शिक्षाहरु अरुका मनगढन्ते मन बहकाउने कुराहरुमा नआउन; आँखा चिम्लेर कसैलाई पनि विश्वास नगर्न; आफ्नो जीवनशैली सहज बनाउन तथा सुधार्न; आफ्ना डर र कमजोरीहरुलाई आफैंले चिन्न; आफ्ना क्षमताका संभावनाहरु आफैंले पत्ता लगाउन; आफू स्वयं व्यवहारिक भएर प्रयोगात्मक अभ्यास गर्न र आफ्नो अनुभवलाई मात्र मान्न; अरुको पछाडि अन्धो भएर नलाग्न; हरेक विषयको प्रामाणिता र व्यवहारिक अवस्था बुझ्न; असामाजिकता, अवैज्ञानिकता तथा तर्क असंगत विषय तथा घटनाहरुमा आफू दह्रो भएर प्रश्न सोध्न र जवाफ माग्न सबै आम मनुष्यहरुलाई निरन्तर उत्प्रेरणा र सहयोग प्रदान गरेर उनीहरुको चेतन चेतनामा जागरण ल्याउने भरमग्दुर प्रयास गरिरहे । यी विषयहरुको सन्दर्भहरुमा ब्राम्हणवादी र बौद्ध विचारधारावादीहरुको विचमा लामो समयसम्म निकै ठूलो मतभेद, बहस, वादविवाद र संघर्ष चल्यो । ब्राम्हणवादीहरु समाजमा चल्दै आइरहेका संस्कार, संस्कृति तथा परम्पराहरुलाई जस्ताको तस्तै निरन्तरता दिइराख्ने र त्यसको बचाउ गर्न खडा भए र अर्को पक्ष बौद्ध विचारधारावादीहरु यिनै असान्दर्भिक संस्कार, संस्कृति तथा परम्पराहरुका कारण प्रारम्भ भएका सामाजिक अव्यवस्थाहरुमा सुधार गरेर सबैलाई समान अधिकार तथा स्वतन्त्रता दिनुपर्ने र समाजमा सुव्यवस्था कायम गर्नुपर्ने मागमा अडिक रहे ।
बौद्ध विचारधारा अनुशरण गरिरहेका सामाजिक तथा धार्मिक सुधारवादी अभियन्ताहरु समाजका कमजोर वर्ग, जाति, लिंगका मनुष्यहरुसंग बढि सम्वन्धित रहेर सर्वकल्याणका कार्यहरु गर्न अगाडि सरे, उनीहरुको अधिकार र न्यायका लागि यथास्थिति चाहाने ब्राम्हणवादीहरुसंग लड्न तयार भए र ब्राम्हणवादीहरुसंग हरप्रकारले संघर्ष र बहस गर्दै समाजमा सबैलाई सहज हुने प्रकारको सामाजिक सुव्यवस्था कायम गर्न सामाजिक न्यायका विषयहरुमा जोडतोडले बहस चलाउन थाले । अधिकार, समानता र स्वतन्त्रताको जोडदार माग, बहस र संघर्षकै क्रममा बौद्ध मतले गौतम बुद्धले साधनामा प्राप्त गरेका परमज्ञानका विषयहरुको प्रचार र विस्तार गर्दै आम मनुष्यहरुको जीवनमा आइपर्ने दुःख, पिडा तथा कुण्ठाहरुको कारण, परिणाम र समाधान तथा उपचारका विधिहरु पनि प्रदान गर्दै गए । बौद्ध धर्म तथा दर्शनका अनुसार– (१)जीवनमा दुःख छ– जन्म, मृत्यु, जरा(वृद्धावस्था), व्याधि(रोग) जीवनका दुःख हुन्; (२)जीवनमा दुःखको कारण अपेक्षा र सांसारिक विषय भोगप्रतिको आशक्ति हो; (३)जीवनबाट दुःख निवारण गर्न सकिन्छ र यसकालागि आफू स्वयंले प्रयत्न गर्नु पर्दछ; (४)आफ्नो जीवनलाई मध्यमार्गी बनाएर जीवनमा सहजता, आरोग्यता, सुख, खुशी, शान्ति, आनन्द हासिल गर्न सकिन्छ । आठ प्रकारका सम्यक जीवनशैली अपनाउने प्रयोगात्मक उपायहरुले जीवनमा सहजता, आरोग्यता, सुख, खुशी, शान्ति, आनन्द हासिल गर्न व्यवहारिक ढंगले मद्धत गर्न सक्दछन्– (१)सम्यक दृष्टि(राइट भ्यु)– सही र गलतको पहिचान गर्नु; (२)सम्यक संकल्प(राइट रिजोल्भ)– विषयभोगप्रति अनाशक्त रहनु; (३)सम्यक वाणी(राइट स्पीच)– सत्य र मधूर बोलीवचन बोल्नु; (४)सम्यक कर्म(राइट एक्सन)– अहिंसक र करुणादायी कर्म गर्नु; (५)सम्यक आजिविका(राइट लाइभलीहुड)– सदाचार र इमान्दारीको कमाइमा जीवन जिउनु; (६)सम्यक परिश्रम(राइट इफोर्ट)– सकारात्मक प्रयास तथा मेहनत गर्नु; (७)सम्यक स्मृति(राइट माइन्डफुलनेस)– वितेका र आउनेवाला विषयहरु त्यागेर वर्तमानमा स्थित रहनु; (८)सम्यक समाधि(राइट कन्सनट्रेसन)– आफ्नो जीवनको लक्ष्यप्रति एकाग्र र एकाकार हुनु । यी आठ प्रकारका विधि तथा उपायहरुलाई आफ्नो जीवनमा अनुशरण गर्नुका साथै यसक्रममा आफू हरप्रकारले निम्न प्रकारका शील तथा अनुशासनमा स्थित रहनु अत्यावश्यक हुन्छ– (१)अरुमाथि मन, वचन, कर्मले हिंसा नगर्नु; (२)अरुको धनको कामना नगर्नु तथा लोभ मोह त्याग्नु; (३)तन, मन, भाव, वुद्धि, चेतना भ्रष्ट गर्ने मादक पदार्थ तथा लागु पदार्थ सेवन नगर्नु; (४)अरुको नोक्सान तथा मानहानि हुनेगरि असत्य नबोल्नु; (५)आफ्नो मान–प्रतिष्ठा गुम्नसक्ने व्यभिचारका गतिविधिहरुबाट दुर रहनु ।
बौद्ध धर्म तथा दर्शनका यस्ता अत्यन्तै प्रभावकारी ज्ञान, विज्ञान, शिक्षा, उपाय तथा विधिहरु र सर्वकल्याण हुने कार्यहरुका अथक प्रयासहरुका सकारात्मक प्रभावहरुले ब्राम्हण तथा ब्राम्हणवादीहरुका कारण लामो समयदेखि चरम विभेद, अन्याय, अत्याचार, अमानवीयता खेप्दै आइरहेका र विभिन्न प्रकारका समस्याहरुसंग जुधिरहेका आम सर्वसाधारण र यी असामाजिक विषय तथा अव्यवस्थाहरुप्रति असहमत रहेका तथा असन्तुष्टी जनाइरहेका राज्यका धनाड्य, व्यापारी, सामन्त, राजा, महराजाहरुले बौद्ध विचारधाराको यो सर्वकल्याणकारी अभियानलाई साथ, समर्थन तथा सहयोग गरे, बौद्ध धर्म तथा दर्शनप्रति आफ्नो रुचि बढाउन थाले र व्यवहारिकता र मानवीयतामा आभारीत बौद्ध मतको अनुशरण गर्न प्रारम्भ गरे । यसरी निरन्तर गरिदै आइएका अत्यन्तै प्रभावकारी अभियानहरुले विस्तारै व्यक्ति र समाज जाग्रीत हुदैगयो र यससंगै गौतम बुद्ध र बौद्ध मत तथा विचारधारा उत्पत्ति भएको भूमिबाट तेज रफ्तारमा चारैतिर प्रचार र विस्तार हुदैगयो । गौतम बुद्धले आफ्ना शिक्षा, देशना तथा उपदेशहरुमा नराम्रो भावलाई राम्रो भावले, घृणालाई प्रेम चावले र हिंसालाई करुणा भावले जित्न सकिन्छ, यसरीनै सबैप्रति व्यवहार गर्नुपर्छ र सबैकालागि सबै परिस्थितिहरु सहज, सरल र व्यवहारिक बनाउनु पर्छ भन्ने भाव निरन्तर संचारित गरिरहे र समर्थकका साथै आफ्ना विरोधीहरुको समेत मन जित्न सफल भए । गौतम बुद्धले आफ्नो जीवनकाल भरि निरन्तर अहिंसा, प्रेम, करुणा, शान्ति, सदभावको ज्ञान बाडिरहे चारैतिर र २५०० वर्षको लामो समयक्रममा बौद्ध धर्म तथा दर्शन युग सान्दर्भिक हुने गरि अवस्था र परिस्थिति अनुसार रुपान्तरित हुदै, आवश्यकता अनुसार परिवर्तन गर्दै वर्तमान समयसम्म आइपुग्दा वैश्विक धर्म तथा दर्शनका रुपमा स्थापित भएको छ ।
बौद्ध दर्शनले उजागर गरेका प्रमुख तथा महत्वपूर्ण विषयहरु
बौद्ध धर्म तथा दर्शनले उजागर गरेका निम्न विषयहरु प्रमुख थिए र यी विषयहरु तत्कालीन समाजमा अत्यन्तै तर्कपूर्ण र लोकप्रिय सावित भएका थिए–
पहिलो महत्वपूर्ण विषय– अपेक्षा र आशक्ति
मनुष्यको जीवनको दुःखको प्रमुख कारण दैनिक जीवनयापन गर्ने क्रममा उसको मन, भावना, वुद्धि, चेतनामा आउने अन्त्यहिन इच्छा तथा तृष्णाहरु हुन् र तिनको प्राप्तिकालागि गरिने अपेक्षा र आशक्तिहरु हुन् । जीवनमा आफूबाट, अरुबाट तथा विषय, घटना र परिस्थितिहरुबाट प्राप्तिको अति अपेक्षा र त्यसप्रति अति आशक्ति नराखि सामान्य अवस्थामा रहेर, अपेक्षा बिहिन र अनाशक्त भएर जीवनयापन गरेर, वर्तमान अवस्थामा भैरहेका अवस्था तथा परिस्थितिहरुलाई स्वीकार गरेर; आफ्नो नियन्त्रण वाहिर रहेका अवस्था तथा परिस्थितिहरुप्रति सन्तोष साधेर; र जीवनका हरप्रकारका उतार–चढावहरुमा सम्यक तथा मध्यमार्गी जीवनशैली अपनाएर जीवनमा आइपर्ने दुःख, पिडा तथा कुण्ठाहरुबाट मुक्त हुन सकिन्छ ।
दोस्रो महत्वपूर्ण विषय– मध्यम मार्ग
सम्यक तथा मध्यमार्गी जीवनशैली अपनाउन बौद्ध धर्म तथा दर्शनले अत्यन्तै व्यवहारिक र प्रयोगात्मक आर्य अष्टांगिक मार्गका वैज्ञानिकतामा आधारित विधिहरु प्रतिपादन गरेको छ । दैनिक जीवनयापन गर्ने क्रममा आर्य अष्टांगिक मार्गका वैज्ञानिकतामा आधारित विधिहरु– (१)सम्यक दृष्टि– सही र गलतको पहिचान गरेर; (२)सम्यक संकल्प– विषयभोगप्रति अनाशक्त रहेर; (३)सम्यक वाणी– सत्य र मधूर बोलीवचन बोलेर; (४)सम्यक कर्म– अहिंसक र करुणामयी बनेर; (५)सम्यक आजिविका– सदाचार र इमान्दारीको कमाइमा जीवन जिएर; (६)सम्यक परिश्रम– सकारात्मक प्रयास तथा मेहनत गरेर; (७)सम्यक स्मृति– वितेका र आउनेवाला विषयहरु त्यागेर वर्तमानमा स्थित रहेर; (८)सम्यक समाधि– आफ्नो जीवनको लक्ष्यप्रति एकाग्र र एकाकार भएर यी सबै उपायहरुको निष्ठापूर्वक अनुशरण गरेर मनुष्यको जीवनमा आइपर्ने सबै प्रकारका दुःख, पिडा तथा कुण्ठाहरुको निवारण तथा समन गर्न सकिन्छ र यही जीवनमा शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक तथा चेतनात्मक रुपमा सहज तथा मुक्त भएर शारीरिक तथा मानसिक स्वास्थ्य, मनको सकारात्मकता र एकाग्रता, विचार शुन्यता, आन्तरिक शान्ति तथा आनन्द हुदै निर्वाणमा उपलव्ध हुन सकिन्छ ।
तेस्रो महत्वपूर्ण विषय– व्यवहारिकता र प्रयोगात्मकता
आफ्नो जीवनमा आइपर्ने सबैप्रकारका दुःख, पिडा तथा कुण्ठाहरुको श्रोत, कारण र परिणामहरुबारे राम्ररी ज्ञान हासिल गरेर तिनको निवारणका लागि आर्य अष्टांगिक मार्गका वैज्ञानिकतामा आधारित सबै उपाय तथा विधिहरु आफू स्वयंको प्रयत्नले आफू स्वयंमा व्यवहारिक रुपमा प्रयोगात्मक अभ्यास गरेर मात्र यसबाट प्राप्त हुने सकारात्मक उपलव्धिहरु हासिल गर्न सकिन्छ र यी उपलव्धिहरुको सहयोगले जीवनका हरप्रकारका उतार–चढावहरुमा आइपर्ने दुःख, पिडा तथा कुण्ठाहरुबाट मुक्त हुन सकिन्छ ।
चौथो महत्वपूर्ण विषय– शान्ति, सदभाव, करुणा
हरेक मनुष्यको प्राकृतिक मूल गुण तथा स्वभाव खुशी, शान्त, आनन्द, प्रेमपूर्ण, करुणामय, सर्वकल्याण भाव, अहिंसा, सकारात्मकतामा रहिरहने हो तर ऊ हुर्कदै जाने क्रममा उसले आफ्नो जीवनमा अनुभव तथा अनुभूति गरेका सुख तथा दुःखका विषय तथा घटनाहरुका कारण आफ्नो प्राकृतिक मूल गुण तथा स्वभावबाट दुर हुदै जान्छ र उसको जीवनमा दुःख, पिडा तथा कुण्ठाहरु भरिदै गएर उसको जीवन कष्टप्रद हुदै जान्छ । बौद्ध धर्म तथा दर्शनले पहिल्याएका प्रमुख ज्ञानहरु चार आर्य सत्य, आर्य अष्टांगीक मार्ग, धम्मपद, त्रिरत्न, त्रिशिक्षा, त्रिपिटक आहिको अध्ययन गरेर आफ्नो जीवनमा आइपर्ने दुःखका विषयहरु, कारणहरु, परिणामहरु र दुःख निवारणका उपायहरुलाई आफेनो जीवनमा निष्ठापूर्वक अनुशरण गरेर पुनः आफ्नो मूल गुण तथा स्वभाव खुशी, शान्त, आनन्द, प्रेमपूर्ण, करुणामय, सर्वकल्याण भाव, अहिंसा, सकारात्मकतामा फर्कन सकिन्छ र जीवन जिउने क्रममा जीवनमा आइपर्ने हरप्रकारका उतार–चढावहरुका दुःख, पिडा तथा कुण्ठाहरुबाट मुक्त हुन सकिन्छ ।
पाचौं महत्वपूर्ण विषय– ध्यान साधना
बौद्ध धर्म तथा दर्शनका चार आर्य सत्य, आर्य अष्टांगीक मार्ग, धम्मपद, त्रिरत्न, त्रिशिक्षा, त्रिपिटक जीवन दर्शनका सबै शिक्षा तथा ज्ञान, विज्ञानहरुको एउटै उद्देश्य मनुष्यलाई अनुशासित तथा चरित्रवान बनाएर ध्यान साधनामा निमज्जित गराउनु हो । जीवनमा आर्य अष्टांगीक मार्गहरुको निष्ठापूर्व गरेर मनुष्य ध्यान साधनाका लागि उपयुक्त तथा सक्षम भएपछि आनापान सती ध्यान साधनाका तथ्य, कथ्य र सत्यमा आधारित ध्यान विधिहरुको अनुशरण गरेर आफ्नो जीवनको वाहिय र आन्तरिक विकास गर्दै चेतनाको विकास गरेर पूर्ण आरोग्यतामा स्थित भएर आन्तरिक सुख, खुशी, शान्ति, आनन्दको अर्को अकारण हासिल हुने तृप्तिको अवस्थामा स्थित हुन सकिन्छ र यी उपलव्धिहरुको सहयोगले जीवनका हरप्रकारका उतार–चढावहरुमा आइपर्ने दुःख, पिडा तथा कुण्ठाहरुबाट मुक्त हुन सकिन्छ ।
तथ्य, कथ्य र सत्य ध्यान विधि
तथ्य– यस ध्यान विधि अनुसार ध्यान साधनामा रहेको समयमा पहिलो चरणमा आफ्ना पाँच ज्ञान इन्द्रियहरुको अनुभव तथा अनुभूतिमा आएका विषय तथा घटनाहरुमा मनलाई केन्द्रित तथा एकाग्र गरेर ध्यान साधना गरिन्छ । दोस्रो चरणमा क्रमशः शरीरका वाहिरी अंगहरु र आन्तरिक अंगहरुमा मनलाई केन्द्रित तथा एकाग्र गरेर ध्यान साधना गरिन्छ । तेस्रो चरणमा मन–मस्तिष्कमा उठेका विचारका श्रृंखलाहरुलाई तटस्थ भएर हेरेर तथा तिनमा नउल्झिकन केवल साक्षी भावमा मनलाई केन्द्रित तथा एकाग्र गरेर ध्यान साधना गरिन्छ । र चौथो चरणमा श्वास–प्रश्वासको भित्र प्रवेश गर्ने र वाहिर निस्कासित हुने श्वासको नियमित तथा निरन्तर प्रक्रिया अर्थात आना(भित्र प्रवेश) र पान(वाहिर निस्कासन) सती(साक्षी भएर हेर्दै) भावमा मनलाई केन्द्रित तथा एकाग्र गरेर ध्यान साधना गरिन्छ ।
कथ्य– यस ध्यान विधि अनुसार ध्यान साधनामा रहेको समयमा विभिन्न प्रकारका सुख–खुशी–शान्ति–आनन्दका, लौकिक, अलौकिक विषयहरुको कल्पना तथा दृश्यावलोकन गर्दै मनलाई ती विषय तथा घटनाहरुमा केन्द्रित तथा एकाग्र गरेर ध्यान साधना गरिन्छ ।
सत्य– यस ध्यान विधि अनुसार ध्यान साधनामा रहेको समयमा म आत्मा अर्थात चेतना हुँ, शरीर–मन–भाव–वुद्धि–चित्त–अहंकार होइन, यी सबै मलाई संसारमा प्रकट हुन मद्धत गर्ने साधनहरु मात्र हुन्, यी सबै नक्कली म हुन्, वास्तविक ‘म’ सम्बोधि, परमचेतना अर्थात अस्तित्वको अभिन्न अंश हुँ जहाँ सबै एक छ, अद्वेत छ, कोहीबाट कोही र केहीबाट केही अलग छैन भन्ने सदा शाश्वत तथा सनातन भावमा मनलाई केन्द्रित तथा एकाग्र गरेर ध्यान साधना गरिन्छ ।
छैठौं महत्वपूर्ण विषय– निर्वाण
बौद्ध दर्शन तथा धर्मका अत्यन्तै लोकप्रिय जीवन दर्शनका प्रमुख शिक्षा, ज्ञान तथा विज्ञानहरु– चार आर्य सत्य, आर्य अष्टांगीक मार्ग, धम्मपद, त्रिरत्न, त्रिशिक्षा, त्रिपिटक आदिका मूलभावहरुलाई जीवनमा निष्ठापूर्वक अनुशरण गर्दै आफ्नो जीवनलाई हरकिसिमले सहज, स्वस्थ, सन्तुलित तथा व्यवस्थित बनाएपछि जीवनमा शारीरिक तथा मानसिक स्वास्थ्य, सुख, खुशी, शान्ति, आनन्द तथा समग्रतामा आरोग्यता प्राप्त हुन्छ र जीवन पूर्णता उन्मुख हुन्छ । आरोग्य र पूर्णताउन्मुख जीवनमा स्वस्फूर्त रुपमा स्थिरता, धैर्यता, वैचारिक सकारात्मकता, मानसिक एकाग्रता तथा आन्तरिक शान्ति छाउदै जान्छ र यस्तो अवस्थामा स्थित रहेको व्यक्तिकालागि ध्यान साधना सहज हुन्छ । ध्यान साधनाको समयमा हुने आफू स्वयंभित्रको अन्तरयात्राको क्रममा ध्यानमा विशेष अवस्था घटित हुन्छ र ध्यानको विशेष अवस्था तथा गहिराइमा समाधि घटित हुन्छ । विभिन्न प्रकारका समाधिका तहहरुमा साधकलाई निर्वाण, कैवल्य तथा मोक्षका पराभौतिक संसारका परालौकिक अनुभव तथा अनुभूतिहरु घटित हुन प्रारम्भ हुन्छन् । निर्वाणमा उपलव्ध हुनु नै मनुष्यको चेतनाको उच्चतम विकासको अवस्था हो जहाँ उसलाई सांसारिक जीवनका सबै दुःख, पिडा तथा कुण्ठाहरुबाट मुक्ति मिल्दछ र उसको जीवनमा परमखुशी, परमशान्ति, परमआनन्द घटित हुन्छ यही अवस्थालाई नै सनातन अध्यात्म तथा धर्मले वास्तविक स्वर्ग तथा जीवनका कुण्ठाहरु सबै सकिएको अवस्था वैकुण्ठको रुपमा परिभाषित गरेको छ । तर ब्राम्हणवादले सनातन अध्यात्मक तथा धर्मको वैज्ञानिक मान्यता विपरित गएर स्वर्ग तथा वैकुण्ठलाई कुनै अलग्ग स्थान तथा भौगोलिक क्षेत्रका रुपमा परिभाषित गरेको छ बिना कुनै वैज्ञानिक आधार तथा बिना कुनै जायज तर्क । बौद्ध धर्म तथा दर्शनले निर्वाण, कैवल्य तथा मोक्षमा उपलव्ध भएको यस उच्च अवस्थालाई वैज्ञानिकतामा आधारित व्यवहारिक ध्यान साधनाका विधिहरुको निष्ठापूर्वक प्रयोगात्मक अभ्यास गरेर आफूभित्र गरिने अन्तरयात्राको माध्यमबाट आफ्नो चेतनाको विकास गरेर आफू स्वयंले त्यहाँको वास्तविकता जान प्रामाणिक रुपमा अनि मात्र मान, ब्राम्हणवादले भनेको जस्तो अरुको अनुभवलाई नमान, पहिला आफैंले जान अनि आफ्नै ज्ञान, अनुभव तथा अनुभूतिलाई मान भन्ने वैज्ञानिक तथ्यपरकतामा जोड दिदै आएको छ ।
सातौंं महत्वपूर्ण विषय– जन्म, मृत्यु र पूनरजन्म
बौद्ध धर्म तथा दर्शन लगायत विश्वका सबै धर्महरुले जन्म–मृत्युको चक्र र पूनरजन्म श्रृंखलाको मान्यतालाई विश्वास गर्दछन् तथा मान्दछन् । मनुष्य माता–पिताको शुक्र र रजको माध्यमबाट यस धर्तीमा जन्मिन्छ, हुर्कन्छ, कर्म गर्छ, मृत्युवरण गर्छ र फेरी जन्म लिन्छ र यही प्रक्रिया उसको जीवनमा बारबार दोहोरिरहन्छ । सबै धर्महरुका अनुसार मनुष्यको पूनरजन्म मूलरुपमा दुई कारण– (१)उसका अतृप्त इच्छा पूरा गर्न, र (२)चुक्ता गर्न बाँकी कर्म बन्धनको ऋण तिर्नकालागि हुने गर्दछ । बौद्ध धर्म तथा दर्शनका अनुसार मनुष्यको जन्म, मृत्यु, जरा, व्याधि सबै मनुष्यहरुको जीवनका अकाट्य अवस्थाहरु हुन्, सबै मनुष्यहरुको जीवनमा यी अवस्थाहरु अनिवार्य रुपमा आउछन् र प्रमुख रुपमा यिनै अवस्थाहरुले हरेक मनुष्यलाई सुख र दुःखका विषय तथा घटनाहरुको अनुभव तथा अनुभूति दिन्छन् र पूनरजन्म कहिले, कहाँ, कसरी र कस्तो हुने भन्ने विषय निर्धारण गर्दछन् । जन्म, मृत्यु, जरा(वृद्धावस्था), व्याधि(रोग) झेल्दै जीवन जिउने क्रममा अधिकांश मनुष्यले सहज आजिवीकाका लागि आवश्यक पर्ने विषयहरुको चाहिने भन्दा बढि कामना तथा इच्छाहरु गर्दछ र यिनै अवस्थाहरु नै मनुष्यका सबैप्रकारका दुःख, पिडा तथा कुण्ठाहरुका मूल कारण हुन् । यसकारण बौद्ध धर्म तथा दर्शनले आफ्नो जीवनशैली सम्यक तथा मध्यमार्गी(न ज्यादा आशक्ति न ज्यादा उदाषी) बनाएर आफ्ना कामना तथा इच्छाहरु कम आशक्त तथा मध्यम अवस्थामा राखेर सहज, सरल, सन्तुलित तथा व्यवस्थित जीवन जिउन अभिप्रेरित गर्दछ । तर केही चैतन्य चेतना, साधु, सन्त, योगी, महात्माहरु बाहेक जीवनचक्रको सन्दर्भमा पर्याप्त ज्ञानको अभावका कारण अधिकांश मनुष्यहरुको जीवन सम्यक तथा मध्यमार्गी प्रक्रियाले चलेको हुदैन । जीवनचक्रको सन्दर्भमा पर्याप्त ज्ञानको अभावका कारण मनुष्यको जीवन जिउने क्रम तथा जीवनशैली असन्तुलित तथा अव्यवस्थित हुन्छ र असन्तुलित तथा अव्यवस्थित जीवनमा उसका कर्महरु पनि त्यस्तै प्रकारका हुदै जान्छन् । असन्तुलित तथा अव्यवस्थित जीवनयापन गर्ने मनुष्यहरुका असीमित इच्छा तथा तृष्णाहरु र तिनको भोगप्रति अति आशक्ति र प्राप्तिको अति अपेक्षा तथा चाहना रहेको हुन्छ तर हरकोहीको जीवनमा सीमितता रहेने र शरीरको आयु निश्चित समयको हुने हुनाले आफ्ना चाहना तथा अपेक्षाहरु तृप्त नहुदै मनुष्यको शरीरको अन्त्य तथा मृत्यु हुन्छ र उसको मनमा संग्रहित भएका संस्कारमा मृत्यु पश्चात पनि ती अतृप्त इच्छा तथा आकांक्षाहरु प्राप्त गर्ने र भोग गर्ने चाहनाहरु रहिरहेका हुन्छन् र यही अतृप्त इच्छाकै कारणले आफ्ना इच्छा, कामना, वासनाहरु फेरी तृप्ति गर्न र भोग गर्न उसले बारबार पूनरजन्म लिएर माता–पिताको शुत्र र रजको माध्यमबाट यस धर्ती अर्थात कर्मचक्रको प्रयोगशालामा आइरहन्छ र आफ्ना कर्महरुको चुक्तारा गरेर शरीर तथा जीवलाई त्याग गरेर चेतना अर्थात आत्मा स्वरुपमा प्रवेश गर्छ र अतृप्त इच्छा र कर्मचक्र अनुसार फेरी उही प्रक्रियाबाट पूनरजन्म लिन्छ र यही प्रक्रिया जन्मौं–जन्मसम्म चलिरहन्छ जन्म र मृत्युको चक्र तथा पूनरजन्मको श्रृंखलाका रुपमा ।
आठौं महत्वपूर्ण विषय– कर्म चक्र
विश्वका अरु धर्महरुले जस्तै बौद्ध धर्म तथा दर्शनले पनि कर्मचक्र तथा कर्मको सिद्धान्तको मान्यतामा विश्वास राख्दछ । बौद्ध धर्म तथा दर्शनले हरेक मनुष्य आफ्नो सहजता, आरोग्यता, सुख, खुशी, शान्ति तथा आनन्दका लागि ऊ स्वयं नै जिम्मेदार रहेको हुन्छ तथा उसले गरेका सत्कर्महरु जिम्मेदार हुन्छन् भन्ने मान्यता राख्दछ । यसकारण बौद्ध धर्म तथा दर्शनले मानवीय मूल्य–मान्यता अनुशरण गर्दै सम्यक भएर तथा मध्यमार्गमा रहेर व्यवहारिक र प्रयोगात्मक किसिमले आफ्नो जीवनयापन गर्न, सुकर्म गर्न र जीवनलाई हरप्रकारले सहज र सरल बनाउन, आफू र अरुकालागि काम लाग्ने बनाउन प्रेरणा प्रदान गर्दछ । कर्मचक्रको सन्दर्भमा हामी सबैले दैनिक आफ्नो र अरुहरुको जीवनमा भोग्दै र देख्दै आइरहेका छौं कि हरेक मनुष्यले आफ्नो जीवनमा सुख पाउछ आफैंले गरेका कर्महरुका कारणले र दुःख पनि आफैंले गरेका कर्महरुका कारणले पाउने गर्दछ । मनुष्यको जीवन केवल एक जन्मको मात्र होइन, यो जन्म–जन्मको कर्मका संचित संस्कारहरुको श्रृंखला भएकोले उसले हरेक जन्ममा मन, वचन र क्रियाद्वारा गरिने क्षणक्षणका सबै कर्महरु सहि ढंगले साक्षी भएर गर्नु पर्दछ । तर केही चैतन्य चेतना, साधु, सन्त, योगी, महात्माहरु बाहेक कर्मचक्रको सन्दर्भमा पर्याप्त ज्ञानको अभावका कारण अधिकांश मनुष्यहरुले आफ्नो जीवनकालमा गर्ने अधिकांश कर्महरु सहि ढंगले साक्षी भएर गरेका हुदैनन्, बेहोसीमा गर्ने गर्दछन् र आफ्नो कर्म असन्तुलित तथा अव्यवस्थित बनाएका हुन्छन्, कतिपय अवस्थामा त कुकर्महरु पनि घटित गराएका हुन्छन् जानेर तथा नजानेर । कर्मचक्रको सन्दर्भमा पर्याप्त ज्ञानको अभावका कारण मनुष्यको जीवन जिउने क्रम तथा जीवनशैली असन्तुलित तथा अव्यवस्थित हुने हुनाले उसका कर्महरु पनि त्यस्तै प्रकारले असन्तुलित तथा अव्यवस्थित हुदै जान्छन् । मनुष्यले आफ्ना विगतका जन्महरुमा गरेका सबैप्रकारका कर्महरुको संचित संग्रह तथा कर्मचक्रले ऊ अझै कति जन्मसम्म मर्त्यलोक(पृथ्वी)मा पूनरजन्म लिएर आइरहन्छ र जन्म–मृत्युको चक्रमा घुमिरहन्छ, कस्तो जीवन प्राप्त गर्छ भन्ने विषयलाई निर्धारण गर्दछ । यसकारण जन्म–जन्मको श्रृंखला जिउने क्रममा उसका अघिल्ला–अघिल्ला जन्महरुका कर्म बन्धनहरु तथा संचित संस्कारहरुले उसको वर्तमान जीवनलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पार्दछन् किनकी आफूले जस्तो कर्म गरेको छ त्यस्तै नै परिणाम वर्तमान जीवनमा देखा पर्दछ प्रारव्ध कर्म, भाग्य तथा नियतिका रुपमा ।
मनुष्यले आफ्नो जीवनमा नियमित रुपमा बेहोरीरहेका विविध प्रकारका असहजता, शारीरिक तथा मानसिक अस्वस्थता, खराव सम्वन्ध, विपन्नता, मानहानि, अशान्तिका दुःख, पिडा तथा कुण्ठाहरु आफैंले वर्तमान जन्ममा तथा पूर्वजन्महरुमा गरेका आफ्नै हरेक नराम्रा तथा नकारात्मक कर्महरुका नराम्रा परिणामहरुका कारण भएकोले हरेक मनुष्यले बौद्ध धर्म तथा दर्शनले प्रतिपादन गरेका शिक्षा, ज्ञान, विज्ञान तथा उपदेशहरुको पालना गरेर आफ्नो जीवनशैली र जीवनका कर्महरु सहि गर्नु अत्यावश्यक हुन्छ । किनकी मनुष्य तवसम्म आफ्नो जीवनमा समस्या, दुःख, पिडा तथा कुण्ठाहरुबाट घेरीइरहन्छ र जीवनमा नकारात्मक अवस्था तथा असहज अवस्थाहरु झेलिरहन्छ जवसम्म उसले आफ्ना सबै कर्मबन्धनका श्रृंखलाहरु समन गर्दैन तथा तोड्दैन र नयाँ–पूराना तथा राम्रा–नराम्रा सबै कर्मबन्धनहरु समन गरेर त्यसबाट मुक्त भएर निर्वाण तथा मोक्षमा उपलव्ध हुदैन । यसकालागि उसले हरेक जन्ममा पलपलका कर्महरु गर्दा साक्षी भएर आफूबाट हरसम्भव राम्रा तथा आफू र अरुको हित हुने प्रकारका कर्महरु गर्नुपर्दछ र बन्धन बनाउने कर्महरु सकेसम्म घटाउने प्रयास गर्नुपर्दछ । स्वार्थ भावले, आफूले पनि बदलामा केही प्राप्त गर्ने भाव राखेर गरिएका कर्महरुले कर्मबन्धन बनाउछन् तथा बन्धन बढाउछन् तर निस्वार्थ, निस्काम तथा अकर्ता(आफ्नो धर्म तथा कर्तव्य पूरा गरिरहेको छु) भावले अर्थात आफू कर्ता(गर्नेवाला) नभएर गरिएका सबै कर्महरु सेवा बन्दछन् र सेवा प्रदायक कर्महरुले मनुष्यको कर्मबन्धन बढाउदैनन्, बरु घटाउछन् र उसलाई कर्मबन्धनबाट मुक्त गर्दछन् ।
नवौं महत्वपूर्ण विषय– पाप–पुण्य र स्वर्ग–नर्क
बौद्ध धर्म तथा दर्शनमा पापको परिभाषा गरिएको छैन तथा पाप भन्ने विषयलाई समावेश नै गरिएको छैन । जीवनलाई दुःख बताइएको छ र सबै दुःखका कारणहरु आफ्ना अति चाहना तथा आशक्तिहरु, यिनै अति चाहना र आशक्तिमा आएर गरिएका नराम्रा कर्महरु र असहज तथा खराव जीवनशैलीलाई मानिएको छ । असहज तथा खराव जीवनशैली सांसारिक भोगप्रतिको अति इच्छा र आशक्तिलाई बताइएको छ । जीवनका यस्ता दुःख र पिडाहरुबाट मुक्त हुने, जीवनशैली सहज तथा राम्रो बनाउने भरपर्दो माध्यम अष्टांगिक मार्ग र त्यसको सम्यक अनुशरण बताइएको छ । अष्टांगिक मार्गको निष्ठापूर्वक अनुशरण गर्दा साधकको जीवनका अति महत्वपूर्ण स्वास्थ्य, सम्वन्ध, समृद्धि, मानप्रतिष्ठा, आन्तरिक शान्ति आदि सबै आयामहरु सन्तुलित हुन्छन्, उसको जीवन आरोग्यमय र पूर्णताले भरिन्छ, शरीरका सबै आयामहरु– शारीरिक, मानसिक, भावनात्मक, बौद्धिक, चेतनात्मक शरीर हरप्रकारले सन्तुलित, व्यवस्थित तथा विकसित हुन्छन् । मनुष्यको स्थुल र सुक्ष्म शरीरको यही अवस्थानै स्वर्ग तथा वैकुण्ठ हो, वैकुण्ठ त्यस्तो अवस्था हो जुन अवस्थामा मनुष्यको जीवनमा कुनै प्रकारका कुण्डा तथा दुःख, पिडाहरु शेष रहदैनन्, जीवन स्वगै समान सहज हुन्छ किनकी स्वर्ग र नर्क भनेको आफू भन्दा वाहिरको कुनै अलग क्षेत्र तथा भूगोल होइन, आफैंभित्र रहेको मन तथा भावनाको सकारात्मक अवस्था हो ।
बौद्ध धर्म तथा दर्शनले निर्वाण, कैवल्य तथा मोक्षमा उपलव्ध हुने विषयमा विश्वास गर्दछ तर यो अवस्थामा उपलव्ध हुदा अनुभव तथा अनुभूतिमा आउने आन्तरिक शान्ति तथा परमआनन्दलाई कुनै अलग्ग भौतिक क्षेत्र तथा लोक स्वर्गलोक, वैकुण्ठलोक, गोलोकका रुपमा वर्णन गर्दैन र यस्तो उपलव्धतामा हुने अनुभव तथा अनुभूतिहरुलाई मनुष्यको मन, भावना तथा चेतनाको उच्चतम विकासको अवस्थाको रुपमा परिभाषित गर्दछ किनकी स्वर्ग तथा वैकुण्ठ प्राप्त हुनुको वास्तविक अर्थ तथा परिभाषा शरीरको सहजता, सकारात्मक विचार, मनको एकाग्रता, भावनात्मक शान्ति, वौद्धिक तिक्ष्णता र चेतनात्मक जागरुकतामा उपलव्ध हुनु हो जो अष्टांगीक मार्गको निष्ठापूर्वक गरिने अनुशरणबाट सांसारिक(स्थुल जगतको जीवन) र पारमार्थिक जीवन(सुक्ष्म जगतको जीवन)मा मुक्ति, निर्वाण तथा मोक्ष हासिल गर्न सकिन्छ । वैदिक मान्यता अनुसार वैकुण्ठको वास्तविक अर्थ तथा परिभाषा पनि यहीनै हो, मनुष्यको शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक, चेतनात्मक अवस्था हरप्रकारले कुण्ठा अर्थात पिर–चिन्ता–दुःख–पिडा रहित भएर सहज र सरल अवस्थामा स्थित रहनु हो । ब्राम्हणवादका अनुयायी पंडित तथा पुरोहितहरुले सहि शव्दको गलत अर्थ लगाएर आफूखुशी मनुष्यको सरल मन तथा भावनाको सोझोपनको फाइदा उठाएर यस्तो अवस्थालाई अवस्थालाई कुनै क्षेत्र तथा भूगोलको रुपमा व्याख्या गरिदिए आम मानिसहरुले सहजै कल्पना गर्न सकुन्, ब्राम्हणवादका मनगढन्त विषयहरुमाथि विश्वास गरेर उनीहरुले भने बमोजिम गर्दैजाउन र पंडित, पुरोहितहरुले बिना कुनै परिश्रम जीवनभर त्यसबाट लाभ लिरहन सकुन् भन्ने भावले सनातन अध्यात्म दर्शनको मूलमर्मलाई नै दिशाबिहिन गरिदिए तर गौतम बुद्धले सनातन अध्यात्म दर्शनको मूलसार सबै समक्ष बुझाएर सनातन अध्यात्म दर्शनले गुमाउदै गएको आध्यात्मिक अर्थ फेरी पुनरस्थापित गरिदिए ।
दशौं महत्वपूर्ण विषय– आत्मा र परमात्मा
बौद्ध धर्म तथा दर्शनले इश्वर, भगवान, देवी–देवता, आत्मा, परमात्माको महाशक्ति र यसको आधार, कृपा तथा आशिर्वादबाट मनुष्यको जीवनका गतिविधिहरु निर्भारित हुन्छन् भन्ने मान्यतामा विश्वास राख्दैन । बौद्ध धर्म तथा दर्शनका अनुसार यस संसारमा तथा ब्रम्हाण्डमा केवल चेतना तथा परम चेतना छ, हामी सबैको चेतना तथा परमचेतना नै ब्रम्हाण्डको अन्तिम र मूल श्रोत हो र हरेक जीव तथा प्राणी त्यही चेतनाको अभिन्न अंश हो । हरेक जीवमा स्थित रहेको यही चेतनाको विकसित र अविकसित अवस्था नै मनुष्यको विकसित र अविकसित जीवन हो, अर्को शव्दमा स्वर्ग र नर्कको अवस्था हो । जीवहरुको अविकसित चेतना नै बारबार पुनरजन्म लिएर यस धर्तीलोकमा आफ्ना अघिल्ला जन्महरुमा अति इच्छा तथा आशक्तिका कारण तृप्त हुन नसकेका विभिन्न प्रकारका अतृप्त तृष्णा तथा मनोकांक्षाहरुको भोग गर्न र तृप्त हुन आइरहन्छ । यसकारण कुनैपनि विषयभोगप्रति अति इच्छा र आशक्ति नराखिकन सम्यक तथा मध्यमार्गमा रहेर जीवनयापन सहज गरेर आफ्नो जीवनमा तृप्ति हासिल गर्न सकिन्छ । मन तथा भावना तृप्त भएको अवस्थामा स्वास्थ्य, सुख, खुशी, शान्ति, आनन्द, मन तथा भावनामा सकारात्मकता हासिल हुन्छ । शरीरिक, मानसिक, भावनात्मक, बौद्धिक र चेतनात्मक रुपमा तृप्त भएर जीवनमा आरोग्यता तथा पुर्णता हासिल भएपछि मनुष्यको चेतनाको विकास हुन प्रारम्भ हुन्छ, उसको चेतन चेतना परमचेतनामा एकाकार हुन्छ र उसलाई यही जीवनमा परमशन्ति तथा परमआनन्दको अनुभूति हुन्छ, यही अवस्था निर्वाण तथा मोक्ष(इटरनल लिवरेसन) नै को चरम अवस्था हो । र आफ्नो चेतनाको उच्च अवस्था परमचेतनामा उपलव्ध हुन हरेक व्यक्तिले आफ्नोलागि अनिवार्य रुपमा आफू स्वयंले नै सहि प्रक्रिया अनुसार ध्यान साधना गर्ने प्रयत्न गर्नु पर्दछ, अर्कोले गरिदिएको पूजापाठ, कर्मकाण्ड, मन्त्रजप तथा अन्य प्रकारका प्रयत्नहरुले आफ्नो जीवनका दुःख, पिडा, कुण्ठाहरुबाट मुक्ति मिल्दैन, आफ्नो चेतन चेतना परमचेतनासंग एकाकार हुन सक्दैन र निर्वाण तथा कैवल्यमा उपलव्ध हुन सकिदैन अर्थात वैदिक ज्ञान, विज्ञानका अनुसार आत्मा(चेतना) परमात्मा(परमचेतना)मा एकाकार हुन सक्दैन ।
छिट्टै,
@ गौतम बुद्धको महापरिनिर्वाण र बौद्ध दर्शन व्यवस्थापनका श्रृंखलाहरु
@बौद्ध धर्म विभाजित भएपछिका परिदृश्यहरु
@बौद्ध धर्मका चार प्रमुख शाखाहरु: थेरवाद, महायान, बज्रयान, नवयान
No comments:
Post a Comment